पानी मुनीको त्यो संसार

jomtein beach 1

सन् २०११ मा पहिलोपटक समुद्र देख्दा, त्यसको विशालताले मलाई माथ खुवाएको थियो। हुन त स्कुल देखि नै प्रिन्सिपल सरको टेबलमा रहेको ग्लोभमा देशहरु भन्दा ठूलो भूभाग पानीकै भएको देखेको हो। तर संसारका धेरै चीजहरु यथार्थमा नदेख्दासम्म कल्पनाहरु त्यति गहिराईमा बुझिनन् जति कल्पनामा सतही बुझिन्छन्। समुद्र मेरा लागि त्यो बेला यथार्थ बनेको थियो जसले त्यसअघिका सबै कल्पनालाई सजिब रुपमा विस्थापित गरेको थियो। समुद्र देखेर खुबै उत्साही भएको क्षण मेरो पहिलो तलबले किनेको क्यामेरा झरेको थियो र समुद्रको छालले खै कहाँ पुर्यायो। समुद्र देखेको पहिलो दिन म निकै दुखी भएको थिएँ। मेरो सामर्थ्यले भ्याउँथ्यो भने म टाइटानिक फिल्ममा हिरा जतिकै दुख गरेर त्यो क्यामेरा खोज्ने थिएँ सायद। समुद्रसँगको पहिलो अनुभव राम्रो नभए पनि म समुद्रलाई हेर्न चाहन्थेँ। कुनै तटमा वा किनारमा बसेर होइन। समुद्रको बीचमा उभिएर चारैतिर पानी नै पानी हेर्न चाहन्थेँ। र त्यो भन्दा पनि बढी समुद्रको पानीमा तैरिन चाहन्थेँ।

मेरो त्यो रहर यसपटक थाइल्याण्ड पुग्दा पुरा भयो। दक्षिण एशीयाली सम्मेलन पाकिस्तानमा हुने भनिए पनि अन्तिममा ब्याङ्ककमा हुने तय भएको खबर आयो। म त्यो खबरले खुशी भएँ। थाइल्याण्ड भन्दा देशका हिसाबले म पाकिस्तान नै जान चाहन्थेँ। मलाई त्यहाँको भुगोल हेर्ने रहर छ। थाइल्याण्डले लोभ्याउनुको एउटै कारण थियो, म त्यहाँ समुद्र हेर्न पाउथेँ र त्यो भन्दा बढी त्यो समुद्रभित्रको संसार हेर्न चाहन्थेँ। कार्यक्रम थाइल्याण्डमा तय हुने वितिक्कै मेरो मनमनले योजना बुनेको थियो, जसरी पनि स्कुभा डाइभ गर्ने। दुईदिने कार्यक्रमका लागि मैले चारदिनको छुट्टी मिलाए। मेरो पहिलो प्राथमिकता स्कुभा डाइभ थियो, एउटा समुद्रको बीचमा पुगेर चारैतिर समुद्रमात्रै हेर्ने, अर्को पानीभित्रको संसार नियाल्ने। अनि झन् अर्को चाहिँ पानीसँगको डर भगाउने। अघिल्लो वर्ष स्वीमिङ गर्न जाँदा नै म पौडिन डराएको थिएँ। खास मलाई पानीसँग निकै डर लाग्छ। सानोमा मनोहरा खोलामा पौडी खेल्न हामी भूराहरु जाँदा पनि म सधैँ किनारामा अरुको लूगा हेरेर नै बस्ने गर्थेँ। पौडिने आँट आउँदैन थियो।

चार नेपाली सहभागी भएको कार्यक्रम सकेपछि उनीहरु फर्किए। साथीहरु हुने यात्रा रमाइलो हुन्छ तर मलाई एक्लो यात्रा पनि कम रमाइलो हुन्न। हजार कुरा मनमा खेलाउँदै आफ्नो यात्रामा निस्कन पाइन्छ। म ब्याङ्ककको होटलबाट एउटा ट्याक्सी समातेर त्यहाँको एकामाई भन्ने बस स्टेसन पुगेँ। ११५ भाटको टिकट लिएर बसमा पटाया पुगेँ। करिब साँढे दुई घण्टा लाग्यो। नौलो ठाउँमा क्षणक्षणको यात्राको अन्यौल हुनु आफैँमा असुविधा हो। तर यसलाई मैले आफैँ अंगालेको थिए। त्यहाँ पुगेपछि अब कहाँ जाने। योजना स्कुभा डाइभको छ।

बसस्टपमा भाडाका स्कुटर थुप्रै पाइने रहेछन्। तर मेरो लगेज ठूलो छ र मैले कुनै पनि चालकको अनुहारमा त्यति धेरै विश्वास पनि देख्न सकिँन। कसोकसो मनमा धेरै प्रश्न उठिहाल्ने? अनि छेउमा एकजना पाका उमेरका विदेशी देखेँ। मरमेड भन्ने डाइभ सेन्टरसम्म पुग्ने बाटो सोधेँ। उनले एउटा जिस्तीमा चढाइदिने। चालकले भाषा बुझेनन् इशारामा पुर्याइदिने बताए। त्यो एक घण्टाको बाटो हाम्रो पोखराको लेकसाइड एरियाजस्तो थियो, पर्यटकलाई स्वागत गर्दै सजाइएका विभिन्न स्वादे रेस्टुरेन्ट र सामानहरुको पसल। एक घण्टापछि मलाई ड्राइभरले लगेज निकाल्दै डाइभ सेन्टर देखाए। त्यहाँ कफी पिइरहेका एकजना विदेशी थिए। उनी त भ्ल्याड रहेछन् जसलाई मैले दुईदिन अघि इमेल गरेको थिएँ। म एक्लै छु भनेपछि उनी इमेलमा ‘क्वाइट एक्साइटिङ’ भन्दै थिए। उनले मेरो स्काइडाइभ भिडियो पनि हेरेका रहेछन् मैले जीप्लसमा राखेको। त्यहाँ भोलिपल्टको लागि बुक गरेँ। उनले डाइभ गरेको १८ घण्टासम्म प्लेन नचढ्न सतर्क गराए। बरु डाइभ नै अर्कोपल्ट गर्न भनेँ।

मैले हातका औंला गनेँ। डाइभ गरेको १९ घन्टा पछि रहेछ फ्लाइट। म खुशी भएँ। उसले आँखा सन्काउँदै भन्यो, यू विल लभ इट फर स्योर।

म नजिकैको जोमतेन होटलमा बस्न गएँ। कटेज शैलीमा बनेको यो होटलमा मानिसहरु लामो बसाइका लागि आउने रहेछन्। एकजन जर्मनीकी लेखिका मैले त्यहाँ भेटेँ जो आफ्नै भाषामा एउटा पुस्तक सिध्याउन यो होटलमा विगत तीनसाता देखि बसिरहेकी थिइन्। कस्तो लोभलाग्दो। उनी घन्टैपिच्छे चुरोट सल्काउँथिन्, पुस्तकका पात्रहरुले फोक्सो सिध्याउने भए। म साँझ भोलि पौडिने समुद्र हेर्न जोमतेन किनारातिर पुगेँ। साँझको त्यो समयमा स्ट्रबेरी र खरबुजा कम्ता मिठो भएन। म समुद्रतिर फर्किएर आफ्नै बुढी ‍औंला हेर्दै निकैबेर घोरिएँ। यो विशाल समुद्रले कतिको खुशी खोसेको छ। एउटा देशबाट अर्को देश पुग्न कति  आप्रवाशीहरुले यही समुद्र पार गर्ने क्रममा आफ्नो जीवन गुमाएका छन्। यो वर्ष सामाजिक सञ्जालहरुमा यत्रतत्र फैलिएको एक बालकको समद्र किनारको तस्वीर सम्झेर म किनारामै रोएँ। एक्लै हुँदा मनमा कति धेरै कुरा आउँछन्। आफ्नो मान्छे गुमाउँदाको एउटै वियोगलाई मैले भुल्न सकेको छैन। मलाई अर्काको मृत्यूले पनि आफ्नो भोगाइ सम्झाएर चित्त दुखाउँछ आजकाल। समुद्र छेउमा धेरैबेर बसेपछि तीनजना युवतीहरुको समूहले मलाई तस्वीर खिचिदिन अनुरोध गर्यो। मैले उनीहरुको तस्वीर खिचिदिएँ। चिनियाँ त्यो टोली मध्यकी एकले मलाई यात्रा’bout प्रश्न गरिन्। मैले एक्लै आएको बताएँ। उसले ‘आइ रियल्ली लाइक योर गट्स’ भनि अनि सेल्फी खिच्नको लागि अनुरोध गरि। मैले मेरै मोबाइलबाट खिचेँ। उसले पठाउन रिक्वेस्ट गरि मैले पठाएँ पनि। समुद्रमा बग्रेल्ती केटीहरु स्वीमिङ कस्ट्यूममा देखिएका थिए। म झसंग भएँ, अघि भ्ल्याडले नबिर्सि कस्ट्यूम ल्याउन भनेका थिए। मसँग थिएन म पसल खोज्दै हिँडे। स्वीमिङ कस्ट्यूम लगाउन निकै धक लाग्छ। मैले अलि धेरै आङ ढाक्ने एउटा कस्ट्यूम किनेँ।

jomtein beach

साँझ ८ बजेतिर म होटल फर्किएँ। भोलिपल्ट पानीमा पौडिने र पानी मुनीको संसार हेर्ने र नयाँ अनुभव गर्ने मेरो जति उत्साह थियो उत्तिकै डर पनि। मलाई पानीसँग डर लाग्छ। तर मलाई भिडियो हेरेपछि स्कुभा डाइभ नगरि भएको छैन। म अनुभवका लागि जसरी पनि गर्न चाहन्छु। त्यसैले डरलाई जितेर मैले यो निधो गरेको थिएँ। म सँगै जाने कोही भएको भए पनि सायद म यति डराउने थिइनँ। यस्तै कुरा मनमा खेल्दै थियो कुनबेला निदाएछु।

विहान ८ बजे डाइभ सेन्टर पुगेँ। भ्ल्याडले एउटा फर्म भर्न दिए। जसमा कानसम्बन्धी स्वासप्रस्वास सम्बन्धी, मुटु र ब्लड प्रेसरसम्बन्धी प्रश्नहरु थियो जसको जवाफ एस वा नो मा दिनुपर्थ्यो। मलाई अरु केही समस्या थिएन, तर सानै देखि कानमा पानी पर्ने वितिक्कै मलाई खुब दुख्थ्यो। कान दुखेपछि घरमा औषधी नहुँदा दिदी साइँली भाउजुको घरमा गएर केराको पात ल्याउनु हुन्थ्यो अनि त्यसको डाँठ निचोरेर कानमा हालि दिनुहुन्थ्यो। त्यो औषधी हो/होइन थाहा छैन तर मलाई सन्चो भएको महसुस गर्थेँ म। मनमा डर हुँदा विगतका कुराहरु कति छिट्टै सबै मानसपटलमा आउन भ्याइसक्छन्। मैले कानको समस्या छ भन्नेमा एस गरेको भए डाइभ गर्न पाउँदैन थिएँ। केही नसोचि ‘नो’ टिक लगाएँ। गलत कुरालाई स्वीकार गर्न मनले कति धेरै धक मान्छ। फर्म भरेपछि मलाई मिल्ने आकारका सबै सामानहरु एउटा बक्समा हालेर दिए। हामी सेन्टरबाट गाडीमा निस्कियौं।

समुद्र पुग्दासम्म पनि मनमा कुरा आइरह्यो, आज केही नराम्रो नहोला। बरु स्काइ डाइभ गर्दा मेरो मनमा खासै डर थिएन। हेलिकप्टरबाट खस्दा पनि म त्यति धेरै आँत्तिएको थिइन। मसँग जोडिएको थियो, मेरो ट्यान्डम मास्टर। तर स्कुभा डाइभ गर्दा त मैले आफँ गर्नुपर्छ। इन्सट्रक्टर भए पनि सास लिने काम मैले आफैँ गर्नुपर्छ। पानीमा यता उता आफैँ गर्नुपर्छ, यसैपनि पानीले मेरो सातो लिन्छ। गाडी छोडेर पानी जहाजमा बसेपछि मेरो डर उत्साहमा परिणत हुँदै थियो। मैले कल्पना गर्ने गरेको समुद्रको लगभग त्यो भागमा म पुगेको थिएँ जहाँबाट चारैतिर समुद्रमात्रै देख्न पाइन्थ्यो। अनि कहीँ कहीँ देखिन्थे साना पहाडजस्ता टापूहरु। बस् यो सानो पानीजहाजको स्वर नभए गज्जब हुनेथियो।DSCN0096

एकैछिनमा हाम्रा डाइभ मास्टर आएर समुद्रमा जाने तरिका र पालना गर्नुपर्ने नियमहरु बताए। मैले उनलाई भनेको थिएँ, मलाई पानीसँग डर लाग्छ तर मलाई गर्नुछ। उनले हामी माछा होइनौं भन्दै पानी मुनीको संसारले लोभ्याउने बताए। नियम पुरा आइप्याडमा देखाएपछि उनले मलाई स्वीमसुट, गर्हुंगो फलामको बेल्ट, आँखा र नाक छोप्ने मास्क अनि खुट्टामा लगाउने फिन लगाइदिए। अनि उत्तिकै गर्हुंगो अक्सिजनको सिलिण्डर। डरले यसै पनि मेरो खुट्टा लगलग कामेका थिए। म अनिच्छुक तालमा उभिएँ। मेरा इन्स्ट्रकटर म भन्दा अगाडि उभिएर मलाई हामफाल्न भने। मैले मास्क टाउकोबाट तल झारेर आँखामा उनेँ। अक्सिजनको पाइप मुखमा राखेँ। उनले भनेजस्तै देब्रे हातमा पेटमा राखेर दाइने हातको बुढी औंलाले अक्सिजन लिने क्यापमा थिचेँ, चोरी र साइँली औंलाले आँखाको चस्मा थिचेँ। खुट्टा हामफाल्ने आँट नै आएन। इन्स्ट्रकटर क्रिशले भने, ‘कमन योंग लेडी यु क्यान डू इट।’ म हाम फालेँ। पानीमा नतैरिँदै मैले आत्तिएर अक्सिजनको पानी मुखबाट छोडिसकेको रहेछु। म निस्सास्सिएँ। निकै चर्को नुनिलो पानीले मेरो मुख अटेसमटेस भइसकेको थियो। म पानीमा तैरिँदा मैले पेटदेखिको बल निकालेर त्यो पानी ओकलेँ। मलाई आँट नै आएन। हामी सँगै डाइभ गर्न गएकी जर्मनीको ओलाले मलाई हेरेर भनिन्, ‘यू वन्ट डाइ। डन्ट वरी।’ मैले भिरेको एयरब्यागको खैरो बटन यथेष्ट दबाएर म पानीमा तैरिने भएको थिएँ। तर मलाई फेरी पानी मुनी जाने आँट थिएन।

scuba dive

क्रिशले मलाई फेरी पानीमा सिकाए। कसरी मुखबाट सास लिएर मुखबाटै सास फाल्ने। अनि टाउको मानी मुनी डुबाएर सास लिन सिकाए। मलाई अलि सहज भयो। उनले पानीभित्र स्वासप्रस्वासका लागि कसरी एयर ब्यालेन्स गर्ने र कानको लागि के गर्नुपर्छ भनेर सिकाए। अनि उनले आफूसँगै हुने भन्दै पानी मुनी जान आग्रह गरे। विस्तारै पानीमा जाँदा मलाई डर कम हुन थाल्यो। बोल्न नमिल्ने भएपछि उनले मलाई आँखाको इशाराले उनीतिर हेर्न भने। अनि मुखको अक्सिजनको पाइप फालेर त्यसलाई कसरी घुँडासम्म दाहिने हात पुर्याएर फेरी पाइप खोज्ने भनेर सिकाए। त्यसो गर्दा फोक्सोमा हावाको ब्यालेन्स मिल्ने रहेछ। मैले त्यसै गरेँ। उनले हातको इशाराले पर्फेक्ट भने। अनि कानमा फेरी एयर ब्यालेन्स गर्नको लागि नाकमा मुख र नाक बन्द गरेर प्रेसर दिन भने। मलाई यति जानेपछि अब निकै सजिलो हुनथाल्यो। ओलाले मलाई माछा देखाउँदै लगिन्। करिब आधा घण्टा भएको पहिलो डाइभमा हामीले पानी मुनी यताउता गर्न सिक्यौं। मैले ओलाको हात एकछिन पनि छोडिन। मलाई सहज भए पनि मैले सहारा लिन छोडिनँ। पानी तैरिएपछि हामीले लन्च गर्यौं। उनीहरुले अलि हेब्बी खानेरहेछन्। म भेज भनेपछि उनीहरुले आलू, बन्दा, गाँजर बोइल गरेको खाना मलाई लगेका रहेछन्। अनि अण्डा। मैले खाएँ। मेरो खाना कम भएजस्तो लागेपछि मलाई क्रिशले तीनवटा केरा दिए र सबै खान भने। मैले खाएँ। मलाई अलि बढी भोक लागेको थियो। हाम्रा दोस्रो डाइभका लागि भने म डराएको थिइनँ।

मलाई भ्लाडले फोटो खिच्नका लागि वाटरप्रुफ क्यामेरा दिएका थिए। मैले त्यो द्ब्रे हातमा बेरेँ।  पहिला हामफाल्न अलि डराएँ। अक्सिजनको पाइप एकपटक पनि छोडिन। पानीमा गइसकेपछि मलाई डर लागेन। यसपटक हामी थप गहिराइमा पुग्यौं। पहिलोपल्ट ६ मिटरमा गएको थियौं, यसपटक ११ मिटर गहिराइमा पुग्यौं। माछाहरु निकै धेरै देखिए। समुद्रभित्रका झारहरु पानीमा यताउता चलेको कस्तो मोहक देखिनेरहेछ। ओला यसपटक मसँग थिइनन्। एकजना थाइल्याण्डकै केटी उनको फ्रान्सेली व्वाइफ्रेन्ड अनि क्रिश। म र ती थाइल्याण्डकी केटीले हात समायौं। उनी अलि आत्तिएकी थिइन्। उनको ब्वाइफ्रेन्ड तालिमप्राप्त डाइभर रहेछन्। उनले हाम्रो फोटो खिचिदिए। मैले आफ्नो हातमा झुन्डिएको क्यामेराले सेल्फी खिचेँ। यसपटक हाम्रो डाइभ अलि लामो समय थियो। विस्तारै माथि तैरिँदै आउँदा पानीजहाजमा झुन्डिएको भर्याङ भेटियो। त्यसमै उक्लिएर हामी उत्रिँदै थियौं, ती फोटोग्राफरले मेरो तस्वीर खिचिदिए। क्रिशले भने, ‘नाउ यो इन्जोए इट राइट।’ मैले साँच्चै नै इन्जोए गरेको थिएँ, पानी मुनीको त्यो भिन्न संसार देखेर।

IMG_1167