कठोर समय….

ममि तपाईँ सधैँ भन्नुहुन्थ्यो, ‘छोरी बरु तँ केही आइपरे सहन सक्छेस्, दाई केही सहन सक्दैन । एकछिनमा आत्तिहाल्छ ।’
ममि तपाईँ अहिले कल्पनै गर्न सक्नुहुन्न । दाईसँग कति सहनसक्ने तागत रहेछ । सपनासरी तपाईँ हामीलाई छोडेर जानुभयो । मलाई अझै विश्वास हुँदैन, तपाईँ अब हामी सँग हुनुहुन्न । दिनभर मान्छेका भीडमा हराउँदा म आफू टुहुरो भएको यथार्थलाई पत्याउनै सक्दिन । बेलुका साँझको बत्ति बाल्दा, भान्छामा तपाईँले फलाएका तरकारी देख्दा, खाना पस्किँदा मात्रै मेरो मन भारी हुन्छ । तपाईँ साँच्चै हामी सँग हुनुहुँदो रहेनछ । तैपनि तपाईँको तस्बिरमा हेरेर म निदाउँदा पनि आफूलाई सम्झाउन खोज्छु, तपाईँ यतै कतै अदृश्य रुपमा हुनुहुन्छ हाम्रै साथमा ।
तपाइँलाई अपरेशन गरेर न्यूरो हस्पिटलमा राख्दा मैले चिनेका सबै भगवान पुकारेको थिएँ । तपाईले जीवनभर पुजेका सबै भगवान पुकारेर तपाईँको सास फिर्ता मागेको थिएँ । डाक्टरले त दाई र मलाई भनेकै थियो, ‘उहाँको आस अब पाँच प्रतिशत मात्रै गर्नुस्, तपाईँ भन्नुहुन्छ भने हामी अपरेशन गर्छौं ।’ ममि, त्यो पाँच प्रतिशत आस हामी कसरी गुमाउन सक्थ्यौं ।
दुई दिन दुई रात हस्पिटल राख्दा पनि मैले आउँदा जाँदा पशुपति नाथलाई खुब पुकारे, उदाउँदो अस्ताउँदो सुर्यलाई खुब पुकारे । तपाईले दाइलाई राम्रो हुन्छ भनेर १६ वर्ष सुर्यको ब्रत बस्नुभयो । साँझ चन्द्रमालाई हेरेर पनि तपाईँको सासको आस गरेँ । बत्ति बाल्न मन्दिरमा जाँदा तपाईँले तीन धाम, चार धाम देखि नेपालमा घुमेका मन्दिरका सबै भगवान्को तस्बिर हेरेर तपाईँको जीबन मागेँ । मैले भाकल कहिल्यै गरेको थिइनँ । मलाई त्यस्तो विश्वास पनि लाग्दैन थियो । तपाईँको जीबनको खातिर मैले भर्खरै पुगेको पाथिभरा देवीलाई भाकल गरेँ । ममी सकुशल घर फर्किनुभयो भने पाथिभरा देवीको मन्दिरमा पुर्याउँछु । म त्यति धेरै कहिल्यै आत्तिएको थिइनँ ममि । त्यो बेला मैले सम्झेका सबै भगवान पुकारे । दिदीले गुहेश्वरी मन्दिरमा मलाई लगेर दर्शन गराउनुभयो । मैले त्यो पनि माने । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements