‘द कलर पर्पल’

Kindle

अमेरिकी उपन्यासकार एलिस वाकरले यो पुस्तकका लागि सन् १९८३ मा पुलिट्जर पुरस्कार पाइन्। कथाकार, कवि, उपन्यासकारका रुपमा उनी चिनिएकी नाम भए पनि यो पुस्तकका कारण उनी निकै चर्चामा रहिन्। जर्जियाबाट सुरु भएको यो पुस्तकको कहानी जर्जियामै आएर अन्त्य हुन्छ। तर बीचमा पात्रहरू कहिले टेनेस्सी पुग्छन् त कहिले पश्चिम अफ्रिकामा। सन् १९२० देखि १९५० सम्मको समयलाई उतारिएको यो पुस्तकमा नारीवादी पक्ष धेरै हाबी भएको देखिन्छ जसमा मुख्य पात्र सेली छिन्। यो पुस्तकको सबैभन्दा मन परेको पाटो भनेको सेलीले आफ्नो पीडाको अभिव्यक्तिको माध्यम आफ्नो पत्रलाई बनाउँछिन् जुन उनी भगवानका लागि लेख्छिन् ‘डियर गड’ सम्बोधन गरेर। खासमा यो एपिस्टोलरी उपन्यास हो अर्थात् पत्रात्मक उपन्यास हो। उनले पहिलोपटक लेखेको पत्रमा ‘डियर गड आइ एम फोर्टिन एयर्स वल्ड’ भनेर सुरु गरे पनि अन्त्यसम्म पुग्दा त्यसमा धेरै परिवर्तन आइसक्छ। भगवानप्रति उनका जिज्ञाशा आम मानिसका जस्तै छन् चाहे जुन सुकै भूगोल वा धार्मिक आस्थाकै मानिस किन नहोस्। जस्तो कि, भगवान कस्तो रुपको हुन्छ? उसले कस्ता मानिसको कुरा सुन्छ? भगवान कहाँ हुन्छ? दुखमा परेकालाई कसरी मद्दत गर्छ? सबैको भगवान प्रति आस्था छ भने किन कसैलाई सुख र दुख हुन्छ?

सेलीको मनमा भगवानलाई लिएर थुप्रै प्रश्न उठे पनि उनले कथा भन्न तिनै पत्रको सहारा लिएकी छन् र उनी आफूलाई श्रीमान्‌ले कुटेको देखि अर्की केटी ल्याएको सम्म सबै कुरा लेख्छिन्। उनको पीडा सानो छैन। उनी त्यस्ती छोरी हुन् जसलाई आफ्नै बुवाले सानै उमेरदेखि बलात्कार गर्दै आएका हुन्छन्। बलात्कार त्यसमाथि पनि आफ्नै बावुले गर्नु, सभ्य समाजका लागि अपाच्य र असाध्यै घृणित लाग्छ। तर अहिले त बेलाबेला समाजमा सुनिन्छ भने १ सय वर्षअघि अपत्यारिलो लाग्दैन।

सेलीको जीवनमा त्यो भन्दा पनि मार्मिक कुरा के थियो भन्ने उपन्यासको पछिल्लो भागमा खुल्छ। अहिलेलाई सेलीका लागि परिस्थित जति नै प्रतिकुल भए पनि उनी उम्कन पाएकी हुँदिनन्। बिरामी आमा बितेपछि उनी थप यौन दुर्व्यवहारमा पर्छिन् र दुईवटा बच्चा जन्मिन्छन्, ओलिभिया र एडम। बलात्कारका कारण जन्मिएका सन्तान उनले हुर्काउन पाउँदिनन्। बाबु यति कठोर हुन्छन् उनले ती सन्तान अर्को कुनै एउटा जोडीलाई दिन्छन्। सेलीसँगै उनकी बहिनी पनि छिन् जसको नाम नेटी हुन्छ।

यो उपन्यासले अर्को देखाउन खोजेको कुरा भनेको छोरीहरू त्यो समयमा कति जोखिममा थिए भन्ने हो। सेली आफू आफ्नै बाबुबाट बलात्कृत भए पनि बहिनीले त्यही परिस्थित भोग्नु नपरोस् भन्नेमा सतर्क हुन्छिन्। यस्तैमा नाम नखुलाइएका एकजना पुरुष (Mr____)ले नेटीलाई पच्छ्याइरहेका हुन्छन्। सेलीले आफ्नो बुवाको आफूमाथिको अत्याचार सम्झिएर त्यही परिस्थिति बहिनीले भोग्नु नपरोस् भनी त्यही पुरुषसँग विवाह गर्न भन्छिन्।

तर देख्दै नदेखेको भए पनि ती पुरुषले नेटीलाई नभइ सेलीलाई विवाह गर्छन्र. ती पुरुषका आफ्नै सन्तानहरू हुन्छन् र तिनीहरूलाई हुर्काउने कोही हुँदैन। सेली र ती पुरुषको विवाह भएपछि आफ्ना बुवा ‘पा’ बाट जोगिने नेटी पनि दिदीभिनाजुँगै बस्न थाल्छिन्। तर त्यहाँ पनि भिनाजुका कारण नेटीलाई जोखिम नै हुन्छ। उनी त्यहाँबाट अर्को एउटा जोडीको घरमा नोकर्नी भएर जान्छिन्। त्यो त्यही जोडी हुन्छ जसले सेलीका सन्तान ओलीभिया र एडमलाई ‘पा’ एडप्ट गरेका हुन्छन्।

आफूसँग बहिनी छुट्टिएर जाँदा सेलीले पत्र लेखिरहन भनेकी हुन्छिन् तर उनलाई त्यसपछि एउटा पनि पत्र प्राप्त हुँदैन। यता सेलीमाथि उनका पतिले एकदमै दुर्व्यवहार गर्ने र यातना दिने हुन्छन्। उनका पतिका थुप्रै सन्तान हुन्छन् र ती मध्ये हर्पो जठो छोरो हुन्छ। उसले सोफिया नाम गरेकी केटीसँग विवाह गर्छ। सोफिया हर्पोको केही पनि कुरा नमान्ने खालकी जिद्दी स्वभावकी हुन्छे। एकदिन सेली र उनका श्रीमान्‌ले उक्साएर सोफियालाई कुट्न लगाउँछन्। पछि सेलीलाई आफूले त्यसो गरेको प्रति पश्चाताप हुन्छ र उनले सोफियासँग माफी माग्छिन्। यहाँनेर आइपुग्दा सेलीले अर्को एक महिलाको पीडा महसुस गरेको र भगवानलाई लेख्ने पत्रमा टोन थोरै परिवर्तन भएको देखिन्छ। तर सेलीमाथि नै पनि दुर्व्यवहार निरन्तर भइरहेको हुन्छ। ती सबै पीडालाई सेलीले ‘भगवानलाई पत्र लेखेर’ अभिव्यक्त गर्ने गरेकी हुन्छिन्। बहिनीले एउटा पनि पत्र लेखिनँ भन्ने पनि उनको गुनासो रहन्छ।

यतिकैमा उपन्यासमा अर्की एउटा पात्र देखापर्छिन् उनको नाम शग हुन्छ। उनी गायनमा रुची राख्ने हुन्छिन्। र, सेली र उनका श्रीमान् भएकै ठाउँमा शग आइपुगेकी हुन्छिन्। शगको सेलीका श्रीमान्‌सँग विगतमा सम्बन्ध हुन्छ। र, उनीहरूबीच पुन: प्रेम सुरु हुन्छ। उनीहरू सँगै बस्न थाल्छन्। यसप्रति सेलीको कुनै आपत्ती हुँदैन। शगलाई अचम्म लाग्छ र उनले यस’bout सेलीलाई सोध्छिन्। बिस्तार कुरा खुल्दै जाँदा उनीहरू निकट साथी बन्छन्। सेलीले आफ्नो विगत शगसँग खोल्छिन्। कसरी उनका बुवाले र पछि श्रीमान्‌ले उनीमाथि अत्याचार गरे भन्ने सुनेपछि शगलाई सेलीप्रति दया जाग्छ। सौतासौता भए पनि उनीहरूको मित्रता यतिधेरै झाङ्गिन्छ एकदिन सेलीले आफू समलिङ्गी भएको खुलासा गर्छिन्। उनको यो यथार्थ अरू कसैलाई पनि थाहा हुँदैन। सन् १९८२ मा लेखिएको यो उपन्यासमा अव्यक्त समलिङ्गी प्रेम पनि देखाउन खोजेको पाइन्छ।

बलात्कार हुनुको मात्रै नभइ जीवनको ठूलो हिस्सा सेलीले समलिङ्गी हुँदा र यौन दुर्व्यवहारमा पर्दाको दोहोरो पीडा भोगेकी हुन्छिन्। यो सुनेपछि शग र सेलीबीच पनि शारिरिक सम्बन्ध रहन्छ जुन सम्बन्धलाई उनले पहिलोपटक रमाइलो मान्छिन्। दुख, संघर्ष र पीडाका कथा बगिरहँदा उपन्यासमा जब शग आउँछिन् उज्यालो किरण पाए जस्तो हुन्छ। उनीसँगको सङ्गतबाट सेलीले आफूलाई चिनेजस्तो महसुस गर्छिन्।

यसैबीच सेलीकी बहिनी नेटीले वर्षौंदेखि आफ्नी दिदीलाई पत्र लेखेको भए पनि ती पत्रहरू सेलीका श्रीमान्‌ले लुकाएको भन्ने पत्ता लाग्छ। सेली आफ्नो श्रीमान्‌सँग विगतमा कहिल्यै नरिसाएजसरी रिसाउँछिन्। नेटीको पत्रमार्फत् नै सेलीले थाहा पाउँछिन् कि उनीहरूले जसलाई आफ्नै बुवा ठानेका थिए ती उनीहरूका सौतेला बाबु थिए। र, उनीहरूको आफ्नै बुवालाई त कुनै श्वेत पुरुषले मारिदिएको थियो। बहिनीका सबै पत्र पढिसकेपछि सेली र शग त्यो ठाउँ छोडेर इङ्ग्ल्याण्ड जान्छन्। इङ्ग्लाण्डमा शग गीत गाउन थाल्छिन् र सेलीले कपडाको व्यापार गर्न थाल्छिन्। त्यहाँ ब्रिटिश कम्पनी आउँछ र उसले पानीमा पनि कर लगाउन थाल्छ।

उता नेटी पनि आफ्ना मालिकहरू स्यामुअल र कोरिनसँग दक्षिण अफ्रिकाको विभिन्न ठाउँमा यात्रा गर्दै जान्छिन्। यो बीच स्याम्युअल र नेटीबीच सम्बन्ध भएको दोष कोरिनले लगाउँछिन्। कोरिनलाई आफूहरूले पाल्न भनी ल्याएका सन्तान एडम र ओलिभिया सेलीको नभइ नेटीको सन्तान हुन् भन्ने शङ्का गर्छिन्। एडम र ओलिभियाको अनुहार नेटीसँग मिलेको उनलाई लाग्छ। स्याम्युअलले कसम खाएर त्यस्तो नभएको र सेली र नेटीका बुवा सौतेला भएको पनि उनैले खुलासा गरेका हुन्छन्। यसैबीच कोरिन बिरामी भएका कारण मर्छिन्। सेलीका छोरा एडमले पनि तासी नाम गरेकी बहिनीसँग विवाह गरेका हुन्छन्। दिदी बहिनीबीच पत्र आदानप्रदान हुन थालेपछि स्यामुअल, नेटी, ओलिभिया, एडम र तासी सेलीको घर जान्छन्। त्यहाँबाट सबैजना जर्जिया नै फर्किन्छन् जहाँ सेली र नेटीले आफ्नो बाल्यकाल बिताएका थिए। यतिबेलासम्म उनीहरूका सौतेला बुवाको मृत्यु भइसकेको हुन्छ। यो बीच सेलीका पतिलाई पनि सेलीमाथि आफूले अन्याय गरेको महसुस हुन्छ। र, कथाको अन्त्य सेलीसँग माफी मागेर हुन्छ।

असाध्यै राम्रो भाषामा लेखिएको यो पुस्तकको नाम किन द पर्पल कलर दिइएको होला भन्ने लागेको थियो। त्यो किन रहेछ भने यो पुस्तककी मुख्य पात्र सेलीको मनपर्ने रङ्ग पर्पल हुन्छ। उनी लुगा पनि पर्पल रङ्गकै मन पराउँछिन् र जुत्ता पनि।

जर्जियामै जन्मिएकी एलिस वाकर आध्यात्मिक प्रकृतिकी रहिछन्। बुवाआमाका आठ सन्तानमध्ये कान्छी रहिछन्। सानैमा उनको दाइले खेल्दा खेल्दै गोलीलर् आँखामा चोट लागेपछि तत्काल उपचार हुन नसक्दा उनी एउटा आँखा नदेख्ने भएकी रहिछन्। उनको अर्को रोचक प्रसङ्ग उनी कुनै समयमा प्रख्यात गायिका/गीतकार ट्रेसी च्यापम्यानसँग सम्बन्धमा रहिछन्। तर त्यसअघि उनी ९ वर्ष एकजना अभियानकर्मीसँग विवाह बन्धनमा थिइन् र उनकी एक छोरी रेबेका छिन्।

पुनश्च: यो किताब पढ्न सुझाउने लेखक शिवानी सिंह थारूलाई धेरैधेरै धन्यवाद।