बाबुराम सरकारको रुल अफ ल….

ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको दश वर्ष पुग्न लाग्दा दुई दोषी पार्टीको आडमा जेलबाहिरै बसेर आममाफीको प्रयास गरिरहेका छन्। २०५३ साल जेठ २९ गते भक्तपुरको दधिकोट-४ मा घाँटी थिची मारेको अभियोगमा दश वर्षअघि सर्वस्वसहित जन्मकैद सुनाएका केशव नेपाल केही साताअघिसम्मै एकीकृत माओवादीमा केन्द्रीय सदस्य थिए भने कृष्ण रानामगर अझै नेकपा एकीकृतको केन्द्रीय समितिमै छन्।

२०६० माघ २३ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय केदारप्रसाद गिरी र मीनबहादुर रायमाझीको संयुक्त इजलासले यी दुवै हत्यामा संलग्न भन्दै जन्मकैदको फैसला सुनाएको थियो।
केशव एकीकृत माओवादी विस्तारित बैठकसम्म केन्द्रीय सदस्य नै थिए। घटनाका बेला पुल्चोक इन्जिनियरिङ कलेजमा पढिरहेका उनी तत्कालीन अनेरास्ववियुका सचिव थिए। श्रीमती सुनिता शर्मासँग आफ्नै भतिज ज्योतिकुमार नेपालले अनैतिक सम्बन्ध राख्ने गरेको भन्दै केशवले ज्योतिलाई मार्ने योजना बनाएका थिए। उनले बेलाबेला श्रीमतीसँग ‘भतिजालाई बर्बाद पार्ने’ बताउने गरेको सुनिताले अदालतको बयानमा जानकारी गराएकी छन्।
पाल्पा बराङ्दीका केशवले श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको शंकामा भतिजालाई मार्ने योजना बनाई धादिङ कल्लेरी-९ का कृष्ण रानामगर र पाल्पाकै कमलप्रसाद बस्याललाई अह्राएका थिए। उनी घटनास्थलमा उपस्थित केशवको निर्देशनमा कृष्ण र कमलले ज्योतिलाई मारेको सर्वोच्च अदालतको फैसलामा उल्लेख छ।
यही कसुरमा सर्वोच्चले जन्मकैदको फैसला सुनाए पनि पार्टीको आडमा उनीहरू पक्राउ परेका छैनन्। उल्टै उनीहरूमाथि फैसला भएको मुद्दा राजनीतिक भन्दै आममाफीको पहल गरिरहेका छन्। यसका लागि गृह मन्त्रालयले पटकपटक मन्त्रिपरिषदमा सिफारिस गरेको स्रोतले बताएको छ।
केशव र कृष्ण दुवै पहिला एमालेमा सक्रिय थिए। मुद्दाका अर्का दोषी कमल अदालतको १० वर्ष कैदसजायअनुसार सुरुदेखि नै ललितपुरस्थित नख्खु कारागारमा छन्।
२०५४ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा उनीहरूको मुद्दा भक्तपुर जिल्ला अदालतमा विचाराधीन थियो। त्यतिबेला बामदेव गौतमले नै उनीहरुको मुद्दा राजनीतिक भन्दै फिर्ता गर्न खोजेको तर सरकार ढलेकाले सफल नभएको स्रोतले बतायो। एमालेबाट फुटेर सिपी मैनालीले नयाँ पार्टी निर्माण गरेपछि केशव र कृष्ण दुवै त्यसमा सक्रिय भएका थिए।
‘अदालतमा विचाराधीन भएसम्म उनीहरूको मुद्दा फिर्ताको प्रयास लगातार सबै सरकारले गरे,’ स्रोतले भन्यो, ‘मारिएका ज्योतिका दाजु एमाले शिक्षक संगठनमा सक्रिय भएकाले उनीहरू एमालेमा रहँदासम्म मुद्दा फिर्ता नभएको हो।’
एमालेमा छँदा मुद्दा फिर्ता नभएपछि उनीहरूले पार्टी परिवर्तन गरेका थिए। आममाफी गराउन सजिलो हुने आशाले केशव डेढ वर्षअघि माओवादीमा प्रवेश गरेको स्रोतले बतायो।
‘यहाँबाट सिफारिस त भएको हो, मन्त्रिपरिषदले आममाफी मौखिक रुपमा निर्णय पनि गरेको हो तर बालकृष्ण ढुंगेलकै मुद्दामा राष्ट्रपतिले रोकेको थाहा पाएपछि माइन्युटिङ हुन सकेन,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘प्रधानमन्त्री बाबुराम भट्टराईले नै उनीहरूको मुद्दामा आममाफीका लागि राष्ट्रपतिसँग अनौपचारिक कुरा गर्दा ‘ऐनकानुन अनुसार गर्नु’ भन्ने प्रतिक्रिया पाएपछि प्रधानमन्त्री पछि हट्नुभएको हो।’
पाल्पामा रहँदा राम्रो चिनजान भएको उक्त स्रोतले केशव माओवादीमा प्रवेश गर्नुको कारण आममाफी हुने आशा नै भए पनि ओखलढुंगाका सभासद बालकृष्ण ढुंगेलको मुद्दाका कारण हुन नसकेको दाबी गर्‍यो।
कृष्णले भने आफूमाथि फैसला कार्यान्वयन किन नभएको थाहा नभएको बताए।
‘म अहिले नेकपा एकीकृतमा केन्द्रीय सदस्य छु,’ रानामगरले नागरिकसँग भने, ‘मलाई फैसला किन कार्यान्वयन नभएको थाहा छैन।’
केशव र कृष्णको जस्तो फौजदारी मुद्दामा फैसला हुने गरे पनि तिनीहरूको कार्यान्वयन फितलो हुने गरेको छ। देशभर फौजदारी मुद्दामा सजाय भएका १ सय हजार वर्ष र ८ अर्बभन्दा बढी कैदसजाय कार्यान्वयन हुन बाँकी छ।
‘अदालतले चाहेर मात्रै फैसला कार्यान्वयन हुन सक्दैन भन्ने विषय आम मानिसले बुझ्न जरुरी छ,’ फैसला कार्यान्वय निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले भने, ‘अदालतको फैसलाअनुसार हामीले कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतलाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन राज्यको इच्छाशक्ति र नागरिक समाजको सक्रियता चाहिन्छ।’ फैसला कार्यान्वयन गर्न कानुनी प्रावधान अनुसार नै सुरक्षाकर्मीको सहयोग चाहिने हुँदा राज्यले नचाहेसम्म कार्यान्वयन हुन नसक्ने उपाध्यायले बताए।
फैसला र मिसिलअनुसार केशवले भतिजा मार्न जिल्लाबासी कमललाई अह्राएको र उनीमार्फत नै कृष्णसँग पनि चिनजान भएको थियो। कमलको बयानअनुसार उनी कृष्णसँग ज्योतिलाई लिएर राति बस्ने गरी दधिकोट गएका थिए। योजनाअनुसार बियर र भोड्का लिएर दधिकोट गएका उनीहरू बिस्तारै मातिन थालेपछि कृष्णले केशवको योजनाअनुसार घाँटी थिची ज्योतिलाई मारेका थिए। खाली बियरको बोतल बटुल्ने स्थानीय १३ वर्षीय विष्णु शरण जंगमको बयान, केशवकी श्रीमती सुनिता र पोष्टमार्टमको रिपोर्टअनुसार सर्वोच्चले कमललाई १० वर्ष कैद तथा केशव र कृष्णलाई जन्मकैदको फैसला सुनाएको हो।
२०५५ साल कात्तिक ५ गते भक्तपुर जिल्ला अदालतले कमललाई सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो। पछि पुनरावेदन अदालतले तीनैजनाको घटनामा उत्तिकै संलग्नता भएको भन्दै सबैलाई जन्मकैद फैसला गर्‍यो। त्यसको पुनरावेदनमा सर्वोच्च अदालतले केशव र कृष्णलाई सर्वस्वसहित जन्मकैद र कमललाई १० वर्ष कैदको फैसला सुनाएको हो।

Advertisements