प्रेम, सम्बन्ध र विवाह (मात्रै छलफलका विषय)

जोडिदैँ की तोडिदैँ सम्बन्ध ?दिउँसोको मध्य १२ बजे । चर्को घाम चिर्दै सानेपाको त्यो फियोनाको (बेलायति महिला हुनुपर्छ) घाँसैघाँसले लेउ लागेको आँगन हुँदै लिबिगं रुममा पुगेको थिएँ ।

त्यहाँ उसलाई लगभग दुईवर्षपछि देख्दा तीनछक्क परेँ । म जस्तै उ पनि छलफलमा भाग लिन आएको बुझ्न मलाई गाह्रो भएन । यसै पनि उ नेपाल छँदा रेडियो आर्टिस्ट थियो । हामी बाहेक छलफलका लागि अन्य चार थिए । अरु को-को थिए पहिला त मेरो ध्यानै गएन । म जतिकै उ पनि अचम्म परेको हुनुपर्छ ।
‘अरे, बिनि तिमी ?’उसको अचम्मित भएको स्वर । मलाई चकटी दिएपछि उ नजिकै गएर बसेँ । मैले वातावरण सहज बनाउनु पथ्र्यो । कार्यक्रम स‌‌‌चालिका र अन्य सहभागितिर ध्यान मोड्न खोजे जस्तो गरेँ । घाँटीबाट सहजसँग स्वर आइरहेको थिएन । मलाई त्यहीँकी दिदीले नुन हालेर पानी ल्याइदिनु भयो ।

बिबिसिको ‘कथा मिठो सारंगीको’ रेडियो नाटकमा छलफलका लागि बोलाउन भबसागरले फोन गरेपछि पुगेको थिएँ म । दिमाग सुन्य थियो एकहप्तादेखि मैले पेपर हेरेको थिइन समसामयिक विषय र न्युजमा शुन्य थिएँ । बोल्नुपर्ने विषय ‘प्रेम, विवाह र विवाहपूर्वको यौन सम्बन्ध’ थियो ।

भलै, म यी विषयमा सधैँ मौन रहन्छु । त्यो दिन खै के कुराले हो बिरामीबाट नतंगि्रँदै मैले कार्यक्रममा भाग लिने अठोट गरे । स्कुटरमा गुडिरहँदा पनि केयूको रिजल्ट दिमाग भरी घुमिरहेको थियो । रेडीयो छलफलको विषयलाई मैले खास वास्ता गरेको थिइनँ । अब ब्याचलरको रिजल्ट हातमा परेपछि मैले मास्टस्र कहाँ जोइन गर्ने ? दिमागमा बस यस्तै कुरा थिए ।
ग्यानोदय स्कुलबाट भबसागरजीलाई स्कुटीमा राखेर म त्यो ओसिलो लाग्ने घरभित्र छिरे देखिनै मेरो दिमाग उसकै बिगततर्फ डोरिएको थियो ।

बिशाल (नाम परिवर्तन) मेरो साथीको एक्स ब्वईप्रुेन्ड । उसलाई देखेर मेरो दिमागमा बिगत गुजि्रए जस्तै उसलाई पनि त्यस्तै भइरहेको छ भन्ने उसको अनुहारको भाबमा म छरपष्ट देख्न सक्थेँ । रेडियो साचालिकाले सुरु मै प्रश्न सोधिन्, ‘तपाईँको ब्वईप्रुेन्ड छ ?’

कार्यक्रममा प्रश्न सोध्ने कस्तो तरिका हो यो ? हाम्रा समाजका केटाकेटी यति खुलस्त सँग आफ्नो केटासाथी वा केटीसाथी भएको कुरा रेडियोका लाखौं दर्शकले सुन्ने थाहा पाउँदा पाउँदै स्वीकार गर्न सक्छन् । भलै मैले सही बोलेँ ‘छैन’ भनेर ।

जानुका शर्मा आँटिली हुन् उनले आफ्नो व्वई प्रेुन्ड भएको बताइन् । छलफल त्यसपछि सुरुभयो । सम्भवत ६ मध्य मैले सबैभन्दा कम बोलेँ आधा घन्टाको छलफल कार्यक्रममा । खै मैले आफूलाई बुझ्की सम्झेको हो कि त्यहाँ सबैको बिचार सुनि सकेपछि लाग्यो मैले कम बोलेपनि यिनीहरु भन्दा यी विषयलाई परिपक्वसँग मै बुझ्न सक्छु ।

कार्यक्रममा बिशालले आफ्नो बिगतको सम्बन्ध थोरै कोट्याएपछि म झस्किएको थिएँ । म कार्यक्रममा सबैलाई ध्यान दिएर सुन्न वा आफ्नो राय राख्न भन्दा बिशाल र उसकी प्रेमिकाको बिगतमा फर्किन र फियोनाको कोठा सजावट हेर्न बढी तल्लिन थिएँ ।

मेरो बाइसौँ जन्मदिन मनाउन भृकुटिमण्डपको ‘हलुवा बर्गर’मा म भन्दा पहिलै बिशाल र उसकी प्रेमिका स्टीलको प्लेटमा चिजबलको पहाड बनाएर बसेका थिए । चिजबल मेरो बेस्ट भएको उनीहरुलाई थाहा थियो । बिशाल त्यो बेला पनि एकमहिने लिभमा नेपाल आएको थियो । त्यो दिन हामीले खुब रमाइलो गर्यौ । पछि बिशाल र विपश्वी (उसकी प्रेमिका र मेरी साथी)ले मलाई ‘ह्याप्पी बर्थ डे बिनी’ कुँदिएको हरियो टिस्रट गिफ्ट गरे । यी शब्द लेखिरहँदा पनि मैले आफ्नो आंग त्यही टिस्रटले ढाकेको छु। पढ्नेक्रम जारी राख्नुहोस्

सानो छँदा, मामाघरको दसैँ

cutie

दसैँमा 'गून्यू चोलो' दिँदा.....:)

त्यो बालापनको सम्झना जो हरदम रम्छ मनमा
त्यो मिठो मधुर मुस्कान आहा चचल बचपन
जो बितिसक्यो छुटिसक्यो एकपटक छाउने बचपन
फेरी कहिल्यै नआउने बालापन बाकिँ छ एउटै बचपनको याद
नसक्छ भुल्न भुलाउन बीच बचपन हजुरआमाको साथ

दशैँ आयो र अब झन्डै झन्डै गयो पनि । दशैँभरी घरमा ‘भाँडा मझुवा’को काम अझै जारी छ । यसपाला मामाघर गइएन । घरबाट कतै निस्किएन पनि । बच्चा बेलाको रमाईलो सम्झिँदा लाग्छ त्यो रमाईलो अब कहिल्यै आउँदैन । खै त्यो मामाघरको रौनक ? खै बाराही थान जाने हुटहुटी ? अनि खै िपंग खेल्ने रहर ?

मामाघरको त्यो सान । बुवाको ‘आरएक्स’ बाइकमा अगाडी बसेर मामाघर जानुको मज्जा कम हुँदैन थियो । टिकाको दिन या भोलिपल्ट म बुवा भन्दा अगाडी बसेर बाईकका् ह्यान्डल समाउँथे । लाग्थ्यो, काठमाडौंको गोठाटार देखि भक्तपुरको बागेश्वरी सम्म बाटामा हिँडेने मान्छेले मलाई नै हेरीरहेका हुन्छन् ।

मोटरसाइकल मामाघरसम्म पुग्दैन थियो । सात मिनेट जति ओरालो झरेपछि आउने लंगडा मामाको पसलमा बुवाको बाइक राखेर हामी मामाघर जान्थ्यौँ, अध्यारोमा छामछामछुमछुम गर्दै । मोटरसाईकलमा बुवा र ममि मात्रै जाँदा भने म दिदीसँग बसमा जान्थेँ । त्यसो गर्दा बसबाट झरेर मामाघरसम्म पुग्न एकघन्टा उकालो उक्लिनु पथ्र्यो । मनपोखरीदेखि मामाघरसम्मको हिँडाईको रमाइलो कम्ती हुँदैनथियो । धेरैजसो हाम्रै मामाघर जाने आफन्त भेटिन्थे । छोरी धेरै भएको मामाघरमा पाहुना निस्फिकि्र हुन्थे ।

हामी उही उमेर हाराहारीका भुर्राहरुको माझमा म अलि गमक्क परेर बस्थेँ । प्राय सधैँ मामाघर जाँदा सानो मामाको भैँसी बिरामी हुन्थ्यो । ममि, सानीमाहरु पीर गरिरहने । त्यसको हामी भुरालाई बाल मतलब ।

दसैँमा प्राय सधैँ अध्यारोमा पुगिन्थ्यो मामाघर । हजुरआमाको त्यो फराकिलो पिँडीमा टिका लगाउन गएकाहरु फैलिएर बस्थे । ९५ कटिसक्नु भएको हजुरबा दिउँसो त राम्रो सँग मान्छे चिन्नु हुदैँन थियो । राति टिका लगाइदिने कुरै भएन । टिकाको दिन राती मामाघर बस्ने छोरी चेली भान्जा भान्जी मात्रै ५० जना भन्दा बढी हुन्थे । तर मामाघरमा पाहुना जति भएपनि हजुरआमा हुँदा सम्म छोरी र भान्जीहरुको खुट्टामा माइजुहरुले तेल लगाइदिने चलन थियो ।

तलातला भएको आँटीमा बसेर हामी ठूलो कसौँडीमा भात पकाएको हेरिरहन्थ्यौं । मलाई ठूलो दियो घरमा साँझको बत्ति बालेको असाध्यै मनपथ्र्यो । धुपौरोमा ध्यू र कपूर हालेर बाहिर सम्म घन्टी बजाउँदै मामाको छोरी तुलसीको मोठ सम्म आइपुग्दा रहर लाग्थ्यो । त्यही सिको गरेर मैले पनि घरमा रहर नपुगुन्जेल साँझको बत्ति त्यसैगरी बालेको थिएँ ।

हजुरआमा मामाघरमा धेरै जसो दही चिउरा केरा दिनुहुन्थ्यो । मलाई हजुरआमाको दाहिने आँखा अमिताब बच्चनको देब्रे आँखा जस्तै लाग्थ्यो । बिचरी हजुरआमालाई अमिताब बच्चन भनेको को हो के थाहा ।

कुरा गर्दा नाकको देबॆ पोरामा देब्रे हातकै चोर औँला राखेर कुरा गर्ने हजुरआमाको बानी हामी सबैलाई मनपथ्र्यो । म सानीमाहरु घर आउनु भएको बेला हजुरआमालाई जिस्काउँथे पनि हजुरआमाकै पारामा ‘हुई बाबु’ भनेर । हजुरआमाले सबैभन्दा मन पराएको ज्वाईँ मेरो बुवा । बागेश्वरीमा धेरैले बुवालाई चिन्थे ‘दाहाल भिनाजु’ भनेर । कसैले म जाडो बिदामा गएको बेला दाहाल भिनाजुको कान्छी छोरी भनेर चिनाईदिँदा आफ्नो सान नै अर्को हुन्थ्यो ।

अँ साँच्चै बच्चा हुँदा मामाघरको दसैँमा रमाइलो हुन्थ्यो, भोलिको उज्यालो कहिले हुन्छ र हामी भूराले आफ्ना आफ्ना लुगा एकअर्कामा देखाउने । राम्रो लूगाको कम्पिटिसनमा सधैँ मैले नै जितेँ की जस्तो लाग्थ्यो ।

सधैँजस्तो मामाघर भरीमा मेरो दसँैको नयाँ लुगा अरुको भन्दा विशेष हुन्थ्यो भन्ने लाग्थ्यो मलाई (सबै केटाकेटीलाई सायद त्यसतै लाग्छ की खोइ) ।

हजुरबुवा लगभग सय मिटर लामो पिँडीको बीचको खाटमा बस्नुहुन्थ्यो । खाटमा अटाउने अरु चार पाँचजना जति ज्वाईँहरु बस्न पाउँथे । भुराहरुलाई प्राय जस्तो पीडीमा सुकुलमाथि । म बुवाको काखमा लुसुक्क बसिसक्थेँ । बुवाहरुलाई चिया आउँदा मलाई पनि सँगै आउँथ्यो ।

बेलुकी खानापछि भाँडा माझ्ने बेलामा धारोमा खेल्न मलाई मज्जा लाग्थ्यो । खरानीले माझिने भाँडाको चमक अहिलेको पि्रलले धोए भन्दा ज्यादा चहकिलो हुन्थ्यो ।

भोलि बिहान फराकिलो आँगनमा हलुवावेदको फेदमा हामी सबै टिका लगाउन फिजारिएर बस्थ्यौँ । जिउभरी दाद आएको हजुरबाको शरिरबाट सदाबहार घ्यूको गन्द आउँथ्यो । हजुरआमाले टिकाको थाली नजिकै राखिदिएपछि हजुरबा ठूला मान्छेदेखि टिका लगाउन सुरु गर्नु हुन्थ्यो ।

‘को बाबु’ टिका लगाइदिनेको निधार नचिनेपछि हजुरबा हजुरआमालाई सोध्नुहुन्थ्यो । ‘ए, माइली को हुन् यिनी ?’ भनेर हजुरआमाले फलानो भनेपछि सम्बन्धित ठाउँको बुढापाकाको हालखबर सोध्नुहुन्थ्यो । अनि फेरी एकछिन पछि नजिकै त्यही मान्छे गयो भने ‘को बाबु तिमी ?’ भन्नु हुन्थ्यो । म हजुरबालाई जिस्काउन बेलाबेला नजिक गइरहन्थे । सानीकान्छी की छोरी भनेपछि ए भन्नु हुन्थ्यो । अनि फेरी उही पारा । हामी भुर्राहरु हजुरबाको मान्छे बिसर्िरहने बानीमा आफू आफू जिस्काएर हास्थ्यौँ ।

टिका लगाइसकेपछि खाना खाएर म मामाघरको धारोमा खेलिरहन्थे । घरमा पानीको साह्रै अभाव भएकोले मलाई हाम्रो घरको पनि आँगनमै धारो भइदिए हुन्थ्यो नि भन्ने खुबै रहर लाग्थ्यो । ठूलो मामाको घरको आँगनमै जोडिएको धारामा म घरिघरि मुख धुने, हातगोडा ढुंगामा राखेर धुने गरिरहन्थेँ । मामाहरु जिस्काएर मलाई ‘यसपालि मंसिरमा भान्जीलाई एउटा भान्जी ज्वाईँ खोजेर खुट्टाको पानी खानुपर्छ’ भन्नुहन्थ्यो । मलाई बिहे गरिदिने भन्ने कुरा सुनेर रमाइलो लाग्थ्यो ।

हजुरबा, हजुरआमा, मामा, माइजुले टिका लगाएर पैसा दिएपछि टन्न खल्ती बोकेर हामी त्यो सानो घन्टी फूलको बार हुँदै मामाघरको ओरालो झथ्र्यौँ । म मनमनै आशा गथेँ जाडो विदामा पन्ध्र दिन बस्ने गरी मामाघर आउँछु ।

जाडो बिदामा मामाघर जानुको मज्जा बेग्लै । हजुरआमासँग मामाघरको पछाडी पट्टि गहिरोमा पर्नेे नेवारको ठूलो धारोमा लुगा धुन जाँदा मलाई धेरै जस्तो सुन्तला दिनुहुन्थ्यो । हजुरआमाको ‘ब्रेन ट्युमर’ भएपछि देब्रे हात नाडी भन्दा तल राम्रो सँग चल्दैन थियो । म हजुरआमालाई लुगा धुन सघाउँथे । लुगा धोइसकेपछि हजुरआमाले सधैँ अमला साबुनले नुहाइदिनु हुन्थ्यो । मैले त्यो साबुन हजुरआमाले बाहेक आजसम्म कसैले प्रयोग गरेको देखेको छैन ।

तर अब अहिलेको दसैँ ।

के रमाइलो छ खै यो दसैँको ।

ठूलोमामाहरु तल भक्तपुर झर्नु भयो । सानोमामा माथि गाउँमै भएपनि हजुरबा हजुरआमा हुँदाको जस्तो कुनै रमाइलो छैन । हजुरबाले एउटा सानो झार उमि्रन नदिने आँगनभरी घाँस भरिएको छ । त्यति ठूलो घर आँगनमा जम्मा बस्ने मानिस सानोमामा र माईजु । के भ्याएर र सकेर गर्नु । पोहोर साल जाँदा रमाइलै लागेको थियो ।

हजुरबा, हजुरआमा, त्यो बालापनको मामाघरको रौनक खुबै मिस भयो । हजुरआमा त्यही सनुँस भएको कोठाबाट दहीचिउरा खुवाउन केरा झिकेर आउनुहुन्छ की जस्तो लाग्यो । हजुरबा त्यही सुन्तलाको बोटमुनिको घाँस गोडिरहनु भएको छ कि जस्तो लाग्यो । तर फगत त्यो सूदुर स्मिृतिका रमाइला हुन् ।

सानो मामाको घर अगाडीको हलवेदको रौनक हराए जस्तै मामाघरको रौनक पनि बिस्तारै मधुरो हुँदै गएको छ । हजुरबा हजुरआमा नहुँदा पनि मामा माइजुको मायामा कुनै कमी आएको होइन । तर पनि मामाघर जाने हुटहुटि अहिले छैन । सायद उमेर सँगै रमाइलो गर्ने परिवेश फेरियो ।

तर मेरो प्यारो बागेश्वरीको मामाघर मेरी असल हजुरआमा सम्झिँदा मलाई त्यही सूदुर अतीत याद आइरहेको छ । आँखाभरी ती अप्ठ्यारा मामाघर जाने खोल्साखोल्सी याद आइरहेछ । मन त्यसै त्यसै चाचल भएर हजुरआमाको काखमा लुटुपुटुलुटु गर्न खोज्दै छ ।

दृष्टिविहीनका आँखामा हिमाली सौन्दर्य

पदयात्राका सहभागी

यो फिचर नागरिक शनिबारको घुमफिरमा प्रकाशित भएको हो ।

नेपालको पदयात्रामाथि बनेको वृत्तचित्र हेरेपछि छ वर्षकै उमेरमा अस्ट्रेलियन नागरिक निकले एउटा सपना बुने – ठूलो भएपछि, ‘नेपालुका अनगिन्ती हिमश्रृंखला आफ्नै आँखाले हेर्छु ।’

 
एक वर्ष पनि भएको थिएन मनमा यो सपनाले घर बनाएको एउटा दुर्घटनामा उनले दुवै आँखाको ज्योति गुमाए । टिभीमा देखेका नेपाली हिमश्रृंखला र पदयात्रीले समाएको बाटो पछ्याउन नपाइने भो भन्ने भावनाले उनलाई भित्रभित्रै औडाहा हुन थाल्यो ।
जति हुर्कंदै गए मनको आघात उति गड्दै गयो ।

 
तिनै निकले पछि सामुदायिक शिक्षकको पेसा अंगाले । अरुलाई आशावादी हुन सिकाउनुपर्ने शिक्षक अब आफैं कसरी घोर निराशाको अन्धकारमा हराउनु ! दृष्टिविहीन भएर पनि सकारात्मक सोंच राख्नुपर्छ र मनको आँखाले संसार चियाउनुपर्छ भन्ने पाठ सिकाउन थाले । यही कुरा हृदयंगम गर्न उनी आफैंलाई भने निकै समय लाग्यो ।

विद्यार्थीसँग घुलमिल गर्दैजाँदा र दिनरात उही शिक्षा दोहोर् याउँदा उनले जीवनको कटु वास्तविकता स्वीकारे – अब मैले दृष्टिविहीन भएर पनि दृष्टि भएका मान्छेले भन्दा बढ्ता अपेक्षा राख्नुपर्छ । र त्यसलाई पछ्याउने क्रममा आफ्नो शारीरिक असक्तता सम्झेर हातगोडा कमाउनु हुन्न ।
यो निष्कर्षले उनको सपनामा प्वाँख पलायो ।

उनले आफ्नै सकि्रयतामा एउटा भ्रमण कार्यक्रम आयोजना गरे दक्षिण अपि्रुकाको ‘माउन्ट किलिमन्जरो’को फेदीसम्म पुग्नॆ । र यो यात्रालाई उनले नाम दिए ‘ब्लाइन्ड एम्बिसन-वान’ ।

आँखा देख्नेहरु पनि सप्पैले आँट्न नसकेको यो अभियानमा उनलाई एकजना अर्का दृष्टिविहीनले पनि साथ दिए । यी दुईबाहेक तीन दृष्टि भएकाहरु पनि सामेल हुन आइपुगे । कुल मिलाएर पाँचजनाको समूह बन्यो – निक ग्लिसन चार्ली म्याककोनल दृष्टिविहीन रोजानी गि्रन ब्राइन ओ डिया र भिना एकोमाजो ।

यीमध्ये भिनाबाहेक जम्मै अस्ट्रेलियन थिए । भिनाचाहिँ अमेरिकी महिला ।
सन् २००१ मा साहसीहरुको यो टोली किलिमन्जरोको पदयात्रामा निस्कियो । जुन सम्झनलायक भयो भन्छन् निक आफैं ।
सम्झनलायक यस अर्थमा उनीहरु सकशुल फर्के । 

****
किलिमन्जरो भ्रमणबाट फर्केपछि निकलाई यस्तो लाग्यो मानौं उनले चरासरी उडेर संसार चाहारे ।
केही दिन त यही धङधङीले उनलाई प्रेरित पनि गरिरह्यो ।
तर एकदिन उनलाई आफ्नो ज्यानभरि पलाएका सारा प्वाँख एकएक गर्दै झरेर बुच्चे भएजस्तो लाग्यो । आकासबाट सिधै भुइँमा पछारिए ।
भएछ के भने एक स्थानीय टेलिभिजन च्यानलमा उनले समाचार सुनेछन् – ‘अमेरिकी दृष्टिविहीन नागरिक इरिक विहेनमेयरले विश्वको सर्वोच्च शिखर सरमाथा चुचुरो टेके ।’
यो समाचारले निकलाई भित्रैसम्म पोल्यो – ‘कहाँ म जाबो किलिमन्जरो टेकेँ भनेर फुर्किएको छु यहाँ दृष्टिविहीनले सर्वोच्च शिखरलाई नै आफ्नो पैतालामुनि पारिसक्यो ।’
हतारहतार चार्लीलाई खबर सुनाए । उनी पनि खङरंग भए ।

 
टेलिफोनमा एकछिन त चार्लीको बकै फुटेन । बीस वर्षदेखिको दोस्ती हो यिनको । दुवैका आँखामात्र उस्तै होइन मन पनि उस्तै छ । 

 
चार्लीलाई पनि त्यही भयो जुन निकलाई भइरहेको थियो । चार्लीले पनि त्यही सोंचे जुन निकले सोंचिरहेका थिए ।

 
बुच्चे ज्यान लिएर भुइँमा पछारिएका दुई पंक्षीमा फेरि प्वाँख पलायो ।

 
पाँचजनाको उही टोलीले फेरि निष्कर्ष निकाल्यो -‘ब्लाइन्ड एम्बिसन-टु’ । र यसपटक सगरमाथा आधारशिविर ।

 
हवाइजहाजमा उडेर नेपाल नझर्दासम्म निक मनमनै गुनिरहेका थिए ‘सानैमा टिभीमा देखेका ती हिमाललाई अब मनले स्पस्र गर्नेछु ।’

 
टोली यही असोज २ गते काठमाडौं ओर्लियो ।
४३ वर्षअघि नेपालको हिमश्रृंखला हेर्ने सपना देखेका निक आफ्नो सपनाको दैलोमा आइपुगे ४९ वर्षको उमेरमा ।
नेपाल आउनेबित्तिकै पदयात्रीको समस्या बुझेर ‘एक्सप्लोर हिमालय’ले उनीहरुको धोको सहज बनाइदियो । दृष्टिविहीनको भिजन टुरलाई सघाउन पदयात्रा गराएर खारिएका अनुभवी पथप्रदर्शकहरु खटाएर ।

 
दृष्टिविहीन पदयात्रीको साहस देखेर उनीहरुको रहर पुरा गर्न यात्रा सहज बनाउन खोजेको एक्सप्लोर हिमालयका कार्यकारी निर्देशक नवीन त्रितालले बताए । ‘अरुलाई भन्दा दृष्टिविहीनलाई भ्रमणको आनन्द दिलाउनु हाम्रो लागि चुनौती थियो,’ उनले भने, ‘यसका लागि हामीले बाटोभरि दृश्य वर्णन गर्दै जाने अनुभवी पथप्रदर्शक खटायौं ।’ 

****

 
असोज २१ बिहीबार ।
ठमेलको मस्र्याङ्दी होटलमा निक निकै थकित देखिन्थे । हिउँको चिसो र ठिहिर् याउँदो स्याँठले खाएर अनुहारभरि कालो पोतो बसेको थियो । हात खुट्टाभरि छालाका पाप्रा उक्किएका थिए । गलेर होला अलिकति हिँडडुल गर्दा पनि हल्का खोच्याउँथे ।
११ दिनको सगरमाथा आधारशिविर यात्रापछि मंगलबार बेलुकीमात्र यिनी राजधानी फिरेका हुन् ।

 
यी दृष्टिविहीनले मनभरि लुकाएर ल्याएको सगरमाथाको तस्बिर हेर्न बिहीबार बिहानै मैले समय मागेकी थिएँ । होटल पुग्दा त उनीहरु लबीमा मैलाई कुरिरहेका रहेछन् । साथमा थिए- चार्ली रोजानी र ब्राइन ।

 
‘अनि कस्तो रह्यो त यात्रा ?’

 
हातमा टिपेको कफीको कप थपक्क टेबुलमा राखेर दुवै हात उचाल्दै निकले भने,’इट्स अ लाइफ टाइम एक्सपिरियन्स । मेरो त जिन्दगीको सबभन्दा ठूलो सपनै पुरा भयो ।’
उता चार्लीलाई त नेपाल झर्नुअघि नै लागिसकेको थियो रे ‘म नेपालका हिमालले भरिएका आकासमा पखेटा फिँजाएर उडिरहेको छु ।’ उनले मनमनै कल्पना पनि गरे ‘अब छिट्टै म हिमालकै अघिल्तिर उभिएर हिउँलाई मनको आँखाले हेरिरहेको हुनेछु ।’

 
डायरीमा उनीहरुको अनुभव नोट गर्दा म घरि निकको आवाज सुन्थेँ घरि चार्लीको । कसले कुन कुरा पहिला सुनाउने भनेर दुवैबीच हानाथापजस्तै ।
लुक्ला विमानस्थल पुग्नुअगावै विमान परिचारिकाले निक र चार्लीलाई आकासदेखि नै दृश्य वर्णन गर्न सुरु गरिसकेछन् । लुक्लाबाट सुरु ११ दिने पदयात्रामा पनि बाटोभरि पदप्रदर्शकका मुखबाट दृश्यको स्वाद कानले चाख्न पाइरह्यो । मन त्यसैत्यसै उद्धेलित हुन्थ्यो रे उनीहरुको ।
जतिजति उक्लिँदै जान्थे चिसो हिमाली हावाले मनसम्मै छुन आउँथ्यो । तर वर्षौंदेखिको अभिलाषा पुरा हुँदाखेरि चिसो स्याँठले पनि मनलाई न्यानो पो पार्दो रहेछ !

‘चिसोले कहिल्यै गाह्रो भएनु निकले भने ‘म सधैं उत्साहित भइरहन्थेँ । हरेकदिन बास बसेको ठाउँमा उठ्दा यस्तो लाग्थ्यो मेरो आज नयाँ जन्म भयो ।’
बाटोभरि चराचुरुंगीको चिरबिर र खोलाको सुस्केरा उनीहरुले जीवनमै पहिलोचोटि अनुभव गरे । बिहानैको चिसोमा हिमाली हावा लाग्दा सूर्यको न्यानो किरणको अनुभव शब्दमा व्यक्त गर्नै नसकिने बताउँछन् चार्ली । बिहान हिमालका कापबाट सूर्य उदाएको कुरा साथीहरुले भन्दा उनी त्यसको बडेमाको अर्धगोलो आकृति मनको क्यानभासमा उतार्थे रे ।

निक र चार्ली घरिघरि मनमा लागेका कुरा पदप्रदर्शक र आँखा देख्ने अरु सहयात्रीलाई सोधिहाल्थे । यसले पनि दृश्यको सजीव चित्र कोर्न उनीहरुलाई सजिलो हुन्थ्यो । ‘हामी त हेरेर आहा भन्नेमात्र हो । उनीहरु सम्भव भएसम्म हरेक चिज छामेरै महसुस गर्न खोज्थे’ रोजानीले आफ्नो यात्रा अनुभव व्यक्त गरिन् ‘तर हिमाल त छाम्न सकिने कुरा भएन । त्यही भएर उनीहरु कोट्टयाई-कोट्टयाई सोध्थे ।’

 
हिमालबाट मात्रै नेपाल चिनेका पर्यटकले हिमाली भेग पुगेपछि बल्ल थाहा पाए नेपाल संस्कृतिको धनी रहेछ । मानिसको रहनसहन र बसोबासलाई उनीहरु छामेर अनुभव गर्न चाहन्थे । पथप्रदर्शक भन्थे नाम्चेबाट उँभो लाग्ने भरियाहरु ५० किलोभन्दा बढी भारी बोक्छन् । त्यसलाई आफैं महसुस गर्न निक र चार्लीले भरियाको भारी बोके । तर कहाँ पाएर सक्नु ! भरियाले लाउने लुगा र गहना कस्तो हुँदो रहेछ भनेर छाम्दै त्यसको बनावट र रङको धमिलोधमिलो आकृति मनमा बसाए ।

थाकेर कालापत्थर पुगेको दिन थप स्मरणीय भयो । स्थानीयसँग रक्सीले मातेर कम्मर हल्लाउँदै नाचेको सम्झँदा यसबेला पनि निकको जिउ अलिअलि हल्लिन्छ । खुट्टा हल्का थर्किन्छ ।

सगरमाथा आधारशिविर यात्रामा यी दुईलाई सबभन्दा ठूलो चुनौती बन्यो ठुल्ठुला चट्टानबाट जोगिनु । त्यही भएर उनीहरु गाइडले भनेको बाटो नबिराई हिँड्थे । छैठौं दिन आधारशिविर पुग्दा निकका दुवै आँखाबाट बररर आसु झर् यो । ‘मैले त्यो क्षण इरिकलाई सम्झेँ इरिकले सगरमाथा चुचुरो कसरी चुमे होलान् !’ निकले ज्योति हराएका आँखा झिमझिम पार्दै भने ।

यतिबेला पनि उनका आँखामा भावुकता भरिएको म देख्दै थिएँ ।

‘इरिकजस्तै सगरमाथा चढ्न त सक्दिनँ होला तर सकेजति चुनौतीपूर्ण यात्रा गर्छु,’ उनले कफीको अन्तिम सुरुप लिँदै भने, ‘र, इरिकले जस्तै किताब लेख्छु – दृष्टिविहीनका आँखामा हिमाली सौन्दर्य ।’

इरिकले सन् २००१ मा सगरमाथा चुमेर फर्केपछि लेखेको, ‘टच दी टप अफ दी वल्र्ड’ भन्ने किताब खुबै चलेको थियो ।

निर्दोष बन्दी

चौध महिनापछि निर्दोस साबित भएर थुनाबाट निस्किएपछि अभिजित श्रीमति कबिता र दोरी दीक्षाको साथ

सम्पादनको लागि ‘नागरिक शनिवार’का सम्पादक सुदिप दाईलाई धेरै धेरै धन्यवाद

विनिता दाहाल,

चौध महिनाअघि आफ्ना श्रीमानलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश आएको दिन उनी अदालतबाट बेहोसीमै घर पुगिन्। सात महिनाकी गर्भवती उनलाई धेरै दिन आँखा तिरमिराएझैं भइरह्यो। सास त चलिरहेको छ, तर प्राण श्रीमानसँगै कारागार पुगिसक्यो! आफन्तले नै हो, उनका काँपेका हातगोडालाई भर दिएर बबरमहलको काठमाडौं जिल्ला अदालतबाट ट्याक्सीमा चोभारको घरसम्म पुर्‍याएको। घर पुग्दा ६ वर्षे छोरी दीक्षाले सोधिन्, ‘यति धेरै दिन बाबा किन घर नआउनुभा’को, अब कहिले आउनुहुन्छ?’छोरीको यो प्रश्नले त झन् उनले हिक्का थाम्नै सकिनन्। रुँदै ओछ्यानमा पछारिन्।
छोरी हेरेका हेर्‍यै भइन्। आफन्तले नै उनलाई सम्हाले।
त्यो बेलासम्म श्रीमान् प्रहरी हिरासतमा रहेकै २८ दिन भइसकेको थियो। जुन आफैंमा कानुनविपरीत हो। कानुनले कसैलाई पनि २५ दिनभन्दा बढ्ता प्रहरी हिरासतमा राख्न रोक लगाएको छ। तोकिएभन्दा बढ्ता हिरासतमा बिताइसकेका श्रीमान्लाई अब त झन् अदालतले नै पुपर्क्षका लागि भन्दै कारागार पठाइदिएपछि छोरीको प्रश्नको जवाफ दिन उनीसँग शब्दै भएन।
किनकि, पुर्पक्षका मुद्दा कति वर्षमा टुंगो लाग्ने हो, कोही सोंच्न पनि सक्दैनन्।
*******************************************************

कविता कार्की, २४।
झैझगडामा पुलिसले समातेपछि अपहरण मुद्दा लगाएर पुर्पक्षका लागि थुनामा परेका उनका श्रीमान् हुन्, अभिजित कार्की। र, सँगै थिए, उनका भाइ अच्युत।
टोलकै झगडामा सामेल भएको भन्दै प्रहरीले यी दाजुभाइलगायत दस जनालाई समातेको थियो। त्यसको भोलिपल्ट बाँकी आठ जनालाई छाडियो। ती दुईलाई भने अपरहण मुद्दा लगाएर थप प्रहरी हिरासतमा राखियो।
*******************************************************

असोज १३ गते, बुधबार।
काठमाडौं जिल्ला अदालतमा कार्की दाजुभाइको मुद्दाको पेसी थियो। कविता आफ्ना श्रीमान् र देवर निर्दोष साबित हुन्छन् कि अपराधी घोषित हुन्छन् भनेर सुन्न समयअगावै अदालत पुगिन्।
दिनभरि कुरिन्। पलपल उनको मुटुको ढुकढुकी तीव्र हुँदै गएको थियो। मन एकतमासको भएर होला, घरिघरि पसिनाले निथु्रक्क हुन्थिन्।
कार्यालय समय सकिनेबेलासम्म पालो नआउँदा त उनको हंसले ठाँवै छाडिसकेको थियो, आज पनि त्यत्तिकै फर्किनुपर्ने पो हो कि भनेर।
धन्न पालो आयो।
न्यायाधीश बालेन्द्र रुपाखेतीले फैसला सुनाए, ‘अपहरण हुनको निमित्त ल्याएको तथ्यले अपराधी भन्ने देखिएन, निज निर्दोष ठहरिन्छ।’
अपहरण मुद्दा लागेर चौध महिना बन्दी जीवन बिताएका अभिजित दाजुभाइ निर्दोष साबित भए।
*******************************************************
चौध महिनापछि बुधबार फेरि कविता बेहोसीमै घर पुगिन्।
यसबीच छोरी दिनहुँजसो सोधिरहन्थिन्, ‘बाबा कहिले आउनुहुन्छ?’ उनीसँग कुनै उत्तर हुन्थेन। उनी सधैं मुख लुकाउँथिन् वा अरू कुरा झिकेर टार्थिन्।
यसपालि उनीसँग छोरीको प्रश्नको जवाफ छ।
उनले भनिन्, ‘तिम्रो बाबा भोलि घर आउनुहुन्छ।’
चुलबुले छोरी दुई दुई बित्ता उफ्रिन्, ‘आहा भोलि बाबाकै थालमा भात खान्छु!’
उनले रमाउँदै भनिन्, ‘भोलि बाबालाई लिन म पनि जेल जान्छु है।’
कविताले टाउको हल्लाइन्।
दीक्षालाई थाहा भइसकेको थियो, उनका बा जेलमा छन्। ‘नराम्रो काम गर्ने मान्छे जेलमा बस्छन्, हाम्रो बाबा नराम्रो काम नगरे पनि जेल बस्नुभयो,’ बिहीबार मध्याह्न अभिजित जेलबाट छुट्नुअघि दीक्षाले भनेकी थिइन्, ‘म त बाबा छुट्ने भनेर स्कुलै नगई लिन आको।’
अभिजितको जीवनमा आइपरेको यो घटनाले छोरीको पढाइमा समेत नराम्रो असर पर्न थालिसकेको थियो। युकेजी पढ्ने दीक्षा पहिला सधैं कक्षामा प्रथम हुन्थिन्। यसपालि चौथो भइन्।
‘पढ्नै मनै गर्दिनँ,’ आमा कविताले भनिन्, ‘सधैं बाबा, बाबा भनिरहन्छे।’
अभिजित र अच्युत छुट्ने खुसीमा कविताका आमाछोरी, ससुरा, दुई भिनाजु र दुई दाइ खानै नखाई केन्द्रीय कारागार आइपुगेका थिए।
अच्युतले कारागारबाट बाहिरिनेबित्तिकै ढिलै भए पनि न्यायको सास फेरे।
*******************************************************
‘निर्दोष भएर पनि हामी त अन्यायमा पर्‍यौं, अरू कसैले बिनाकसुर यसरी सजाय भोग्नु नपरोस्,’ बिहीबार केन्द्रीय कारागारबाट बाहिरिँदै गर्दा अभिजितले भने, ‘तर भन्नुमात्रै हो, जेलमा आधाजति मान्छे त हामीजस्तै पुर्पक्षका लागि थुनामा परेका रहेछन्। उनीहरू निर्दोष पनि हुनसक्छन्। तर, उनीहरूमाथि अपराधीजस्तै व्यवहार भइरहेको छ।’
‘हामीलाई आज निर्दोष घोषित गरियो, तर चौध महिना हामीले अपराधीकै जिन्दगी बितायौं।’
चौध महिना कैदीजस्तै चिसो छिँडीमा बिताएर शारीरिक र मानसिक पीडा पाएबापत् उनीहरूले राज्यबाट केही पाउने छैनन्। पुर्पक्षका लागि थुनामा परेका मान्छे निर्दोष साबित भए क्षतिपूर्ति दिने व्यवस्था विकसित देशहरूमा छ। त्यहाँ व्यक्तिको आम्दानीअनुसार उनीहरूले राज्यबाट हर्जना पाउँछन्। तर, नेपालमा हर्जना त के कुरा, राज्यले औपचारिक माफीसमेत माग्दैन।
प्राकृतिक न्यायको सिद्धान्तले भन्छ, ‘एक हजार दोषी उम्किउन्, तर एकजना निर्दोष नपरून्।’ तर, केन्द्रीय कारागारमा रहेकामध्ये ४० प्रतिशत दोषी वा निर्दोष ठहरिन बाँकी छ। तिनले पनि दोषी ठहरिएका कैदीसरह बन्दी जीवन बिताइरहेका छन्।
‘केन्द्रीय कारागारमा रहेकामध्ये ४० प्रतिशत त मुद्दा टुंगो लाग्न बाँकी बन्दी छन्,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीले भने, ‘पुर्पक्षका लागि थुनामा परेका बन्दी ३ महिनादेखि ५/६ वर्षसम्म जेलमा रहन सक्छन्।’
विकसित देशमा पनि नेपालजस्तै अदालतबाट मुद्दा फैसला नभइसकेका अभियुक्तलाई न्यायिक हिरासतमा राखिन्छ। तर, ती देशमा न्यायिक हिरासतका लागि राखिने कारागार छुट्टै हुन्छ। सबै आफूजस्तै दोषी वा निर्दोष ठहर नभएका व्यक्तिमात्र हुने हुँदा सबैले आफूलाई समान ठान्छन्। उनीहरूलाई हेर्ने बाहिरी दृष्टिकोण पनि फरक हुन्छ।
नेपालमा भने सबैलाई एउटै कारागारमा राखिने हुँदा जो पनि अपराधी देखिन्छन्।
‘विकसित देशमा अदालतको आफ्नै न्यायिक हिरासत हुने भए पनि नेपालमा त्यस्तो व्यवस्था छैन,’ अभिवक्ता बाबुराम दाहालले भने, ‘न्यायिक हिरासतबाट निर्दोष साबित भए राज्यले क्षतिपूर्ति तिर्नुपर्छ। त्यही भएर विकसित मुलुकहरूमा मुद्दा छिटो किनारा लगाउन जोड दिइन्छ, ताकि लामो समयपछि निर्दोष साबित हुँदा राज्यलाई ठूलो आर्थिक भार नपरोस्।’
काठमाडौं जिल्ला अदालतको भदौ महिनाको तथ्यांक हेर्ने हो भने दर्ता भएका १ सय २७ सरकारवादी फौजदारी मुद्दामध्ये पुर्पक्षका लागि ३८ मुद्दा परेका थिए। त्यसमध्ये ५० जना पुर्पक्षका लागि थुनामा गए। एउटै मुद्दामा एक वा एकभन्दा बढी अभियुक्त हुनसक्छन्।
अदालती कारबाही हेर्दा ती मुद्दा टुंगो लाग्न कम्तिमा ३ महिनादेखि ३ वर्षसम्म लाग्ने बताउँछन्, अदालतका श्रेस्तेदार भरत लम्साल।
पछिल्लो समय लागूऔषध, अपहरण, मानव बेचबिखन, शरीर बन्धक लगायतमा मुद्दा दर्ता हुने संख्या बढेको छ। ‘प्रायःजसो सरकारवादी फौजदारी यस्ता मुद्दामा तीन वर्षभन्दा बढी सजाय माग गरिएको हुन्छ,’ लम्सालले भने, ‘यस्ता मुद्दामा मात्रै पुर्पक्षका लागि थुनामा पठाउने गरिन्छ।’
कैदी र बन्दीलाई एउटै व्यवहार गरेर सँगै राख्ने प्रावधान जायज नभएको बताउँछन्, लम्साल। ‘दोषी हुनुअघि नै दोषीको जस्तो व्यवहार हुनुलाई जायज मान्न सकिन्न,’ उनले भने, ‘यस विषयमा राज्यले गम्भीर भएर सोंच्नुपर्छ।’
*******************************************************
कानुन व्यवसायी प्रभातकुमार गुप्ताले २०६३ सालयता २५ महिना पुर्पक्षका लागि थुनामा र बाँकी ५ महिना कैदी जीवन बिताए।
आफू बन्दी र कैदी हुँदा कारागारमा गरिने व्यवहारमा उनले कुनै फरक पाएनन्।
कार्की दाजुभाइको पनि यही धारणा छ।
‘हाम्रो देशको कानुनै यस्तै रहेछ, पैसा भयो भने गल्ती गर्नेलाई पनि उन्मुक्ति दिन्छ, पैसा नहुनेलाई निर्दोष भए पनि न्याय दिन ढिलो गर्छ,’ अभिजितले न्याय प्रक्रियाप्रति तिक्तता पोखे, ‘हामी अन्यायमा परेर जेलमा पर्‍यौं, तर समाजले हामीलाई जेलमा परेका भनी दोषी देख्यो।’
जेलमा दोषी र निर्दोष सँगै बस्दा पनि बन्दीमा नकारात्मक सोंचाइ बढ्ने उनले बताए।
‘हामीलाई एकपटक समाजले दोषी देखिसक्यो, अब त्यो पींडा, जेलभित्र बस्दाको समयबापत् हामीले के पाउँछौं त?’ उनले भने।