विद्यार्थीले सिकाउँछन् यी शिक्षिकाहरूलाई

विनिता दाहाल

सेतोपाटी

नयाँ वर्ष आउनै लाग्दा ललितपुर सिम्लेगाउँकी एकजना हजुरआमाले पटुकाको फेरो फन्का लगाउँदै थैली निकालिन् । थैलीको एउटा फेरो देब्रे हातले धकेल्दै र अर्को फेरो दाहिने हातले आफूपट्टि तान्दै गर्दा मुस्किलले थैलीको मुख खुल्यो । हजुरआमाहरू थैलीभित्र वर्षौंदेखि जतनले साँचेको केही रुपैँया, भए केही सुनका गहना जोगाएर राख्छन् ।

पटुकाको पत्रैपत्रबाट निस्किएको हजुरआमाको थैलीभित्र अरु थुप्रै पत्र थिए । त्यहाँ पनि पुरानो मैलो प्लाष्टिकभित्र प्लास्टिक, प्लाष्टिकभित्र प्लाष्टिक गर्दा एउटा २० रुपैयाँको ओसिलो नोटमा पोको पारेर केही राखिएको थियो । हजुरआमाले त्यसलाई निकै जतनले फुकाइन् । त्यहाँ रुपैयाँ, मोहोर र सुक्काका केही चानचुन र पाँच रुपैयाँको ढ्याक थियो ।

हजुरआमाले चानचुन पैसालाई २० रुपैयाँको नोटसँग छुटाएर स्कुलको शिक्षकलाई दिइन्, नातिलाई नयाँ सालको किताबको ज्याला भर्न ।

सरकारी स्कुलका विद्यार्थीलाई गाउँमा किताब निशुल्क हुन्छ । तर सिम्लेमा गाडीबाट झरेर दुई घन्टा उकालो लाग्ने भएर किताब बोक्ने भरियालाई ज्याला दिनुपर्छ । ती हजुरआमाजस्तै सबै गाउँलेहरू दुःखजिलोसँग भरियाको भाडा जुटाउँछन् ।  

काठमाडौंमै हुर्केर सेन्टमेरिजमा स्कुल र कलेज सकेकी सृष्टी अधिकारीले चैतको अन्तिम साता ललितपुरको सिम्ले गाउँमा यो दृश्य देखिन् । साँच्चैको गाउँ २४ वर्षमा देखेकी उनले हजुरआमाको यही दृश्यबाट थाहा पाइन्, हाम्रो गाउँघरमा अभाव के रहेछ, समाज कसरी चलिरहेको रहेछ ।

‘२० रुपैयाँको महत्व गाउँमा त्यति धेरै हुँदोरहेछ,’ सृष्टिले तीन महिना राजधानी जोडिएको ललितपुर जिल्लाको विकट गाउँ बस्दाको आफ्नो अनुभव सुनाइन्, ‘गाउँसमाज बुझ्न गाउँघरमै गाउँले भएर बस्न सिक्नुपर्दोरहेछ ।’

काठमाडौंमा हुर्किएर किताबमा मात्रै गाउँ पढेकी उनको गाउँ बुझ्ने यो सिलसिला आउँदो २१ महिनाका लागि हुनेछ । शिक्षाको स्तर बढाउन, स्कुले नानीलाई फरक तरिकाले स्कुलको पढाइसँगै व्यवहारिक ज्ञान दिन यसै वर्षको वैशाखबाट सुरु भएको ‘टिच फर नेपाल’ अभियानकी सृष्टि एक फेलो हुन् ।

२५ वर्षअघि अमेरिकामा सञ्चालन भएर सफलता पाएपछि यही अभियानलाई भारतले अवलम्बन गर्यो । त्यसकै सिको गरेर केही युवा तन्नेरीको पहलमा यसै वर्षदेखि नेपालमा ‘टिच फर नेपाल’ अभियान सुरु भएको छ । यस वर्ष राजधानीसँग जोडिएको ललितपुरमा सुरु भएको अभियानमा विभिन्न क्षेत्रमा स्नातक वा स्नात्तोत्तर सकेका ३२ फेलो छन् । उनीहरूले ललितपुरको सरकारी र सामुदायिक स्कुल गरी १६ विद्यालयमा पढाइरहेका छन् । ५ सय ५० वटा आवेदनबाट छानिएका यी फेलोले अंग्रेजी, गणित, विज्ञान पढाउँछन् । टिच फर नेपालले आउँदो वर्षका लागि पनि यस्तै स्नातक सकेका विद्यार्थीको आवेदन खोलेको छ । यसपटक धनुषा र सिन्धुपाल्चोकमा विद्यार्थीहरुले पढाउनुपर्नेछ ।

अहिले यी ३२ विद्यार्थी अभियानको तीन महिना सकेर काठमाडौंमा तालिमका लागि आएका छन् ।

‘म त स्कुलमा विद्यार्थीलाई पढाउँछु आफूले जानेको कुरा सिकाउँछु भन्ने सोचेको थिएँ,’ सृष्टिले शनिबार दिउँसो झम्सिखेलमा भनिन्, ‘तर, सिकाउनेभन्दा आफूले सिक्ने कुरा गाउँमा ज्यादा हुँदोरहेछ ।’

सृष्टि अहिले काठमाडौंबाट ४० किलोमिटर टाढा ललितपुरको प्यूटार गाविसको सिम्लेगाउँमा पढाउँछिन् । ‘हामी उनीहरुलाई किताबको पाठ पढाउँछौ,’ उनले भनिन्, ‘उनीहरू हामीलाई गाउँसमाजको पाठ पढाउँछन् ।’

टिच फर नेपालबाट गाउँमा पढाउन जाने सृष्टिजस्तै सबैलाई यो अभियान ‘सिकाउने र सिक्ने’ अवसर भएको छ ।

सृष्टिभन्दा केही सुविधाको स्कुलमा पढाउने २२ वर्षीया इशा श्रेष्ठको पनि अनुभव फरक छैन । ‘हामीलाई सामान्य लाग्ने कुरा उनीहरुलाई ठूलो लाग्छ अनि हामीलाई ठूलो लाग्ने कुरा उनीहरूलाई सामान्य लाग्छ,’ इशाले भनिन्, ‘हामीलाई यो टु वे लर्निङ प्रोसेस जस्तो लागिरहेको छ । हामीले ४० परसेन्ट सिकाएको र ६० परसेन्ट सिकेका छौं ।’

सृष्टि र इशा दुबैलाई सानैदेखि गाउँसमाजका लागि केही गर्ने मन थियो । गाउँका लागि, साना स्कुले केटाकेटीका लागि केही गर्ने सोचले उनीहरुले टिच फर नेपालमा आवेदन दिए । तीन महिनाको प्रक्रियापछि उनीहरु छानिए । त्यति बेला सम्म गाउँमा बस्न त्यति गाह्रो होला भन्ने लागेको थिएन ।

‘मलाई ल्यापटपको झोला बोकेर उकालो लाग्न गाह्रो लाग्छ,’ सृष्टिले भनिन्, ‘मेरा विद्यार्थीहरु ३० केजीको भारी बोकेर सँगै उकालो लाग्छन् । म उनीहरुलाई ल्यापटपबाट मिना कार्टुन देखाउँछु, अंग्रेजी शब्द सिकाउन खोज्छु, उनीहरु दुख के हो मलाई बुझाउँछन् ।’

गाउँको परिवेश रमाइलो छ, तर जीवनयापन कष्टकर । लिटिल एन्जल्सबाट एसएलसी सकेर सेन्ट जेभियर्समा सामाजिक सेवा पढेकी इशा श्रेष्ठलाई ललितपुरको गाउँमा पहिलो पटक जाँदा बाथरुम छैन भन्ने सुन्दै अचम्म लाग्थ्यो ।

ओहो ! अब कसरी नुहाउने त ?

घरबाटै चापागाउँको बिष्टगाउँमा पढाउने उनका लागि त्यो त्यति असहज भएन । तर, अहिले वर्षामा डेढ घन्टा गाडी र पाँचघन्टा पैदल गर्नुपर्ने सृष्टिका लागि त्यो दैनिकी बनेको छ ।

‘म कल्पना पनि गर्न सक्दैन थिएँ, तर अहिले म त्यहि गाउँमा बस्ने भएपछि कपडा बेरेर नुहाउँछु,’ उनले भनिन्, ‘सिमसिम पानी परेको बेला पधेँरोमा मान्छे हुँदैनन्, अनि त्यही बेला नुहाउन जान्छु ।’

तीन महिना गाउँमा बसेर फर्कँदा यी युवालाई गाउँका समस्या के हुन् थाहा भयो, त्यसमा आफूलाई अभ्यस्त बनाउन पनि सके । ‘तर हामीले आफूले सकेको परिवर्तन गाउँमा बसुन्जेल गर्नुपर्छ,’ इशाले भनिन् ।

उनीहरुको अनुभवमा प्रविधिले विद्यार्थीलाई प्रभावित बनाउन सजिलो हुँदोरहेछ ।  शुक्रबार हाफछुट्टी हुने भएपछि धेरै विद्यार्थी स्कुल नै आउँदैन थिए । तर इशा र सृष्टि दुबैले शुक्रबार विद्यार्थीहरु रमाउने मिना कार्टुन र उनीहरुका रुचिका भिडियो अडियो हेर्न भए पनि रमाएर आउँछन् ।

‘पहिला त ल्यापटप देखेरै अचम्म मान्थे,’ सृष्टिले भनिन्, ‘अहिले त कितावको ब्ल्याक एन्ड ह्वाईट चित्रभन्दा ल्यापटपमा कलरफुल चित्र र भिडियो हेर्न मन गर्छन् ।’ यसरी पढाउन खोज्दा उनीहरुको चाख बढ्छ र उनीहरुले सहजै बुझ्छन्।

विद्यार्थीहरु यस्तो कुरामा अभ्यस्त हुन थालिसके । टिच फर नेपालका यी फेलोसँग प्रश्न सोध्न धक मान्न छोडिसके । तर थुप्रै वर्षदेखि त्यही पढाउने शिक्षक÷शिक्षिकाले यसलाई सामान्य रुपमा हेर्न सकेका छैनन् ।

‘पढाउन जाँदा पनि पढ्न गएको जस्तो कत्रो ब्याग बोक्नुभएको भन्नुहुन्छ,’ फेलोमध्येकी कान्छी सदस्य इशाले भनिन्, ‘हाम्रो बुवाहरु लाग्ने जस्तो उमेरको सरहरु हुनुहुन्छ, पहिला असजिलो लाग्थ्यो तर अहिले विद्यार्थीहरु हामीसँग रमाउन थालेपछि बानी पर्न थाल्यो ।’

विद्यार्थीसँग घुलमिल हुँदा धेरै आश्चर्यपूर्ण घटना देख्न पाईन्छ । त्यसैले काठमाडौंमा बसेर पढाइ अनुसारको जागिर नखाएकोमा वा ब्याचलर सकेपछि तुरुन्तै मास्टर्स गरेर पढाइ नसकेकोमा सृष्टि र इशालाई कुनै पछुतो छैन ।

उनीहरूले एक दशकअगाडि स्कुल पढ्दाको माहोल गाउँका विद्यार्थीले अझै कति दशक पाउँदैनन् । ‘हामीले अनुमानै गरेका थिएनौं, उनीहरुको जीवन, उनीहरुले पनि अनुमानै गरेका थिएनन् हाम्रो जीवन,’ सृष्टिले भनिन्, ‘हाम्रो दूरी अहिले यो अभियानले नजिक ल्याइदिएको छ । आफ्नो कुरा व्यक्त गर्ने मनोबल हामीमा पनि बढ्यो, विद्यार्थीमा पनि बढ्यो ।’

यसपटक तीनमहिना गाउँमा बिताएर घर फर्किँदा सृष्टि र अन्य थुप्रैले आफ्ना यिनै अनुभव अभिभावकलाई सुनाए । ‘पहिला त्यस्तो ठाउँमा कसरी बस्छन् भन्ठाने पनि अहिले खुसी हुनुहुन्छ, हामीले यहाँ सैद्धन्तिक शिक्षा दिए पनि व्यवहारिक शिक्षा गाउँमै बुझिन्छ भन्नुहुन्छ,’ सृष्टिले भनिन्, ‘हुन पनि हजुरआमाले जतन गरेको पैसा र अभावको ज्ञान मैले गाउँमै नगई थाहा पाउँदैन थिएँ ।

Originally from: http://setopati.com/samaj/3079/

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )