‘जीवन भ्रम, डेथ इज रियालिटी’

chitra जब आँखैअगाडि मृत्यु एउटा कठोर यथार्थ बनेर ठिङ्ग्रिङ्ग उभिदिन्छ तब एक मुठ्ठी सास हुलुक्क हुन त्यति गाह्रो नहोला जति त्यसपछि कलिला सन्तानले बेहोर्नुपर्ने समय सम्झेर अहिले गाह्रो हुन्छ।

अपवादमा बाहेक मान्छेले आफ्नो मृत्यु स्वीकारेर दिन गन्ती गर्नु पर्दैन। त्यस्तै मृत्युको काउन्टडाउन सुरु गरेका अपवाद हुन्, डाक्टर चित्रप्रसाद शर्मा वाग्ले जसले पलपल मृत्युलाई धेरै नजिक खिचिँदै आएको देखेका छन्। त्यो पनि डाक्टरको आँखाले जसलाई अर्को डाक्टरले ‘आत्तिनु पर्दैन’ भन्ने सान्त्वनाका शब्द दिन सक्दैनन्। यति भन्छन्, ‘दवा हम देंगे, दुवा उपरवाला।’

‘मर्नैपर्छ भन्ने त्यति ठूलो पीर होइन मलाई, म गएपछि मेरा नानीहरूको विचल्ली होला भन्ने कुराले मात्रै मन छट्पटिरहन्छ।’ एक लाखमा एकजनालाई लाग्ने दुर्लभ रोग एपेन्डिक्स क्यान्सरले डेढ वर्षअघि छोइसकेको थाहा पाएदेखि वाग्लेभित्रको पिता मन पति मनभन्दा ज्यादा रोएको छ।

जब आफ्नो मृत्युपछि कलिला सन्तानको भविष्य अजंग पहाडसरि मानसपटलमा छाउँछ तब कुन बाबुको मन नभक्कानिएला? ४६ वर्षीय वाग्ले मनभित्र उठिरहने प्रश्नहरुबाट आजित हुन्छन्। तिनको कुनै उत्तर छैन, उत्तर खोज्दा बाँच्न चाहिने ऊर्जा घट्छ। मन यही कुराले कट्कटी खाइरहन्छ। क्यान्सर लागेर लगातार किमो लिएको शिथिल शरीर मानसिक पीडाले झन् कमजोर पारिदिन्छ।

कसैलाई सुनाउँदा पीडा कम होला, तर सुन्न नजिक उभिने उनै श्रीमती हुन् जसले श्रीमान्को मृत्युपछिको कठोर समय भोग्नु नै छ। ‘त्यो सम्झँदा पीडा घट्दैन, झन् बढ्छ,’ वाग्लेले श्रीमती बैठकमा नहुँदाको क्षण भने।
रोग लागेकै दिनदेखि दिनरात पतिको सेवामा खटिएकी श्रीमती पूजा पराजुलीसँग उनी खुलेर केही भन्न सक्दैनन्। डाक्टर भएर बिरामीलाई रोग लुकाएजस्तै सान्त्वनाका शब्द मात्र दिन्छन्, ‘आत्तिनुपर्दैन, केही हुन्न।’
रोग लागेकै बेलादेखि पीडा पोखिँदाका आँखाहरू दुवैले आपसमा लुकाएका छन्। मृत्युलाई आँखाको सतही भागमा लुकाएर सान्त्वनाका शब्द बाँड्न खोज्छन्। जब पीडा गहिराइमा पुगेर छचल्किन खोज्छ तब वाग्ले डायरीका पानामा पोखिन थाल्छन्। श्रीमती एकान्तमा सुँक्सुकाउन थाल्छिन्।

डायरीमा के लेख्नुहुन्छ?
‘के लेखूँ? मेरा सन्तानले बुझ्ने भएपछि त्यो पढेर आफूलाई झन् थाम्न नसक्लान्, तैपनि लेख्छु, तिमीहरू असल बन्नू। दुखिगरिबको सेवा गर्नू। त्यसले तिमीहरूलाई आत्मसन्तुष्टिको जिन्दगी दिन्छ,’ वाग्लेले भने, ‘जीवन केही होइन। आई ह्याभ एसेप्टेड माई डेथ फुल्ली।’

सबै सन्तान सपांग भए पनि उनलाई सास फाल्न त्यति पीडा हुँदैन थियो सायद। १२ वर्षअघि डाक्टरको सरकारी जागिरका लागि काठमाडौंमा बसेर पढाइमा घोटिइरहँदा श्रीमती पूजाले बुटवलमा जेठो सन्तान छोरो जन्माइन्। ऊ जन्मनेबित्तिकै सास फेर्न नसकेर अपांग भयो। सुस्त मनस्थिति। बोल्न जान्दैन, लर्बराएर हिँड्छ र बेसुरका काम गरेर आफ्नै धुनमा हराइरहन्छ। बाँचुन्जेलका लागि ‘खाएर नचुठ्ने, गरेर नधुने’ जीवन ल्याएको छ।

‘भोक लाग्यो भन्न जान्दैन, ट्वाइलेट आएको थाहै पाउँदैन,’ आमा पूजाले भनिन्।
वाग्लेलाई पनि सबैभन्दा पीर त्यही सन्तानको छ जो जीवनभर अरुको भरमा बाँच्नुपर्छ। त्यही भएर उनी १० र ६ वर्षका दुई छोरीलाई मृत्युपछि दिइने पत्रमा लेख्छन्, ‘नानी हो, उमेरले तिमीहरूको दाइ भए पनि उसले सबैको सहारा लिनुपर्ने जिन्दगी पाएको छ, उसलाई भाइसरह माया गर्नू, उसको भरथेग गर्नू।’ वाग्लेले यति भन्दा उनको बोली अडियो।
यस्तै पत्र लेख्दा कयौंपटक आँखाबाट आँसुका थोपा तप्किएर तिनै अक्षरमा परेका छन्। मनको भावजस्तै डायरीका अक्षर ठूलो आकारमा नचिनिने गरी मधुरो भएर फुलेका छन्।
कुरा नसकिँदै श्रीमती त्यही छोरोलाई लिएर बैठक कोठामा आइन् जो आफ्नै सुरमा अनुहारभरि आमाको लिपस्टिक दलेर बसेको रहेछ।

‘हेर्नुस् त, यसलाई लिपस्टिक अनुहारमा लगाउने भन्ने पनि थाहा रहेछ क्यारे,’ उनले यति भनेकी थिइन्। छोरोलाई के कुरामा चित्त बुझेको थिएन, आफैँ देब्रे हातको बुढीऔँला टोकेर नाडीसम्मै घाउ बनाए। आमाले हत्तपत्त बरन्डामा निकालेर सानो बक्सजस्तो टेबलमा राखिन्, कुचोको एउटा सानो डाँठ दिइन्।

त्यही सानो कुचोको छेस्को घुमाएर उनी दिनभर बिताउन सक्छन्। कहिले त्यसलाई हेरेर हाँसिरहन्छन्। कहिले केही बिग्रिरहेको भाव अनुहारमा ल्याउँछन्। हामी पुगेको सोमबार (भदौ १७) को दिन पनि त्यही सानो डाँठ चोरीऔँला र बुढीऔँलामा घुमाउँदै नचाइरहे। आँखा त्यही छेस्कोमा एकटक अडिएको छ।

’round के छ, को नौला मान्छे आएका छन्, केही हेक्का छैन। आमाले खुवाइदिने दालभात एकसुरमा खाइरहे। अनुहारको लिपस्टिक बुवाले पुछिदिए। उनले नाइँ पनि भनेनन्, रमाइलो पनि मानेनन्।

उनीबाहेकका खिरिला शरीरका दुई छोरी पढाइमा तेज छन्। दिनदिनै बाबालाई भेट्न नौला मान्छे आइरहँदा उनीहरूले थाहा पाए, बाबा बिरामी हुनुहुन्छ। १४ महिना दिल्ली बसेर फर्कँदा छोरीहरूले जसरी आमालाई ग्वार्लाम्म अँगालो हालेका थिए, शिथिल बाबालाई त्यसो गर्न पाएनन्। पेटबाहिर आन्द्राको थैली बोकेका बाबा काखभरी छोरीलाई लिएर माया दिन सक्दैनन्। उनको घाउ चर्किन्छ। कहिलेकाहिँ असह्य पीडा हुँदा त छोराछोरी नै अघिल्तिर नआइदिए हुन्थ्योजस्तो लाग्छ।
‘दुखाइ कम गर्न मान्छे भेट्न आउने भएपछि मरफिन खाएर बस्छु,’ उनले सँगै उभिएकी जेठी छोरीलाई हेरेर भने, ‘मरफिनलाई ड्रग्सका रूपमा प्रयोग गरिन्छ, खाँदा मलाई धेरै बेफाइदा हुन्छ, थाहा छ, तैपनि दुखाइ सहनसक्ने हुन दिनरात खान्छु।’ त्यसले बोल्दाबोल्दै स्वर सुकेर मुख सुख्खा हुन्छ। घाँटी क्याप्प हुन्छ।

चित्र वाग्ले आफैँ ६ वर्षको उमेरमा टुहुरा बनेका थिए। बुवा अर्की आमा लिएर भिन्दै बसिसकेका थिए। भाइ जन्मिएको सात दिनमात्रै भएको थियो, आमाले प्राण त्याग्दा। दुई आमाबाट जन्मिएका १५ सन्तानमध्ये वाग्ले काइँला छोरा हुन्।
‘राम्रो अभिभावकत्व नपाउँदा हाँसखेल गर्ने उमेर कसरी गुम्छ, मलाई राम्रोसँग थाहा छ,’ वाग्लेले भने, ‘मैले नपाएको त्यो बचपना आफ्ना सन्तानलाई दिन्छु भन्ठान्थेँ, सबै चकनाचुर भयो।’

अति सामान्य परिवारमा हुर्किएर हेल्थ असिस्टेन्ट हुँदै छात्रवृत्तिमा उज्वेकिस्तानबाट एमबिबिएस गरेका वाग्लेलाई सरकारी डाक्टरका हिसाबले सुरुमा पोखरा पोस्टिङ गरिएको थियो। उनले मानेनन्। हुम्ला, जुम्ला वा अर्घाखाँची रोज्दा स्वास्थ्यसचिव छक्क परेका थिए, ‘पोखराजस्तो सुगममा नबसेर गरिबी, अभाव र विकटता भएको जिल्ला किन जान खोजेको?’
‘गरिब बिरामीको सेवा गर्न,’ उनले यति जवाफ दिएका थिए रे। यो २०५८ सालको कुरा। अपांग छोरा ९ महिनाका थिए। वाग्ले श्रीमतीसहित छोरालाई लिएर अर्घाखाँची पुगे। त्यही बेलादेखिको सक्रियता डेढ वर्षअघि विश्व स्वास्थ्य संगठनको एमडी फेलोसिप नपाउँदासम्म निरन्तर चलिरह्यो।

फेलोसिप पाएपछि जीवनभर कमाएको रुपैयाँमा केही थपथाप गरौँला भनेर उनले काठमाडौंको रोज्जा ठाउँ धापासीमा तीनतले घर चिनजानका साथीसँग किने। उनको शब्दमा त्यसको ऋण अझै बाँकी छ।
कति? उनले भन्न चाहेनन्।

काठमाडौंमा घर किनेर श्रीमती र सन्तान छोडेर जाँदै उनको दाहिने हात बेस्सरी दुख्थ्यो। उनले सामान्य त होला भनेर उपचार गर्ने मनस्थिति बनाएनन्।

फेलोसिप पाएको तीन महिनामा दुखाइ झन् बढेको अनुभव गरेपछि एकपटक राम्रोसँग उपचार गर्ने निधो गरे। उपचारका क्रममा थाहा भयो, ‘क्यान्सरले छोइसकेको छ, जसको दिगो उपचार सम्भव छैन।’

थाइल्यान्डमा बसेर सिटिस्क्यान, पेटीस्क्यान गरिरहने आर्थिक अवस्था नभएपछि उनी पढाइ छाडेर नेपाल फर्के। नेपालमा उपचार सम्भव नभएको भन्दै दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गर्न सरकारबाट रिफर भएपछि उनी १४ महिनाअघि श्रीमतीका साथ दिल्ली पुगे।

अपांग छोरो र साना छोरीलाई त्यतिकै छाडेर श्रीमतीलाई दिल्ली लैजाने अवस्था थिएन। क्यान्सर नफैलियोस् भनेर आन्द्रा पेटबाहिर थैलीमा बोक्नुपर्ने उनलाई श्रीमतीबिना जाने आँट पनि आएन। तै बुटवल ससुरालीबाट सासुससुराले सन्तानको जिम्मेवारी लिइदिए। १४ महिनाका लागि निरन्तर।

‘भगवानले केही कुरामा ठूलै भाग्य दिएका हुन् जस्तो लाग्छ,’ उनले भने, ‘संसारमा कसैका सासुससुरा मेरोजस्तो छैनन् होला जसले साँच्चिकै दुख पर्दा दिलोज्यान दिएर ज्वाइँलाई १४ महिनासम्म रातदिन नभनी भरथेग गरेका छन्।’
उपचारका क्रममा अहिलेसम्म उनले २१ पटक किमो लिइसकेका छन्। तीमध्ये इम्युनो किमो ६ पटक लिए। एकपटक लिँदा पाँच लाख भारु पर्छ। सरकारी सेवाको डाक्टर भएका कारण वाग्लेलाई सरकारले पाँचलाख नेपाली रुपैयाँ सहयोग दियो जसले उनलाई एकपटक किमो गर्नै पुगेन। यसै वर्षदेखि सुरु भएको उत्कृष्ट चिकित्सकको उपाधि उनैले पाए। तर उनको गुनासो छ, ‘उत्कृष्टभन्दा पनि उपचारको खर्च सरकारले व्यहोर्ने आँट गर्दैन। सम्मान देख्दा रोग निको हुँदैन। दुखाइको पीडा घट्दैन।’

उपचारकै क्रममा नेपाली ७० लाख रुपैयाँ हाराहारी सकियो। रोगको केही पार लागेन। यही महिनाको पहिलो साता दिल्लीका डाक्टरले उपचारका लागि अमेरिका वा क्यानडा जान सल्लाह दिए जहाँ उपचार खर्च डेढ लाखदेखि ५ लाख डलरसम्म लाग्छ। आयु बढी भए पाँच वर्ष सम्मका लागि बढ्छ।

उनको रोग र आर्थिक कठिनाइ थाहा पाएर कान्तिपुरका दिल्लीस्थित संवाददाता देवेन्द्र भट्टराईले अर्थ संकलनका लागि पहल गरे। अहिलेसम्म १५ लाख रुपैँया जम्मा भएको छ। डाक्टर वाग्लेको हातमा आठ लाख परेको छ।

‘धेरै दया भएको मान्छे हुनु हुँदोरहेछ देवेन्द्रजी, चिनजानै नभएको मलाई पैसा जुटाउन धेरै लागिपर्नुभएको छ,’ वाग्लेले पटकपटक उनको प्रशंसा गर्दै भने, ‘मेरा लागि दैव हुनुभएको छ।’

भट्टराईको पहलसँगसँगै उनले दशक बिताएको अर्घाखाँचीका धेरै परिवारले उनलाई सहयोग गरेका छन्। पोखराकी सरिता गुरुङले केही दिनमै लाख रुपैयाँ जम्मा गरिदिएकी थिइन्। पैसा जम्मा भइरहे पनि बालुवामा पानी खन्याएसरी पैसा रोगले खाइरहँदा पनि उनको मृत्युलाई जित्ला भन्ने छैन। आर्थिक संकलन भए लालाबालाले आफू नभए पनि चाहेअनुसारको शिक्षादिक्षा पाउन सकून् र मृत्यु सहज होस् भन्ने अपेक्षा मात्रै राखेका छन् उनले।

भगवानको विश्वास खासै लाग्दैन। तैपनि उनी ससुराले लगाइदिने पशुपतिको चन्दन प्रत्येक दिन लगाउँछन्। ‘भगवानलाई धाएर खोज्न जाँदिन म, बाटोमा पर्दा नढोगी पनि हिँड्दिन,’ वाग्लेले घाँटीमा लगाएको भगवानको डोरो र एउटा कालो बुटी देखाएर भने, ‘झन् अहिले त श्रीमती रोग निको हुन्छ कि भनेर के के ल्याइरहन्छिन्। म त्यहीत्यही लगाइदिन्छु, कम्तीमा उनको मनलाई शान्ति मिल्छ।’

मान्छे भेट्न आइरहँदा श्रीमतीलाई एउटै डर लाग्छ, ‘क्यान्सर लागेर भएको कुनै दुखद घटना आफूहरूलाई कसैले नसुनाइदिऊन्।’

‘म छोरो अपांग भएदेखि नै आशैआशमा बाँच्दै आएको छु,’ हामीलाई तल गेटसम्म छाड्न आउँदा उनले भनिन्, ‘मेरो मनमा झुक्किएर पनि उहाँलाई केही नराम्रो होला भन्ने सोच आउँदैन। भगवानले सधैँ मेरै खुशी मात्रै किन लुटिरहन्छ होला र?

राजीब गान्धी क्यान्सर अस्पतालमा उपचारको सुखद संकेत नदेखिएर खल्ती रित्तिँदै गएपछि उनी स्वदेशमै प्राण त्याग्ने इच्छाले नेपाल फर्किए। मृत्युसँग संघर्ष गरिरहँदा उनलाई लाग्यो, ‘डाक्टरी पेशामा जस्तो सहयोगी भावना नहुने अरु केहीमा रहेनछ।’ उनी जहाँजहाँ उपचार गराउन जान्थे, त्यहाँत्यहाँ सहकर्मी साथीहरूले ३ सयको बिल काट्न छुटाएनन्।

वाग्लेसँग अर्घाखाँचीदेखि नै चिनजान भएका डाक्टर सुमन्त बन्जाडे सोमबारकै दिन उनलाई भेट्न घर पुगेका थिए। डाक्टर वाग्लेको उपचारमा उनले आफ्नो पेशाको ठूलो सत्य थाहा पाए।
उनले भने, ‘खलासीले खलासीको भाडा लिन्न, एउटा हजामले अर्को हजामको कपाल सित्तैमा काट्छ तर एउटा डाक्टरले अर्को डाक्टरको उपचार गराउँदा फी लिन छुटाउँदैन।’
‘डाक्टरलाई सधैँ विरामीको उपचार गरेर सेवा गरेकै छ भन्ने लाग्दोरहेछ क्यारे, सँगैको साथी मृत्युसँग जुधिरहँदा सहयोगको हात अगाडि बढाउन नसक्ने रहेछौं,’ उनले भने।

सरकारी डाक्टर भएर दुर्गम अर्घाखाँचीमा एक दशकभन्दा लामो समय बिताएर बिरामीको सेवा गरेका वाग्ले मृत्युनजिक आएपछि डाक्टर हुनु आफ्नो दुई ठुलो दुर्भाग्यका कारण सम्झन्छन्।

‘म मेरो रोग र त्यसले निम्त्याउने मृत्युबाट अनभिज्ञ छैन,’ उनले भने, ‘मृत्युको मुखमा पुगिसकेका धेरैलाई मैले निको हुने आश्वासन दिएर मनोबल बढाएको छु, त्यो मलाई बिरामीका हिसाबले अरू डाक्टरले गर्न सक्दैनन्।’ मृत्यु आँखाभरि सोहोरिएर आउँछ, जसलाई आँसु बनाएर बगाउन सकिँदैन।
सकिन्थ्यो, यदि समयमै उपचार गरेको भए।

उनी बिरामी शरीर लिएर डाक्टरी सल्लाह दिन्छन्। ‘पुरुषले ४५ नाघेपछि वार्षिक रगत जाँच गराउनुपर्छ र महिलाले ३५ नाघेपछि स्तन र पाठेघरको जाँच गराउनुपर्छ,’ उनले भने, ‘समयमै रोग खुट्टिएपछि उपचार सहज हुन्छ।’

जन्मेपछि मर्नुपर्छ भन्ने कसलाई थाहा छैन! जन्मेकै दिनदेखि मान्छेले मरणसम्मको दूरी छोट्याउन थाल्छ। कसैको चाँडो आउला दिन, कसैको ढिलो। तर, मान्छेले जीवनको यस्तो धुव्र्रसत्य आफैँलाई नपर्दासम्म सतही बुझिरहेको हुन्छ। वाग्ले यो सत्यको गहिराइमै पुगिसके। र त, बिदा हुँदा भन्छन्, ‘फर मि लाइफ इज बिग इल्युजन, डेथ इज रियालिटी। आई एम जस्ट होपिङ फर पेनलेस डेथ।’
– See more at: http://setopati.com/samaj/3622/#sthash.a7WjYiLl.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )