कठोर समय….

ममि तपाईँ सधैँ भन्नुहुन्थ्यो, ‘छोरी बरु तँ केही आइपरे सहन सक्छेस्, दाई केही सहन सक्दैन । एकछिनमा आत्तिहाल्छ ।’
ममि तपाईँ अहिले कल्पनै गर्न सक्नुहुन्न । दाईसँग कति सहनसक्ने तागत रहेछ । सपनासरी तपाईँ हामीलाई छोडेर जानुभयो । मलाई अझै विश्वास हुँदैन, तपाईँ अब हामी सँग हुनुहुन्न । दिनभर मान्छेका भीडमा हराउँदा म आफू टुहुरो भएको यथार्थलाई पत्याउनै सक्दिन । बेलुका साँझको बत्ति बाल्दा, भान्छामा तपाईँले फलाएका तरकारी देख्दा, खाना पस्किँदा मात्रै मेरो मन भारी हुन्छ । तपाईँ साँच्चै हामी सँग हुनुहुँदो रहेनछ । तैपनि तपाईँको तस्बिरमा हेरेर म निदाउँदा पनि आफूलाई सम्झाउन खोज्छु, तपाईँ यतै कतै अदृश्य रुपमा हुनुहुन्छ हाम्रै साथमा ।
तपाइँलाई अपरेशन गरेर न्यूरो हस्पिटलमा राख्दा मैले चिनेका सबै भगवान पुकारेको थिएँ । तपाईले जीवनभर पुजेका सबै भगवान पुकारेर तपाईँको सास फिर्ता मागेको थिएँ । डाक्टरले त दाई र मलाई भनेकै थियो, ‘उहाँको आस अब पाँच प्रतिशत मात्रै गर्नुस्, तपाईँ भन्नुहुन्छ भने हामी अपरेशन गर्छौं ।’ ममि, त्यो पाँच प्रतिशत आस हामी कसरी गुमाउन सक्थ्यौं ।
दुई दिन दुई रात हस्पिटल राख्दा पनि मैले आउँदा जाँदा पशुपति नाथलाई खुब पुकारे, उदाउँदो अस्ताउँदो सुर्यलाई खुब पुकारे । तपाईले दाइलाई राम्रो हुन्छ भनेर १६ वर्ष सुर्यको ब्रत बस्नुभयो । साँझ चन्द्रमालाई हेरेर पनि तपाईँको सासको आस गरेँ । बत्ति बाल्न मन्दिरमा जाँदा तपाईँले तीन धाम, चार धाम देखि नेपालमा घुमेका मन्दिरका सबै भगवान्को तस्बिर हेरेर तपाईँको जीबन मागेँ । मैले भाकल कहिल्यै गरेको थिइनँ । मलाई त्यस्तो विश्वास पनि लाग्दैन थियो । तपाईँको जीबनको खातिर मैले भर्खरै पुगेको पाथिभरा देवीलाई भाकल गरेँ । ममी सकुशल घर फर्किनुभयो भने पाथिभरा देवीको मन्दिरमा पुर्याउँछु । म त्यति धेरै कहिल्यै आत्तिएको थिइनँ ममि । त्यो बेला मैले सम्झेका सबै भगवान पुकारे । दिदीले गुहेश्वरी मन्दिरमा मलाई लगेर दर्शन गराउनुभयो । मैले त्यो पनि माने ।
तर हाम्रो पुकार भगवानले सुनेनन् । तपाईले सधैँ आस्था राखेको भगवान्ले हाम्रो पुकार सुनेनन् । तपाईँको सास रहेन । सास भन्ने कुराले यति महत्व राख्दोरहेछ । तपाईँको शरीर ब्रहमनालमा सुतेको बेला मैले थाहा पाएँ । शरिर त छँदै थियो, त्यही सासको कमि त थियो ।
ममि मलाई त्यसपछि भगवान पुकार्नै मन लाग्दैन । दिदीले भने पछि म सधैँ तपाईको नाममा एक घडा पानी राख्छु । तपाईँले सिकाउनु भए जस्तैे साँझको बत्ति सधैँ बाल्छु । म भगवान्लाई सम्झन्न ममि । तपाईँ नै देउता हुनुभयो भन्ठान्छु । तपाईँलाई नै सम्झन्छु, छतको ठूलो ढोकाबाट तपाईँ अदृश्य छिर्नु होला भनेर धेरैबेर उघारो राख्छु । मैले पुकार्ने भगवान अब तपाईँ नै त हो ममि ।
तपाईँको ४५ दिन पुगेको नयाँ वर्षको दिन छोरी जन्मिई । भाउजु अफिस जान थालेपछि बच्चालाई घर बसेर हजुरआमाको माया दिने कति कल्पना गर्नुभएको थियो तपाइँले । छोरी जन्मिए पछि मैले तपाईँलाई अस्पतालमै खुब मिस गरेँ । त्यही दिन बिहानै दाईले फेसबुकमा लेख्नुभएको थियो, ‘ममि, मलाई सबैभन्दा चाहिने समयमा तपाइँ म सँग हुनुहुन्न । मैले गरेर हुन्थ्यो भने मेरो रुवाई र चिच्याईको भर्यांग बनाएर तपाईलाई स्वर्गमा लिन आउनेथिएँ ।’
हुने कुरा टारेर कहाँ टथ्र्यो र । मैले छोरी जन्मिएपछि सायद आफ्नो सजिलोका लागि उसको अनुहारमा तपाईँको रुप देख्न थालेको थिएँ । दाईलाई त्यही भने पनि । छोरीको हातका रेखा हाम्रो ममिको भन्दा फरक छैन ।
मैले त्यसको अनुहारमा सधैँ तपाईँलाई खोज्छु ममि । एक महिनाकी नवजात उ काखमा लिँदा मलाई चिनेजस्तो आँखै नझिम्काई एकटक मलाई हेरिरहन्थी । धन्यवाद दैव । कुनै बेला ममिको काखमा म हुर्किएको थिएँ । अहिले भाउजुको कोखबाट आएकी सानी नानी मेरो ममिको रुप लिएर आएकी छ । चित्त बुझाउने बाटो भगवान्ले यसरी दिएको छ ।
छोरी ४४ दिन पुगेको दिन थाहा भयो, उसको मुटुमा समस्या छ । मुटुको प्वाल सामान्य नै हो । अपरेशन गरेपछि ठीक हुन्छ । डाक्टरले उसको मुटुमा त्यो भन्दा ज्यादा समस्या भएको बताए । हामीले भगवान कोइराला देखायौं । थुप्रैलाई भगवान नै साबित भएका छोरीलाई त्यसतो हुनुको जवाफ दिए, ‘यो देउताको गल्ती हो ।’ देउता सधैँ गल्ती किन हाम्रै लागि गरिदिन्छन् ।
डाक्टरका जतिसुकै डरलाग्दो कुरा सुने पनि सामान्य बच्चा भन्दा ज्यादा फुर्तिलि उसलाई देख्दा आशाको दियो हाम्रो मनमा बलिरहन्थ्यो । अहिले उ निस्प्राण सरी बेडमा लडिरहेकी छ । त्यो नवजात शिशुको शरिरभरी थुप्रै उपकरण जडिएका छन् । उसलाई बनाउँदा देउताले गल्ती गरे रे । हे दैब तिमीले गरेको गल्ती तिमीले सच्याउनु पर्दैन ।
अस्ती हेर्न जाँदा उ आँखा क्षण क्षणमा उघारी रहन्थी । मुखले दुध खान खोजे जस्तो चलमलाईरहन्थ्यो । हातहरु यता उता चलिरहन्थे । मन हलुंगा भएको थियो । छोरी चाँडै ठिक हुने भई । तर, हिजो बिहान डाक्टरहरुले कल्पनै नगरेको घटना भएछ । केही क्षणका लागि उसको मुटुको धड्कन नै बन्द भए छ । डाक्टर भगवान् कोइराला भर्यांगको तीन सिढी फड्किँदा उसको सास फिर्ता ल्याएछन् । फेरी त्यो अवोधको शरिरमा कृतिम श्वास प्रश्वासको उपकरण जोडियो । मैले हेर्दा उ अचेत ढलिरहेकी थिई । १०० दिन अगाडी ममि न्यूरो हस्पिटलमा जसरी पल्टिरहनु भएको थियो । आज नियतिले ममिको रुप लिएर आएकी छोरी त्यसैगरी पल्टिरहेकी छ । म हिजोदेखि आस्था हराइसकेको भगवान् पुकार्ने बाहेक केही गर्न सकिरहेको छैन । हिजो साँझको बत्ति बाल्दा मैले थप दुई जोर बत्ति बाले । तै भगवानले यसपटक मेरो पुकार सुनिहाल्छन् कि ।
छैठी हेराउँदा ज्योतिषले भनेका थिए रे, ‘यति राम्रो नक्षेत्र मिलेको चिना हामीले हत्तपत्त लेख्नै पाउँदैनौं । यो नानीको साह्रै राम्रो ग्रह छ ।’
हे दैव । यति राम्रो ग्रह भएकी छोरीलाई किन यति दुख दिएको ?
दाई हामीलाई सम्झाइरहनु हुन्छ । समयमै थाहा पाईयो । चिन्ता गर्न हुँदैन । जे हुने छ, हुन्छ । दाई धेरै बुझकी हुनुहुन्छ । उहाँ अब नियतिले जे पारी ल्याए पनि सहन तयार भएर बस्नुभएको छ । मान्छे परिपक्व हुने भनेको सायद कठोर हुनुरहेछ । मातृ शोक पाएको दुई महिनामै छोरीको यो गति हेर्न परेको छ । अहिले हस्पिटलमा बसेर बिरामीका कथा सुन्दा संसारमा स्वास्थ्य जतिको ठूलो धन केही होइन रहेछ । मलाई हेल्थ इज वेल्थ भनेको सधैँ क्लिसे जस्तो लाग्थ्यो । तर, अहिले जब हामी एउटी नवजातको सुस्वास्थ्यको कामना भगवानसँग गरिरहेका छौं तब थाहा हुँदै छ स्वस्थ हुनु जतिको ठूलो आनन्द अरु केही रहेनछ ।
बेडमा छोरीलाई देख्दा छातीमा घनले ठोके जस्तो पीडा हुन्छ । तैपनि दाई हामीलाई सान्त्वनाका शब्द दिनुहुन्छ । दाईले कसरी मन बाँध्नु भएको होला । तपाईँले भने जस्तो बज्रको छाती मेरो होइन दाईको रहेछ । ममि तपाईँ हामी सँगै भए भन्नुहुँदो हो, ‘संसारको जस्तो विपत पनि मेरो छोराले सहन सक्छ ।’

Advertisements

One thought on “कठोर समय….

  1. Really really I am remembering my papa who left me in my childhood and made my mum alone in this world including we; many children. same miserable condition you are having now and you may felt quite relief after this beautiful writing; where I concern not only in your suffering but also writing skill.May God bless you for your power to tackle this problem, only I can say now this. please control your soul,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )