‘एकबारको जुनीमा क्रान्तिमात्रै सबैथोक होइन, जीवन पनि केही हो !’

विनिता दाहाल/सेतोपाटी

काखकी छोरीलाई दुई वर्षमै आफूबाट अलग्याएर युद्धको मैदानमा हिँड्न त्यति सहज थिएन । माओवादकै बाटोमा हिँडेर थुप्रै आमा र छोरीलाई लैगिंक  उत्पीडनबाट मुक्ति दिलाउने शिशु लक्ष्य दिमागमा जड भएर गडेको थियो । क्रान्तिबाटै देशको आमूल परिवर्तन सम्भव हुन्छ भन्ने सोचका अगाडि आमाको ममता फितलो बन्यो ।

जीवनमरणको यही बाटोमा हिँड्दा उनले दिललाई दिमागले जितेर काखकी छोरी माइतीमा जिम्मा लगाइन् । माओवादीका तर्फबाट संविधानसभा चुनावमा रोल्पा क्षेत्र नं १ बाट प्रत्यक्षमा जितेकी जयपुरी घर्तीको काख आफ्नै छोरीका लागि बिरानो बन्दै गयो ।

‘दुई वर्षसम्म त मैले आफैँ छोरी बोकेर जंगलजंगल हिँडे,’ मंगलबार दिउँसो जयपुरी घर्तीले ती दिन सम्झँदै भनिन्, ‘त्यसपछि युद्धको समयमा जहाँतहीँ छोरी लिएर हिँड्न सम्भव भएन अनि आमाको जिम्मा लगाएँ ।’

छोरीले मामाघरमा हजुरआमाकै काखमा पनि एक वर्षभन्दा बढी  खेल्न पाइनन् । राज्यपक्ष माओवादीका सन्तानको खोजिनिती गर्दै गाउँगाउँ हिँड्न थालेपछि जयपुरीले ‘जनताको घरमा’ छोरीको रेखदेख गर्न एकजना कमरेडलाई जिम्मा दिइन् । जनताको घर दाङ घोराहीमा छ ।

यता क्रान्ति चर्कँदै थियो, उता आमा–छोरीबीच एकअर्काप्रतिको प्रेम मधुरो बन्दै गयो ।

१२ वर्षमा पहिलोपटक स्कुल जान थालेकी जयपुरीलाई समाजको वर्गीय र लै‌गिक विभेदको राम्रो हेक्का थियो । उनकै बाबुआमाले छोराहरुको आश गर्दागर्दै उनी नवौं सन्तान भएकी थिइन् । दुई दाजुभाइ र आठ दिदीबहिनीको बीचमा हुर्केकी उनलाई आफ्नो बाबुले रक्सी खाएर आमालाई पिटेको याद छ । त्यो सामान्य नै लाग्थ्यो उनलाई । 

‘कुटाइपिटाइ त सामान्य थियो,’ जयपुरीले भनिन्, ‘३÷४ जना श्रीमती बिहे गर्ने धेरै हुन्थे, महिलाको पीडा भनिसाध्य हुन्थेन ।’

सुरुसुरुमा दुई छाकको जोहो गर्न आमा, दिदीहरू काममा जान्थे । दिनभरि काम गरेको ज्याला जम्मा चार माना मकै आउँथ्यो । पछि जयपुरी आफैँले पनि ज्यालामा काम गर्न थालिन् । देशका अन्य गाउँमा जस्तै रोल्पाको राङ्सी गाउँमा पनि मुखिया खलकले छोरी पढाएर बर्बाद गरे भन्थे ।

उनकी दिदी पार्वती घर्ती र कमला म्याडम गाउँबाट स्कुल जाने पहिलो महिलाहरू थिए । दिदी स्कुल गएकै कारण सधैँ पानीपधेँरो, घाँसदाउरा गर्नुपर्ने जयपुरीलाई स्कुलको मोह बढ्न थालेको थियो । दोस्रो लटमा जयपुरी र बहिनी तारा स्कुल जान थाले । अहिले गाउँमा शिक्षित र रोजगार पुरुषको दाँजोमा महिला बढी छन् । जयपुरीलाई यो आफूहरूकै पहलले भएको लाग्छ ।

‘अहिले बरू छोराहरु लफंगा भएर हिँडेका छन्,’ उनले ठूलो हाँसो गर्दै भनिन्, ‘छोरीले त धेरैले पढेर जागिर खाएका छन् । बरु केटाहरूले खाएका छैनन् । हामीलाई देखेर उनीहरूले पनि पढ्ने, जागिर खाने गरे ।’

जयपुरीका दिदीबहिनी अहिले स्कुलका मास्टर छन् ।

‘आमाले मलाई स्कुल पठाउन ठूलो भूमिका खेल्नुभयो,’ उनले भनिन्, ‘पछि दिदी र आमा दुवैको  प्रेरणाले म राजनीतिमा लागेँ ।’

उनीहरू सानै छँदा खानपुग्दो अन्न आउने जग्गाजमिन बुवाले जुवामा सिध्याइसकेका थिए । पञ्चायतमा काका पञ्च र बुवा गाउँको मुखिया भए पनि दैनिक गुजारा कष्टकर नै हुन्थ्यो । त्यसमाथि पढाइखर्च बेहोर्न जयपुरी नौ दिनको बाटो लगाएर दाङको घोराहीसम्म नुन, तेलको भारी लिन आइपुग्थिन् ।

‘म थुप्रैपटक ९ दिनको बाटो लगाएर नुन लिन घोराहीसम्म गएको छु, कहिले घरका लागि, कहिले पसलका लागि,’ उनले संघर्षका दिन सम्झिन्, ‘१ नम्बर नुनको ज्याला पसलेले त्यतिबेला १४ रुपैँया दिन्थ्यो ।’

१ नम्बर बराबर ५ केजी हुन्थ्यो । जयपुरी एकपटकमा ६ नम्बरसम्म नुनको भारी बोक्थिन् । त्यसबाहेक ९ दिनलाई पुग्ने खानेकुरा, ओढ्ने ओछ्याउने सबै सामान बोक्नुपर्थ्यो ।

बेलाबेला एलजीको सामान्य  सेटमा आइरहने मोबाइलका कल हेर्दै उनी भन्थिन्, ‘दुख त कति भयो कति नि, तर त्यो दुख मलाई मात्रै होइन, गाउँमा धेरै महिलालाई थियो ।’

बिहान हँसिया र नाम्लो बोकेर निस्कने, कतै जंगलमा लुकाउने, स्कुल गएर पढ्ने अनि फर्कँदा घाँसदाउरा गरेर फर्कने उनी र उनका दौँतरीको दैनिकी थियो ।

गरिबी र असमानताले मान्छेलाई पशुतुल्य बनाउँछ । अभावले मानवतालाई कहिल्यै जित्न दिँदैन । सानैदेखि गरिबी र असमानताको चुरो बुझेकी जयपुरीमा धनीगरिब र महिलामाथि हुने असमानताको दूरी मेट्ने दह्रो संकल्प थियो ।

ढिलो पढाइ सुरु गरेकी उनको यही अठोटले नजानिँदो रुपमा मनमा समाज परिवर्तनको आकार बनाउँदै थियो, त्यत्तिखेरै कमरेड पासाङ (नन्दकिशोर पुन) साम्यवादको नारा लगाउँदै स्कुलस्कुल आइपुग्थे ।

रोल्पाको विकट गाउँ राङ्सीमा कमरेड पासाङ क्रान्तिबाट देशमा आमूल परिवर्तन ल्याउने र राज्यसत्ता कब्जा गर्ने बताउँदै आइपुग्थे । कम्युनिष्ट पार्टीप्रतिको झुकाउ जयपुरीमा यसैगरी कक्षा ५÷६ देखि सुरु हुन थालेको थियो । त्यतिबेला उनी १७/१८ वर्षकी थिइन् ।

बहुदल आउनुभन्दा पहिला पासाङहरू भूमिगत थिए । त्यही बेला जयपुरीहरू आफूले नुनको निमेख गरेर जम्मा गरेको पैसाबाट पार्टीलाई १ रुपैँया चन्दा दिन्थे । पार्टीलाई आफ्नो कमाइको चन्दा दिनुको मज्जै बेग्लै थियो ।

सुरुमा विद्यार्थी संगठनको सदस्यता लिँदा उनलाई कुन पार्टी भन्ने थाहा थिएन । मोटो मशाल र पातलो मसाल थियो । प्रचण्ड त्यतिबेला मोटो मशालमा महासचिव थिए, उनी त्यसकै सदस्य बनिन् । २०४२ सालतिरको कुरा । त्यतिबेला जयपुरीले प्रचण्डलाई भेटेकी भने थिइनन् ।

‘भेटेको त जनयुद्ध सुरु भइसकेपछि २०५३ सालतिर मात्रै हो,’ जयपुरीले ती दिन सम्झँदै भनिन्, ‘उहाँले विशेष महिलाका ’boutमा उठाउने विषयले मलाई धेरै प्रभावित गर्थे ।’

प्रचण्डभन्दा अगावै उनले गाउँमा शिक्षक भएर पुगेका कृष्णबहादुर महरालाई चिनेकी थिइन् । साह्रै नम्र स्वभावका र मान्छेलाई  वाकपटुताले सजिलै प्रभावित गर्न सक्थे महरा ।

‘भित्र जे भए पनि बाहिर उहाँ मधुर स्वरमा मान्छेलाई कन्भिन्स गर्ने तागत राख्नुहुन्थ्यो,’ जयपुरीले भनिन्, ‘मैले पार्टीमा लागेपछि उहाँ र प्रचण्डलाई नै आदर्श मानेकी थिएँ । बाबुराम पनि बुद्धिजिवी भनेर प्रभावित थिएँ, किरणलाई त मैले धेरैपछि मात्रै चिनेकी थिएँ ।’

एकीकृत माओवादीबाट चोइटिएको ड्यास माओवादीको नेतृत्व गरिरहेका मोहन वैद्य किरणलाई उनले यहीँनेर सम्झिन्, जुन पार्टीमा उनी पनि अहिले हिस्सा छिन् ।

१० कक्षा पुग्दा नै महिला संगठन र विद्यार्थी संगठनको सदस्यता लिएको थाहा पाएपछि उनीहरूविरुद्ध सार्वजनिक मुद्दा लाग्यो । जयपुरीले एसएलसी दिन नपाउँदै औपचारिक शिक्षा त्यही बेला छोड्नुप¥यो जुन कहिल्यै पूरा भएन ।
‘सार्वजनिक मुद्दा नलागेको भए पढिन्थ्यो होला,’ उनले भनिन्, ‘पछि अवस्था जटिल बन्दै गयो अनि हामी भूमिगत भयौं । पढ्ने कुरै भएन ।’

त्यसपछि पार्टीको काममा कहिले कुन गाउँ, कहिले कुन गाउँ सांस्कृतिक कार्यक्रम लिएर जानुपथ्र्यो । पहाड उचाल्ने जोश हुन्थ्यो उति बेला । पढाइ, छोरी, घरपरिवार छाडेकोमा खासै अफसोच थिएन । देश परिवर्तनको बाटोमा हिँड्दा घरपरिवार फिक्का हुन्थे ।

विद्रोहमा लाग्नुको पीडा यहीँनेर हुन्छ । उनले जसलाई आदर्श मानेर समाजको वर्गीय र लै‌गिंक विभेद सशक्त रूपमा उठाउँदै आएकी थिइन्, आज उनका तिनै आदर्श पात्रहरू व्यक्तिगत चिन्तनमा लिप्त भएर पार्टीसँग अलग्गिएकामा जयपुरीको धेरै चित्त दुखेको छ ।

‘उहाँहरूले सुनाउने जुन सिद्धान्तहरूबाट म निकै प्रभावित थिएँ, आज त्यसैलाई संस्थागत नगरी व्यक्तिगत चिन्तनमा हाबी हुनुभयो,’ जयपुरीले व्यंग्यात्मक हाँसोसहित भनिन्, ‘कुनै मुद्दा संस्थागत भएनन्, सबै व्यक्तिवादी भए, पद र पैसा खोजे । नातावाद हाबी भयो ।’

दुई दशक यही राजनीति भनेर लाग्दा उनमा उत्साह थप्ने कुनै उल्लेख्य काम माओवादी नेतृत्वले गर्न सकेन । ‘संविधान मात्रै बनेको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो,’ उनले बिछट्ट निराशामा भनिन्, ‘जेठ १४ कै दिन पनि विघटनको सट्टा अरु केही निर्णय होला र देश शून्यतामा नजाला भन्ने नै हामीले सोचेका थियौं ।’

कम्तीमा टुंगो लागेको विषय मात्रै घोषणा गरेर बाँकी जनमतसंग्रहबाट हुने भनेको भए पनि देश अहिलेको शून्यतामा  गएर राजनीतिक असफलताको सिकार नबन्ने उनी बताउँछिन् ।

माओवादीले उठाएको मूल मुद्दा न संविधान बन्यो, न शान्ति प्रक्रिया टुंगो लाग्यो, न पीडितले उचित क्षतिपूर्ति पाए । धनीगरिबबीचको दूरी झन् आकाशपाताल भयो । गुमाउने गुमाएका गुमायै भए, पाउनेले पाएको पायै भए ।

उनलाई लाग्न थालेको छ, लोकतन्त्रको अभ्यास सबैले कुरामा मात्र गर्ने रहेछन् व्यवहारमा त ठीक उल्टो हुन्छ । महिलालाई विशेष अधिकार दिनुपर्छ भन्ने कमरेड प्रचण्डको भनाइबाट जयपुरी सबैभन्दा प्रभावित थिइन् ।

माओवादीमा लाग्नुअघि महिलालाई विशेषअधिकार दिनुपर्ने कुरा तिनै प्रचण्ड गर्थे ।  महिलालाई ५१ प्रतिशत भन्दा बढी छुट्याउनुपर्ने लोभलाग्दो कुरा सुनाइरहन्थे उनी । अन्तरिम संविधानले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्यो । तर, त्यो पार्टीभित्रै लागू भएन । ‘पार्टीभित्र त कुरै छोड्नुस्, राज्यसत्तामा पनि भएन,’ घर्तीले भनिन्, ‘त्यसकै विरोधस्वरुप म आफ्नो पालामा मन्त्रीको शपथ खानै गइनँ । आखिर विरोध गर्ने आफ्नै पालामा हो ।’

यस्ता कुरा संविधानसभाकै बेला पनि जयपुरीले थुप्रैपटक अध्यक्ष प्रचण्डसँग राखिन् । प्रचण्डले हुँदैन पनि भनेनन्, कहिल्यै कार्यान्वयन पनि गरेनन् ।

‘अन्तरिम संविधान आइसकेपछि पनि हामीले यस्ता विषय उठाइरह्यौं, उहाँले ठीक हो, हुन्छ भन्नुभयो तर व्यवहारमा कहिल्यै लागू गर्नुभएन,’ जयपुरीले भनिन् ।

त्यसैले प्रचण्डलगायत अन्य उनले आदर्श मानेका नेताहरू पनि शब्दमा मात्रै आदर्श रहे । उनले वस्तुगत हिसावले राजनीति के रहेछ, बल्ल बुझ्न थालिन् । राजनीतिमा कुरा एकथरि र काम अर्को थरि हुँदोरहेछ ।

‘मलाई पहिला राजनीतिप्रति जति आकर्षण थियो, त्यो सबै अब विकर्षणमा परिवर्तन भइसक्यो,’ घर्तीले भनिन्, ‘नेताहरूको व्यक्तिवादी सोच, चिन्तन र आचरणले राजनीतिक आकर्षण कम बनाउँदै लग्यो ।’

सुरुसुरुमा महरा आफूहरूले भोग्दै आएको गरिब र धनीबीचको फरक समान बनाउनुपर्ने बताउँथे । चाहे महरा, चाहे प्रचण्ड, उनीहरूले सुरुदेखि नै उठाउँदै आएको मुख्य मुद्दा नै वर्गीय र लैङ्गिक समानताको थियो । सर्वहारा वर्गको पार्टीले जातीय विषयलाई प्राथमिकता दिन नहुने भन्नेमा सबैको अडान हुन्थ्यो । त्यतिबेला पार्टीका सल्लाहकार कमरेड दीर्घ (तेजमान घर्ती) ले पनि जातीय विषय उठाउन नहुने ठूलो अडान लिए । उनी पछि युद्धकै क्रममा सहिद भए । प्रचण्डले फेरि जातीय मुद्दालाई सशक्त रूपमा प्रस्तुत गर्न थाले । जनयुद्ध सकिएपछि मात्रै जातीयको विषयलाई पार्टीले एजेण्डा बनायो । यसरी माओवादी पार्टीको एजेन्डा मुख्यतः वर्गीय, लैङ्गिक र जातीय उत्पीडन अन्त्य गर्ने भयो । जयपुरीलाई भने जातीय एजेन्डा बनाएको सुरुदेखि नै चित्त बुझेको थिएन । उनी संवैधानिक समितिमा रहँदा पनि जातीय राज्यलाई सम्बोधन गर्न नहुने बताउँथिन् । तर, एकपछि अर्का सदस्य फोन आएको बहानामा बैठकबाट बाहिरिरहन्थे । ती तिनवटै विषयमा उत्पीडन अन्त्य गर्ने कुरा पनि आखिर शब्दमै सिमित भए, व्यवहारमा त पहिलाको दूरी झन् बढ्दै गयो ।

जयपुरीलाई अहिले यी तीनवटै एजेन्डामा नयाँ ढंगले उत्पीडन सुरु हुन थालेको महसुस हुन्छ ।

‘महिलाहरूकै सवालमा मानसिक उत्पीडन बढेको छ । मानसिक रूपमा दबाइएको छ,’ उनले भनिन्, ‘वर्गीय उत्पीडन त पार्टी भित्रै आकाशपाताल भइसकेको छ, । शान्ति प्रक्रियामा आइसक्दा पनि नेताहरु क्रान्तिमै छौँ भन्थे, भने एकथरि गरे अर्कोथरि ।’

व्यक्तिगत जीवन पूर्णतया छोडेर राजनीतिमै दत्तचित्त रहेकी उनलाई अहिले फर्केर हेर्दा अचम्म लाग्छ ।

‘संविधानसभामा माओवादी जितेर आउँदा, प्रचण्डले जित्दा कत्रो हाईहाई थियो,’ उनले त्यतिबेलाको उत्साह अनुहारमा झल्काएर भनिन्, ‘कत्रो हाईहाई मानसिकतामा अब परिवर्तन ल्याउनुपर्छ भन्ने थियो, जनतामा त्यो उत्साह फेरि ल्याउन साह्रै कठिन छ ।’ क्रान्तिमा सँगै लडेको एउटा तप्का आफूआफूबीच फुटेर एमाले, कांग्रेसमा मिल्नु पनि राजनीतिप्रति उनमा आएको विकर्षणको अर्को कारण बन्यो ।

त्यसैले अब आउँदो चुनावमा, हुन त उनले आफूहरू (वैैद्य समूह) जाने सम्भावना निकै कम देखेकी छन्, कुनै सहमति भएर गए नै पनि पहिलाको उत्साह नहुने उनी बताउँछिन् ।

‘सँगै लडेर आएको एउटा समूह छाडेर सत्ता र पदको लोभमा चुनाव गराउन खोज्दैछन्,’ उनले भनिन्, ‘यो लोकतान्त्रिक अभ्यास होइन, पहिला त्यत्रो उत्साहमा आउँदा त देशले राजनीतिक असफलता यति ठूलो व्यहोर्नुपर्यो । मलाई खास केही ठूलो उपलब्धि भइहाल्ला जस्तो लागेको छैन ।’

त्यसमाथि उनी ढुक्क छिन्, उतिबेला जस्तो स्वच्छ चुनाव कुनै हालतमा हुने वाला छैन । ‘यसपटक पैसा र पावर प्रयोग हुन्छ । त्यतिबेला जनताले जसलाई भोट दिन्छन्, दिन्छन् भन्ने थियो,’ उनले भनिन्, ‘अहिले गाह्रो छ । महिलालाई पार्टीभित्रै पनि धेरै सहयोग हुँदैन ।’ त्यसैले उनलाई लाग्छ, यसपटक महिलाको सहभागिता पहिलाभन्दा निकै कम हुन्छ ।

राजतन्त्र सकिएर गणतन्त्र आए पनि जनता असन्तुष्ट छन् । नेतानेताबीच विश्वास छैन । राजनीतिक असफलताको परिणाम उनलाई यही लाग्छ ।

‘पहिला एकजना राजा फालियो भनेर खुसी भयौं, तर राजनीतिक परिवर्तनपछि अरु ५/६ जना व्यक्तिहरू राजा भएर निस्किए,’ उनले भनिन्, ‘हिजो राजनीतिप्रति जनताको चेतना र चिन्तन प्लस भएर गएको थियो । अहिले माइनसमा झर्दै छ ।’

यसो भन्दैमा राजनीतिबिना समस्या समाधान नहुनेमा उनी विश्वस्त छिन् । पार्टीगत नभई व्यक्तिगत रूपमा पनि उनलाई सबै मिलेर चुनावमा जानुपर्छ भन्ने लाग्छ । तर, आफूहरूसँग फुटेकै माओवादी नेतृत्वले नचाहेपछि त्यसको सम्भावना पनि कम हुँदै गएको छ । ‘एमाओवादीले छलफलमा हामीलाई पनि लिएको भए हुन्थ्यो, सायद उनीहरूले पनि पन्छाउन खोजेको होला,’ घर्तीले भनिन्, ‘हामीलाई निकालेर कांग्रेस, एमालेलाई हात लिनुभयो । त्यो ठीक थिएन ।’
सबैले छातीमा हात राखेर सोच्दा लोकतन्त्रको अभ्यास कहीँ नभएको उनलाई प्रष्ट लाग्छ । ‘मलाई सम्झिँदा यति धेरै पीडा हुन्छ, त्यति बेला संघीयताको कुरा नमिले पनि मिलेका विषयमा घोषणा गरेको भए हुन्थ्यो । दुई वर्षपछि त संविधानसभाको बैठक नै भएन,’ घर्तीले साँच्चैको पीडा अनुहारमा ल्याएर भनिन्, ‘सबै नेताहरुरू सत्ताको पछाडि दौडिए ।’

राजनीतिका यिनै कुरा सम्झिँदा उनलाई राजनीति फरक ढंगले गर्ने इच्छा जागेको छ । आफ्नो अस्तित्व राजनीतिभन्दा बढी भएको महसुस हुन थालेको छ । व्यक्तिगत जीवन पनि केही रहेछ, आजकाल त्यस्तै लाग्न थालेको छ ।

‘आगामी दिनमा राजनीतिमा कसरी लाग्ने मेरो आफ्नै विचार छ । त्यो ठ्याक्कै त म अहिले भन्दिनँ, तर मैले धेरै कुरा गुमाएको थिएँ,’ घर्तीले आफ्नो मानसपटलमा छोरीलाई उपस्थित गराएर भनिन्, ‘आजकाल आफैँ खाना पकाउँछु, छोरीलाई खुवाउँछु, सफा सुग्घर गर्छु, अनि बाँकी समयमात्रै राजनीतिलाई दिन्छु ।’

फेरि राजनीति गर्दिन भन्नु पनि त्यति सजिलो छैन यो एउटा लतको कुरा हो ।

‘राजनीति अनिवार्य चाहिन्छ । निरन्तर संघर्ष र परिवर्तनको कुरा एउटै व्यक्तिले सधैँ गर्नुपर्छ भन्ने छैन,’ उनले देशको चिन्ता छोडेर आफूमा फर्कँदै भनिन्, ‘आखिर मान्छे जन्मने त एकपटक न हो । सानैदेखि राजनीति गर्दै आइयो । देश र जनताको लागि सबै समय खर्चेको हो । अनुभव व्यक्तिगत जीवनको लागि गर्नुपर्छ भन्ने लाग्न थालेको छ ।’ आखिर आफ्नो परिवार भनेर सम्झने श्रीमान् युद्धमै सहीद भए । नावालक छोरी एक दशकसम्म अर्काको घरमा हुर्किई ।

रोल्पामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै जयपुरी फाइल तस्विर ।


दुई वर्षकी छोरीलाई आमाको जिम्मा लगाउँदा उमेरले छोरीमा चेतना हुर्किसकेको थिएन । जयपुरीमा क्रान्तिको जोश त थियो, गहिरो चेतना हुर्किसकेको थिएन । त्यही क्रान्तिमा लाग्दा उनले एक दशक छोरी अरु कसैको जिम्मा लगाइन् । जयपुरी आफैँलाई छोरीको माया लाग्न छाडेको थियो । झन् आफूलाई अरुको काखमा छोड्ने आमाको माया छोरीलाई लाग्ने कुरै भएन ।

Originally from: http://m.setopati.com/news/2870/

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )