सम्यक सपना…

तिम्रा सम्यक पाईला...

तिम्रा सम्यक पाईला…

तिमी देखिने मेरा सपनाहरु उत्कृष्ट हुन्छन् । वर्षायाम थियो । म कोलाहल, भीड, वर्षे खहरे र झाडीहरु सँग डराउँथे । संसार जित्ने सपना देखेकाहरुले मलाई कतै अध्याँरो गल्लीमै छोडेर ६ लेनको प्रगतिशिल बाटो हिँड्न थालेका थिए । अघि बढ्ने बाटोमा कसरी पाइलालाई गति दिनुपर्ने हो, म अन्यौल थिएँ । म बियोगको गल्लीमा छोडिनु अघि नै तिमी त्यो भीड, कोलाहलबाट बाहिरिसकेका थियौं । पूर्वानुमान मात्रै नभएको तिम्रो निर्णयले मलाई चेतनाशुन्य जस्तै बनाएको थियो। कुनै प्रतिक्रियाविहीन। सहरमा नयाँ हल्ला चल्न थालेका थिए । तिम्रो विदाईलाई मैले ठाडो शिर गरेर हेर्नै मात्रै पनि सकेको थिइन । बाहिर जस्तो देखिए पनि तिम्रो बर्हिगमन सहन सक्ने साहस म सँग थिएन/छैन ।

म जान्दिनँ सपनाले विपनामा के अर्थ राख्छ?

तिमी सपनामा खहरेको ओरालो झरिरहेका थियौ। मलाइ त्यो परिचित कद खुट्याउन गाह्रो भएन। मात्रै असह्य भयो, तिम्रो त्यो बेगले कहाँसम्मको यात्रा तय गरेको हो, वा त्यो कतै टुंगिन खोज्दैछ।

तिमी वर्षायामको त्यही खहरे तिर लम्किरहेछौ जसले मलाई थरथर कपाउँथ्यो । मैले डेढ दशक अघिको घरमुनिको त्यो खहरे सपनामा कस्तो दुरुस्तै देखेँ।
तिमी सहर सुनसान पारेर आफ्नै सोचको परिधिभित्र रंमगिँदै बेहोस हराइरहेका थियौ।
म कस्तो हडबडाएको थिएँ। अनि तिमी सपनामा आयौ गेरु रंगको सादा टिसर्ट लगाएर। मलाई गेरु रंग स्वाभिमानी लाग्छ। सपनामा पनि कस्तो संयोग?
फाँटका सबै फोहोर बढारेर ल्याएको त्यो डरलाग्दो खहरेमा तिम्रो हिँडाइको बेग रोकिएको थिएन। म भित्रभित्रै बाफिएर तिम्रो बेग पच्छ्याइरहेको छु।
भाँसिरहने बालुवामा पनि तिम्रो पाउ कस्तो सरल सरिरहेको ?
हाम्रो थलथल गर्ने खाडीको खेत हुँदै तिमी मनोहरा खोला नजिक पुगिसक्यौ। तिमीलाई जति पच्छ्याए पनि तिम्रो फड्को भेट्न सकेको छैन मैले।
म आफैँ होसमा छैन, तैपनि तिम्रो बेहोसीलाई मैले झक्झकाउनु छ। फर्केर मलाई हेरिरहेका छैनौं। चिच्याहटले मेरो सासै रोकिन लागिसक्यो। यति ठूलो बाढीको गर्जनमा पनि मेरो मुटुको धड्कन धड्केको बाहिरै सुनिन थालिसक्यो। डरलाग्दो खहरे र तिम्रा पाईला मेटिने डरले।

त्यो खोलाको गहिराई मैले बुझेको छु । तिम्रो मनको तुफानले कतै तिमीलाई नबगाओस् । तर मेरो आवाजले किन तिम्रो कान सुसेल्न सकेको छैन ?


आज बुद्धजयन्ती। संसारभरका विपश्यना केन्द्रमा भगवान बुद्धले अभ्यास थालेको ध्यानमा मानिसहरु तल्लीन होलान्। अन्तरआत्माको यात्रामा आफूलाई नियालिरहेका।
गुरु गोयन्काले भने जस्तो समय अनित्य छ। सधैँ एकैनास हुँदैन । मात्रै हामीमा भ्रम हुन्छ ‘राम्रो हुँदा अब संसार आफ्नै मुठ्ठिमा भए जस्तो हामी संसारका अन्य मानिसको दुख भुल्छौं। आफ्नो अनुकुल संसार बुझिरहन्छौं। अनि नराम्रो हुँदा ‘अब म सिधिसके बाकिँ केही रहेन भनेर दुखि हुन्छौं ।’ वा उस्तै परे अरुको असफलतामा आफ्नो सफलता खोज्ने दुस्प्रवृत्ति विकास गर्छौं

परिस्थिति अनुकुल भइदिँदाको घमन्डी स्वभाव र प्रतिकुल हुँदाको हिनतावोधको स्वभाव’bout म धेरै परिचित छु। अध्यात्ममा चुर्लुम्म डुबेकाहरुको घन्टौं प्रवचन पनि सुनेको हुँ। तर व्यक्ति आफैँमा पूर्ण कहाँ हुन्छन् र? अध्यात्मले छोएका मान्छेमा पनि मैले सन्कीपन देखेको छु, उस्तै पर्दा लोभ र आसक्ति देखेको छु। वर्षौंदेखि भिक्षु बनेकाहरुमा किन गुम्बाभित्रै पहिचानको सवालमा बहस हुन्छ होला? बुद्धको अनुसरण गर्छु भन्नेहरु किन सत्यको खोजीमा लाग्न सक्दैनन्?

यस्ता सवालको जवाफ व्यवहारवादी र व्यक्तिवादी हाम्रा सोचले दिन सक्छ। तर तिमी अव्यवहारिक जीवनशैलीबाट आक्रान्त छौं। कसैलाई कुभलो नगर्ने तिम्रो सोचले भविष्यमा तिमीलाई नै तर्साउला भन्ने डर लाग्छ मलाई।
सबैभन्दा बलियो आफ्ना लागि सायद आफैँ हो। त्यसैले तिमी आफ्नै पाईलाको वेग पच्छाइरहेछौ। तिमी स्वभाव, परिवेश, बानी सबैमा थुप्रै भन्दा फरक छौ। तिमीसँग प्राप्तिको आशा राख्नेहरुलाई तिमीले यस्तै मौन भएरै कति गतिलो पाठ दिइरहन्छौ। धेरैले सुनाउँछन्, जो कोहि संग बोलिरहँदा पनि महसुस हुन्छ- यो मान्छेलाई मैले कुरा सुनाइरहनु पर्दैन। वा, आफ्ना छटपटिको सकस अरुलाई म किन दिउँ ? तैपनि विचलित हुन्छौं।
नपोखिँदा उकुसमुकुस हुन्छ। पोखिए पछि पोखिएकामा अफसोच।
यो सबै भीडलाई तिमी जस्तै छोड्न खोज्ने धेरै होलान्। तर, तिमी जस्तै आत्मज्ञानी सबैले आफूलाई कहाँ बनाउन सक्छन् र? कम्तीमा म सकिरहेको छैन।

बलेको आगो ताप्ने दुनियाँमा म ताप हराईसकेको खरानी खोजिरहेछु। तिमी सायद निधार भरि त्यही खरानी धसेर यो बाढीमा दौडिरहेछौ। आफ्ना गुमाउनुको बियोगको पिडा त तिमी भौतिक रुपमा हराउँदै गएपछि पो बुझ्दैछु म। र, त सपनामा तिमी देखिँदा नियास्रो मेट्ने मायालु क्षण भेट्छु म। ममताको छहारीले सपनामै पनि कति ठूलो सहारा दिँदो रहेछ।

मैले हालसालै एउटा भनाई पढेको थिएँ ‘तिमी त्यस्तै स्वभावको हुन्छौ जस्ता पाँचजनाको तिमी धेरै संगत गर्छौ’। तिमी सायद बुझ्न सक्दैनौ म आफ्नै स्वभावको भुगोलबाट त्रसित भइरहँदा तिम्रो संगत कति खोजिरहेको छु। विपनामै तिमी छँदा मैले त्यसको आवश्यकतालाई कहिल्यै बुझ्न सकिनँ। सपनामा तिमी देखिएको क्षणलाई मुठ्ठीमा कसेर राख्न मन लाग्छ। तर विपनामा बिउँझिँदा ती केवल सम्झनाका खोप भएर रहन्छन्।

तिमी गएपछि आजकाल म कतै कसैलाई लामो समय कुर्न सक्ने वा लामो समय सुनिरहन सक्ने धैर्यता राख्दिन। म सँग सहनशीलताको एउटा बेग बढारिएर गइसक्यो जस्तो लाग्छ। त्यसैले तिम्रा पाईला पच्छ्याइरहेछु। मेरो एकतर्फी अध्ययनबाट तिमीले पनि समाजको स्वार्थका जालाहरु धेरै छिचोलिसक्यौ। तर तिमी संयम छौ । त्यस्तो थाहा पाएपछि बेफिक्र समाज र संसार नै छोडेर गायब हनसक्छौ। तिमीले साँच्चै त्यही सोच्दै आएका थियौ, वा मलाई छोडेर जाने कुरामा तिमी निश्चिन्त थियौ। आजकाल जब विगतलाई गमेर सम्झन खोज्छु तिम्रा कुराहरुले त्यही वियोग दिने अर्थ राख्ने खालको लाग्छन्। पातलिँदै गएका छाला देखाएर तिमी आफ्नो आयू धेरै बाकिँ नरहेको कुरा इंगित गर्थ्यौ। मैले किन सोचिन होला त्यसले मेरो संसार उजाड बनाउने डरलाग्दो समय लिएर आउँदैथियो।

तिम्रा तिनै गायब भएका पाईलाहरु अहिले एउटा आँधीले ल्याएको गज्रनमा भासिँने डर बढेको छ, मलाई। मेरो प्रेरणा नमार । नभन्दै तिमी खोला किनारमै पुगिसक्यौ । धानका नलले पनि तिम्रा बेगमा किन कुनै छेकबार नगरेको ? मनोहरा पूर्वबाट पानीको कहालिलाग्दो गज्रनसहित बगिरहेको छ । लौन तिम्रो पाईला कसैले रोकोस् !!!

लौन, यो सपना भइदियोस्। यसले भविष्यमा कुनै अप्रिय संकेत नगरिदियोस्!!!

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )