
“तिमीलाई थाहा छैन… उ त अब यो संसारमा छैन। हामीले गत फेब्रुअरीमा उसलाई गुमायौँ।”
सामाजिक सञ्जालहरूमा केही दिनदेखि मैले पठाएका सन्देशहरूको कतै पनि जवाफ नपाएपछि मैले उसको भाउजुलाई मेसेन्जरमा केही भूमिका बाँधेर सोधेकी थिएँ, “…दोस्त(उसले ह्वाट्स्यापमा आफूलाई यसै गरी चिनाउने गरेको थियो) लाई कस्तो छ?”
यही प्रश्नको जवाफमा मैले माथिको जवाफ पाएँ। र, थाहा पाएँ दोस्तले यो संसार छोडेको गत फेब्रुअरीमै रहेछ।
लिभर सोरोसिसका कारण अस्पताल भर्ना भएर केही समयपछि मृत्यु भएछ। मैले उनको भाउजुसँग आमा अहिले कहाँ बस्नुहुन्छ भनेर सोध्ने बाहेक खासै थप सोधखोज गरिनँ।
—
सन् २०१८ मा दसैँको समयमा म बैंककमा अफिसको छोटो तालिम सकेर दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल हुँदै नेपाल फर्किँदै थिएँ। म छेउमै बसेका ४० देखि ५० वर्ष उमेरका पुरुषहरू रोयल नेपाल एअरलाइन्सको सेवा’bout कहिले मजाक उडाउँथे त कहिले विमानबाट आएको खट्खट् आवाज’bout पुरुष परिचारकलाई गुनासो गर्दै थिए। ती परिचारकले एउटा नोट प्याड ल्याएर त्यसमा गुनासो लेख्न सुझाए। १ घन्टा १५ मिनेटको यात्रामा मैले खासै केही बोलेको थिइनँ। छेउमै बसेको उसले “हामीले बोलेको अफेन्सिभ लागे सरी है” भनेको थियो। मैले फिस्स हाँसे मात्रै। तर उसले मलाई कोट्याइरहन छोडेन।
मैले हल्काफुल्का जवाफ दिएँ। उनीहरूले ती पुरुष परिचारकलाई गरेको व्यवहार मलाई जँचेको थिएन। खासै राम्रो इम्प्रेसन नपरेपछि मैले उत्तिको वास्ता पनि गरिनँ। विमान अवतरण गरेपछि सिटमाथि ओभरहेड स्टोरेजमा राखेको भिडिओ क्यामरा ब्याग र ट्राइपड झिक्न खोजेँ। मेरो बलले भ्याएन। उसैले म मद्दत गरिदिन्छु भनेर आयो। बाहिर निस्किएपछि पनि उसले अगाडिको कुराका लागि सरी भन्यो। उसको अनुहारमा म कतै न कतै ग्लानि महसुस गर्न सक्थेँ। र, मैले भनेँ, “ठिकै छ। माफी त ती पुरुष परिचारकसँग मागेको भए हुन्थ्यो जसलाई तिमीहरूले र्याखर्याख पारेका थियौ।”
उसले मेरो क्यामराको भारी देखेपछि कहाँ काम गर्ने र नाम के हो भनेर सोधेको थियो। मैले पहिला त हाँसे मात्रै विमानबाट झरेर अध्यागमनको लाइनमा बस्दासम्म कर गरेपछि मैले नाम भनेँ।
त्यहाँबाट बाइ भनेर म घर आएँ आफ्नै सुरमा। बेलुका फेसबुकमा फ्रेन्ड रिक्वेस्टसहित सन्देश आएको रहेछ। मैले रिक्वेस्ट असेप्ट गरेँ र रिप्लाई गरेँ। एवंरितले कुरा हुँदै गयो। उसले काठमाण्डूमै हुँदा भेटौँ भनेको थियो मैले भेटिनँ। तर अनलाइन कुरा हुन्थ्यो। १८ र १२ वर्षका उसका दुई छोरी होस्टलमा बसेर पढ्ने रहेछन्। श्रीमतीसँग डिभोर्स केस चलिरहेका कारण उ दिल्लीमा आमासँग बस्नेरहेछ। बुवा र म दिल्ली गएका बेला उसको घरमा बेलुकाको खाना खान हामी गएका थियौँ। उ बुवा र मलाई भेट्न हामी बसेको होटलमा भेट्न पनि आएको थियो।
डिप्रेसनको औषधि खाने र रातभरि निदाउन नसक्ने उ जुन बेला पनि अनलाइन हुने गर्थ्यो। मलाई अनलाइन देखेका बेला मेसेज गर्दा म संक्षिप्त रिप्लाई गर्थेँ र उसको स्वास्थ्य अनि आमाको स्वास्थ्य कस्तो छ भनेर सोध्थेँ।
उसले त्यो समय आफूलाई सुनिदिने मानिस खोजिरहे जस्तो लाग्थ्यो तर मैले त्यति धेरै नचिनेको मानिससँग झ्याम्मिएर कुरा गर्ने आँट पनि ममा थिएन। उसले बिस्तारै साथी जस्तै व्यवहार गरेपछि मैले बिस्तारै उसका कुरा अलि मन दिएर सुन्न थालेको थिएँ। कहिलेकाहीँ उसले फोन गरेका बेला म उसले भनेका कुराहरू सुन्थेँ मलाई प्रतिक्रिया जनाउन खासै आउँदैन थियो। ती फोनहरूमा उसका पारिवारिक कुरा हुन्थे, रात भरी निद्रै लाग्नै भन्ने कुरा हुन्थे र सायद म धेरै बाँच्दिनँ होला भन्ने उसका निराश कुरा सुन्थेँ। मैले भन्ने गरेको थिएँ। त्यस्तो कुरा सुन्न म सक्छु तर म सुल्झाउन सक्दिनँ त्यसैले मनोचिकित्सकलाई देखाएर औषधि उपचारमा नै जानुपर्छ। उसमा अवसादको कुन तह हुँदो हो भन्ने जिज्ञासा र एक किसिमको चिन्ता मलाई लाग्थ्यो।
सँगै उसले आफूले हात हालेको कुनै पनि व्यवसाय नफापेको र सम्भवतः रोग अलि निको भएपछि अमेरिका वा क्यानडा जाने प्रयास गर्छु पनि उसले भनेको म अहिले सम्झिन्छु। सुरु सुरुमा गफ धेरै हुँदै गए पनि कोरोनाकाल पछिको समयमा अलि कम हुन थाल्यो। कहिलेकाहीँ मेसेज हुँदा म आफू र बुवालाई ठिक भएको बताउँथेँ र उ र उसको आमालाई कस्तो छ भनेर सोध्थेँ।
“आमा हुनुहुन्छ र बाँचेकै छु,” भन्ने जवाफ आउँथ्यो। मलाई कहिलेकाहीँ उसले ‘अटेन्सन सिक’ गर्न खोजेको हो कि भन्ने पनि लाग्थ्यो। तर म उपचार गर्न र नियमित औषधि खान सुझाउँथेँ। पछिल्लो समय लगभग एक वर्षदेखि त कुराहरू शुन्यप्राय: नै थियो।
गत साता एक्कासि मलाई उसको स्वास्थ्य अवस्था कस्तो होला र आमाको के छ होला भन्ने लाग्यो। मैले सुरुमा ह्वाट्सएपमा मेसेज गरेँ। रिप्लाई आएन। त्यसको भोलिपल्ट फेसबुक चेक गरेँ। मेसेन्जरमा मेसेज पठाएँ। त्यसमा पनि रिप्लाई आएन। सोचेँ उ निको भएर कुनै अर्कै देश गएर काम गर्न थालेकाले सामाजिक सञ्जालहरूमा कम देखिन थालेको होला। केही दिनसम्म पनि रिप्लाई नआएपछि मलाई खुलदुली भयो। मैले उसको भाउजु (जो हैदरावादमा बस्नुहुन्छ) जसलाई मैले उसको घरमा बुवा र म खाना खान गएका बेला चिनेको थिएँ, उहाँलाई सोधेँ। र थाहा पाएँ- उ त यो संसारमा नै रहेनछ।
हिजो राति उसको भाउजुको मेसेज पाएपछि मन अमिलो भएर आयो। उसँगको मित्रता कस्तो थियो। उ डिप्रेसन र एङ्जाइटीबाट ग्रसित थियो। उसलाई लिभर सोरोसिसले लगेछ। जीवनको उत्तरार्द्धमा उसलाई छोरीहरूसँग बस्न पाइनँ भन्ने ठूलो चिन्ता थियो। एकतर्फी मात्रै कुरा सुनेका भरमा म उसको पारिवारिक विषयमा को सही थियो को गलत थियो जान्दिनँ। तर उसलाई आफू असल पिता हुन नसकेको प्रति ग्लानि थियो। आज दिनभरि मैले उसलाई सम्झिरहेँ। उसका पीडाका कुरा, आमालाई लिएर पशुपति दर्शन गर्न आउँछु भन्ने कुरा धेरै सम्झिएँ। अनि उसको आमा सम्झिएँ। ७५/७६ वर्ष उमेरको आमा छोरा गुमाउँदा कुन पीडामा हुनुहुन्छ होला?
उ अन्तिम समयमा अस्पतालमा हुँदा उसका दुई छोरी अस्पताल भेट्न पुगे होलान् कि पुगेनन् होला?
उसले आफू कमाउन सक्ने हुँदा र नसक्दा, पारिवारिक अवस्था राम्रो हुँदा र समस्या आएपछि समाजले गर्ने व्यवहार कति परिवर्तन हुँदै जाँदो रहेछ भन्ने खालको कुरा भनेको थियो।
आज दिनभरि सोचिबसेँ, कुन अवस्थामा अस्पताल लैजानुपर्यो होला। कति समय अस्पताल बसेपछि मृत्यु भयो होला?
मैले त कहिल्यै पनि आफैँ सोधखोज गर्ने गरेको थिइनँ। उसलाई के लागेर मलाई मेसेज गर्न छोडेको थियो होला?
अलबिदा दोस्त!



