यसरी मारिए ‘मेरा श्रीमान्’

यो लेख आजको नागरिक दैनिकमा प्रकाशित भएको हो

 

विनिता दाहाल

Photo: Bijaya Rai, Nagarik

काठमाडौंमा ठेक्कापट्टा गर्ने अर्जुन लामा एकाध महिनामा कमाइ पुर्‍याउन गाउँ जान्थे- काभ्रे नमोबुद्ध नजिकै दाप्चा। २०६२, वैशाख १७ गते घरबाट १० मिनेट उकालोको श्रीकृष्ण माविमा सञ्चालक समिति अध्यक्ष छानिँदै थियो। गाउँलेको चाहना थियो- स्कुललाई आर्थिक सहयोग गरिरहने अर्जुन नै अध्यक्ष हुन्। नभन्दै उनी निर्विरोध अध्यक्ष छानिए।

अघिल्लो साँझ अबेला घर पुगेका उनी गाउँमा क-कसलाई कतिकति पारिश्रमिक दिनु छ, हिसाब गर्दै थिए। श्रीमती पूर्णिमाया लामाले सोधिन्, ‘किन आजै हिसाब गरेको? कति दिन बस्ने गरी घर आएको हो र?’

‘भोलि नै स्कुलको काम सकेर फर्किहाल्छु,’ अर्जुनले श्रीमतीपट्टि नहेरी जवाफ दिए, ‘गाउँका केटाहरूको कामको पैसा बाआमालाई पुर्‍याइदिनु छ।’ काठमाडौंमा अर्जुनले गाउँका केही केटालाई रोजगारी दिएका थिए। पारिश्रमिक उनी आफैँ गाउँ पुर्‍याइदिन्थे।

भोलिपल्ट सँगै स्कुलको कार्यक्रममा गए पनि पूर्णिमायाको श्रीमान्सँग खासै कुरा भएन। त्यसपछि दुई वर्षसम उनले अर्जुनलाई न कहिल्यै देख्न पाइन्, न केही खबर नै थाहा पाइन्। एकैपटक २०६४ सालमा उनले श्रीमान्को निर्ममतापूर्वक हत्या गरिएको सुनिन्।
विश्वासै लागेन।

‘न लास देखेको छ, न सास,’ पूर्णिमायाले शनिबार काठमाडौं गौरीघाट नजिकै भाडाको कोठामा दुखेसो पोखिन्, ‘सात वर्ष हुन लाग्यो, न मान्छे देख्न पाइन्छ, काजकिरिया गरौं भने लास पनि देखेको छैन।’

स्कुलमा कार्यक्रमको पहिलो सत्र सकिँदा पानी पर्दै थियो। धेरै महिला र केटाकेटी ओत लाग्न कक्षाकोठा छिरेका थिए। त्यही बेला माओवादी कार्यकर्ता भोला अर्याल, यादव पौडेल र श्याम गौतमले अर्जुनलाई ‘केही कुरा गर्नु छ, हामीसँग हिँड’ भने। काठमाडौं फर्कनु छ भन्दै सुरुमा त अर्जुन उनीहरूसँग जान मानेनन्। पछि गाउँका अरू दुई जना पनि जाने भएपछि पुर्णिमायालाई केही नभनी उनीहरू हिँडे। गाउँकै अरू दुइटा केटा पनि गएकाले पूर्णिमायाले अर्जुन कहाँ गएका हुन् भन्ने चासै देखाइनन्। डाँडामा रहेको स्कुल नजिकैबाट उनले श्रीमान् खेतको आलीआली गएकोमात्र हेरिरहिन्।

दिनभरि श्रीमान् फर्किएनन्। सँगै माओवादीले लगेका केदार भने फर्किए। ‘मलाई खोलामा पुगेपछि फर्की, नफर्के गोली हान्दिन्छौं भने,’ केदारको त्यति बेलाको भनाइ सुनाउँदै पूर्णिमायाले भनिन्, ‘म फर्किएँ, अर्जुन दाइ र नानीरामलाई खोला तारेर लगे।’ माओवादीले लगेका तेस्रा व्यक्ति गाउँकै नानीराम रहेछन्।

त्यही दिन पूर्णिमाया, उनका देवर र झन्डै ५०/६० जना गाउँले खोलासम्म पुगे। त्यहाँ पुग्दा अर्कै नाम थाहा नभएको एकजना मानिसले खोलापारिबाटै ‘उनीहरू भोलि फर्कन्छन् रे’ भन्यो। भोलिपल्ट नानीराम एक्लै गाउँ फर्किए। पूर्णिमायाले सोधिन्, ‘सुनीका बा खै त?’
‘कामको लागि लगेको रे,’ उनले नानीमायाको जवाफ सुनाइन्, ‘एक-दुई हप्तापछि पठाइदिन्छौं, खोजी नगर्नू भन्याछन्।’

दुई हप्ता बित्दा पनि अर्जुन फर्केनन्। बरू माओवादीका केटा पूर्णिमायासँग पैसा माग्न घर आउँथे। अर्जुनलाई लैजाँदा उनीसँग गाउँका केटाहरूको पारिश्रमिक दिन लगेको एक लाख रुपैयाँ, नेदरल्यान्डबाट ल्याएको घडी र एक तोला पाँच लालको औँठी थियो।

‘श्रीमान् भएको ठाउँ पुर्‍याइदिन्छु, हामीलाई चन्दा देऊ भन्थे,’ उनले भनिन्, ‘मैले घरमा भएको ५० हजार भन्दा बढी पैसा सिध्याएँ।’ घरमा ८८ वर्षीया बृद्ध ससुरा अवतारसिंह लामा र उनीमात्रै थिए। श्रीमान्ले द्वन्द्वका कारण छोराछोरी गाउँमा पढाउन नसकेपछि काठमाडौंमै राखेका थिए।

घरमा आउने तिनै माओवादी कार्यकर्ताले बताएअनुसार पूर्णिमाया गाउँबाट धेरै टाढाको नामै थाहा नभएको ठाउँमा बास बस्दै श्रीमान् खोज्न गइन्। बास बसेको घरकी सुकुमाया तामाङका श्रीमान् पनि माओवादीमै रहेछन्। पूर्णिमायाले श्रीमान् नभेटिएको भन्दै रातभर रोइकराइ गरेपछि सुकुमायाले उनका श्रीमान्लाई सम्झाएर अर्जुनलाई फिर्ता गराइदिन भनिन्। सुकुमायाका श्रीमान् ‘म कोशिस गर्छु’ भन्दै गए। उनी दुई दिनसम्म फर्किएनन्।

बरू एकजना महिला पहिलेजस्तै ‘एक/दुई हप्तामा माओवादी आफैँले ल्याइदिने’ सन्देश बोकेर आइन्। बृद्ध ससुरालाई छोडेर गएकी पूर्णिमाया निरास घर फर्किन्। यसपछि पनि काभ्रेकै तेमाल, मंगलटारजस्ता गाउँमा गएर श्रीमान् खोज्ने उनको काम जारी रह्यो।
त्यही असारमा श्रीमान् सिन्धुलीमा छन् भन्ने सुनेर काठमाडौंबाट देवरलाई बोलाइवरी उनले खोज्न पठाइन्। जंगलमा भेटिएका माओवादीले यसैगरी खोज्न हिँडे तँलाईं पनि मार्छु भनेछन्। देवर डरले भाउजूलाई पनि गाउँ नबस्न भन्दै काठमाडौं आए।

वैशाख १७ गतेबाट हराएका श्रीमानको दुई महिना खोजी गरेपछि असार ७ गते उनी देवरको सल्लाहअनुसार काठमाडौं आइन्। बृद्ध ससुराको स्याहार गर्न बेलाबेला उनी कोही न कोही साथी लिएर गाउँ जान्थिन्। २०६२ पुस २८ गतेको स्थानीय पत्रिकामा माओवादी र राज्यको भिडन्तमा अर्जुन लामा पनि मारिए भन्ने समाचार आयो। उनलाई विश्वास लागेन। उनलाई चिनेकै मान्छेले भिडन्तमा अर्जुन नभएको बताए। उनलाई आस थियो, कसैको नराम्रो नगरेका श्रीमान् फर्केर आउँछन्।

छोरो हराएको साढे दुई वर्षपछि त्यही पिरले ससुरा बिते। काजकिरिया गर्न गएका अर्जुनका जेठा छोरालाई माओवादीले फेरि धम्क्याए।

‘गाउँका मान्छेले तिम्रो श्रीमान्लाई माओवादीले यसरी मारे भनेर सुनाउँथे,’ पूर्णिमायाले भनिन्, ‘मलाई विश्वास थिएन। मेरो श्रीमान्ले कसैको नराम्रो गरेको थिएन, कसैको छोरीचेली लगेको थिएन।’

श्रीमान् हराएको दुई वर्षपछि उनी घर गएको बेला एकजनाले आएर अर्जुन कसरी मारिएका थिए भनेर बेलिबिस्तार लगाए। ‘अरु कसैलाई मारेको सुनेको भए त डर लाग्थ्यो होला,’ उनले त्यो दिन सम्झिन्, ‘आफ्नै श्रीमान्लाई त्यसरी पशुलाई भन्दा दुख दिएर मारे भन्ने सुन्दा मैले कसरी सहेँ होला?’
….
वैशाख १७ गते अपहरण गरी लगेका श्रीमान्लाई बीचमा कहाँकहाँ लगेर के के यातना दिए, उनलाई कसैले थाहा दिएन। ‘दाइलाई असार १ गतेदेखि हप्ताभरि केही खान नदिई एउटा घरको खाटमा हातखुट्टा बाँधेर राखेका थिए,’ ती मान्छेले पूर्णिमायालाई सुनाए। त्यसै राति ‘कुखुराको मासु र भात खा’ भन्दा अर्जुनले आफूलाई घर पुर्‍याइदिन भने। उनीहरुले ‘ल हिँड् घर’ भन्दै तल खोल्सामा पुर्‍याए। साँझ पर्दै थियो। अह्राएअनुसार अर्जुनले सकिनसकी खाल्डो खने। त्यसपछि अपहरणकारीले उनलाई रूखमा चार हातखुट्टा बाँधे। जिउभरि नै छुरा नै छुरा हाने। पुरै अनुहार र जिउ छियाछिया बनाएर त्यही खाल्डोमा पुरे।

यसरी भयो अर्जुन लामाको हत्या। मानवअधिकारवादी संघसंस्थाले अनुसन्धान गर्दा पनि त्यही देखियो। पूर्णिमायाले आफ्नै आँखाले लास नदेखेकोले अझै श्रीमान्को काजकिरिया गर्न सकेकी छैनन्।

घटना भएको दुई वर्षपछि गाउँकै एउटा केटाले माओवादी कार्यक्रमको भिडियो उनलाई देखायो।

भिडियोमा काभ्रे माओवादीका नेता सूर्यमान दोङले अर्जुनको अपहरण हुँदा लगाएको नेदरल्यान्डको घडी लगाएका थिए। उनलाई पक्का भयो- श्रीमान्का हत्यारा दोङ नै हुन्।
‘सुनीका बाले नेदरल्यान्डबाट फर्कंदा लगाएको घडी म राम्ररी चिन्छु,’ उनले भनिन्, ‘मलाई पक्का भयो उनलाई मार्नेमध्ये एक जना दोङ पनि रहेछन्।’

तिनै दोङ अहिले ऊर्जाराज्यमन्त्री नियुक्त भएका छन्। ‘त्यस्तो मान्छेलाई मन्त्री बनाएको हामीले कसरी हेर्ने?’ उनले प्रश्न गरिन्, ‘प्रहरीले पक्रनू भनेर आदेश दिएको छ। उनी मन्त्री भएर हिँडिरहेका छन्।’

अहिले पूर्णिमाया २१ वर्षीय छोरी सम्झना लामाका साथ काठमाडौंको गौरीघाटमा दुई कोठा भाडामा लिएर बस्छिन्। छोरीको ६ हजार तलबले पूर्णिमाया, सम्झना र सानी छोरी सुनीको खर्च टार्न धौधौ हुन्छ।

‘सुनीका बालाई मार्ने अहिले मन्त्री भएका छन्,’ पूर्णिमायाले भनिन्, ‘केही नगरेका हामी घरको न घाटको भएर यसरी न्याय खोजिरहेका छौं।’

 

पूर्णिमायाको जाहेरी अलपत्र
एड्भोकेसी फोरमको अनुसन्धानपछि पूर्णिमायाले ‘श्रीमान् मार्नेविरुद्ध’ काभ्रे प्रहरीमा २०६४ असार २९ गते जाहेरी दिइन्। जाहेरीमा उनले ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ, पूर्वसूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटा, श्रीमान् अपहरण गरेर लैजाने भोला अर्याल, यादव पौडेल, श्याम गौतम र नर्पु मोक्तानको नाम किटेकी थिइन्। प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेन। त्यसपछि उनी सर्वोच्च अदालत पुगिन्। सर्वोच्चले ‘जाहेरी दर्ता गर्नू’ भन्दै आदेश दिएपछि २०६५ फागुन २७ गते काभ्रे प्रहरीमा उनको जाहेरी दर्ता भयो। प्रहरीले जाहेरीमा दोषी किटिएकालाई पक्राउ गर्न वारेन्ट जारी गर्‍यो। तर, उनीहरू खुलेआम हिँडिरहे। झलनाथ खनालको मन्त्रिपरिषद्मा सापकोटा मन्त्री नै भएपछि ‘प्रहरीले पक्राउ गर्न वारेन्ट जारी गरेका आरोपी मन्त्रीलाई राजीनामा गराउन माग गर्दै’ पूर्णिमाया सर्वोच्च गइन्।
सर्वोच्चले जाहेरी परेकै भरमा कसैलाई दोषी भन्न नमिल्ने भन्दै सापकोटालाई मन्त्री पदबाट हटाउन नपर्ने निर्णय सुनायो। सम्भवतः त्यसैलाई आधार बनाएर बाबुराम भट्टराई सरकारले दोङलाई राज्यमन्त्री नियुक्त गरेको हो।
सापकोटाको मुद्दामा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारमा पनि अभियोगपत्र दायर भएपछि मात्र सार्वजनिक पदमा रहन नमिल्ने भन्ने मान्यता रहेकै आधारमा उनलाई पदबाट हटाउनुपर्ने नदेखिएको सर्वाेच्चले भनेको थियो। ‘मन्त्री पदमा नियुक्त हुन अन्तरिम संविधानको धारा ३८ ले योग्यता निर्धारण गरेको अवस्थामा आफूउपर कुनै जाहेरी दर्खास्त परेको अवस्थामा सार्वजनिक पदधारण गर्न र पदमा रहिरहन नैतिकता, सदाचार र मानवअधिकारसम्बन्धी विश्वव्यापी मान्यताबाट उचित हुने/नहुने त्यो पदमा नियुक्त हुने व्यक्तिको विवेकबाट निर्देशित हुन्छ,’ आदेशमा थियो। त्यो स्वविवेक न सापकोटाले प्रयोग गरे, न दोङले।
अहिले पूर्णिमायासँग दोङविरुद्ध लड्ने आधार छैन। उनले आफ्नो श्रीमान्को नाडीमा भएको घडी दोङले लगाएको देखेकी छिन्। यो कुरा उठाएपछि अहिले दोङले त्यो घडी लगाउन छाडेका छन्।
पीडित पूर्णिमायाले कर्तव्य ज्यानमुद्दामा दायर गरेको जाहेरीमा कानुनबमोजिम अनुसन्धान जारी राख्न र त्यसमा आफू जाहेरी भएको कारणले सापकोटा आफैँले प्रहरीलाई सहयोग गर्नुपर्ने सर्वोच्चको आदेशमा थियो। काभ्रे जिल्लामा जाहेरी परे पनि त्यसपछिको अनुसन्धान फितलो रहेको भन्दै अनुसन्धानलाई सघाउ पुर्‍याउन र त्यसको प्रतिवेदन सर्वोच्चमा बुझाउन महान्यायाधिवक्ताको कार्यालयलाई सर्वोच्चले आदेश दिए पनि यसको कार्यान्वयन भएको छैन।
सर्वोच्चले प्रहरीलाई अनुसन्धान अगाडि बढाउन र अनुसन्धानमा बाधा पुगे/नपुगे’bout १५ दिनको फरकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतलाई जानकारी गराउन काभ्रे प्रहरीलाई आदेश दिएको थियो।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )