एउटा ‘नमिठो दुर्घटना’

उनलाई मार्न खोज्नेलाई अहिले उपप्रधान तथा गृहमन्त्रीले जोगाइरहेका छन्

नागरिक दैनिकमा आज प्रकाशित सामग्री

http://www.nagariknews.com/news-highlights/139-highlights/36530-2012-02-09-03-25-11.html

स्वयंसेवी दाई

काठमाडौंका व्यस्त सडकहरूमा एउटा अनुहार चिरपरिचित छ, जो ट्राफिक जाम भएका हरेक ठाउँ पुगेर गाडी पन्छाइरहेको देखिन्छ। स्वयंसेवीहरूको टल्कने लुगा लगाएर सडकमा खट्ने उनको यो दैनिकी छ वर्षदेखि उस्तै छ। उनी हट्टाकट्टा छन्। तर, कुहिनो काटिएकाले दुई हात सुकेर मसिनो भएको छ। उनी हुन्, स्वयंसेवी शेखर राई।

दिनरात सरकारकै काममा खटिएका राईको अनुहारमा उनी राज्य संयन्त्रबाट पीडित हुन् भन्ने झल्को रत्तिभर देखिँदैन। १५ वर्षअघि मोरङ, बयरवनमा खुकुरी हानेर उनको ज्यान लिने प्रयास भएको थियो। तीन वर्षको सघन उपचारपछि उनी तंग्रिए। जीउभरि खुकुरीका डाम उस्तै छन्।
उनले आफ्नै खर्चमा स्वास्थ्य उपचार त गराए, कानुनी उपचार भने पाउन सकेका छैनन्।
उनीमाथि खुकुरी हान्ने जयराज संयोक लिम्बू आजसम्म निस्पि्कक्री घुमिरहेका छन्। अदालतले नै दोषी ठहर गरे पनि उनी अरू अपराधीजस्तो जेल जानुपरेको छैन। लामो सुनुवाइपछि साढे दुई वर्षअघि सर्वोच्च अदालतले लिम्बूलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो।
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको ‘भित्रिया’ भएकैले उनलाई कानुन नलागेको दाबी स्रोतहरूको छ। यसबीच अदालत र प्रहरीले पटकपटक लेखापढी गरेर औपचारिकता मात्र निर्वाह गरिरहेका छन्।
फैसला कार्यान्वयन गराउन राई अदालत, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय खुब धाए। तर, लिम्बूको राजनीतिक पहुँचबाट आजित भएर उनले अब न्यायको आस मारिसकेका छन्। तिनै गच्छदार गृहमन्त्री भएपछि त झन् उनी आफूमाथिको आक्रमणलाई कोट्टयाउन पनि चाहन्नन्। लिम्बू गच्छदारका अघोषित पिए हुन्।
‘हामी धेरै वर्ष धायौं, धाउनुपर्ने ठाउँहरू सारा धायौं,’ शेखरका बुवा धर्मानन्द राईले बुधबार साँझ नागरिकसँग भने, ‘राजनीतिको आड पाएकालाई कानुन लाग्दो रहेनछ।’
शेखर आफैं पनि कायल भएर त्यो घटनालाई एउटा ‘नमिठो दुर्घटना’ भनेर चित्त बुझाउने प्रयास गरिरहेका छन्। ‘मलाई सम्भि्कयो भने साइकोलोजिकल टर्चर हुन्छ,’ राईले भने, ‘यो विषयलाई अब नसम्झौं।’
उनको यो वैराग्य राज्यका सबै निकायको व्यवहारबाट पलाएको हो। घटनालगत्तै राईको बुवा लिम्बूविरुद्ध उजुरी गर्न गएका थिए। तर, जिल्ला प्रहरीले लिम्बूलाई समातेन। त्यतिबेला लिम्बूका बुवा शुक्रराज कांग्रेसका सांसद थिए। कोइराला परिवारका निकट। कांग्रेस सत्ताबाट हटेपछि २०५४ मा मात्र प्रहरीले मुद्दा चलायो। जिल्ला र पुनरावेदनले लिम्बूलाई दोषी किटान गर्‍यो। तैपनि प्रहरीले पक्रिएन। उल्टो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५५ मा मुद्दै फिर्ता लिने निर्णय सरकारले गर्‍यो। अदालतले जघन्य अपराधमा फिर्ता लिने अन्तिम स्वीकृति नदिएकाले मात्रै सरकारको निर्णय कार्यान्वयन हुन सकेन।

दोषी नै गृहमन्त्रीको पछाडी


त्यसपछि लिम्बू आफैं पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च गए। सर्वोच्चले पनि उनलाई नै दोषी ठहर्‍यायो। फैसला कार्यान्वयन नभएपछि उनी तत्कालीन गृहमन्त्री भिम रावल, प्रहरीका माथिल्लो ओहोदाका अधिकारी, फैसला कार्यान्वयन निर्देशनालय लगायत थुप्रै ठाउँ धाए।
राईको मुद्दा सुरुदेखि हेरिरहेका कानुन व्यवसायी जगन फुयाँलले राई परिवार न्यायका लागि लड्दालड्दा थाकिसकेको बताए। ‘हाम्रो प्रहरी-प्रशासन शक्तिको पुजारी हो,’ फुयाँलले नागरिकसँग भने, ‘उहाँहरूले धेरै वर्ष धाउनुभयो तर कतैबाट केही नभएपछि अब आस मार्नुभएको छ।’
‘फरार’ लिम्बूलाई पक्राउ गराउन अदालतले फेरि एकपटक पहल थालेको छ। ‘हामीले अहिलेसम्म फैसला कार्यान्वयन नभएको थाहा पाएपछि पीडित परिवारसँग सम्पर्क गरेका छौं,’ फैसला कार्यान्वयन महानिर्देशनालयका चित्रबहादुर केसीले भने, ‘हामीले धर्मानन्द राईलाई यसै विषयमा कुरा गर्न भोलि कार्यालयमा बोलाएका छौं।’
घटना भएको ठाउँमा मन्त्री गच्छदार र लिम्बुवानको बलियो पकड छ। स्रोतका अनुसार पीडित राई परिवार त्यही कारण अहिले यो विषयमा बोल्न डराइरहेका हुन्। ‘आफ्नो बसोबास खेतीपाती भएको ठाउँमा गच्छदारलाई चिढाउँदा भोलि अप्ठ्यारो पर्छ भन्ने डरले उहाँहरू बोल्न मानिरहनुभएको छैन,’ स्रोतले भने।

राई परिवार आफूमाथिको आक्रमणको कथा सम्झन तयार नभए पनि अदालतको फैसला, प्रहरीको बयान र सरकारी वकिलका मिसिलमा घटना विवरण यस्तो छ :

२०५३ साल पुस।
२४ वर्षीय शेखर राई डेढ वर्षे बु्रनाई बसाइपछि बिदामा भर्खरै फिरेका थिए। कांग्रेसका तत्कालीन सांसद शुक्रराज संयोकका छोरा जयराजसँग उनको संगत थियो। लिम्बूले उनीसँग पैसा सापट मागे। नदिएपछि ‘मैले त मान्छे मारे पनि केही हुँदैन, पैसा दिने भए दे, नत्र सिध्याइदिन्छु’ भन्दै उनलाई धम्काउन थाले। राईले यस विषयमा घरमा कुरा गर्न बाँकी थियो।
राई फर्किएको २५ दिनजति मात्रै भएको थियो। २०५३ माघ ११ गते साँझ ७ बजे उनी फिल्म हेर्न सांग्रिला भिडियो हल गएका थिए। त्यहाँबाट बाहिरिनुअघि नै उनलाई कम्पासे लिम्बू र टंक पराजुलीले हलबाहिर कोही कुरिरहेको संकेत गरे। उनी बाहिरिए।
राई बाहिरिनेबित्तिकै ती केटाहरुले पुरानो रिसइबी भन्दै राईलाई लखेटे। राई आत्तिएर दौडिरहेका थिए। घर पुग्नु एक किलोमिटर अगाडि आलुबारीमा उनी पछारिए। जयराज, कम्पासे, राजु, टंकले उनलाई त्यहीँ अन्धाधुन्ध खुकुरीले हाने। दुर्गाप्रसाद पोखरेल, होमनाथ लगायत छिमेकीले घटना भएको थाहा पाएपछि राईलाई तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याए। राईले टाउको र छाती जोगाउन खोज्दा उनका चार हातखुट्टै छियाछिया भएको थियो। राईका दुवै हात र दुवै खुट्टामा घाउका खत छरपस्टै छन्।
घटना हुँदा शेखरका बुवा धर्मानन्द घरमा थिएनन्। आमाले छोराको चारै हातखुट्टाबाट भलभलि रगत बगेको देखिन्। रगताम्मे शेखर ‘पानी पानी’ भनिरहेका थिए। घाउचोट धेरै लागेकालाई पानी दिन हुँदैन भन्ने सुने पनि आमाले छोराको चिच्चाहट सहन सकिनन्। एक घुट्का पानी पियाइदिइन्। खल्तीमा जम्मा २ हजार ५ सय रुपैयाँ थियो। डाक्टरले बिरामीको अवस्था देखेर डिपोजिट नराख्दै उपचार सुरु गरे। हात छिनेपछि तीन वर्ष लगातार उनी अस्पताल बसे। शरीरभरि १ सय १८ टाँका छन्। अदालतमा पेस भएको मेडिकल रिपोर्टले त्यही भन्छ।
घटना भएको चार वर्षपछि २०५७ वैशाख १४ गते जिल्ला अदालत मोरङले चारै अभियुक्तलाई कुटपिटमा मात्रै सजाय गर्न मिल्ने भन्दै फैसला सुनायो। त्यसको तीन वर्षपछि पुनरावेदन अदालत विराटनगरले २०६० मंसिर ४ गते अभियुक्तले राईलाई मार्ने नियतले खुला ठाउँमा लखेटी-लखेटी खुकुरीले शरीरको विभिन्न स्थानमा काटेको भन्दै उनीहरूको उमेरसमेतलाई विचार गरेर पाँच/पाँच वर्ष सजाय सुनायो।
सर्वोच्चले त्यसको ६ वर्षपछि पुनरावेदनकै फैसला सदर गर्दै उनीहरूलाई कैद गर्नुपर्ने निर्णय गर्‍यो।
सर्वोच्चले राईलाई एकपटकमात्रै नभई पटकपटक खुकुरी प्रहार गरिएको र समयमै छिमेकीको सहयोगमा अस्पताल पुर्‍याएकाले मात्रै ज्यान जोगिएको फैसलामा उल्लेख छ।

Advertisements

One thought on “एउटा ‘नमिठो दुर्घटना’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )