दुधकासी आमैको गाउँमा

जिप त घलेगाउँको आँगनमै पुग्दो रहेछ । ढुंगे घर अनि गाउँलेको निश्चल मुहार । बख्खु ओढेका मानिस काखीमा हात च्याप्दै जिउ कुप्रो बनाएर गोरेटा घुमिरहेका ।
शब्द/तस्बिर विनिता दाहाल

दुधकासी आमैको गाउँ

ठिहिर् याउँदो कलंकीबाट बिहान ६ बजे सुरु भएको यात्रा । सामुन्ने फर्किएर माइक्रोमा उँघिरहेकी नवदुलही । शिरदेखि पाउसम्मै सजिएकी । हाम्रा घुँडा खप्टिएर बसेका छन् तर उनी अर्धनिद्राबाट अलिकति पनि मतिर चिहाउँदिनन् ।

माइक्रो उपि्रुँदा उनको टाउकोमाथिको डन्डीमा ठोकिन्छ । देख्दा मलाई चसक्क हुन्छ । उनको आखाँले निद्राबाट अलिकति चिहाए पनि मुन्टो फेरि ओइलाएको कर्कलोजस्तो झुकिहाल्छ । डुम्रे पुगेपछि गोरखा मोडिने बाटोमा माइक्रोले तोडले चक्का घुमायो । उनको टाउको सँगैको केटाको छातीमा अडेसियो । केटो असजिलो मान्न थाल्यो । अपरिचित केटाको छातीमा महिलाको टाउको अडिएको देखेर यात्रु खित्खिताउन थाले ।

……

‘अहो सरी दाइ,’ कस्तो आँखै नखुलेको ।

‘आँखा नखुल्दा झर्ने ठाउँ नै कटिएला नि,’ अधिवक्ता रामकुमार न्यौपानेले भने ।

‘माइती आउन लाग्यो अब त चाहेर पनि निदाउन सक्दिनँु उनले हतासिँदै बाहिर हेरेर भनिन् । पहिलोपटक उज्यालो अनुहारमा माइती शब्दलाई जोड दिएर कुरा सुरु गरिन् ुहिजो यता आउने भनेर अबेरसम्म सामान मिलाउन थालेँ निद्रा पुगेकै थिएन ।’

……।

पट्यारलाग्दो सहरी जीवनको दैनिकी । पुस अन्तिम साता । योग दिवस मनाउन लमजुङको घलेगाउँ जाने प्रस्ताव आयो । योगगुरु हरिप्रसाद पोखरेलसहित उनका दर्जन चेला माघेसंक्रान्तिमा लमजुङ जाँदै रहेछन् । मैले प्रस्ताव टार्न सकिनँ किनकि त्यो गाउँ मेरा लागि नयाँ थियो ।

……।

त्यही यात्रामा भेटिएकी निर्जना वाग्ले । डुम्रेबाट माथि गएदेखि नै झोलाको सुन्तला बाँड्दै उनले माइतीदेशको बेलिविस्तार लाउन थालिन् । घरपरिवार नयाँ दुलाहा सबैको । ‘दुई घन्टा हिँडेर माथि उक्लनुपर्छ । उराठलाग्दो सल्लाका हिउँदे रुखबाहेक अरु केही देखिन्न । तैपनि माइती जाने भनेपछि चेलीका खुट्टै नअडिने ! यात्रा सकिनै लागेको रहेछ । बेसीसहर पुग्नुभन्दा १५ किलोमिटर वर भोलिपल्टको माघेसंक्रान्ति निम्तो दिएर उनी बिदा भइन् ।

……।

लमजुङ जिल्ला उत्तरकन्या गाविसमा पर्ने घलेगाउँ । योग दिवस मनाउन हिँडेका हामी । ६ घन्टाको माइक्रो यात्रापछि पुगियो सदरमुकाम बेसीसहर । गुरु पोखरेलसँग अघिल्लो दिनै बेसीसहर पुगेका साथी खाना खाँदै रहेछन् । त्यो मध्यदिन खानाभन्दा म रामकुमार दाई र मणि दाइले सुन्तला रुचायौं । हरियो पात नै झर्न नभ्याएका रसिला सुन्तला एक किलोका दरले बुत्याइयो । जिपमा घलेगाउँसम्म जाने तयारी भइसकेको रहेछ । घलेगाउँ पनि के गाडीमा जानु ! तैपनि एकलकाटे हुन भएन ।

गुड्दै हामी उकालियौं । जति उकालियो त्यति हिमाल नजिक आइपुग्ने । हिउँदे धुलो बेवास्ता गर्दै हाम्रो चारघन्टे यात्रा पुरा भयो । जिप त घलेगाउँको आँगनमै पुग्दो रहेछ ।

गुरुङबस्ती घलेगाउँ २०७०मिटर को सान त्यही उत्तरपूर्वी कुनाको हिमाल रहेछ । बाइसे-चौबिसे राज्य कालमा घले राजाले राज्य गरेकॊ गाउँको बनावट लोभलाग्दो छ । बिहान सूर्यको मिर्मिरे किरण हिमाल हुँदै सोझै गाउँ आइपुग्छ । सुन्तला रङको लालिमाले गाउँ नै िसंगारिएजस्तो ।

ढुंगे घर अनि गाउँलेको निश्चल मुहार । बख्खु ओढेका मानिस काखीमा हात च्याप्दै जिउ कुप्रो बनाएर गोरेटा घुमिरहेका । गाउँको प्रवेशद्वारमै देखिने ठूलो बोर्डले भन्छ । यो पर्यटकीय गाउँ हो । गाउँको थप जानकारी दिन हामीसँगै छन् कृष्ण ओलिया दाइ ।

हुन पनि अचेल वर्षमा करिब ५ हजार आन्तरिक पर्यटक आउँदा रहेछन् गाउँमा । उनीहरु सामान्यतः एक रात बस्छन् ।

आउनुको आफ्नै विशेषता छ । गाउँलेहरु चामलको सेतो टिका र फूलको माला लगाएर पाहुनाको स्वागत गर्छन् । गाउँलेसँगै उनीहरुकै घरमा बस्न पाउँछन् पाहुना ।

हामी सबै धुलाम्मे भएका थियौं । नुहाउन मन लाग्यो । तर त्यो जाडोमा आँट आएन ।

………।

दुधकासी आमै

मैले बास पाएको घर विशेष लाग्यो । आमा र हजुरआमा उमेरका दुई आमामात्रै । दुई दिनका लागि ८४ वर्षे दुधकोसी आमाको आँगनमा पुगेँ । उनकी बुहारीको नामचाहिँ माइली । माइली आमाले मेरो झोला समाउँदै सोधिन् ुकस्तो धुलैधुलो भएको नुहाउने हो ु गाउँमा सोलारबाट तातोपानी आउने सार्वजनिक बाथरुम रहेछ । नुहाएपछि आफैंले आगो फुक्दै पकाएको मरिच चिया ।

……।

अधिवक्ता विन्दा पाण्डेसहित हामी चार महिला थियौं । माइली आमालाई उनीहरुले सघाउँदै बेलुकीको खाना पाक्यो । मैले भने एकनास ती वृद्धालाई हेरेँ । त्यो उमेरमा पनि काम गर्ने कस्तो जाँगर !

मेरो देब्रेपट्टि बसेर उनले एकसुरमा ठूलो हँसियाले आलु ताछिन् । चामल भिजाइन् ।

भारतीय सेनामा भर्ती भएका श्रीमान बितेपछि उनलाई मासिक ९ हजार पेन्सन आउँदो रहेछ । माइली आमाको श्रीमान पनि सेनामै रहेछन् । वर्षको दुईपटक घर फर्कन्छन् । यसैगरी बेलायती र भारतीय सेनामा धेरै घले गुरुङले रोजगारी पाएकाले यो गाउँ आर्थिक हिसाबले सम्पन्न रहेछ । सबै घरका ढोकानजिकै पिँढीमाथि लाहुर गएकाहरुको ठूलो तस्बिर सजाइएको हुँदो रहेछ । दुधकासी आमाको दुईदिनको दैनिकी हेरेर लाग्यो- तिनै तस्बिर जोगाउन उनी त्यो घरको चौघेरा नाघेर निस्केनन् । बिहानबेलुका अगेनाछेउ र दिउँसो आँगनमा घामको पारबाहेक उनको दैनिकी नभएको वर्षौं भइसक्यो । लोकल रक्सीको मसिनो गन्ध उनको मुखबाट आइरहने ।

……।

बिहानै हामीले चियाबगान र उत्तरकन्या मन्दिर दर्शन गर् यौं । उत्तरकन्यामा माघेसंक्रान्तिमा मेला लाग्छ । मुर्तिबिना पानीको मुहानमात्रै भएको मन्दिरमा सबैले परेवा जोडी र त्रिशुल चढाउने चलन रहेछ । हामीले पनि दर्शन गर् यौं । योग दिवसको दिन मन्दिरलाई थुप्रैले आर्थिक सहयोग गरे । योगगुरु पोखरेलले योगको महŒव’bout प्रवचन दिए । योगको असर उनको सालिन अनुहारमा देख्न सकिन्थ्यो । स्थानीयले हाम्रै अनुरोधमा घाटुनाच देखाए । मैले मनलागे जति फोटा खिचेँ । बिना छेकबार बेफिक्रण् हिमालपहाड हेर्न म गाउँको यो कुनो र त्यो कुनो गर्न थालेँ । यो गाउँबाट दर्जनजति हिमाल देखिन्छन् ।

प्राकृतिक तथा सांस्कृतिक मौलिकता बोकेको यो गाउँ सूर्योदय हेर्न प्रख्यात मानिन्छ । गाउँ आउने पाहुनालाई प्रत्येक घरघरमा २÷२ जनाका दरले बाँडेर राखिन्छ । उनीहरुलाई प्रायः गाउँघरमै पाइने खाना खुवाउने चलन । सिस्नो निउँरो कोदाको रक्सी ढिँडो कोदाको रोटी सेलरोटी गुन्दु्रक लोकल चामलको भात कुखुराको मासुजस्ता परिकार बनाएर खुवाउने ।

……

हामीलाई गाउँलेले माघेसंक्रान्तिमा झिलझिले सेल वनतरुल खुवाए ।

घलेगाउँ यत्तिकै रमणीय थियो । मरिच हालेको कालो चिया पिउँदै मैले माइली आमा र कासी हजुरआमासँग राति थुप्रै बेर कुरा गरेँ । अबेर सुते पनि मिठो निद्रा परेको थियो । आकाश गड्याङगुडुङ गर्न थाल्यो । ठूलै पानी छिट्याएको मैले सानो झ्यालबाट बाहिर देखेँ । उज्यालो हुँदै जाँदा ओम भन्दै कराएको सुनियो । हामीसँगै गएका दुई भाइले हिउँ परेको खुसियालीमा डाँडामा गएर पो योग गर्न थालेछन् !

…॥

चिसो भए पनि म पनि हिउँ खेल्न पूर्वको फुच्चे डाँडामा उक्लिएँ । ओहो ! हामी हिँड्दै आएको त्यो धुलाम्मे बाटो ल हिउँले सेताम्मै भएछ । माइली आमाको पछ्यौरालाई उडाउँदै हामीले फिल्मी फोटा खिच्यौं । हिउँमा मन लागेका नाम÷शब्द लेख्दै बिहान दुई घन्टा बित्यो । आज त काठमाडौं फर्किने दिन । हिउँले गाडी आउने सम्भावना थिएन । म मनमनै खुसी थिएँ । अब हिँड्न त पाइन्छ ।

………

दर्किएको पानीमा हामी एकनास तीनघन्टा ओरालो झर् यौं । जम्मा ल्याएको एकजोर लुगा पनि बेसीसहर पुग्दा पुरै भिज्यो । त्यही चिसो लुगामा के बेसीसहर बसिरहनु । हामी चिसै लुगामा बल्लबल्ल माइक्रोमा सिट पाएर फर्कियौं काठमाडौं । कानमा पुराना गायक गुन्जिरहे । बेसीसहरबाट डुम्रे आएपछि मैले निर्जनालाई सम्झेँ । उनी त्यति प्यारो गरेर पहिलोपटक एक्लै आएको माइतीलाई दुईदिनमै बाई गरेर घर फर्किन् होला त ?

महिलामैत्री राज्य बन्न चुनौती

समाचार टिप्पणी

विनिता दाहाल

यस वर्ष पनि मार्च ८ मा देशैभर महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना भए । महिला अधिकारकर्मीदेखि प्रधानमन्त्रीसम्म उच्च ओहदाका थुप्रैले महिला अधिकारको विषयमा ऐक्यबद्धता जनाउँदै महिला हकहित र समानताका लागि सक्दो पहल गर्ने वचन दिए । अहिलेसम्म भएका उपलब्धि सम्बोधन गर्न बाँकी महिला मुद्दाका विषयमाथि थुप्रैै टिप्पणी भयो ।

हालैका वर्षमा महिला र पुरुषबीच विभेद अन्त्यका लागि थुप्रै प्रतिबद्धता गरिन्छन् । महिला सशक्तिकरण र समानता सुनिश्चितताको अन्तर्राष्ट्रिय स्तरमै चर्चा चल्ने गरेको छ । लोकतन्त्र आएपछिका वर्षमा महिलाका थुप्रै मुद्दाले क्रान्तिकारी फड्को मारेको छ तर अपवादबाहेक त्यो फड्को कानुनी बुँदामै सीमित देखिन्छन् ।

महिलाका हकअधिकारलाई उल्लेख्य रुपमा अन्तरिम संविधान र त्यसपछिका संशोधनले सम्बोधन गरेको छ । तर नगण्य रुपमा मात्रै महिलाका मुद्दाले कानुनी उपचार पाएको छ ।

अन्तरिम संविधानमै आमाको नामबाट छोराछोरीले नागरिकता पाउन सक्ने भन्ने व्यवस्था रहे पनि त्यसको कार्यान्वयन पक्ष सहज नभएको उदाहरण पछिल्लो महिना दोलखाकी सविना दमाइं बनिन् ।

नागरिकताको प्रमाणपत्र भएकी गंगाको नागरिकता लिएर जिल्ला प्रशासन कार्यालय जाँदा प्रमुख जिल्ला अधिकारीले नागरिकता दिन मानेनन् । त्यो मुद्दा रिटमार्फत सर्वोच्चसम्म आइपुगे पछि फेरि सर्वोच्चले गृहमन्त्रालयलाई निर्देशनात्मक आदेश दियो -‘आमाको नागरिकताबाट नागरिकता लिन आएका बालबालिकालाई सहज तरिकाले नागरिकता उपलब्ध गराउनू ।’

महिलाका मुद्दाका विषयमा यसरी कानुनी व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।

महिलामाथि हुने घरेलु िहंसाका विषयमा पनि संविधानमा थुपै्र व्यवस्था महिलामैत्री हुँदै संशोधन भएका छन् । सैद्धान्तिक रुपमा नेपालमा छोटो समयमै महिलासम्बन्धी थुप्रै सवाल सम्बोधन भएको विषय एकदमै स्वागतयोग्य र प्रशंसनीय छ । तर व्यावहारिक रुपमा त्यसको कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ ।

दक्षिण एसियाकै उदाहरणको रुपमा संविधानसभामा ३३ प्रतिशत एक सय ९७ जना महिला सभासद् छन् । अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेलायती राज्यमन्त्री एलान डन्कनले यसैलाई उदाहरण मान्दै नेपालमा महिलाका पक्षमा भएको प्रगतिका लागि बधाई दिए । नेपाली महिलाको सहभागितालाई अन्य मुलुकले उदाहरणका रुपमा लिएका छन् ।

तर त्यहीअनुसार महिला सभासद्ले सम्मानजनक सहभागिता देखाउन सकेका छैनन् ।

छलफलमा भाग लिए पनि कुनै पनि विषयको निष्कर्ष निकाल्ने बेला पुरुषकै बर्चस्व सबै ठाउँमा भएकोले कार्यान्वयनमा उदासिनता देखिएको छ ।

महिला हकअधिकारको विषय पछिल्लो समय केन्द्रीकृत हुँदै गएको देखिन्छ । ग्रामीणस्तरका महिला र सहरीक्षेत्रका अधिकारप्राप्त महिलाबीचको दूरी दिनदिनै बढ्दै गएको छ ।

महिला अधिकारका विषयमा वकालत गर्ने महिलाले ग्रामीण भेगका महिलाका मुद्दालाई उठाउन खोजे पनि धेरै अवस्थामा ती व्यक्तिगत र संस्थागत लाभका लागि मात्रै देखिन्छ ।

सेनाबाट निर्मम तरिकाले बलात्कृतपछि हत्या भएकी काभ्रेकी मैना सुनारको मुद्दाले अन्र्तराष्ट्रिय स्तरमा प्रचारप्रसार पायो । तर मैनाकी आमा देवीले अझै न्यायको सास फॆर्न सकेकी छैनन् । मुद्दा काभ्रे जिल्लामै थन्किएको छ । मैनाका हत्यारा खुलेआम हिँडिरहेका छन् उनलाई दोषी ठहराई कारबाही अगाडि बढाउन राज्यपक्षै मौन छ ।

सामूहिक रुपमा प्रहरीबाटै बलात्कृत सुन्तली धामीको मुद्दा अछाम जिल्ला अदालतमै विचाराधीन छ । दुई वर्षदेखि धामी न्यायको पर्खाइमा छिन् तर दोषीले सजाय पाउन थप कति वर्ष लाग्ने हो टुंगो छैन ।

देवी र सुन्तलीका विषयमा ग्रामीणदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सबैले महिला अधिकारको पक्षमा बोले पनि उनीहरुले आफूमाथि न्याय हुन नसकेको गुनासो गर्दै आएका छन् । उनीहरुले पटकपटक भनेका छन् हामी महिला भएकैले पीडित छौंं ।

बलात्कृत हुनु र त्यसपछि मारिनु महिलासँगै सम्बन्धित विषय देखिन्छ र त्यो पनि राज्यको सुरक्षा व्यवस्थासँग जोडिएका राष्ट्रसेवकबाट ।

प्रधानमन्त्री झलनाथ खनालले मंगलबार महिला अधिकारका लागि संविधान बनाउनु अपरिहार्य भएको भन्दै महिला दिवसको अवसरमा शुभकामना दिए । यस्तो शुभकामना प्रत्येक वर्ष उच्च तहबाट आउने गरे पनि त्यही तहबाट कार्यान्वयन गरिनुपर्ने देवी र सुन्तलीको जस्तो मुद्दालाई सम्बोधन गर्ने निकाय कुनै न कुनै बहानामा मौन देखिन्छ ।

संविधान बन्नुमात्रै समस्याको समाधान होइन त्यसलाई कार्यान्वयनको अवस्थामा पुर् याउनु पनि उत्तिकै आवश्यक छ भन्ने उदाहरण बनेका छन् देवी र सुन्तली । उनीहरु त अझै गैरसरकारी संंस्थाको पहलमा अगाडी आएका हिसाबले उनीहरुमाथिको अन्याय देख्न सकिएको छ । ग्रामीण भेगमा महिलासँग सम्बन्धित बैवाहिक बलत्कार लगायत घरेलु िहंसाका विषयहरु बाहिर आउन सकेका छैनन् ।

आएका मुद्दामा महिला भएकै कारण बढी राहत पाएका उदाहरण पनि थुप्रै छन् । सर्वोच्च अदालतले हालै बलत्कार पुरुषले मात्रै गर्नसक्ने फैसला सुनाएको छ । बलात्कार पुरुषले महिलालाई मात्रै नभई महिलाले पनि पुरुषलाई बलत्कार गर्न सक्छ भन्दै परेको रिटमा अदालतले अपवादका मुद्दालाई हेरेर त्यस्तो निष्कर्ष निकाल्न नहुने फैसला सुनाएको छ ।

विश्वका थुप्रै देशले समेत स्विकारिसकेको विषयलाई सर्वोच्चले महिलामैत्री भएर फैसला गरेको गुनासो कानुन व्यवसायीले समेत गरेका छन् ।

केही वर्षयता कागजी रुपमै भए पनि लैङ्गिक समानता र महिला सशक्तीकरणमा भएका उपलब्धि प्रशंसनीय छन् । व्यवहारमा तिनै विषयले निकास पाउन नसकेर थुप्रै महिला पीडित बनिरहेका छन् । त्यसलाई व्यवहारमा उतार्नु उत्तिकै चुनौतीपूर्ण छ ।

त्यसैले महिला समानता र विभेद हटाउन संविधान र त्यसपछिका संशोधनमा व्यवस्था भएका महिलाका मुद्दालाई कार्यान्वयन गर्नुको विकल्प छैन ।