अनि, उ टुहुरो भयो !

ममतामयी आमा


भविष्य साँच्चै अकल्पनीय छ । भोलिको विहान हाम्रो पक्कड बाहिर छ । एकैछिन पछिको समय कुन वियोग लिएर आउँदैछ कसले अनुमान गर्न सक्नु  ? सायद त्यसैले अनिश्चित भविष्यको सुन्दर कल्पनामा हामी प्रत्येक दिन आशा राख्दै आफ्नो आयू घटाई रहेका हुन्छौं । प्रत्येक पल हामी जीवनको अन्तिम पटकका लागि तन्नेरी भइरहेका हुन्छौं । सफलता/असफलता असल/खराब वर्तमानको नियतले भविष्यमा देखाउला । तर सबै भविष्य बर्तमानबाट निर्धारित नहुँदो रै’छ । असल नियत राख्नेलाई भविष्य सधैँ सुखद बनेर नआउँदो रै’छ । आउँदो हो त एउटा शनिवारले त्यो निश्चल मनलाई स्थायी पीडा दिने थिएन । जसले समयलाई केही क्षणकै लागि भए पनि स्तब्ध बनाइदियो । अनपेक्षित आउने खुशी सफलता र आश्चर्यबाहेक त्यो बिहानीले सदाका लागि एउटा बियोग ल्यायो । बलिरहेको दियो निभाई त्यसमा पानी भरेर गयो ।

विवाहको १६ वर्षपछि आमा हुन्छु भन्ने आश मरिसकेको बेला जन्मिएको छोरो । गर्भमा आए देखिनै ममता उही माथि खन्नियो । नौ महिना प्रत्येक पल उत्साहपछि जीवनभर खुसी छर्न अबोध उ धर्तीमा झर् यो । एउटा मिठो, सुन्दर, उज्यालो भविष्य बोकेर । आमा बुवाका प्रत्येक सपना उसँगै हुर्किँदै गयो । महिनैपिच्छे कान्तिको बेडमा उ थल्लिन्थ्यो । मरणासन्न हुन्थ्यो । अनि फेरी केही सिसि सलाइन शरिर भर फैलिएपछि घर फर्किन्थ्यो । परिवार भरिको सानो भाई । हाम्रो च्यान्टी । उ औसत बच्चा भन्दा सानो खिरिलो थियो । उसलाई ममिले काख भरी बनाएर कहिल्यै बोक्न पाउनु भएन ।

उ हुर्किँदै गयो । उसँगै परिवारको आशा हुर्कियो । उ स्कुलमा बोर्डफस्ट हुन्थ्यो । त्यति बेला बोर्डफस्टलाई स्कुलले पैसाको माला लगाएर पठाउँथ्यो । धनी हामी हुन्थ्यौं । हाम्रा चाहनाका किनमेल हुन्थे । केही सम्झौता पनि हुन्थे । प्रत्येक वर्षको रिजल्टसँग हाम्रा सपना जोडिएर आउँथे । उ स्कुल फस्ट भए पिच्छे हामी खेलौनाको फेहरिस्त बनाउँथ्यौं । लुँडो चेस क्यारेमदेखि साईकलसम्म घरमा उसकै कारणले भित्रिए । जुन हाम्रो चाहनाभन्दा माथि थियो । उसको रिजल्ट सँगै केटाकेटी रहर पुरा हुन्थे । उ हत्तपत्त मिठो खानेकुरा पचाउन सक्दैनथ्यो । त्यसको लाभ हामी उठाउँथ्यौं । भुर्राहरुको रहरलाई बाडिँचुडिँ ममीले पुर् याइदिनु हुन्थ्यो । कहिले गाली गरेर कहिले माया गरेर । भाइले ओकलेर टोकेर दिएको जेसुकै पनि हामीलाई मिठो हुन्थ्यो ।

उ असल थियो, छ । मलाई धेरै अर्थमा असल विशेषण यो स्वार्थी संसारमा केही सिमितलाई मात्रै सुहाउँछ जस्तो लाग्छ । लाडिएर हुर्किन पाए पनि हामी भन्दा सधैँ ज्ञानी भयो । दानी भयो । दयालू भयो । त्यो ममी बुवाले उसलाई दिनुभएको संस्कार थियो । उसले त्यसैलाई आफ्नो आचरण बनायो । उ धेरै अर्थमा हामी भन्दा उदार थियो छ । दिने कुरामा । अर्काको भलो चिताउने कुरामा ।

घरमा सधैँ आउने कहिलेकाहीँ आउने बाटो हिँड्ने बटुवा केहीबेर बसेरै जान्थे । मिठा मसिनो खाएरै जान्थे । मिठो/नमिठो जे भए पनि/नभए पनि आँत भिजाएरै जान्थे । हाम्रो ममीको संस्कार थियो कि पछि आफैँ बसालेको बानी । तर उहाँ आफूले कहिल्यै रहर गरेर केही खाएको देखिएन । मात्रै अरुलाई खुवाउनु हुन्थ्यो । बिहान बेलुकीको गाँस पनि उहाँले फुस्रदमा खान भ्याउनु भएन । सायद त्यसैले भाईमा एउटा संस्कार दिएको छ । उ असाध्यै मायालु छ ।

‘काँठका अधबैँसे महिलाहरु अझै पनि धोतिको सप्को राम्रो सँग लगाउन जान्दैनन् । परिकार बनाएर खान जान्दैनन् । लामो सास तानेर केही बेर आनन्द लिन जान्दैनन्’ केही दिन अघि मैले हाम्रै अफिसमा कसैले भनेको सुने । विस्तारमा अझ धेरै थियो । तर मलाई त्यो कुरा सुनिरहँदा हाम्रै ममि मानसपटल भरी छाउनुभयो । कता कता मन चसक्क दुख्यो । हो त्यो हाम्रै ममिको दैनिकी हो । त्यो भनाईलाई पुष्टि गर्ने गज्जबको पात्र हाम्रै ममि हुनु हुन्थ्यो । एउटा ‘रिफ्लेक्सन’ । हाम्रै ममिको जीबन भोगाई ।

सधैँ भागदौड । एकभारी घाँसको सधैँ लोभ । बिहानी पर बेलुकी पर । बालि भित्राउने गोठमा ब्यस्त हुने अनि उब्रेको समयमा एकसरो भात पकाउने । बिहान ३ देखि राति ८ सम्म चार दसकको त्यही दैनिकी बन्यो । कुर्कुच्चाका छाला कहिल्यै जोडिन पाएनन् । कुर्कुच्चा फाटेर देखिएको रातो मासु कहिल्यै निको भएन । तैपनि उहाँले थिमिदेखि घाँसको भारी ल्याउन छोड्नु भएन । हामीलाई कहिल्यै पत्तो छैन – कामै भनेर मरि मेट्नुहुँदैन जीबन आफ्ना लागि । भोलि पशुपति जाँदा कसैले केही लैजान पाउँदैन ।

हाम्रो हुर्काइ त्यही थियो । अहिले सम्झँदा लाग्छ- आमाको स्थान नै त्यही हो । उहाँहरुले त्यही नै गर्नुपर्छ । जन्म नै त्यही कर्मका लागि हो । बिस्तारै छरछिमेकको रहनसहन परिवर्तन भयो । एक्लो सन्तान त्यो पनि छोरो मात्रै भएको उहाँलाई अरुको परिवर्तित रहनसहनले कुनै फरक पारेन । जीवन दुखमै बित्यो । सुखका दिनसम्म कुर्नै सकेन । अपूरो दुखी जीवन । अतृप्त जीवन । अल्पज्ञानी जीवन ।

गाउँको स्कुलबाट छोरो सहर पस्यो । एसएलसीको राम्रो नतिजाबाट उ आमाको काखबाट झर् यो । आमाको नजरमा अब उ बच्चै छ । तैपनि समाजमा उ लक्का जवान भइसक्यो । उसको खिरिलो शरिर बैँशले भरिलो हुँदै थियो । शहर पस्यो । १२ पास गर् यो । जतिजति ठूलो सहरमा छिर् यो बुवा आमाको छहारीबाट टाडिँदै गयो । अवसर छोप्न खोज्यो ।  उसको सुन्दर भविष्यको पर्खाइमा सबै खुसी थिए । परिवारमा एउटा छोरो डाक्टर बन्ने भयो । २६ लाख एक मुष्ठ मेडिकल कलेजमा बुझायो । होस्टेल जीबन सुरु भएपछि सधैँको बुवा/आमा सँगको दुरी बढ्यो । माया झन् नजिकियो । उ बिस्तारै जिम्मेवार बन्दै छ । उसले बुझेको थियो – बिस्तारै बुवा/आमाको त्यो सुदूर भविष्य नजिकिँदै छ । जहाँ दैनिकको किसानी छोडेर उहाँहरु छोरो डाक्टर भएको खुसीमा उसकै कमाईमा रमाउनु हुन्छ । उ असाध्यै मायालु छोरो । माया लिन पनि पाएको दिन पनि जानेको । …

सुव्यवस्थित भविष्य नजिकिँदै गर्दा उसले पत्तै पाएन -आमाको मन कसरी गुजि्ररहेको थियो । बुवाको नाकबाट रगत आउने समस्या । आमाको यही वर्ष टाइफाइडको थिलथिलाई । एकैवर्ष गले दुबै बुवाममि । एकअर्काको भर एकअर्का माथि । छोरोको डाक्टर बन्ने कडा पढाई । घरमा थोरै मात्रै समय दिन पाउँथ्यो । घरमा फोन गरिरहन्थ्यो । ममि बुवा सँग दुरी रहन नदिन । शुक्रबारको पर्खाई दुबैलाई हुन्थ्यो । उ शुक्रबार राति घरमा सुत्न आइपुग्थ्यो । शनिवार वा आईतबार घरको तातो एक गाँस भात खाएर होस्टेल जान्थ्यो । यही दैनिकि ३ वर्षदेखि थियो ।

त्यही महिना उसले ममिको जन्मदिनमा राम्रो जुत्ता उपहार ल्याइदियो । कुर्कुच्चा फाटेको खुट्टा उसले राम्रो संग नियालेको छ । तर उसले सोचेको थियो । अब यो धेरै वर्षका लागि हुने छैन । उपहार भन्दा छोरोले जन्मदिन सम्झिएर घर आएको खुसी थियो ममिलाई । फाँटेका कुर्कुच्चा छोप्ने उत्तिको रहर पनि होईन ।  जुत्ताको मुल्य ८ सय परेको कुरा उसले पैसा जुटाइदिने बुवालाई मात्रै भन्यो । ममिले सोधे जम्मा २ सय मात्रै भएको भन्न बुवाले उसलाई सुझाउनु भयो- तेरो ममि छोरोले पैसा धेरै खर्च गरेछ भनेर पिरोलिन्छे दुईसय मात्रै भन्नु । उ आज्ञाकारी छोरो बन्यो

अघिल्लो दिन पनि उसले ममिलाई फोन गर् यो । एकैछिन आमा छोराको गफ भयो । शुक्रबारको राति भए पनि उसले घर आउन नमिल्ने कुरा ममिसँग गर् यो । शनिवार बिहानीको खाना खान आउने सहमतिमा आमाछोराको कुरा टुंगियो ।

छोरो आउने दिन घरमा गेडागुडी भिजेको हुन्थ्यो । बारीबाट काउली काटेर नाङ्लाभरी चाना काटिएका हुन्थे । सिजन अनुसार भ्यान्टा तितेकरेला पाकेका हुन्थे । सानो खन्डे थालमा उ कुपुकुपु सानो गाँस हालेर भात खान्थ्यो । बुवा ममि छोरोले खाएको हेरेर रमाउनुहुन्थ्यो ।

अहिले उ कुना पसेको छ । घरको भान्छाको कुनो । जहाँ अहिले उसलाई परिकार परिकारको खाना बन्दैन । उसका लागि अघिल्लो दिन ममिले भिजाएर राखेको गेडागुडी काउली रच्छ्यानमा फ्याँकिइसके । उ एउटा  पीडामा छ । एउटा चीर बियोगको पीडा । ममता गुमाएको पीडा । दक्षिणपट्टिको आँटीमा एउटा दियो बलिरहेको छ । हरियो बाँसमा उ प्रत्येक दिन पानी थप्छ । चिसो भुइँमा पराल बिच्छ्याइएको छ । त्यसमाथि राडीपाखी अनि त्यसमाथि हरियो कम्मल । हो उ ममता गुमाएको पीडामा छ । उसको घरमा जुठो परेको छ ।

खाना पर्खिएको शनिबार उज्यालो हुन नपाउँदै बुवा घरबाट दुध लिएर पशुपति निस्किनु भयो । खाटमा पल्टिरहेको ममिको आँखा उघे्रका थिएनन् । टाइफाईडले थलिएकी ममि ढिलै उठे हुन्छ भनेर बुवा टर्चलाईट बालिबालि अप्ठ्यारो भर् याङतिर सोझ्याइ दिनुभयो । उहाँलाई ममि भर् याङबाट लड्नुहोला भन्ने डर थियो । थाहा छैन ममिको मनमा के गुजि्रयो । उहाँको चित्त नबुझाई के मा थियो  संसारमा उहाँलाई भित्रभित्रै के कुराले खाईरहेको थियो  कहिले देखि  अगाडीका दिनमा के चुनौति देख्नुभयो  किन हिम्मत हार्नुभयो  त्यो कस्तो अदृश्य शक्ति थियो जसले उहाँको मनमा आधिँबेहरी ल्यायो र त्यसतो कहालीलाग्दो निर्णयमा पुर् यायो ।

उहाँले मकैमा हाल्न ल्याएको बीष भकारीको कुनै कुनामा राख्नु भएको थियो । तर त्यसलाई विहानी नसनामै उहाँले आफ्नो आहारा बनाउनुभयो । घर भित्रै छटपटिनु भयो । त्यो घर यसै पनि एक्लो थियो । काललाई आफँैले डाँकेपछि कसको के लाग्छ  उहाँ छटपटाएको आफ्नै आफन्तले थाहा पाएनन् । छिमेकले थाहा पाएनन् । बीषको असह्य दुर्गन्ध धेरै बेरपछि थाहा भयो । हामीले हतारहतार अस्पताल पुर् यायौं । भाई पढिरहेकै अस्पतालमा । जहाँबाट उ अबको डेढ वर्षमा डाक्टर बन्दै थियो । परिवारको सपना साकार पादैै्र थियो । हो त्यही सपना पूरा भएको देखाउन नपाउँदै उसले ममिलाई आफैँले बोकेर स्ट्रेचरमा राख्यो । कलिलो उसको मन कसरी गुजि्रयो होला  म पुग्दा ममि बेडमै हुनुहुन्थ्यो । शरिर पहेलिएको थियो । रातो मासो छरपस्ट देखिने कुर्कुच्चामा जण्डिस भएजस्तै पहेलिएका थिए ।  धड्कन चलेको देखिन्नथ्यो । तैपनि मलाई केही त्यस्तो भयावह होला भन्ने लागेको थिएन । भाई अत्तालिएर अंगालो हाल्दै मेरो काँधमा आएर भक्कानियो । डाक्टर पढिरहेको उसले ममिको आश गुमाइसकेको थियो सायद ।

मृत्यू कसरी आउँछ  हाम्रा लागि त्यो बिहान किन एउटा कहाली लाग्दो यथार्थ छोडेर गयो  राम्रो नियत र आचरणले सधैँ भविष्यमा सुखद् समाचार लिएर आउँदैनन् । भाविले लेखेकै स्क्रिप्टमा मान्छे हिँड्नुपर्छ । त्यसै अनुसार अभिनय स्वस्फूर्त जानिन्छ । उसले आफू माथि परेको बज्रपातमा सबै दोष भगवानलाई नै दिएको छ – ‘धन्यवाद भगवान ! मेरो जीवनको स्क्रिप्ट यसरी लेखिदिएकोमा । आजकाल म कोलाहलमा शान्ति खोज्न सिक्दैछु । पीडाबीच हाँसो खोज्न सिकेको छु । आशुँमा डुबेर समाजलाई ओभानो आँखा देखाउन जानेको छु । हो भगवान मैले मरि मरि जिउन जानिसकेँ । मलाई धेरै नचिमोट । म कठोर भैसकेँ । तैपनि मलाई थाहा छ कतै न कतै तिम्रो अस्तित्व अवश्य छ । तिम्रो कृपा मैमाथि हुनेछ । कुनै दिन मेरो जीवनमा लेखिएको स्क्रिप्ट पढ्दा तिमीलाई नै कोक्काई कोक्काई रुवाउनेछ । मेरो रुवाई हेर्ने तिमी छौ । तिम्रो चिच्चाहट कसले सुन्ला ?’

समय यसरी शुन्यमा परिणत भयो । दियो तेल नसकिँदै अनपेक्षित आँधीबेहरीले निभ्यो । अनि, मेरो भाई टुहुरो भयो । 

पुनश्चः धेरै नजिकबाट देखेक, महसुस गरेको र मैसँग जोडिएको आमा छोराको भोगाई ।

Advertisements

5 thoughts on “अनि, उ टुहुरो भयो !

  1. I had quickly gone through this before also..but modified one is even better..I could feel the pain..words are sometime insufficient to appreciate excellence…”देर आये पर दुरुस्त आये” 🙂 सारै राम्रो |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )