‘परिबन्दले जेल परेँ, भाग्यले छुटेँ’

तिलक र जुना

तिलक र जुना

अफगानी प्रहरीहरू एकोहोरो प्रश्न सोधेका सोध्यै छन्, पस्तुन भाषामा । तिलक थापा मागर पस्तुन बुझ्दैनन् । उर्दुसम्म कामचलाउ आउँछ । प्रहरी भने उर्दु जान्दैनन्।

प्रहरी खोरको अँध्यारोले उनको त्यति सातो गएको छैन, जति ती अफगानी प्रहरीसँग सवालजवाफ गर्दा जीउमा काँडा उम्रिएका छन् । हतास मन भाषाको अप्ठ्यारोले झन् बढी हतासिँदो रहेछ । त्यसैले त, चारतिर घेरेर बसेका प्रहरी उनलाई यमदूतभन्दा कम लागेको छैन । तिनका राताराता आँखा च्यात्तिने गरी उघ्रिँदा यस्तो लाग्छ, मानौं आगो बर्सिरहेछ । जिब्रो चल्दा यस्तरी हंसले ठाउँ छोड्छ, मानौं गोमन सर्प फन फैलाएर डस्न खोजिरहेछ । घरिघरि सुलुत्तै तिनको मुखभित्र छिरिने हो कि भन्ने भयले काम्छन् उनी।
उनले आफ्नो प्रतिरक्षा निम्ति वकिलसमेत राख्न पाएका छैनन् । धन्न उर्दु र पस्तुन दुवै भाषा जान्ने दोभाषे पाएका छन् । पटकैपिच्छे पुलुक्क दोभाषेतिर हेर्छन् । सवाल उनले जानेको उर्दुमा उल्था भएर आउँछ । उनी डराई–डराई जवाफ दिन्छन् । उनको जवाफ दोभाषेमार्फत् पस्तुनमा उल्था भएर जान्छ।

नयाँ–नयाँ जानेको उर्दु भाषामा आफ्नो कुरा कति बुझिने गरी राख्न सके, तिलकलाई थाहा छैन । त्यही कुरा कति बुझिने गरी पस्तुनमा उल्था भयो, त्यसको पनि अड्कल छैन । कहिले छोटो जवाफ दिँदा लामो गरी उल्था हुन्छ, कहिले लामो जवाफ पनि छोटैमा सकिन्छ।
सुरु–सुरुमा त उनी रातभरि भुट्भुटिन्थे । छट्पटिन्थे । विस्तारै आफूलाई भाग्यको भरमा छाड्दै गए।
हुँदाहुँदा एउटै तर्कना उनको मनमा खेल्न थाल्यो — आफू यस्तरी अफगानी जेलमा बन्दी बनेको खबर श्रीमती जुनाले पाइन् कि पाइनन्?

उता दिनुहँजसो फोनमा कुराकानी भइरहने तिलक एकाएक बेखबर भएदेखि काठमाडौं बस्ने जुनाको बेहाल थियो । उनी तारन्तार अफगानिस्तान फोन गरिरहन्थिन् । सधैं एकजना नेपालीले फोन उठाउँथ्यो । ‘तिलक बाहिर गएका छन्’ भन्ने जवाफ दिएर सम्झाउन खोज्थ्यो।
जुनाको चित्त बुझ्थेन।
एक दिन फोन नगरी बस्न नसक्ने श्रीमान हप्तौं बेपत्ता हुनुले नै उनको जीउको आधा रगत सुकिसकेको थियो । युद्धको देशमा श्रीमान्लाई कुनै अप्ठ्यारो त परेन भन्ने डरले उनको मन रातदिन यस्तरी चिथोरिरहन्थ्यो, मानौं मुटुमा एकैचोटि लाखौं काँडा बिझेका छन् । उता पुख्र्यौली घर बन्दीपुरबाट ६६ वर्षे विधवा आमा छोराको खबर सोधेर भक्कानिइरहन्थिन् । उनी कतिचोटि त पीडा खप्न नसकेर मुर्छै परिन्।
भाग्यवादी जुना अनेक मन्दिर धाउन थालिन् । ब्रत बस्रिन । नौ ग्रहको शान्तिस्वस्ती गरिन् । तैपनि खबर नआएपछि ज्योतिषीहरूकहाँ भाग्य देखाउन गइन्।

ज्योतिषीले जोखाना हेर्दै गरेको भविष्यवाणीले नै उनको सास थामिएको थियो ।
सबैजना भन्थे, ‘तिम्रो मान्छेलाई केही भएको छैन, समय लाग्छ, तर फर्किन्छन् ।’

सात वर्षअघि वैदेशिक रोजगार निम्ति अफगानिस्तान पुगेका तिलक दुई वर्षअघि जेल परेका हुन्।
उनी नेपाल छँदा प्राइम ब्रोडकास्टिङमा काम गर्थे । बन्दीपुरका छिमेकी दाइले अफगानिस्तानको एउटा कम्पनीमा सुरक्षा इन्चार्ज भएर काम गर्ने प्रस्ताव ल्याए । अफगानिस्तानजस्तो दिनरात लडाइँ र मृत्युको खबरले घेरिएको देश जाने कि नजाने निर्णय लिन निकै गाह्रो प¥यो । तैपनि राम्रो पैसा कमाइने प्रस्तावले उनी लोभिए । आफ्नो सुरक्षाभन्दा हुर्कँदै गरेका दुई छोराको भविष्यले बढ्ता तान्यो।
काठमाडौंमा घर बनाउने र राम्रो शिक्षा दिएर छोराहरूको भविष्य सपार्ने सपना साँचेर उनी अफगानिस्तान छिरे।
लडाइँग्रस्त मुलुक भए पनि उनी काम गर्ने कन्ट्रयाक्ट कम्पनी अफगानिस्तान नेसनल आर्मी (एएनए) को हाताभित्र थियो । सधैं सुरक्षित कम्पनीको कम्पाउन्डमै रहेर गरिने ड्युटी उनलाई राम्रै लाग्यो । यही कम्पाउन्डभित्र पाँच वर्ष बिताएर उनले काठमाडौंको रोज्जा ठाउँ धापासीमा तीनतले घर ठड्याए । बन्दीपुरमा किसानी गर्ने श्रीमती जुना र दुई छोरालाई साढे दुई वर्षअघि सन् २०११ फेब्रुअरीदेखि काठमाडौं सारे।

परिवारलाई नयाँ घरमा सारेको खुसीमा रमाउँदै अफगानिस्तान फर्केको दुई महिनामै तिलकको जीवनमा यस्तो बज्रपात भयो, जसको उनले कल्पनासम्म गरेका थिएनन्।
एक दिन अफगानिस्तानको नेसनल डिरेक्टोरेट अफ सेक्युरिटी (एनडिएस) का सुरक्षाकर्मी उनी काम गर्ने ठाउँमा आइपुगे । उनीहरू अफगानिस्तानकै मोहम्मद असगरलाई पाकिस्तानी नागरिक भन्दै खानतलासीका निम्ति आएका थिए।
साँझ ७ बजे आएका सुरक्षाकर्मीलाई तिलकले ‘भोलिपल्ट कार्यालय समय सुरु भएपछि मात्रै भेट्न दिने’ बताए । भोलिपल्ट खानतलासी गर्दा मोहम्मदको कोठामा दुई जोर लुगाबाहेक केही फेला परेन। तैपनि उनीहरूले मोहम्मदलाई पक्राउ गरे।
मोहम्मद समातिएको चार दिनपछि बिनाकारण एनडिएसले तिलकलाई पनि पक्राउ गर्‍यो । उनीमाथि पाकिस्तानको गुप्तचर संस्था (आइएसआई) लाई अफगानिस्तानको गोप्य सूचना दिएको आरोप थियो ।

बीस वर्षको कठोर सजाय पाएका तिलकलाई अफगानिस्तान सरकारले क्षमादान दिँदै दुई वर्षमै कैदमुक्त गर्‍यो । अफगानी जेलबाट छुटेर यही आइतबार स्वदेश फर्केका तिलकले सोमबार धापासीको आफ्नै घरमा सेतोपाटीसँग कुराकानी गर्दा बारम्बार भने, ‘म परिबन्दले जेल परेँ, भाग्यले छुटेँ।’

उनी यसको श्रेय दुईजना व्यक्तिलाई दिन्छन् । ‘जुनाले मेरो ज्यान बचाउन धेरैजनाको अगाडि हात जोडी,’ उनी भन्छन्, ‘पत्रकार सुबेल भण्डारीले पहल गरिदिनुभयो । मेरो यो पुनर्जीवन यी दुईजनाकै देन हो।’
जुनाको चौतफी याचनापछि नै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइसमक्ष तिलकको क्षमादान प्रस्ताव गरेका थिए । यसबीच पत्रकार भण्डारी र परराष्ट्र मन्त्रालयका कर्मचारी उनलाई छुटाउन सक्रिय भूमिका खेले।
‘म जेलमा हुँदा सुबेलजीले दाँत माज्ने ब्रस र रुमालदेखि किताबसम्म लगिदिनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘नेपाल सरकार र मिडियाको पनि उत्तिकै योगदान छ, नत्र मेरो जीवन जेलमै बित्थ्यो।’
उनले धेरै समय त आफू किन पक्राउ परे भन्ने नै चाल पाएनन् । पछि मात्र थाहा पाए, मोहम्मदले एनडिएसका सुरक्षाकर्मीको निर्मम यातनाबाट बच्न त्यसै उनको नाम पोलेका रहेछन्।
पक्राउ परेको १८ दिनसम्म उनलाई एनडिएसमै थुनामा राखियो । त्यसपछि अदालतमा लगियो । उनलाई वकिल राख्ने अधिकारसम्म दिइएको थिएन । पहिलो अदालतले १६ वर्ष जेल सजायको फैसला सुनायो । त्यसपछि हेलमन्डको प्रान्तीय अदालतले पनि अघिल्लो सजाय नै सदर गर्‍यो।

उनलाई जेलमा कतिसम्म यातना दिइयो भने, दिनमा पाँचपटकभन्दा बढी शौचालय जान दिइन्थेन । अपर्झट पर्ला भनेर उनी पानी र खानाधरी अड्कलीअड्कली खान्थे । परिवारलाई आफू जेल परेको खबर गर्न पनि ७० दिन कुर्नुपर्‍यो।
यसबीच मोहम्मदलाई बिनासित्ती तिलकको नाम पोलेकोमा हिनताबोध भएछ । मुस्लिम धर्मका कट्टर अनुयायी मोहम्मदले अदालतमा कुरानको कसम खाँदै भने, ‘म कुरानको कसम खाएर भन्छु तिलकको कुनै गल्ती छैन, मैले झुक्किएर उसको नाम लिएको हुँ।’
‘कसैको हातबाट कुरान खसेर भुइँमा झर्‍यो भने ती व्यक्तिलाई मार्दा धर्म हुन्छ भन्ने विश्वास गर्छन् त्यहाँका मुस्लिम,’ तिलकले भने, ‘त्यस्तो कट्टर धर्म मान्ने मोहम्मदले कसम खाइदिँदा पनि अदालतले मेरो सजाय घटाएन।’
त्यहीबीच १६ हजार डलर जम्मा गरे माथिल्लो अदालतले तिलकलाई सफाइ दिने हल्ला चल्यो । श्रीमती जुना त्यसको जोहो गर्नधरी भरमग्दूर प्रयास गरिन् । तिलकलाई भने कुनै गल्ती नगरेपछि केही हुँदैन भन्ने थियो । आफ्नो कारणले तिलक जेल प¥यो भन्दै पछुताउने मोहम्मदलाई पनि तिलक सम्झाउँथे, ‘मेरो भाग्यले साथ नदिएको भएर हो, तिम्रो कुनै गल्ती छैन।’
मुद्दा सर्वोच्च अदालत पुग्दा पनि तिलकलाई भाग्यले साथ दिएन । उनको जेल सजाय १६ बाट बढाएर २० वर्ष पुर्‍याइयो । अदालतले लिएको जिकिर सम्झिँदा उनलाई हास्यास्पद लाग्छ । अदालतमा पेस भएको एउटा फोटोको पृष्ठभुमिमा अफगान नेसनल आर्मी थियो । अदालतले लिएको प्रमाणमा भनिएको थियो, ‘तिलकले यसरी फोटो आइएसआईलाई पठाएर एएनएको सूचना दिन्छ।’
श्रीमती जुना भने अदालतमा वकिल राख्न पाउनुपर्‍यो भन्दै परराष्ट्रको कन्सुलेट शाखा धाइरहेकी थिइन् । त्यही बेला उताबाट फोन आयो, ‘अब वकिल खोजिरहनुपर्दैन । तिलकलाई २० वर्ष जेल सजाय भइसक्यो।’

त्यसबेला जेठो छोरो १२ कक्षा सकेर डाक्टर पढ्न खोज्दै थिए । श्रीमान्को खबरले अत्तालिएकी जुना छोरालाई पैसा खर्च गरेर डाक्टर पढाउन सक्दिन थिइन् । नाम निकाल्छु भन्दै छोरोले एक वर्ष बिगार्‍यो । जुना फेरि परराष्ट्र मन्त्रीदेखि कर्मचारीसम्म भेटेर तिलकलाई छुटाउन लागिपरिन् । तत्कालीन प्रधानमन्त्री भट्टराईले राष्ट्रपति हमिद कारजाईलाई पत्र लेखेर तिलकलाई क्षमादान दिन आग्रह गरे ।
तर त्यति मात्रै तिलकलाई २० वर्षको कैदबाट छुटाउन पर्याप्त थिएन।

नेपालबाट पाकिस्तान र अफगानिस्तानका लागि राजदूत भरत पौडेलले निर्दोष तिलक छुटाउनुपर्ने कुरालाई मिसन बनाएरै लागे । उनले ओहोदाको प्रमाणपत्र बुझाउन जाँदा राष्ट्रपति कारजाइसँग ३० मिनेटको भेटमा २० मिनेट तिलककै ’bout कुराकानी गरे । सामान्यतया यसरी ओहोदाको प्रमाणपत्र बुझाउन १०/१५ मिनेटको समय छुट्याइएको हुन्छ तर कारजाइले तिलकको विषयमा पौडेललाई ३० मिनेटको समय दिएका थिए । त्यही भेटपछि कारजाइले तिलकको २० वर्ष जेल सजायलाई दुई वर्षमा घटाई क्षमादान दिए।
त्यही आधारमा तिलक आइतबार साँझ दुबई हुँदै काठमाडौं झरेका हुन्।

साढे दुई वर्षअघि नयाँ घरमा श्रीमती र छोरालाई सारेका तिलकलाई एयरपोर्ट पुर्‍याउन जाने उनीहरु मात्रै थिए । आइतबार साँझ काठमाडौं झर्दा परिवार भेट्नुभन्दा पहिल्यै थुप्रै टेलिभिजनका क्यामरा थिए, पत्रकारहरु टन्नै थिए । उनलाई वरिपरि घेर्नेको संख्या बाक्लो थियो।
‘फेरि विदेश जाने सोच छ ?’ मेरो यो प्रश्नमा तिलक बोल्नै भ्याएका थिएनन्, जुनाको मुखबाट जवाफ निस्किहाल्यो, ‘नाई अब त त्यस्तो नियम कानुन केही नभएको देशमा पठाउँदिनँ ।’

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )