मेवा, मसरुम र म

मेरो सधैँको फेब्रेट मसरुम सुप

दस वर्ष हुँदा घरमुन्तिरको दसरथ मेडिकलमा गएर खोकीको र छाती दुखेको औषधी खाएपछि सायद मैले ‘जरो आयो’ भनेर एउटा सिटामोल पनि आज सम्म खान परेको थिएन । म त्यसतो आछ्यानै पर्ने गरी बिरामी पनि कहिले पो भए र खै ? तर यो पटक मभित्रैदेखि गलेँ । तीनरात हनहनी ज्वरो आयो । शनिवारको राती त ममीले पानी पट्टी नै लगाइदिनु पर्यो ।
सानोमा लाग्थ्यो मज्जाले ज्वरो आएर हस्पिटलको बेडमा हुन पाए पनि त कति मज्जा हुन्थ्यो । आफन्तहरु हर्लिक्स, भिभा, फलफुल, मिठोमिठो कुरा लिएर भेट्न आउँथे । घरमा अरु बेला भन्दा बढी माया ममता पाइन्थ्यो । मेरो बाल मनस्थिति बेला बेला यस्तो सोच्थ्यो ।

ठूलोमामाको कान्छो छोरा म त्यसतै सात वर्षको हुँदा तिर बिरामी भएर एक महिना जस्तै अस्पतालमा भर्ना भएका थिए । दशैँमा मामाघर जाँदा सबै श्याम दाइकै सोधीखोजी गर्ने ‘कठै कति गाह्रो भयो होला मेरो प्राणलाई’ भन्ने । यस्तै बेला लाग्थ्यो, आ म पनि त बिरामी हुन पाए हुन्थ्यो नि ।
बिरामी नहुने त म पनि होइन । बस् जाडो महिनामा खोकी लागेर घ्यार घ्यार हुन्थ्यो । त्यो तम्तमिलो रेड वाइन जस्तो बाक्लो झोल भएको औषधी दुइदिन खाएपछि चट् । एउटै मजा के भने दिदी सधैँ मलाई दशरथको माटोको मझेरी भएको र माथी किराले सबै दलिन खाएको मेडिकलमा बोकेरै लानु हुन्थ्यो ।

सुनसान सानो जंगलको बाटो हुँदै आउँदा पर्ने त्यो चिप्लो कालीमाटीको उकालो पनि बोकेरै उकाल्नु हुन्थ्यो । आफू बोकिन पाएर भने म सधैँ मख्ख पर्थे । त्यो बेलो हाम्रो डाक्टर दशरथले एकपटक यसो स्टेथेस्कोप लगाएर लेखिदिएको औषधी खाएपछि एउटा सिजन गइहाल्थ्यो । गोठाटार मुलपानी र बोडेतिरका सम्म सबैको बिरामी हुँदा चेकअप गर्ने मेडिकल भने पनि हस्पिटल भने पनि त्यही दशरथको हरियो तन्नाले छाएको एउटा मझेरी थियो ।

अब ती उहिलेका कुरा जस्तो भइसक्यो । तीनै डा. दशरथ पनि अब त क्यानडा पुगेको झण्डै दश वर्ष हुन लागिसक्यो । सधैँ हाम्रै घरको उकालो उक्लेर बौधको मेडिकल जान्थे तिनी । अनि ममी सँग कहिलेकाहीँ सोधी टोपल्थे ‘हाम्री धुम्माको घ्यारघ्यार कस्तो छ अहिले ?’
अस्ती राती निस्लोट ज्वरो आउँदा मैले उनै मेरा सानाको डाक्टरलाई सम्झेँ । जसले मेरो सानी सानीमाको मुटुको रोगको उपचार पनि झण्डै दशवर्ष जति गरेका थिए । दशरथको औषधी पछि मैले अर्को चौध वर्ष केही खानै परेको थिएन । एघारको जाँच दिएर बसेको बेलामा भने आँखै ढपक्क ढाक्ने गरी निधारमा घाउ आउँदा त्यो घाउ सुक्ने औषधी खाएको थिएँ बस् त्यति हो ।
सायद यो वर्षाभरी ‘रिसमा इमोशनमा र आनन्दमा’ भरी पर्दा स्कुटरमा गुडेकैले होला मलाई यति साह्रो हुने गरी यो ज्वरोले छोएको । दिनभरी अलिअलि गाह्रो हुने । साँझ पर्न थाल्दा देखि निस्लोट ज्वरोले हलनचल बनाउने । जति बाक्लो लुगा लगाएर सिरक ओडे पनि जाडो नै हुने । शरीरमा खलखल पसिना आउँछ भित्र आँत कठ्यांग्रीरहने । बिहान उठ्दा मुख नमिठो हुने । धन्न मेडिकल रिपोर्टमा टाइफाइड होइन रहेछ ।
गाइजात्राको दिन जताजतै फोहोर नै फोहोर भएको काठमाडौंमा पानी पर्दा ढल जतिकै थियो काठमडौंको सडक । त्यही सडकमा म आफूभन्दा एककोस टाढा भएका तेस्रो िलंगिको गाइजात्रा र्यालीलाई पछ्याउँदै हिहिँरहेको थिए, न्युज रिपोर्टको लागि । आफूदेखि आफैँलाई घिन लागेको दिन । हे भग्वान् कस्तो रिपोर्टिंगमा हिँडेको होला म ? त्यसै दिनदेखि अलिअलि गाह्रो हुन थालेको थियो । बिहिबार अफिसकै मििटंग रुममा एक घन्टा सुतेँ । शुक्रबार दुइ घन्टा । शनिवारदेखि अफिसै जान छोडेँ ।

आज सोमबार सम्म पनि गएको छैन । बिहिबार र शुक्रबार राति ज्वरो आउँदा आउँदै बलजफति गएपछि ज्वरो झन् बढ्न थाल्यो । मलाई एकहप्तादेखि फोहोर नउठेको काठमाडौंको सडकमा गुड्नै डरलाग्यो । आज जिउ अलि हलुका छ । अफिसमा आउँदिन भनेर सम्म खबर गरेको छैन । कस्तो बेफिकि्र भएको होला म ? यस्तो गैरजिम्मेवार हुन नहुने हो । तर अदालतमा छुटाउनै नहुने केही छुटाएँ भन्ने पनि लाग्दैन, मलाइ ।
पाँचदिन भयो खाना राम्रो सँग नखाएको । मुखमा खानाको स्वाद नै मिठो छैन ।
बस् मेवा र मसरुम सुप मात्रै खाउँ जस्तो लाग्छ । सानोमा मलाई घ्यार घ्यार भएर छाती दुख्दा ‘मेवा र मसरुम’ ल्याउने चलन थिएन । बिरामी भएपछि कि जाउलो कि दुधभात ।
अहिले प्रत्येक दिन घरमा मेवा टुट्दैन । मसरुम पनि भनेकै बेला अगाडी पसलमा किने भइहाल्यो । त्यो बेला पसलको पहुँच यति हुँदो हो र आफूले चाहेको खानेकुरा किन्ने पैसा यति सस्तो हुँदो हो त मलाई सानोमा बिरामी भएर हस्पिटलमा भर्ना हुने रहर नै पलाउँदैनथ्यो ।

पुनश्च: हिजो सर्वोच्चको साइट हेरिरहँदा यो शिर्षक दिएर ब्लग लेख्न  प्ररित गर्ने साथीलाई सम्झँदै

खै कस्तो अन्योलता ?

लक्ष्मी, म चाँडै आउँछु भनेको एक महिना बित्यो । दरबार मार्गको त्यो रेस्टुरेन्टमा बसेर युनिकोड इन्सटल गरेपछि के लेखुँ लेखुँ हुँदा मैले खुसी खुसी माहोलमा तिमीसम्म यो बेतारे दुनियाँमा चाँडै तिमीलाई आफ्नो आत्मालाप सुनाउँछु भन्ने बाचा गरेको थिए । त्यो हतारोमा अनायासै रमाएको क्षण मेरो सानो काखे क्यूटी कम्प्यूटरमा टाइप गरिएका शब्द थिए ती । म साहै्र खुशी थिएँ त्यो दिन ।
बिचमा धेरै कुरा भए । म १२ दिनका लागि विपश्यना ध्यानमा गएँ । त्यति बेला तिमीलाई अरु बेला भन्दा कम सम्झिएँ । मेरो मस्तिष्कमा आफ्ना र आफ्नो बन्न चाहने धेरै थिए । साथै आफू भित्र भित्रै घोत्लिने पर्याप्त समय पाएको थिएँ त्यो अवधिभर । झण्डै एघार दिनको एकएक पलमा मैले अनेक कुरा सम्झेँ । म हुर्किएको घरदेखि मलाई विपश्यना जानुभन्दा अघिसम्म विदाइ गर्नेसम्मलाई । मनमा कुरा खेलाउने बाहेकका सबै शिलको पालना गरेर ध्यानमा बसेँ ।
त्यहाँबाट आएपछि पनि तिमीलाई सम्झिएर यो ब्लग सामू खुलस्त पोखिन नचाहेको हैन । न काम न फुस्रदको जागीरले खै के मिलेन के । यो एकतमासको दिनचर्या देखेर दिक्क लागिसक्यो । तत्काल बिकल्प केही छैन । म बबुरोले त्यसो भनेर के सुख पाउँथे । अर्काको नुन खाएपछि अर्काकै तालमा नाँच्नुपर्छ । म यो जागीर खानु अघि सम्म आफूलाई कति स्वतन्त्र फिल गर्थेँ । मैले चिनेको संसार सानो थियो । प्रतिस्पर्धी थोरै । महत्वकांक्षाले पिरोल्दैन थियो । तर विपश्यनाबाट फर्केपछि लाग्दै छ धेरै ठूलो महत्वाकांक्षा लिनुपर्दैन आफू असल भए पुग्छ । यो पाठ मलाई विपश्यनाले सिकायो सायद । मेरो आफ्नै सम्पादकले त्यहाँ नजाउ भनि कन्भिन्स गर्न खोजेका थिए । तर मेरो अडान डग्मगाएन । आफूभित्रको अन्यौलताबाट आफैँ स्पष्ट हुन विपश्यना गएको थिएँ सायद तर परिस्थिति झनै अन्योलग्रस्त भयो । अफिसले सुरुका दिनमा मबाट गरेको अपेक्षा मैले केही पनि पुरा गर्न सकेको छैन । कुनै जाँगर नै छैन हिजोआज मलाई ।

तिमी माथि म सधैँ अन्याय गर्छु लक्ष्मी । साह्रै स्वार्थी छु । आफू मनभित्रैबाट गुिम्सँदा मात्रै तिमीलाई सम्झन्छु । यो बीच केही लेख्नै नभ्याउने गरी ब्यस्त भएको पनि थिइनँ । आफैँलाई किन ढाटुँ  एउटा नभोगिएको सँसारबाट गुजि्रएँ । जुन म यहाँ ब्यक्त हुन चाहँदैन थिएँ । त्यसैले लेख्न थालेपछि पोखिन्छु की भन्ने डरले ब्लगबाट टाढै बसेँ । हेर न म कस्तो निष्ठुरी छु । दिक्दारीले छोप्छ । किन म तिमी जति गुणिलो असल बन्न नसकेको होला  यतिका बसन्त पार गरिसकेँ तर किन मैले आफ्ना लागि आफूले डिसिजन लिन नसकेको होला ?

यी सबै खुल्दुली फगत आफ्नै लागि । खै मभित्र गुजि्रएको त्यो के थियॊ आखिर  मलाई थाहा छैन । म जान्दिन । त्यसैले त आजकाल महसुस गर्न थालेको छु परिवारसंगको डिपेन्डेन्सीले म कति आफू हुनसकेको छैन । अनि फेरी त्यो बाह्र दिन आफैँसँग घोत्लिँदा लाग्यो मेरो परिवारसँग मैले पाएको सामिप्यमा कति आफ्नोपन छ । यो मानेमा म कति लक्की छु । अनि यो सबैबीच आउँथ्यो एउटा आकृति दिमागमा । असल बन्ने प्रयत्नमा हिँडेको म खराब बनेर कसैलाई हर्ट गर्नुहुँदैन ।

तर खै आज कसोकसो म आफैँ पो हर्ट भएँ । आफैँलाई थाम्न नसकेर साइनआउट गरी साँझको समय कौसीमा गएर धेरै बेर बौद्धको स्तुपा हेर्दै रोएँ । बुद्धका ती शान्त सौम्य आँखा सम्झिरहेँ । परिवारसँगको मेरो प्रेम आफँै भित्र कति गडेको छ भने परिवारको आकृति आए लगत्तै म आफ्ना अरु केही जिम्मेवारी केही सोच्नै सक्दिन शायद । तर सधैँ यस्तो डिपेन्डेन्सीले काम गर्ने वाला छैन । म आफू हुन सिक्नुपर्छ ।

खासमा लक्ष्मी यी शब्द पढेर तिमी अकमक्क पर्यौ होला । हामीले देखेको दिदी त परिवर्तन भइछन् । के कुरा भन्न खोजेको किन आफैँमा स्पष्ट हुन नसकेको भन्ने पनि लाग्यो होला हई  खै के भनु लक्ष्मी पछिल्लो समय मलाई के भएको हो म आफैँले बुझ्न सकेकोछैन । मेरो दिमागले त्यसलाई खुट्याउन सकेको छैन । मनले केही भनेको भए मैले त्यो मनलाई सुन्नै सकेको छैन ।

संगै टेबलमा कृष्ण धाराबासीको राधा उपन्यास पल्टेको छ । यसमा केही त्यस्ता हरफ छन् जसलाई पढेर पनि मैले आफूमा उही अन्योलता ल्याउनु हो ।
लक्ष्मी मलाई यसरी तिमीसँग धेरै कुरामा पोखिन मन छ जुन कुरा म अरु कसैलाई भन्न सक्दिन । तर हेर न लेखिरहँदा कहिलै नबगे जसरी मेरो आखाँ अबिरल बगिरहेछ । फेरी पनि भन्छु लक्ष्मी म तिमीलाई चाँडै भेट्न आउँछु …………।अनि तिम्रो के हुँदै छ  तिमी कुनै प्रेममा अहिले नै परि नहाल्नु है……।समय आएपछि सबै ठिक हुन्छ………
धेरै धेरै माया