मनकम्पन

विनिता दाहाल

मध्यरात छानाबाट चुहिएको शीतको थोपा निधारमा ठोक्किएपछि सानो छोरा झसंग ब्युँझियो। त्यहीबेलादेखि सीताका आँखा फेरि लाग्न पाएका छैनन्। छोरोलाई आफू सुतेको ठाउँपट्टि सारेर एकछिन दूध चुसाउँदै थुम्थुमाएपछि ऊ कोकोहोलिन पाएन। छोरोले निद्राकै सुरमा कोल्टे फेरेपछि सीता बाहिर निस्किई।

भूकम्प गएपछि सरकारले ओत लाग्न दिएको पालमा कहाँनेर प्वाल छ, उसले त्यसैबाट पूर्णिमाको उज्यालोमा टहराभित्रबाटै बाहिर छ्यांग देखिएको आकाश नियाली। शीतका थोपा चुहिएको रोक्न, वर्षामा रोपाइँ जाँदा ओढ्ने गरेको स्यारलेटले थपक्क छोपिदिई।

मध्यरात हुँदा बल्लबल्ल तातेका उसका हातखुट्टा फेरि उत्तरका हिमालबाट आएको स्याँठले हिउँ छोएर आएजस्तै चिसा भए। अघि छोरो सुतेकै ठाउँमा गएर निदाउन खोजी। थोपाथोपा शीत झरे पनि थाङ्नो भिजेर लफ्रकै भइसकेको रहेछ।

उसले छोराको अनुहारमा शीत परेपछि मात्रै थाहा पाएकी रहिछ। अब यो रात कसरी काट्ने होलारु कठ्यांग्रिदो जाडोले शरीर मात्रै होइन, केही दिनयता गाउँलेले काट्न थालेका कुराले उसको मन उत्तिकै चिसो भएको छ।

बारीको तल्लो पाटोमा अलिकति तरकारी लगाउनुपर्यो भनेर केही दिनअघि ऊ ढुंगेधारामा पानी भर्न गएकी थिई। गाउँकी एक जना जेठानी दिदीले बाटोमा भेटेर साउती गर्दै उसको कान भरिदिई, ‘अहिले ससुरा बुहारी एउटै ओछ्यान ला’एर सुत्छौ रे भनेर गामभरि मान्छे कुरा काट्न थालेका छन्। मैले हिजो हाम्रा घरकाले भनेपछि था’पाएँ। तिमी त्यस्ती छैनौ। तर होस् गरेस्, गामठाम यई हो।’

त्यति सुनेपछि उसको मनमा उकुसमुकुस हुने गरी कुरा खेल्न थालेका छन्। माइतीमा पनि यो कुरा पुर्याए होलारु अब कुन मुख लिएर गाउँमा मेलापात गर्न जाउँलारु भूकम्पले ओत लाग्ने छानोमात्रै छिनेन, आफ्नो अस्मिता माथि अरूलाई कुरा काट्ने ठाउँसमेत दिएको छ।

हुन त भूकम्पले गाउँभरिकै घर ढलेर सबैको टहराकै बास छ तर उनको जस्तै बाध्यतामा गाउँका अरू छैनन्।
ऊ मनमा अनेक कुरा खेलाइरहेकी थिई। पानी भर्न आएका गाउँका अरू महिलाले मुखामुख गर्दै पानी भरे। वर छँदा केही भनेनन्, पानीको गाग्री बोकेर अलि माथ्लापट्टि कान्लामा पुगेपछि धारे हात लगाउँदै भने, ‘भगवानको डरभर नभएपछि कसको के लाग्छरु’

सीतालाई मनमनै लाग्यो, सासू निकै जाति थिइन्, भूकम्पले छिट्टै लग्यो। भूकम्पमा नमरेकी भए अहिले गाउँलेका यस्ता कुरा सुन्नुपर्ने थिएन। भूकम्पले घर भत्काउँदा गोठमा भैंसीलाई कुँडो खुवाउन पुगेकी सासू गाईको किलोसँगै मरेकी भेटिइन्। त्यसैबेलादेखि ससुराको पनि सुर छैन।

भूकम्प नआउँदै आर्थिक जोहो गर्न भन्दै कतार पुगेका श्रीमानले छुट्टी मिलाएर घर फर्कन पाएका छैनन्। भूकम्पपछि के कस्तो भयो भनेर खबर गर्दा उनले रुँदै भनेका थिए, ‘आमाको काजक्रिया गर्न पनि नपाउने भएँ। बाँचेका बाको राम्रो हेरबिचार गर्नू।’

बिहान बेलुका नुनतेल गर्न दूध बेचेर पुग्ने भैंसी पनि गोठ भत्किएर दाम्लाको दाम्लै मर्यो। यो वर्ष दशा पनि सबै खुशी बढारेर लैजाने गरेर आएको रहेछ क्यारे।

उसलाई लागेको छ, अहिले मध्यरात १ बजेको हुनुपर्छ। सुत्न पुग्ने अरू ठाउँ यो सानो टहरामा अन्त छैन। राति जाडो नहोस् भनेर अगेनामा झोसेको एउटा मुडो पुतपुत धुवाइरहेको छ। ऊ चार जना छोराछोरीलाई भएका सिरक ढस्नाले गुम्म छोपिदिएर मजेत्रोको सप्को देब्रे काँधमा हालेर अगेनाछेउ सरी। अनुहारभरि मुझैमुझा परेका ससुरा त्यतै फर्किएर निदाइरहेको उसले आगोको थोरै उज्यालोमा देखी। भूकम्प गएपछि घर भन्नु टहराको यही एउटा खोपोजस्तो ठाउँ छ। जहाँ बीचमा एउटा अगेना छ। त्यसको देब्रेछेउ सीता आफ्ना साना छोराछोरी च्यापेर सुत्छे। दाहिनेछेउ अगेनाकै अढेश लागे जसरी ससुरा बुढा निदाउँछन्।

उनको अनुहार हेरेर उसलाई लाग्यो, बाको उमेर पुगेका यी बुढासँग गाउँलेले मेरो नाम जोडेर के पाप चिताएका होलान्रु श्रीमति मरेपछि ससुरा पनि दिनरात नभनी जाँडमात्रै खान्छन्। सुर गुमाएजस्ता भएका छन्। कहिले नातिनातिना, बुहारीले देख्छन् भन्ने पनि ख्याल नगरी टहराकै छेउतिर पिसाब फेर्न जान्छन्।

ऊ के के सोच्दै थिई, बुढा ख्वाकख्वाक गरेर अर्कोपट्टि कोल्टे फर्किए। घुँडामा दुवै हात बाँधेर दाहिनेपट्टिका ससुरालाई हेर्दा उसको देब्रे आँखाबाट तर्रर आँशु झर्यो। मनभित्र परेको गाँठो कहिलेकाहीँ त भल्भली बगेका आँशुले पनि फुक्दैनन्।

जेठानी दिदीको कुरा सुनेपछि भक्कानिएर श्रीमानसँग फोनमा कुरा गर्छु भनेर तल्ला घरे माइलामार्फत खबर पठाए पनि उनको फोन आएको छैन। काममा समय मिलाउन निकै गाह्रो पर्छ भन्थे। मिलेको भए त उनले पनि गरिहाल्थे।
भूकम्प नजाँदै, गाउँमा उब्जनी पनि हुन छाड्यो। वर्षैपिच्छे जन्मिएका छोराछोरीलाई पढाइलेखाइ गराउन गाह्रो हुने भयो भनेर रमेशले एक साँझ श्रीमतिलाई सोध्यो, ‘मेरो उमेर छँदैछ, तँ घर व्यवहार टार्छु भन्ने आँट गर्न सक्छेस् भने म विदेश गएर चार–पाँच वर्ष कमाएर आउँछु। तेरै दाइले पनि विदेश गएर अहिले गाउँमै लोभलाग्दो घर बनाए, छोराछोरीलाई राम्ररी पढाएका छन्। तैं भन्दैथिइस् भाउजुले नयाँ गहना पनि जोडिछन् भनेर। मिल्यो भने म पनि कुरा गरेर भएको अलिअलि पैसा खर्च गरेर विदेश जान्छु।’

श्रीमानले त्यति भनिरहँदा उसको कल्पना कतिबेला हो, चार–पाँच वर्षपछिका सुनौला दिनतर्फ पुगिसकेका थिए। फराकिलो आँगन भएको पक्की इटा र सिमेन्टको घर। वरिपरि बारीमा लहलहाउँदा तरकारी। गोठमा रहरलाग्दा गाईबाख्रा। हुर्किएका छोराछोरी, सुकिला लुगा लगाएर स्कुल जाँदै गरेका। पिँढीमा सासू–ससुरा तमाखु तान्दै गरेका। अनि आफ्नो गलामा झलक्क देखिने नौगेडी।
उसले यस्तै कल्पना गरेर भनेकी थिई, ‘आमाले घरको भातभान्छा गर्लिन्, म ज्याला गरेर पनि छोराछोरी पढाउँछु, घर खर्च टार्छु तपाईं जाने मन बनाउनुस्। अर्को वर्षदेखि त तपाईंले नै पनि त पैसा पठाउन थाल्नुहोला।’

सपनाले मान्छेलाई कति धेरै बल दिन्छ। संसारै जितौंला जस्तो। विपनाले त्यसैलाई एक निमेषमै खल्र्यामखुर्लुम्म झारिदिन्छ। भूकम्प गत वैशाखमा विपना बनेर आइदियो।

उसले सपना अझै देख्न छोडेकी छैन। मनमा कुरा खेलाउँदै थिई, माइलो छोरो सपनामै बर्बरायो– नयाँ स्वीटर नकिन्दिने भए म स्कुलै जान्न। ऊ जुरुक्क उठेर छोराको खुट्टा छुन गई। चिसोले फुटेर खस्रा भएका पैताला सुम्सुम्याउँदै थिई, दाहिने आँखाबाट फेरि तर्रर आँशु झर्यो। पोल्टाको थैली झिकेर हेरी। अस्ति माइती गएका बेला आमाले दिएको हजारको नोट अलि लेसिँदो भएछ। धेरैपटक खोतल्दैमा बढ्ने त होइन, तैपनि घरमा गाह्रोसाह्रो पर्नेबित्तिकै उ एकपटक त्यही नोटलाई चिहाउँछे।

सहरबाट आएकाहरूले अस्ति ओढ्नलाई नयाँ मन्डी ल्याइदिएका थिए। सीताको परिवारको भागमा दुईवटा परेको थियो। उनले एउटा ससुरालाई र एउटा आफूसहित छोराछोरीलाई ओढाउने गरेकी छन्। अस्ति त्यही मन्डीको छेउमा आगो सल्किएर झन्डै अनिष्ट नभएको।

पहिला त यो माइलो छोरो हजुरबासँग सुत्न भनेपछि हुरुक्कै हुन्थ्यो। आजकाल गनाउँछ सुत्दिन भन्छ। न्यानो बाँढ्न आउनेले सिरक मात्रै नभएर बालबच्चालाई हुने न्याना लुगा, पानी चुहिँदा छोप्न प्लास्टिक अनि टोहोरामा कोठा बार्न मिल्ने केही ल्याइदिए पनि त हुन्थ्यो भन्ने उनलाई आश लागेको थियो। फेरि त्यही आशले बाँच्न सिकाए पनि सीतालाई आफैंले कर्म गर्नुपर्छ भन्ने लाग्छ।

दुःखका पहाडै देखेकी उनकी आमाले सधैं उनलाई हाड खियाउनुपर्छ, पसिना बगाउनुपर्छ भनेर सिकाएकी थिइन्। सासूले रिस उठेका बेला दुई–चार बचन नराम्रो गरे पनि गाउँमा अन्य बुहारीले जस्तो उनले बर्तन खानुपरेको थिएन। अहिले तिनै सासू भएको भए गाउँलेका नानाथरी आरोप सहनुपर्दैनथ्यो भन्ने लागेको छ। आखिर गाउँलेले कुरा काट्न पाएका पनि यो टहरोमुनिको एउटै खोपामा हामी सबै परिवार सँगै सुत्छौं भनेर त हो। ससुराकी श्रीमति बितिन्, मेरा पति कतारमा छन्। यस्तै यस्तै कुरा खेलिरहँदा उनको कुनबेला आँखा लाग्यो।

सपनामा उनले आफूलाई गाउँले ससुरासँग सल्किएको भन्दै लखेटेको देखिन्। भीरैभीरको बाटो दगुरिरहँदा अगाडि एउटा साँढे आइपुग्यो। त्यही साँढे जसलाई सीताकी सासूले अघिल्लो वर्ष बारीको कोदो फाँड्यो भनेर लखेटेकी थिइन्। अगाडि जाउँ भने अजंगको साँढे अहिल्यै हानुँला भनेर बसेको थियो, फर्कौं भने गाउँलेहरू ‘यसलाई पापधर्मको ख्याल भएन’ भन्दै लखेट्दै आइरहेका थिए।

सीतालाई एक निमेष त यो प्राण यही गए पनि हुन्थ्यो भनेजस्तो लाग्यो। त्यत्तिकैमा निस्सासिएर सपनाबाट ब्युँझी। रातभर कठ्यांग्रिदो जाडो भए पनि सपनाबाट ब्युँझिदा उसको पूरै अनुहार पसिनाले भिजेको थियो। यस्तो सपनाले बिपनामा के अर्थ राख्ला ऊ सोच्दै थिई। उसले अगेना वरिपरि ससुराले नातिनातिना ’round लिएर पानी तताइरहेको देखी। सपनाले आत्तिएर उठेकी बुहारीलाई ससुराले नजिकै आएर पानीको अंखरो दिए। उनलाई लाग्यो गाउँलेले जति कुरा काटे पनि होस् हुँदा, ससुरा आफ्नै बाउजत्तिकै जाति छन्।

ठाडो घाँटी लगाएर कलकल एक अंखरा पानी पिएपछि उनले ससुरालाई पोल्टोबाट त्यही एक हजार रुपैयाँ दिँदै भनिन्, ‘बा, यो कालेको स्कुलमा स्विटर छैन भनेर सरले गाली गरेको छ रे, गाउँमा कसैलाई भनेर यसलाई एउटा स्विटरचाहिँ ल्याइदिन पाए हुन्थ्यो।’

ससुरा आफ्नो काखका सानो नाति उसको काखमा राखिदिएर हिँडे। उसले अलि ठूलो स्वर गरेर फेरि भनी, ‘पैसा बच्यो भने छानामा हाल्ने पाल पनि ल्याइदिन भन्नू है।’

http://setopati.com/sahityapati/39415/