बिरामीका ‘भगवान’

Dr. Bhagwan Koirala

Dr. Bhagwan Koirala

‘बिहान ६ बजे आएको फोन उठाउन मलाई बडा डरलाग्छ,’ शुक्रबार साँझ ८५ जना बिरामीको फाइल पल्टाइसक्दा डा. भगवान कोइरालाले लामो सुस्केरासहित भने, ‘बिरामीको अवस्था सामान्य भए निदाइरहेका बेला मेरो फोनको घन्टी बज्दैन।’
उनका जीवनमा यस्ता डरलाग्दा बिहान थुप्रैचोटि आए, जब उनी आफ्नो धड्कनलाई एउटा रफतार दिएर बिरामीका धड्कन थमाउन तीन फड्का मार्दै अस्पतालका सिँढी उक्लेर आइसियू कक्ष पुगेका छन्।
‘मेरो पेसाको सुरुवाती दिनमा सिनियर डाक्टरहरूले अब केही हुँदैन भनेर आस मारेका बिरामी लामो समयको प्रयासपछि बाँचेका छन्,’ भगवानले यसपटक मुहारमा बिछट्टको चमक ल्याए, अनि बाहिर कतै एकछिन टोलाएर भने, ‘त्यसैले म मुटुको धड्कन बन्द भइसकेका बिरामीलाई पनि फर्काउने प्रयास छोड्दिनँ।’
यस्ता थुप्रै प्रयासमा उनी सफल भएका छन् । त्यसैले ‘मिर्‍याकल’मा विश्वास गर्छन्।
‘बिरामी कहिलेकाहिँ प्रयास गरिरहँदा पत्याउनै नसकिने गरी चमत्कारले बाँच्छन्,’ उनले भने, ‘मैले जीवनमा यस्ता थुप्रै मिर्‍याकल देखेको छु।’
त्यस्ता बिरामी आजकाल ‘फलोअप’मा आउँछन् । उनीहरुको सबै रिपोर्ट सामान्य हुन्छ । उनीबाहेक अरु कुनै डाक्टरलाई रिपोर्ट देखाउँदा फरक पर्दैन । तर अहँ ! बिरामीहरू मान्दैनन् ! बरु एकपटक धन्यवाद वा नमस्कार भन्न घन्टौं लाइनमा पर्खिरहन्छन्।
त्यस्तै सायद अब बाँचेर फर्किन्न भन्ने सोचेका ७३ वर्षे सुब्बा महतो शुक्रबार कोइरालालाई धन्यवाद दिन साँझ साढे सात बजिसक्दासम्म ओपिडीमै थिए।
उनी धेरैबेर दुई हात जोडेर कोइरालासामु उभिरहे । अर्का बिरामीको अपरेसनको ‘डेट’ लेखिरहेका कोइरालाले महतोको नमस्कार हेर्नै भ्याएका थिएनन् । सँगै डाक्टर कजनले महतोको फलोअपमा आएको रिपोर्ट कोइरालाको हातमा थमाए । उनले महतोको रिपोर्ट पल्टाउँदै भने, ‘बा बस्नुस्।’
‘अहिले कस्तो छ तपाईँलाई ? औषधी सधैं खाइरहनुभएको छ नि ?’ कोइरालाले सोधे।
बाले जवाफ दिन भ्याएकै थिएनन् । सँगै आएका छोराले भने, ‘डा’साब आजकाल बुवा औषधी खाइदिनुहुन्न।’
यसपटक डा. कोइराला अलि झोक्किए, ‘बा यस्तो तालले हुँदैन नि, औषधी खानुभएन भने मैले हालेका पाइपले काम गर्दैनन्।’
केही वर्षअघि डा. कोइरालाले नै महतोको मुटुको भल्भ फेरेका थिए । डाक्टरबाट आफूले गाली पाएपछि महतोले छोरालाई गाली गर्दै भने, ‘मैले खाएको नखाएको तँलाई थाहा हुन्छ, मैले औषधी खाइरहेको छु।’
बाबुले छोरालाई गाली गरेको सुनेर भगवान कोइराला मज्जाले हाँसे । बिरामीको सबै रिपोर्ट राम्रो थियो । फेरि कोइरालातिर फर्केर महतोले हात जोरे, ‘तपाईँको आशिषले म बाँचे।’
‘बाको उमेरको मान्छेले त्यस्तो भन्ने हो, तपाईँले पो हामीलाई आशिर्वाद दिनुपर्छ,’ कोइरालाले अर्को बिरामीको फाइल पल्टाउँदै महतोलाई भने, ‘बा औषधी चाहिँ नछोडि खानुपर्छ है।’
मान्छेले आफूप्रति देखाएको यस्तै श्रद्धाले हो सायद, डा. कोइराला दिलोज्यान दिएर काम गर्छन् । उनलाई यसैगरी भगवान मानेर उपचारमा आउने बिरामीको संख्या हजारौं पुगिसक्यो।
‘हि रियल्ली बिकम गड टु अस,’ अघिल्लो महिना बुवाको मुटुको भल्ब फेरेर फलोअपमा आउने परियार थरकी एक महिलाले भनिन्, ‘हि इज डाउन टु अर्थ।’
उनको बुवाको भल्भ फेर्ने अपरेसन सकिएको भोलिपल्ट एकाएक राति सवा २ बजे कम्प्लिकेसन आयो । अस्पतालबाट कोइरालालाई फेरि त्यस्तै सातो जाने कल आयो । उनी अस्पताल पुगे । दुई घन्टा बिरामीको सेवामा खटे । अन्ततः शरीरले गति लियो । बिरामी सामान्य अवस्थामा फर्के।
ती महिलाले त्यत्तिकै भगवानलाई ‘साँच्चैको भगवान’ भनेकी होइनन्।
‘म पौने पाँच बजे आँत्तिदै अस्पताल आइपुग्दा त डा’साब बुवाको अपरेसन सकेर भर्‍याङ झर्दै हुनुहुँदोरहेछ,’ उनले त्यतिबेला भगवानको शब्द सापट लिँदै सुनाइन्, ‘तपाईँको बुवालाई केही हुँदैन नआत्तिनुस्।’

यसरी अपर्झट फोनको घन्टी नबज्दा पनि कोइराला सात बजे टेनिस कोर्ट पुगिसक्छन् । सामान्यतया बिहान आधादेखि एक घन्टा टेनिस खेल्छन् । पसिनाले निथ्रुक्क शरीर भिज्छ । नुहाएर फ्रेस हुन्छन् । अघिल्लो दिनको थकान पलापला झर्दै निर्खन्छ । फेरि एउटा लामो दिनका लागि नयाँ ऊर्जा थपिन्छ । जागिरेले दिनमा ६ घन्टा कार्यालय समय छुट्याउँछन् । उनको दिनमा कम्तीमा १२ घन्टा टिचिङ अस्पतालमै बित्छ।
‘त्यही हो चाँडै भयो भने बेलुका ९, नत्र १०÷११ बज्छ घर फर्किँदा,’ कोइरालाले भने, ‘१० बजेसम्म घर फर्किन पाएँ भने गाडीको हर्न बजाउन पाउँछु, नत्र ढोका खोल्न फोन गर्नुपर्छ।’
दिनमा उनले कामलाई छुट्टयाएको एक दर्जन घन्टामा बिरामी हेर्नुपर्छ, अपरेसन गर्नुपर्छ, र सबैभन्दा बढी थलिएको टिचिङको व्यवस्थापन सम्हाल्नुपर्छ।
घरपरिवारलाई दिने समय त सधैं काम सकेर बचेपछिको मात्रै । उनले भनेको सुन्दा उनी थाकेको शरीरलाई आराम दिने बहानामा सायद निदाउन मात्रै घर पुग्छन्।
दुई साताको निरन्तर प्रयासपछि भगवान कोइरालासँग समय मिलाएर म शुक्रबार ४ः५० मा अस्पताल पुगेकी थिएँ । त्यसको दुई दिनअघि बुधबार जाँदा उनलाई मसँग कुरा गर्ने फुर्सतै भएन । चार घन्टा उनले बिरामी जाँचेको हेरेँ । बेलुकी पौने ८ बजेतिर उनले आफ्नो व्यस्तता देखाउँदै भने, ‘बरु मिल्ने भए फोनमै कुराकानी गरौं न।’
मैले त्यो पनि प्रयास गरेँ । सम्भव भएन । शुक्रबार फेरि उनैलाई भेट्न ओपिडी गएँ।
शुक्रबार पनि उनको बिरामी जाँच्ने दिन हो । तर ३ बजेदेखि नै टिचिङमा कुनै प्रशासनिक काममा अल्झिएका थिए । यता सँगै जोडिएको मनमोहन कार्डियोथोरासिकमा उनलाई जचाउन आउने बिरामीको संख्या ५० भन्दा बढी पुगिसकेको थियो । उनी ५:३० मा दौडिँदै मनमोहन आइपुगे । बाटैमा उपकरण जडान गर्ने’bout सोध्न कर्मचारीले उनलाई घेरा हाले । केही बेर कर्मचारीसँग भुलेर फेरि लम्के । हिँड्दा पनि यति हतारमा हुन्छन्, बिरामीले गरेका सबै नमस्कार फर्काइरहनधरी भ्याउँदैनन्।
‘आज त कुरा गर्न भ्याउँछु होला,’ बिरामीको फाइल पल्टाएर हाँस्दै भने, ‘बिरामी धेरै छैनन् नि आज।’
उनले बिरामीका छातीमा स्टेथेस्कोप लगाउने, ब्लड प्रेसर जाँच्ने, रिपोर्ट पढ्ने, एक्सरेमा मुटुका प्वाल खोज्ने र बारम्बार आइरहने अनेकथरीका फोन उठाउने काम गरिरहे।
यसपटक फोन उनको घरबाट थियो । श्रीमती सान्द्राले बोलाइरहेकी थिइन् । जवाफमा उनले भने, ‘१०÷१५ मिनेटमा आइपुग्छु, तिमी निरबलाई लिएर गाडीमा जाँदै गर।’
प्रशासनबाट आएका फोनलाई पनि उनले भनिरहेका थिए, ‘म अस्पतालमै छु, यताको काम सकेर एकछिनमा आउँछु।’
माथि आइसियूमा राखेका बिरामीका आफन्त पनि एकपटक बिरामीलाई हेरिदिनुप¥यो भन्दै आइरहेका थिए । एकजना बिरामीका आफन्तले भने, ‘डा’साब हाम्रो बिरामीलाई भेन्टिलेटरसहितको बेड पुगेन मिलाइदिनुपर्‍यो।’
थलिएका बिरामीलाई निकालेर बेड खाली गर्ने कुरा भएन । उनले सुरुमा नेपाल मेडिकल कलेज फोन गरे । फेरि पाटन अस्पतालमा गरे । वीर अस्पतालमा हुने कुरै भएन । अन्ततः एउटा त्यस्तो बेड काठमाडौं मेडिकल कजेलमा भएको थाहा पाए । त्यहाँ फोन गरेर एकजना डाक्टरको नाम लिँदै उनले बिरामीलाई रिफर गरे।
टिचिङ र मनमोहनमा आउनुअघि गंगालालमा पनि उनको दिनचर्या फरक थिएन । त्यहाँ उनले आफैं राम्रो थिति बसाल्न पाएका थिए । अहिले टिचिङमा अरूले बिगारिदिएको थिति सम्हाल्न परेको छ।
‘म मनमोहनमा मात्रै हुँदा टिचिङको हावा छिर्न दिनुहुँदैन भन्थेँ,’ उनले टिचिङको भवनमा हेर्दै भने, ‘अहिले यहीँको हावा सफा गर्ने जिम्मा मेरो काँधमा आएको छ।’
उनको रहर बिरामी हेर्ने हो, उनीहरुका नयाँ नयाँ समस्या सुल्झाउने हो । कति बिरामीले शब्दमै भन्छन्, हाम्रो मुटु तपाईँलाई दिएका छौं, यसको जिम्मा तपाईँले लिनुपर्छ । जिम्मा यतिमै सीमित छैन । अहिले त सरकारले देशकै ठूलो शिक्षण अस्पताल टिचिङको कार्यकारी निर्देशकको जिम्मा समेत उनकै काँधमा सुम्पिएको छ, जुन उनकै शब्दमा ‘इच्छाभन्दा ज्यादा बाध्यता’ हो । दुई महिना उनले राम्रैसँग काम गर्न पनि खोजे । जब उनले अस्पतालभित्र चालेका सुधार कार्यक्रममा राजनीतिक हस्तक्षेप र उनीहरुको चर्को आलोचना हुन थाल्यो, उनले राजीनामाको निर्णय गरे।
केही मान्छेको आलोचना भए पनि उनलाई हजारौंको समर्थन थियो । उनको राजीनामा स्वीकृत हुन नहुने भन्दै सामाजिक सञ्जालहरुमा उनको कामको प्रशंसाको बाढी उर्लियो । स्वस्फुर्त रुपमा उनका सेवाग्राहीहरु डिनको कार्यालयअघि ‘भगवानलाई फर्काऊ’ भन्दै नारा लगाउन दिनरात उभिए । उनलाई धेरैले ‘लिभिङ गड’ ‘नेसनल हिरो’ उपमा दिए । अहिले उनको फेसबुक पेजमा २० हजारको लाइक छ । त्यहाँ अधिकांशले उनको कामको बयान गरेका छन्।
चर्को दबाबपछि अन्ततः तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई फोनमै पदमा फर्किन अपिल गर्नुप¥यो । ‘समस्या सबैतिर छ, हामी पछि हटेर होइन समस्यासँग जुधेर अघि बढ्नुपर्छ,’ भट्टराईले फोनमा कोइरालालाई यही भनेका थिए।
कोइरालालाई त्यति बेला– होस् यो सबै छोडेर केही दिन कतै लुकौं कि भन्ने पनि लाग्यो रे।
‘तर मान्छेले सिस्टमका लागि त्यति धेरै मरिहत्ते गरेपछि सोचेँ आखिर म भाग्नुपर्ने कुनै अपराध त गरेको छैन नि,’ उनले त्यति बेलाको कठोर निर्णय सम्झँदै भने, ‘फेरि म फर्किने निँधो गरे, जुन मेरो रहर भन्दा बढी बाध्यता थियो।’
त्रिभुवन विश्वविद्यालयले अस्पताललाई दिनेबाहेक सरकारले अस्पतालको निम्ति एक पैसा बजेट छुट्टयाउने गरेको थिएन । यसपटक भवनलाई ६ करोड र उपकरणका लागि २२ करोड सरकारले बजेटमा छुट्टयायो।
असारको अन्तिम दिन टिचिङको ३१ औं वार्षिकोत्सब थियो । भगवान अस्पतालको प्रगति विवरण सुनाउँदै थिए । एक्कासि उनलाई कसोकसो असजिलो भयो बोल्नै । गला अवरुद्ध भयो।
‘तपाईँ के सम्झेर रुनुभयो त्यो दिन ?’ मैले शुक्रबार उनले ८५ जना बिरामीको उपचार सकेपछि प्रश्न गरेँ।
‘म रोएकै त होइन,’ उनले अन्कनाउँदै भने, ‘मलाई टिचिङ आइसकेपछिको के के कुरा सम्झिएर कता कता असहज भयो । मिक्सड फिलिङ आयो र म बोल्दाबोल्दै रोकिएँ।’
त्यहाँ मात्रै होइन, मसँग कुरा गरिरहँदा पनि उनी एकछिन रोकिए र भने, ‘ठ्याक्कै के भएको थियो म शब्दमा व्यक्त गर्न सक्दिनँ।’
टिचिङ छिरेको केही समयसम्म उनले केही मेसो पाउनै सकेका थिएनन् । उनी कार्यकारी निर्देशक भएर आउँदा टिचिङमा ६६ करोड रुपैयाँ ऋण थियो । समस्या छ तर कहाँ गुजुल्टिएको छ ? कसरी सुल्झिन्छ यति ठूलो समस्या । अस्पताल दिनदिन थिलोथिलो हुँदै गएको थियो । बिरामीले पाउनुपर्ने बेडको सामान्य सुविधासमेत पाएका थिएनन् । कर्मचारीले समयमा कहिल्यै तलब खान पाएका थिएनन् । अहिले विस्तारै अस्पताल उनका अनुसार ट्रयाकमा आउँदै छ।
‘कम्तीमा म अस्पतालको समस्या’bout पूरै जानकार भइसकेको छु, यसलाई पार लगाउन सक्ने हिम्मत बटुलेको छु,’ उनले बेलुकीको ८ नाघिसकेको घडीको सुई हेर्दै भने, ‘यसलाई एउटा टाइम फ्रेमभित्र ट्रयाकमा ल्याएर जिम्मा लगाउन मन छ । आखिर म फर्किने त फेरि बिरामीकै सेवामा हो । यही मनमोहनलाई एउटा रिसर्च सेन्टर समेत बनाउने छु।’

Dr. Bhagwan Koirala

Dr. Bhagwan Koirala

प्रत्येक बिहान आफूले अघिल्लो दिन, अघिल्लो साता वा अघिल्लो महिना मान्छेको शरीरमा गरेको संघर्षको उपलब्धि हेर्न बिरामीका मुटुको धड्कन नियाल्न उनी आइसियूमा पुग्छन् । कतिको सुधारले उत्साही बनाउँछ । कतिको स्थिर शरीरले दुःखी । त्यो दुखलाई मनमा लिइरहन डाक्टरको धर्मले दिँदैन।
एकपछि अर्को गर्दै उनलाई विभिन्न कामले पछ्याइरहन्छ । बिरामी हेरेर फर्किँदा भर्‍याङमै निदाइरहेका वा क्याबिनका कुरुवालाई बिरामीको स्वास्थ्य स्थिति’bout थाहा दिन जान्छन् । बिरामी कुरुवा पुरुष भए काँधमा धाप मात्रै मन्द मुस्कानसहित भन्छन्, ‘ल आजदेखि तपाईँको बिरामीलाई जाउलो खुवाउनुपर्छ है, भोलि वार्डमा सिफ्ट गर्नुपर्छ।’
सबै बिरामी कुरुवालाई यस्तै भन्ने रहर हुन्छ उनको । तर शरीर चिरिसकेपछि बिरामीको शरीरले कसरी प्रगति गर्छ, धेरै कुरा त्यसैमा भर पर्छ । यो आफन्तलाई बुझाउन गाह्रो हुन्छ । कतिलाई मन थामेर भन्नुपर्छ, ‘उहाँको शरीर उस्तै स्थिर छ, केही सुधार पनि देखिएको छैन र केही खराबी पनि भन्न मिल्दैन।’
‘हामीमाथि उनीहरुको कति ठूलो आशा हुन्छ, त्यत्तिकै मान्छेले आफ्नो मुटु हाम्रो हातमा थमाउन ल्याउँदैनन्,’ उनले फेरि केहीबेर टोलाएर भने, ‘कति अवस्थामा रिजल्ट के हुन्छ मलाई थाहा भइसक्छ, तैपनि मनले मान्दैन, म बिरामीको छेउ पुग्छु।’
भगवान कोइराला भर्‍याङ छाडेर बिरलै लिफ्टमा ओहोरदोहोर गर्छन् । जब उनले गरेका अपरेसन फेल खाएर बिरामीको अन्तिम सास गुमिसकेको हुन्छ, तब आफन्तहरु भर्‍याङमै भक्कानिरहेका हुन्छन् । त्यही बेलामात्र हो, भगवानले आफन्तका रुवाइ देख्न नसकेर लिफ्टको प्रयोग गर्ने।
धेरै डाक्टर बेहोस बिरामीको जाँच गर्दैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । तर भगवान कोइराला बिरामीको आफन्तलाई कम्तीमा दिनको एकपटक स्वास्थ्य स्थिति’bout जानकारी गराउँछन् । बिरामीले बुझेसम्म रोग’bout बताउँछन्।
‘काउन्सिलिङ गर्न जानेनौं भने हामी कुशल डाक्टर हुनै सक्दैनौं,’ आफूले जस्तै व्यस्तताका बावजुद बिरामी र कुरुवालाई समय दिएको’bout उनले भने, ‘त्यतिले पनि उनीहरुको मनोबल बढ्छ । आखिर हाम्रो नाम र इज्जत पनि उनीहरुकै मनोबलमा अडेको हुन्छ।’
उनी बोलिरहँदा लाग्थ्यो आफूले गरेका कति अपरेसनका सफलता र असफलता उनको मानसपटलभरि घुमिरहेका छन् । बिरामीलाई फलोअपमा बोलाउन पाउनु डाक्टरको सफलता हो । मुटुजस्तो संवेदनशील अंग यत्तिकै चिर्ने निधो गर्न पनि गाह्रो हुन्छ । कतिपय केस यस्ता हुन्छन्, जहाँ अपरेशन नगर्दा बिरामी नबाँच्ने निश्चित हुन्छ । र, अपरेसन गरेपछि बिरामीको शरीरले देखाउने प्रतिक्रियामा त्यसको सफलता भर पर्छ।
विशेषगरी बच्चाहरुको अपरेसनका जटिलताले डाक्टरलाई बढी पिरोल्छ । उनले यस्तै एउटा घटना सुनाए । बाँसबारीको एउटा कुनै स्कुलमा ९ कक्षामा पढ्ने छात्रा’bout । उनी सात वर्ष हुँदा कोइरालाले गंगालालमा उनको अपरेसन गरेका थिए । त्यतिबेला अपरेसन सफल भयो । उनी स्कुल जान थालिन् । उनकी आमाका अनुसार अहिलेसम्म उनी स्कुलमा दोस्रो भएकी छैनन् रे।
‘सधैं बेस्ट स्टुडेन्ट अफ द एयरको अवार्ड पाउँछ रे,’ कोइरालाले निस्फिक्री निराशा अनुहारमा ल्याएर भने, ‘तर अब उसको शरीर विस्तारै निलो हुन थालेको छ । उसको आयु धेरै बाँकी छैन।’
पहिलाको अपरेसन सफल भएपछि त्यहीअनुसार मुटुले गति लिन सकेको भए ती छात्राको अहिले अर्को अपरेशन गर्ने बेला भइसक्यो । तर विस्तारै उनको शरीर निलो हुँदै गएको छ । ‘अपरेशनबाट पार नलाग्ने मैले बुझिसकेँ,’ कोइरालाले भने, ‘उसको आमालाई अब छोरी स्कुल नपठाउनू भनेको, छोरी स्कुल जानभन्दा अरु कुरामा रमाउँदिन भन्छिन्।’
यस्ता घटनाले डाक्टर मनलाई कमजोर बनाउँछ । तनाव दिन्छ । तर तनाव लिइरहन हुँदैन । अरु थुप्रै बिरामीको ज्यान डाक्टरकै हातमा हुन्छ।
यति धेरै कामको तनावबीच उनले आफूलाई कसरी सम्हाल्छन् त?
‘आफूलाई मेन्टेन गर्ने हतियार एउटा मात्रै छ, त्यो हो काम गर्ने,’ कोइरालाले भने, ‘ज्यान फालेर काम गरेपछि मान्छेले जेनियुनली रेकगनाइज गर्छन्, त्यो मैले बुझेको छु।’
काम गर्दागर्दै विभिन्न समस्या आउँछन् । त्यसले नकारात्मक ऊर्जा ल्याउँछ शरीरमा । त्यसलाई हटाउन सकारात्मक सोचको कामै देखाउनुपर्छ।
‘आफूलाई विभिन्न कारणले बेखुस हुनु नपरोस् भनेर पनि सधैं काममै तल्लीन रहन्छु,’ उनले भने, ‘ठुल्ठूला केस गर्ने मान्छे मर्छन् अनि हामी घर गएर सुतेर पनि शान्ति मिल्दैन । नेगेटिभ फिलिङ प्रिभेन्ट गर्ने काइदा त्यही हो।’
विशेषगरी उनले बच्चाहरु त्यो पनि उपचार गर्न नसकेर ज्यान फाल्नेहरुका लागि गंगालालमै हुँदा बाल धड्कन भनेर फन्ड उठाउने कामसमेत गरे।

एक दशकमा उनैले जन्माएको गंगालाल मुटुरोग उपचार केन्द्रलाई जनताले भरोसा गर्ने अस्पताल ठानेका छन् । मुटुमा केही भएको शंका लागेका धेरै बिरामी पहिला त्यहीँ जान्छन् । त्यहाँका डाक्टरले रिफर गरेर पठाए मात्रै उनीहरु अहिले कोइराला कार्यरत मनमोहन कार्डियोथोरासिकमा आइपुग्छन् । त्यसरी आइपुगेकै बिरामी पनि सरदर सातामा २ सयजति हुन्छन् । १० जनाजतिको अपरेसन गर्छन् । गंगालाललाई नै ‘एकेडेमिक’ बनाउने उनको रहर थियो।
‘एउटा अस्पताल अस्पतालमात्रै बन्न हुँदैन, त्यो एकेडेमिक हुनुपर्छ भन्ने मेरो सोच थियो तर मलाई साथीहरुले धोखा दिए, मैले गंगालाललाई एकेडेमिक बनाउन सकिनँ,’ उनले भने, ‘त्यसैले मेरो अन्तिम डेस्टिनेसन त शिक्षण अस्पताल नै आउनु थियो । तर म मनमोहन कार्डियोथोरासिकमै मात्रै सीमित हुन चाहन्थेँ । टिचिङमा तानिँए।’
उनको विशेषज्ञता मुटुरोगमै छ र उनी त्यही क्षेत्रमा रिसर्च, बिरामी उपचार गर्न चाहन्छन् । तर गंगालाललाई मुटुरोगमा एउटा सफल अस्पताल बनाएकै कारणले सायद उनलाई टिचिङको पनि जिम्मा लगाइयो।
नाम जस्तै काम भन्दै उनलाई भगवान मान्नेहरुको ठूलै जमात छ टिचिङमा । चाहे ती बिरामी हुन्, बिरामीका आफन्त हुन् वा अस्पतालमा कार्यरत कर्मचारी।
काउन्टरमा बस्ने कर्मचारीहरु भन्छन्, ‘उहाँलाई देखाउन पाए आधा रोग यतिकै निको हुन्छ, नाम लेखाइदिनुस् न भन्दै आउने बिरामी धेरै हुन्छन्।’
बिरामी भेट्नकै लागि कसैले भनसुन गरेको कोइरालालाई मनपर्दैन । उनलाई भेट्न त्यति गाह्रो पनि छैन । कसैलाई आफ्नो मुटु देखाउन मन छ भने उनले जाँच गर्ने साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार बिहान गएर नाम लेखाए त्यही दिन देखाउन पाइन्छ । उनलाई देखाउन आउने ७५ जिल्लाकै बिरामी हुन्छन् । अहिलेसम्म कोइरालाका यस्ता हजारौं बिरामी भइसके, जो आफ्नो मुटु ल्याएर कोइरालाको हातमा थमाउँछन् र जीवन मरणको जिम्मा उनैलाई दिन्छन्।
शुक्रबार पनि एउटी डेढ वर्षे छोराकी आमाले कोइरालालाई भनिन्, ‘डा’साब तपार्इँले हाम्रो बाबुको ग्यारेन्टी त लिन सक्नुहुन्छ नि?’
आमाको ममता बोलेको थियो त्यो । तैपनि कोइरालाले यस्ता अपरेशनमा ९८ देखि ९९ प्रतिशत सफल हुने आश्वासन दिएर बेफिक्र रहन भने।
उनी बाहिरिएपछि कोइरालाले दुवै हात बेजोडले फैलाएर ठूलो हाँसोसहित भने, ‘ग्यारेन्टी त म आफ्नै जीवनको पनि कहाँ लिन सक्छु र?’
त्यस्तै ग्यारेन्टी लिइदिनू भन्ने बाह्र हजार मुटु हातमा लिएर आफैं वा आफ्नो सुपरिवेक्षणमा कोइरालाले ओपन हार्ट शल्यक्रिया गरिसके । त्यसमध्ये लगभग ४ प्रतिशतमात्रै असफल भएका छन् । त्यो पनि निकै ढिलो भइसकेपछि आइपुगेका बिरामीमा।
कोइरालाको अर्को विशेषता नै होला सायद उनी जति नै व्यस्त भए पनि फोन उठाउन छुटाउँदैनन् । उनले कार्यालय सहयोगीहरुलाई भनेकै छन्, ‘कोही मलाई भेट्न जरुरी छ भन्दै आए मेरो फोन नम्बर दिनू।’
त्यस्ता फोन बिरामीकै भए उनलाई अझ खुसी लाग्छ । धेरैजसो डाक्टर आफ्नो व्यक्तिगत नम्बर दिएर अनावश्यक फोन उठाइरहन झिँझो मान्छन् । ‘उहाँलाई भेट्न खोज्नेले कुर्न चाहिँ सक्नुपर्छ,’ कार्यालय सहयोगी कल्पना थापाले भनिन्, ’जोसुकै होस् भेट्न चाहिँ पाउँछ।’
यो व्यस्त समयबीच उनी कुन बेला खाना–पानी गर्न भ्याउँछन्, कर्मचारीले पत्तै पाउँदैनन्।
‘कहिलेकाहिँ लखतरान परेर सात बजेतिर झोला झुन्ड्याउँदै आएर तिमीहरु के खान लागेको मलाई पनि भन है भन्नुहुन्छ,’ कल्पनाले भनिन्, ‘अरु बेला त खै के खानुहुन्छ, पत्तो पाइन्न । तर उहाँ आएपछि हामीले तलब चाहिँ टाइममा खान पाएका छौं।’
कतिपय बिरामी ‘आजै अहिल्यै हुनुपर्‍यो मेरो उपचार’ भन्नेहरु पनि हुन्छन् । ‘तनाव हुन्छ तर रिसाएर त साध्य नै हुँदैन मेरो आफ्नो पनि त आयु घट्छ त्यसैले धेरै बिरामीसँग ख्याल ठट्टा गर्छु,’ उनले भने, ‘तनाब भएपछि हाँस्न थाल्छु।’

कुराकानीको बिट मारिसक्दा फेरि श्रीमतीकै फोन आयो । उनले अब चाहिँ १०/१५ मिनेटमा आइपुग्ने बताए।
‘तपाईँ परिवारलाई समय कति दिन भ्याउनुहुन्छ, ?’ उनले फोन राख्न नभ्याउँदै मैले प्रश्न गरेँ।
‘यी देखी हाल्नुभयो नि श्रीमती र छोरा उता पाहुनालाई खाना खुवाउन मलाई कुरिरहेका छन्, म अझै यतै छु,’ उनले हाँसेरै भने, ‘तर अब त उनीहरुलाई बानी परिसक्यो । आखिर मेरो अस्पतालका सबै स्ट्रेस बेलुका उनीहरुकै आँखामा गएर ठोक्किने त हुन्।’
शुक्रबार धेरैले ‘गुड फ्राइडे’ मनाउँछन् । सायद भगवान कोइरालाको परिवार पनि चाहन्थ्यो– गुड फ्राइडे मनाउन । त्यसैले उनका पाहुनालाई कतै राखेर खाना खुवाउने कार्यक्रम श्रीमती सान्द्राले मिलाएकी थिइन्।
उनले ७ बजे बचन दिएको त्यो १०/१५ मिनेट म ९ बजे अस्पतालबाट निस्कँदा पनि आएको थिएन । उनी त्यसपछि पनि बिरामीका आफन्तका समस्या सुनिरहेका थिए । त्यो सकेर सिधै प्रशासनमा कुराइरहेका मानिसलाई भेट्न टिचिङतिर लागे।
सायद शुक्रबार उनी पाहुनालाई भेट्न जान भ्याएनन्।
सायद उनको थकान त्यस दिन पनि श्रीमतीको आँखामा ठोक्किन पुग्यो ।
र, सायद श्रीमतीको यही आँखाले नै हो, भगवानलाई बिरामीहरुको ‘भगवान’ बनाएको।

‘परिबन्दले जेल परेँ, भाग्यले छुटेँ’

तिलक र जुना

तिलक र जुना

अफगानी प्रहरीहरू एकोहोरो प्रश्न सोधेका सोध्यै छन्, पस्तुन भाषामा । तिलक थापा मागर पस्तुन बुझ्दैनन् । उर्दुसम्म कामचलाउ आउँछ । प्रहरी भने उर्दु जान्दैनन्।

प्रहरी खोरको अँध्यारोले उनको त्यति सातो गएको छैन, जति ती अफगानी प्रहरीसँग सवालजवाफ गर्दा जीउमा काँडा उम्रिएका छन् । हतास मन भाषाको अप्ठ्यारोले झन् बढी हतासिँदो रहेछ । त्यसैले त, चारतिर घेरेर बसेका प्रहरी उनलाई यमदूतभन्दा कम लागेको छैन । तिनका राताराता आँखा च्यात्तिने गरी उघ्रिँदा यस्तो लाग्छ, मानौं आगो बर्सिरहेछ । जिब्रो चल्दा यस्तरी हंसले ठाउँ छोड्छ, मानौं गोमन सर्प फन फैलाएर डस्न खोजिरहेछ । घरिघरि सुलुत्तै तिनको मुखभित्र छिरिने हो कि भन्ने भयले काम्छन् उनी।
उनले आफ्नो प्रतिरक्षा निम्ति वकिलसमेत राख्न पाएका छैनन् । धन्न उर्दु र पस्तुन दुवै भाषा जान्ने दोभाषे पाएका छन् । पटकैपिच्छे पुलुक्क दोभाषेतिर हेर्छन् । सवाल उनले जानेको उर्दुमा उल्था भएर आउँछ । उनी डराई–डराई जवाफ दिन्छन् । उनको जवाफ दोभाषेमार्फत् पस्तुनमा उल्था भएर जान्छ।

नयाँ–नयाँ जानेको उर्दु भाषामा आफ्नो कुरा कति बुझिने गरी राख्न सके, तिलकलाई थाहा छैन । त्यही कुरा कति बुझिने गरी पस्तुनमा उल्था भयो, त्यसको पनि अड्कल छैन । कहिले छोटो जवाफ दिँदा लामो गरी उल्था हुन्छ, कहिले लामो जवाफ पनि छोटैमा सकिन्छ।
सुरु–सुरुमा त उनी रातभरि भुट्भुटिन्थे । छट्पटिन्थे । विस्तारै आफूलाई भाग्यको भरमा छाड्दै गए।
हुँदाहुँदा एउटै तर्कना उनको मनमा खेल्न थाल्यो — आफू यस्तरी अफगानी जेलमा बन्दी बनेको खबर श्रीमती जुनाले पाइन् कि पाइनन्?

उता दिनुहँजसो फोनमा कुराकानी भइरहने तिलक एकाएक बेखबर भएदेखि काठमाडौं बस्ने जुनाको बेहाल थियो । उनी तारन्तार अफगानिस्तान फोन गरिरहन्थिन् । सधैं एकजना नेपालीले फोन उठाउँथ्यो । ‘तिलक बाहिर गएका छन्’ भन्ने जवाफ दिएर सम्झाउन खोज्थ्यो।
जुनाको चित्त बुझ्थेन।
एक दिन फोन नगरी बस्न नसक्ने श्रीमान हप्तौं बेपत्ता हुनुले नै उनको जीउको आधा रगत सुकिसकेको थियो । युद्धको देशमा श्रीमान्लाई कुनै अप्ठ्यारो त परेन भन्ने डरले उनको मन रातदिन यस्तरी चिथोरिरहन्थ्यो, मानौं मुटुमा एकैचोटि लाखौं काँडा बिझेका छन् । उता पुख्र्यौली घर बन्दीपुरबाट ६६ वर्षे विधवा आमा छोराको खबर सोधेर भक्कानिइरहन्थिन् । उनी कतिचोटि त पीडा खप्न नसकेर मुर्छै परिन्।
भाग्यवादी जुना अनेक मन्दिर धाउन थालिन् । ब्रत बस्रिन । नौ ग्रहको शान्तिस्वस्ती गरिन् । तैपनि खबर नआएपछि ज्योतिषीहरूकहाँ भाग्य देखाउन गइन्।

ज्योतिषीले जोखाना हेर्दै गरेको भविष्यवाणीले नै उनको सास थामिएको थियो ।
सबैजना भन्थे, ‘तिम्रो मान्छेलाई केही भएको छैन, समय लाग्छ, तर फर्किन्छन् ।’
पढ्नेक्रम जारी राख्नुहोस्