टूहुरा मन, टुहुरा दिन…

Image

आजकाल समय सपना जस्तो लाग्छ । भोगिरहेको समय के पाउन बितिरहेछन् । पुग्ने ठाउँ कहाँ हो र म आफू हिँडीरहेको बाटोको औचित्यमा स्पष्ट नभई अघि बढिरहेछु । आखिर के पाउनका लागि ? सबै प्रश्नका उत्तर हुने भए त जीवन किन कष्टकर हुन्थ्यो र ? तर एउटा कुरा पक्का हो अहिले मध्य रात घर फर्किँदा मलाई कुरेर बस्ने तपाईँ भएको भए सायद यति कमजोर, यति असफल महसुस हुँदैन थियो । ममि मान्छेलाई किन नभएकै कुराको बढी चाह हुन्छ । जवाफ त सहज नै छ- यो मानवीय प्रवृत्ति हो ।

तपाईँ कुर्ने शैलीमै अहिले बुवा मलाई जति ढिला आइपुगे पनि कुरेर बस्नुहुन्छ । तपाईँकै शैलीमा सोध्नुहुन्छ- तँ आउँदा त्यो गुह्यश्वरीको बाटोमा अरु पनि गाडी मोटरसाईकल चलिरहेका हुन्छन् । खै ममि म पत्तै पाउँदिन । म बाटोमा गाडी याद गर्दिन । आकाशको चन्द्रमा हेर्दै तपाइँलाई खुब मिस गर्छु । ममि तपाईँले हामीलाई छोडेको छ महिना भैसक्यो म तपाइँलाई हेर्न नपाएर कति न्यास्रिएको छु ।

अफिसबाट फर्किएपछि म घरको दिनभरको एक्लोपन महसुस गर्छु । बुवा त्यति धेरै हाँसखेल गर्ने मान्छे कसरी दिन काट्नु हुँदो हो । भर्या‌‌ङ चढ्दा तपाईको तस्बीर आँखामा ठोक्किन आइपुग्छ । मैले जानेरै त्यो तस्बीर त्यहाँ राखेको । तपाईको स्मृति मेरो मनमा उतिकै ताजा रहोस् भन्नको लागि । त्यो तस्बीरले दाई बुवालाई कतिको असर गर्दो हो म जान्दिन ।

 

त्यो तस्बीर हेरेर भित्र पस्ने वितिकै बुवाको एकान्तपन देखेपछि म सहनै सक्दिन ममि । त्यही कोठाको फोटोमा पनि तपाईँसँग बुवाको कतिपटक आँखा जुध्दो हो । स‌सारमा कसैले श्रीमतिको वियोग सहन नपरोस् । मैले दुईजना बुवाहरुलाई त्यही वियोगमा देखेको छु जसले सायद मैले तपाई बितेपछि आमाको महत्व थाहा पाएजस्तै श्रीमति बितेपछि एक्लो हुनुको दुख महसुस गरे ।

भगवानले एकपटक परिक्षण गर्न दिएर मात्रै उनको घर लैजानु नि । यदि उनैले यस्तो गर्छन् भने स‌सारमा भगवान जति कठोर र निर्दयी को होला ? 

बुवासँग मध्यरात, कहिलेकाहीँ बिहानसम्म कुरा गर्यो मन हलुका हुन्छ । बुवालाई पनि हुँदो हो । बोलिले जा गएर सुत् भने पनि नजिकै बसिदिए हुन्थ्यो भन्ठाने जस्तो लाग्छ । 

ममि तपाई म सँग भइदिएको भए सायद स‌सारमा केही कुराको कमि हुँदैन थियो । मैले तपाईँको महत्व बुवाको जस्तो कहिल्यै मानिनँ । 

अहिले बुवाकै खाट नजिक बस्छु । तपाईँको जति न्यास्रो कसैको लाग्दैन । जीवन किन यति ट्र्याजिक भईदिन्छ ।

ममि साँच्चै न्यास्रिएको छु म तपाइँलाई देख्न नपाएर । तपाईँको ‍औँला मेरो शिरभरी सलबलाएको महसुस गर्न नपाएर । म तपाईँलाई सम्झेर खुब रुन्छ, भित्ताको तपाईँको फोटो उत्तिकै हाँसिरहन्छ । पहिला तपाई हुँदा जस्तै झर्कन मनलाग्छ । यथार्थ तपाई कहाँ हुनुहुन्छ र अब ।

भगवान धर्मात्मी छँदै छैन । जीवनभर सन्तानको सुख खोज्यो आफैँले श्रृष्टी गरेको घर बनायो । जब सनतानले आफूलाई केही गर्ने दिनमा रमाउँदै त्यो श्रृष्टीमा सम्झेर रमाउने दिन आउँछ । सपनाजस्तो चटक्क यो स‌सारै छोडेर जानुपर्छ । तपाईँले पुजेको भगवानले हाम्रा लागि यस्सतो विगोगको दिन लिएर आयो । अनि म किन त्यही भगवान पुज्नु ? डरको खातिर कुनै अनिष्ट नहोस् भन्न भगवानकै नजिक उभिन मनलाग्छ । तपाईँले राखेका भगवानका तस्बीर त आँखा छलेरै हिँड्छु । ’emले मेरो पुकार सुनेका छैनन् ।

मृत्यूपछि मान्छेको जीवन’bout मैले धेरै खोजिसकेँ । मान्छे मृत्यूपछि अदृश्य आफ्नाका ’round घुम्छन् कि घुम्दैनन् होला ? तपाईँ कहाँ हुनुहोला ? म रुँदा तपाईँमाथि के गुज्रन्छ होला । कसैको बचनले मैले तपाईँलाई सम्झेर रोएँ भने तपाईँको आत्मा रोला कि नरोला ?

म कम्ता आँटिली आमाको छोरी होइन मलाई थाहा छ । तपाईँको लाईफ रिवाइन्ड गरेर सम्झने हो भने दुख कहालीलाग्दो छ । त्यही दुखले श्रृष्टी गरेर ल्याएको यो आफ्नो स‌सार कति शुन्य बनाएर जानु भयो । त्यही भएर तपाईँ नभएपछि यो घरमा तपाईँको अस्तित्व ज्यादा खोज्छु म । तपाईँले सधैँ स्वतन्त्र चरा जस्तो छोड्नु भयो मलाई । मेरा कमजोरी सधैँ ढाकछोप गर्नुभयो । मेरो स्वार्थी स्वभावलाई कान्छो सन्तानको लहडपन सम्झिनु हुन्थ्यो र भन्नुहुन्थ्यो, ‘बुवाको छोरी तँ । तँलाई आमा चाहिँदैन ।’ तपाईँ प्रतिको मेरो चाह म कसलाई कसरी देखाउ ममि ।  

मैले अर्ध सपनामै तपाईँलाई न्यूरो हस्पिटल छोडेँ । अध्याँरो साँझमा आर्यघाटमा छोडेँ । अब म कहाँ खोजौ‌ तपाईँलाई ? कहाँ खोजौ‌ त्यो नवजात शिशुलाई जसले तपाईँको झझल्को मेट्थी । खोजेर पाईने होइन मलाई थाहा छ । थाहा हुँदा पनि मनलाई अठ्याएर किन राख्न सकिन्न ममि । म त्यो बाटो हिँडीरहेको छु जहाँ मैले खोजेको कुरा बाचुञ्जेल कहिल्यै  पाउने छैन । त्यही निहुँमा मर्न पनि त सकिँदोरहेनछ । एकताका लाग्थ्यो तीनकुनेको छ लेन बाटोमा घर फर्किरहँदा त्यही देउताको मन्दिर अगाडी कुनै गाडीले हानेर ठहरै हुन पाइयोस् । 

सन्तान स्वार्थै स्वार्थले भरिएका हुन्छन् । म सन्तान नै छु । तपाईँ दृश्यमा नभए पनि बुवा हुनुन्छ । जसले तपाईँ नभएकोमा आफ्नो भन्दा बढी मेरो चिन्ता गर्नुभएको छ । तैपनि भोलि म नहुँदा बुवालाई के बित्छ होला भन्ने पनि सोच्दैन थिएँ । 

मेरो सफलतामा म भन्दा ३ गुना खुसी भइदिने र असफलतामा त्यति नै दुखि भईदिने बुवा, दाई, दिदी हुनुहुन्छ । तर म तपाईँकै अभावलाई स‌सारको अन्तिम सत्य मानिरहेको छु । दाई पिएचडी गर्ने हुनुभयो, सुरीले पनि बिहे गर्यो । त्यसको बिहे पनि कसरी सकियो सकियो । ठूलोममि भएको भए कस्तो हुँदो हो त्यही बिहे । आमा चाँडै गुमाउनुपर्ने भाग्य ल्याएका रहेछौ‌ हामीले । 

आफ्नालाई भन्न मनलागेको कुरा भन्न समय कुर्न हुँदोरहेनछ । म तपाइँलाई केही भन्न दुई वर्षदेखि उपयुक्त समय खोजिरहेको थिएँ । सोच्दै थिएँ गएको शिवरात्रिमा पक्का भन्ने छु । मलाई के थाहा भगवान त्यति कठोर छन् । शिवरात्रीकै अघिल्लो दिन उनलाई पुजिने पशुपतिनाथमा तपाईँ सास बिनाको शरिर भएर पल्टिनुहुनेछ । म सदाका लागि टुहुरो हुने छु….