खोइ न्यायपरिषद्को जवाफदेहिता ?

न्याय परिषद्ले विवादास्पद छबिका न्यायाधीश सिफारिस गरेको भनिएका बेला कान्तिपुर दैनिकमा प्रकाशित मेरो लेख

http://www.ekantipur.com/np/2071/1/16/full-story/388364.html

विनिता दाहाल

अक्सर विवादमा नतानिने न्यायपालिका यसपटक न्यायपरिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधीश सिफारिसपश्चात इतिहासमै सबैभन्दा बढी विवादित देखिएको छ । वर्षौंसम्म संविधान र कानुनको पाना पल्टाएर हजारौं मानिसको मुद्दामा न्यायको तराजु जोखेका न्यायमूर्तिहरूले परिषद्को निर्णय अनुचित भन्दै प्रश्न उठाउनुले स्वतन्त्र न्यायपालिकाको साख गिराउने खतरा बढेको छ ।

गोजीबाट न्यायाधीशको नाम सिफारिस गरिन्छ भन्ने आम गुनासो आउने गरेको भन्दै परिषद्ले न्यायाधीश चयन पारदर्शी बनाउन दुई वर्षभन्दा ज्यादा समय मापदण्ड बनाउन खर्चिएको थियो । त्यसैले पनि परिषद्ले सर्वोच्च अदालतमा यसपटक गर्ने निर्णय ज्यादा पारदर्शी र विवादरहित हुनुपर्ने अपेक्षा थियो । तर यसैपटक न्यायाधीश चयनमा हाम्रालाई काखा र राम्रालाई पाखा गर्ने प्रवृत्ति देखिनु ज्यादा विडम्बनापूर्ण भएको छ ।

अहिले परिषद्ले सिफारिस गरेको आठजना न्यायाधीशमध्ये आधाभन्दा बढी व्यक्तिहरू विवादास्पद छविको देखिएका छन् । उनीहरूको आलोचना, हत्तपत्त प्रतिक्रिया दिन नचाहने पूर्वप्रधानन्यायाधीश वृत्तबाटै हुनथालेको छ । न्यायाधीशजस्तो गरिमामय पदमा व्यक्ति छान्दा परिषद्को गम्भीरता र नियतमाथि प्रश्न उठ्न थालेका छन् । जुन सुन्दा जायज देखिए पनि त्यस’bout जवाफदेही हुन प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद्ले आवश्यक ठानेको देखिँदैन । बरु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा विवादित भनिएका तिनै सिफारिसमा परेका न्यायाधीशसहित चितवनस्थित त्रिवेणीधाममा परिषद्को निर्णयकै तेस्रो दिन पुगेको विषयले चर्चा पाउन थालेको छ ।

हुन त शर्मा नेतृत्वको परिषद्ले यसअघि पुनरावेदन अदालतका न्यायाधीश नियुक्त गरे लगत्तै तिनै न्यायाधीशहरू एमाले पार्टी कार्यालयमा धन्यवाद दिन गएको विषयमाथि प्रश्न उठाइएको थियो । प्रतिक्रियामा लगत्तै सर्वोच्च अदालतमा भएको एक सार्वजनिक कार्यक्रममा शर्माले ‘साथीहरू त्यसरी पार्टी कार्यालयमै धन्यवाद दिन नजानुभएहुन्थ्यो’ भन्ने ठट्यौली प्रतिक्रिया दिएका थिए । परिषद्ले त्यस्तो गम्भीर विषयलाई चासो दिएको देखिएन ।

प्रत्येक सरकार परिवर्तन भएपिच्छे आउने कानुनमन्त्रीको सक्रिय सहभागिता परिषद्मा न्यायाधीश सिफारिस हुने यस्तै बेलामात्रै देखिए पनि उसको ध्येय सधैँ आफू संलग्न पार्टीको अपेक्षाअनुसार कुनै व्यक्ति विशेषलाई न्यायाधीश चयन गर्ने वा नगर्ने निर्णयमा हावी हुने गरेको देखिन्थ्यो । यसपटक न्यायपरिषद्मा पदेन सदस्यका रूपमा नेपाली कांग्रेसभित्रै राम्रो छवि बनाएका र तार्किक क्षमता भएको भनिएका कानुनमन्त्री नरहरि आचार्य आउनुलाई कानुनमन्त्रीको सहभागिता’bout विगतको बुझाइ परिवर्तन हुने अपेक्षा गरिएको थियो । तर रोलक्रम मिचेर करियरमा रहेका विवादित न्यायाधीशलाई मात्रै छनोट गरेको भन्दै आलोचना बढिरहेका बेला उनले भने त्यसलाई ‘रोस्ट्रर’मा रहेको न्यायाधीशलाई ल्याएको भन्ने हल्काफुल्का प्रतिक्रिया दिएका छन् । उनले आफ्नो तार्किक व्यक्तित्वलाई अहिलेको विवादमा चित्रण गर्न सकेनन् ।

परिषद्का पाँचमध्ये बाँकी दुई सदस्य जसले न्यायपालिकाको सुधारमा न्यायपरिषद्मार्फत नियम बनाउने लगायतका कामको अपेक्षा गरिएको हुन्छ, उनीहरू भने सिफारिस भएकै निकायबाट आलोचित बनेका छन् । बार एसोसिएसन र सरकारबाट सिफारिस भएका उपेन्द्रकेशरी न्यौपाने र खेमनारायण ढुंगाना सिफारिस भएर आउँदै पार्टीको ‘ट्याग’ लागेका व्यक्ति न्यायपरिषद्जस्तो स्वतन्त्र र निष्पक्ष निकायमा आएको भन्दै आलोचना भएको थियो । कांग्रेस निकट वकिलहरूको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र एमाले अनुशासन विभागका सदस्य खेमनारायण ढुंगाना आउनुलाई धेरैले न्यायपरिषद्मा ‘पार्टी कार्यकर्ता छिरेको’ प्रतिक्रिया दिएका थिए । तर पनि अन्तरिम संविधानपछि बार र सरकारबाट सिफारिस हुने उस्तै प्रक्रियाबाट परिषद् सदस्य भएका मोतीकाजी स्थापित र वासुदेव ढुंगानाको दाँजोमा अहिलेको परिषद्मा युवा सदस्य रहेको भन्ने सकारात्मक पाटो केलाइएको थियो । पूर्व सदस्यद्वय स्थापित र ढुंगाना आफ्ना निर्णयमा कहिल्यै विवादित बनेनन् । तर अहिलेका सदस्यको न्यायाधीश सिफारिस निर्णयलाई लिएर नेपाल बार एसोसिएसनले केन्द्रीय समितिको बैठकबाटै राजीनामाको मागेको छ ।

न्यायाधीश सिफारिस निर्णय हुनु केहीअघि परिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपाने न्यायाधीशमा जान चाहिरहेका छन् भन्ने विषयले न्यायपालिकाभित्रै व्यापक चर्चा पाएको थियो । त्यसको जवाफमा उनले ‘आफू परिषद् सदस्य हुँदाहुँदै सर्वोच्चमा न्यायाधीश नहुने’ अभिव्यक्ति दिएका थिए । त्यसको सोझो अर्थ हो- उनी परिषद्बाट राजीनामा दिएर सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा आउन चाहन्छन् । उनैको सक्रियतामा हालै न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिससम्बन्धी तयार गरेको मापदण्डको पहिलो प्राथमिकतामा पनि न्यायपरिषद्का पूर्वसदस्यलाई राखेको बताइएको छ । त्यसैले उनले अब परिषद् सदस्यबाट राजीनामा दिई सर्वोच्च अदालतका बाँकी रिक्त पदमा न्यायाधीशको सिफारिसमा परे कुनै आश्चर्य हुने छैन ।

न्यायपालिकाको अभिभावकत्व ग्रहण गरेका प्रधानन्यायाधीश नेतृत्वमा रहेको परिषद्को निर्णयपछि दिनदिनै उनीहरूको नियतमाथि प्रश्न उठ्न थालेका छन् । पाँच-पाँच वर्ष काम गरेर सबैभन्दा धेरै मुद्दा फछ्र्यौट र विवादरहित न्यायसम्पादन गर्ने प्रकाश वस्तीजस्ता अस्थायी न्यायाधीश स्थायी न्यायाधीशको चयनमा कुन आधारमा समेटिएनन् ? पहिला दुई-दुईपटक संसदीय सुनवाइबाट योग्य भएर राम्रो ‘पर्फर्मेन्स’ देखाएका र अदालतभित्रका थुप्रै समितिमा बसी अध्ययन प्रतिवेदन तयार गरेका उनी स्थायी न्यायाधीशमा अयोग्य हुनुका कारण के हुन् ? परिषद्ले स्थायी न्यायाधीशका लागि १० वटा पद रिक्त हुँदाहुँदै किन ८ न्यायाधीशहरूलाई मात्रै सिफारिस गर्‍यो ? परिषद्को पहिलो छनोटमा करियर न्यायाधीशहरूमात्रै किन परे र त्यसमा रोलक्रमका मुख्य न्यायाधीशलाई कुन कारणले पाखा लगाइयो ? पहिला न्यायपरिषद्बाटै सम्भावित न्यायाधीशको सूची मागिएको नेपाल बार एसोसिएसन र कानुन संकायका तर्फबाट स्थायी न्यायाधीशको पहिलो प्राथमिकतामा किन कोही समेटिएनन् ?

सर्वोच्च अदालतको संयुक्त इजलासले दुई वर्षअघि नै कारबाहीका लागि न्यायपरिषद्लाई ध्यानाकर्षण गराएका पुनरावेदन अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुन आधारमा सफाइ दिइयो ? र न्यायाधीशजस्तो उच्च गरिमाको पदमा लागेको दागको सफाइ ’boutको निर्णयलाई परिषद्ले गोप्य राख्न किन उचित ठान्यो ? सर्वोच्च अदालतले सम्भवतः पहिलोपटक त्यसरी कुनै न्यायाधीशको पूर्व फैसलाको त्रुटि केलाएर कारबाहीका लागि सिफारिस गरेको थियो । सर्वोच्चले सिफारिस गरे पनि न्यायाधीश गलत नहुने आधार भेटिन सक्छ । आन्तरिक अध्ययनबाट जबराले सफाइ पाउनुको कारणलाई गुपचुप राख्नुको ध्येय के थियो ? परिषद्ले विवादित न्यायाधीशलाई सफाइ दिँदा न्यायोचित कारणहरू उल्लेख गर्नसकेको भए उसको नियतमाथि प्रश्न राख्ने ठाउँ हुने थिएन ।

धेरैको चासो रहेको उक्त विषयमा न्यायाधीशले परिषद्बाट पाएको सफाइ सार्वजनिक रूपमा बाहिर ल्याउन परिषद्ले किन आवश्यक ठानेन ? र तिनै न्यायाधीशलाई कारबाहीको सट्टा बीचमा अघोषति रूपमा पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश र पछि उनीभन्दा वरिष्ठ जुम्लाका मुख्य न्यायाधीशको रोलक्रम मिचेर किन सर्वोच्च अदालतमा स्थायी पदका लागि सिफारिस गरियो ?

सिफारिसको तेस्रो स्थानमा रहेका गोपालप्रसाद पराजुली विरुद्ध पनि परिषद्मा थुप्रै उजुरी परेका थिए । पराजुली आफ्नो पालामा अयोग्य भएकै कारण माथि नल्याएको सार्वजनिक अभिव्यक्तिसमेत पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले दिएका छन् । न्यायपालिकाभित्र नराम्रो रेकर्ड रहेका जबरा र पराजुलीजस्ता व्यक्तिविरुद्ध परेका उजुरीमाथि परिषद्ले कति अध्ययन गरेर उनीहरूलाई सफाइ दियो वा ती उजुरीको अध्ययन नै गरेन ? यस’bout पनि परिषद्ले कुनै धारणा दिएको छैन ।

परिषद्ले सिफारिस गरेकै दिन उक्त प्रश्न’bout सोध्न खोज्दा परिषद्का प्रवक्तासमेत तोकिएका खेमनारायण ढुंगानाले आफू त्यस’bout केही नबोल्ने भन्दै सचिवमार्फत सूचना लिन आग्रह गरेका थिए । निमित्त सचिव कृष्ण गिरीले परिषद्को निर्णयमाथि उठेका यी यावत प्रश्नको एउटै जवाफ दिएका थिए, ‘परिषद्ले जे आवश्यक ठानेको थियो, संविधानतः त्यसैगरी न्यायाधीश सिफारिस गरेको हो ।’

सामान्यतः सर्वोच्च अदालतको अस्थायी पदमा न्यायाधीशहरूलाई दुईवर्षे कार्यकालका लागि सिफारिस गरिन्छ । अघिल्लो वर्ष पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएपछि बाधा-अड्काउ फुकाउ आदेशमार्फत सर्वोच्चमा कानुनमन्त्री बाहेक यिनै परिषद्का पदाधिकारीहरूले घर फर्काइसकेका पाँच न्यायाधीशलाई १ वर्षका लागि सर्वोच्च अदालतमा फर्काए । स्थायी पद रिक्त हुँदाहुँदै पहिलै संसदीय सुनवाइ भइसकेका न्यायाधीशलाई अस्थायीमा त्यो पनि १ वर्षका लागिमात्रै ल्याउनुको कारण’bout पनि परिषद्ले सदावहार जवाफ दिएको थियो- ‘परिषद्ले जे आवश्यक ठान्यो, त्यही गर्‍यो ।’

न्यायिक सुझबुझ र विवेकको लेखाजोखा गरेर संविधानतः योग्य व्यक्तिलाई न्यायमूर्ति बनाउनुपर्ने गहन जिम्मेवारीमा रहेको परिषद्माथि उठेका यस्ता प्रश्नमा पछिल्लो समय ब्यापक रूपमा उठ्दै आएको भए पनि ऊ कहिल्यै कसैप्रति जवाफदेही देखिएको छैन ।

न्यायाधीश पेसा निकै शालिन र मर्यादित मानिन्छ । न्यायाधीशहरू कागजी न्यायबाहेक अन्य समय हतपत आफ्ना अभिव्यक्ति दिनु उचित ठान्दैनन् । कागजमार्फत अनुचित कामको मूल्यांकन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछन् । त्यस्तै अनुचित फैसला गरेको देखेर प्रधानन्यायाधीशको रोलक्रममा रहेकी न्यायाधीश सुशीला कार्की र सर्वोच्च अदालतबाट विदाइ भइसकेका तर्कराज भट्टले पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार सम्बन्धी मुद्दामा नियोजित रूपमा उनलाई उन्मुक्ति दिनखोजेको देखियो भन्दै आधारसहित कारबाहीका लागि परिषद्लाई सिफारिस गरेका थिए । तर परिषद्ले भने त्यति धेरै आलोचनामा परेका चोलेन्द्रशमशेर जबरालाई सफाइ दिनुको कुनै कारण सार्वजनिक नगरी स्थायी पदका लागि सिफारिस गर्‍यो । भोलि संसदीय सुनवाइबाट अनुमोदित भएर तिनै न्यायाधीश नियुक्त भएपछि सुशीला कार्की र उनको बेन्चले विगत बिर्सेर कसरी कुनै मुद्दामाथि निष्पक्ष रूपमा फैसला दिन सक्लान् ? कानुन सरह मान्यता पाउने नजिर प्रतिपादन गर्ने न्यायाधीशको निर्णयलाई गम्भीरतापूर्वक नलिने परिषद्को यस्तो क्रियाकलापमाथि पनि प्रश्न उठ्ने गरेको छ ।

परिषद्माथि यति धेरै प्रश्न उठिरहे पनि उसको निर्णयमा जवाफदेहिता खोजिने कुनै संयन्त्र नहुँदा अभिव्यक्ति दिनुको तुक नहुने कतिपय कानुनविदहरूको बुझाइ छ ।

परिषद्ले पछिल्लो समय अपारदर्शी रूपमा गर्दै आएको निर्णयलाई दृष्टिगत गरी अबको संविधानमा परिषद्को संरचना र न्यायाधीश नियुक्तिको प्रक्रियामै विचार गर्न आवश्यक देखिन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )