गुरु देवायः नमो नमः !

आजको कान्तिपुरमा प्रकाशित अग्रज पत्रकार विजयकुमार पाण्डेको लेख ।

यस वर्षको गुरुपूणिर्मा भरखरै गएको छ । ‘गुरु’ शब्दको प्रसंग मात्रले पनि मेरो मन कृतज्ञताको अहोभावले निथु्रक्कै भिज्दछ । सोच्छु, ती महान् गुरुहरू जीवनमा नआएका भए कति अधुरो, कति अतृप्त भएरै यसपटक पनि पृथ्वीबाट बिदा हुने थिए । अत्यन्तै व्यापक अर्थ भएको शब्द रहेछ- सगुरु ! यो शब्दलाई ‘शिक्षक’ शब्दको सीमित परिधिभित्र राखेर बुझिनु हुँदैन । गुरु शिक्षक त हुँदै हो तर ऊ शिक्षक ‘मात्र’ होइन । हरेक गुरु एउटा शिक्षक ‘पनि’ हो तर प्रत्येक शिक्षक गुरु हुन सक्दैन । शिक्षकले शिक्षा मात्र दिन्छ तर गुरुले व्यापक अर्थको जीवन बोध प्रदान गर्दछ । शिक्षा जीवनको अभिन्न अंग हो तर शिक्षा मात्र जीवन होइन । शिक्षाले मात्र जीवन बोध प्राप्त हुने भएको भए यो संसार यति धेरै बेवकुफ ‘बुद्धिजीवी’, ‘समीक्षक’ र ‘प्राडा’ हरूले भरिएको हुने थिएन ।

पाश्चात्य शिक्षाको शब्दकोशमा ‘गुरु’ जस्तो अर्थ दिने कुनै शब्द नै छैन । ओशोले भनेका छन्- ‘गुरु अलि-अलि भगवान् जस्तो अनि अलिकति मानिस जस्तो ।’ हो, कहिलेकाहीं मानिस जस्तो देखिने अनि कहिलेकाहीं चाहिँ भगवान् जस्तो महसुस हुने ऊर्जाको अर्को नाम हो- गुरु !

केही वर्ष अगाडिको कुरा हो । ती वर्षहरू मेरा निम्ति परम आश्चर्य र दुःखका वर्षहरू थिए । म आफूलाई अत्यन्त अतृप्त र दुःखी महसुस गर्दथे । समस्याको थप जटिलता के थियो भने- मेरो दुःखको कुनै शारीरिक वा भौतिक कारण दृश्य थिएन । बाहिरबाट हेर्दा, म वर्षौंदेखि जुन स्थानमा खडा थिएँ, त्यहाँ एकैछिन बस्न पाए लालायित हुने मानिसहरूको संख्या सानो थिएन होला । म लाखौं मानिसहरूले हेर्ने टेलिभिजन कार्यक्रमको निर्माता/प्रस्तोता मात्र थिइनँ, अपितु सञ्चार जगतका तीनैवटा विधामा (छापा, रेडियो र टेलिभिजन) जुन सरलता र सहजताका साथ विचरण गर्ने क्षमता राख्दर्थे- त्यो धेरैका निम्ति आश्चर्य, ईष्र्या र विश्मयको विषय बन्न सक्दथ्यो । एकातिर व्यावसायिक रूपमा त्यो स्थिति थियो भने अर्कोतिर पारिवारिक रूपमा पनि आफूलाई अत्यन्तै माया गर्ने परिवारबाट घेरिएको थिएँ । तर यी सबका बाबजुद पनि म आफूभित्र एक अनौठो प्रकारको ‘खालीपन’ महसुस गर्दथें, शब्दमा अनुवाद गर्न नसकिने एक विचित्र प्रकारको अतृप्तताबाट पीडित थिएँ । एउटा हिन्दी गीत स्मरण हुन्छ, ‘मेरे नैना सावन भादो फिर भि मेरा मन प्यासा ।’ आफूभित्र रहेको त्यो अपूर्णता भर्नका निम्ति

म विभिन्न स्थानहरूमा अनेकौं प्रकारले वर्षौंसम्म भौंतारिएँ । भौतारिँदा, भौतारिँदा एक दिन मैले आफूलाई बौद्धनाथ पछाडि रहेको सेतो गुम्बामा पाएँ । म त्यहाँ जाउँ भनेर घरबाट निस्किएको थिइनँ, बरालिँदा बरालिँदै मैले आफूलाई त्यहाँ पाएँ भन्नु बढी उपयुक्त हुन्छ । गुम्बामा, मेरो अनुहार चिनेको एक जना लामाले भने, ‘तपाईंले चोकीनिमा गुरुको दर्शन गर्नुपर्छ ।’ त्यो लामाको पछि लागेर म चोकीनिमा रिम्पोचेका अगाडि पुगें । उहाँले मलाई अंग्रेजीमा सोध्नु भयो, ‘हु आर यु ? (तिमी को हो ?)’ मलाई काठमाडौं सहरमा वा नेपालका कतिपय स्थानहरूमा तपाईं को हो भनेर प्रश्न सोधेको प्रायः कमै अनुभव छ । मैले झर्को मान्दै आश्चर्य र अहंकार मिश्रति स्वरमा जवाफ दिएँ, ‘आई एम विजयकुमार ।’ सुनेर रिम्पोचे मुसुक्क हाँस्नु भयो र फेरि सोध्नु भयो, ‘आर यु विजयकुमार अर विजयकुमार इज योर नेम ? (के तिमी विजयकुमार हौ अथवा विजयकुमार तिम्रो नाम हो ?)’ त्यो प्रश्नले मलाई दस हजार भोल्टको करेन्टले भन्दा बढ्ता झट्का दियो । मैले कहिले सोचेको थिइनँ कि म विजयकुमार हुँ अथवा त्यो मेरो नाम मात्र हो ? मेरो मन र मुहारमा छाएको अनिश्चयको बादल देखेर रिम्पोचेले भन्नुभयो, ‘तिमी त आफूलाई निकै जान्ने-सुन्ने ठान्दछौ । मलाई यति मात्र भन कि तिमी विजयकुमार हौ वा त्यो तिम्रो नाम मात्र हो ?’ चोकीनिमाको यो साधारण झैं सुनिने असाधारण गहराइको प्रश्नका अगाडि मेरो अहंकार लज्जावतीको झार झरेझैं झरिसकेको थियो । मैले विस्तारै यति मात्र भन्न सकें ‘खै रिम्पोचे, अहिले यसै भन्न सक्दिनँ कि म विजयकुमार हुँ वा त्यो मेरो नाम मात्र हो ।’ सुनेर उहाँ जोडले हाँस्नु भयो र भन्नुभयो, ‘केही हतार छैन, आज दिनभरि र रातभरि सोच । भोलि यही ठाउँ, यही समयमा फेरि भेटौं । प्रश्न उही रहने छ ।’ म चुपचाप कोठाबाट निस्कने बेला त्यहाँ बसेका एक जना सज्जनले मलाई व्यंग्यात्मक स्वरमा भने, ‘विजयजी तपाईंले टेलिभिजनमा कसैलाई प्रश्न सोधेपछि उत्तर दिन ३० सेकेन्ड समय पनि दिनु हुन्न । गुरुबाट तपाईंचाहिँ पूरै २४ घन्टा समय बक्सेको छ, भोलिचाहिँ उत्तर पक्कै लिएर आउनु होला नि ।’ यति भनेर ती सज्जन खितखित हाँसे । कुनै अरू ठाउँ भएको भए मैले त्यो बाजेलाई के पो जवाफ दिने थिएँ होला ! तर त्यस दिनचाहिँ आफ्नो पराजित अहंकारको घाउमा उसले नुन-खोर्सानी छर्केको महसुस गर्दै घर फर्कें । र, त्यस दिनभरि र राति अबेरसम्म रिम्पोचेले सोधेको प्रश्नको उत्तर खोज्ने असफल प्रयत्न गरें । भोलिपल्ट निर्धारित समयमा सेतो गुम्बा पुग्दा मलाई आफ्नो ज्ञानको सीमितता र अहंकारको विराटता दुवैका विषयमा थोरबहुत महसुस भइसकेको थियो । रिम्पोचेले सोधे, ‘उत्तर ल्यायौ त ?’ मैले सानो स्वरमा जवाफ दिएँ ‘म क्षमाप्रार्थी छु रिम्पोचे ! मैले तमाम प्रयत्न गर्दा पनि उत्तर ल्याउन सकिनँ ।’ सुनेर रिम्पोचे एक करुणामयी मुस्कानका साथ भन्न थाले, ‘तिमीले आफूलाई क्षमाप्रार्थी होइन भाग्यमानी ठान्नु पर्दछ । भाग्यमानी यस अर्थमा कि तिमीले कमसेकम त्यो प्रश्नको ’boutमा सोच्ने मौका त पायौ । अधिकांश मानिसहरू उनीहरू वास्तवमा को हुन् ? भन्ने सर्वाधिक महत्त्वको प्रश्नका विषयमा एक क्षण पनि विचारै नगरी कैयौं पटक पृथ्वीमा आउने र जाने गर्दछन् । तिमीले कमसेकम त्यो प्रश्नका ’boutमा विचार त गर्‍यौ । अब कुनै दिन गुरु रिम्पोचेको कृपा भयो भने उत्तर पनि प्राप्त गर्ने छौ । आऊ अब यात्रा थालनी गरौ ।’

आदरणीय पाठकहरू, मैले मेरो जिन्दगीमा हजारांै मानिसहरूलाई असंख्य प्रश्नहरू सोधेको तपाईंमध्ये कतिपयले देख्नु पनि भएकै होला । तर विडम्बना हेर्नुस्, यतिका मानिसलाई त्यतिका प्रश्न सोध्ने मैले आफैंलाई चाहिँ सर्वाधिक महत्त्वको प्रश्न कहिलै सोधेको रहेन छु ! म मात्र किन हामीमध्ये अधिकांशले आफूलाई ‘म को हुँ ?’ भन्ने मूल प्रश्न सोधेकै हुँदैनौं । सोधे पनि गलत उत्तरद्वारा आफूलाई परिभाषित गरिरहेका हुन्छौं । कोहीले आफूलाई आफ्नो पदद्वारा परिभाषित गरिरहेका हुन्छन् (म प्रधानमन्त्री हुँ, म सचिव हुँ, म न्यायाधीश हुँ, म प्राडा हुँ आदि आदि) । र, कोहीले चाहिँ आफ्नो पेसाबाट आफ्नो अस्तित्व जनाइरहेका हुन्छन् (म व्यापारी हुँ, म कलाकार हुँ, म पत्रकार हुँ ………आदि आदि) । यथार्थ के हो भने पत्रकारिता मेरो काम हो, मेरो पेसा हो । तर के कुनै पेसाले मात्र मेरो वा कसैको अस्तित्वलाई सम्पूर्ण रूपमा परिभाषित गर्न सक्दछ ? भोलिका दिनमा म पत्रकारिताको साटो कुनै अर्कै पेसामा लागे भनें बाँकी रहेको मानिस म हुन्छ कि हुँदैन ? यस्तै प्रकृतिका प्रश्नहरूले गर्दा मेरो अन्तरमनमा अतृप्तताको गहन छटपटाहट सिर्जना भएको रहेछ भन्ने हल्का बोध मलाई विस्तारैविस्तारै पछिल्ला दिनहरूमा हुँदै आयो । चोकीनिमा रिम्पोचेले मलाई जीवन र जगत हेर्ने एक नयाँ यात्राको ढोका खोली दिनुभयो । ‘गुरु’ शब्दका सन्दर्भमा चोकीनिमाले आफ्नो पुस्तक ‘अनडिसप्युटेबेल टुथ’ मा भन्नुभएको छ, ‘गुरु तीन स्वरूपमा प्रकट हुन सक्दछन् । कुनै ‘पुस्तक वा धार्मिक ग्रन्थ’ गुरु हुन सक्दछ । कुनै अर्को ‘व्यक्ति’ तिम्रा निम्ति गुरु हुन सक्दछ । तर यी दुवै थरी गुरुको मूल काम ‘सहजकर्ता’ को मात्र हो । एक यस्तो सहजकर्ता जसले तिमी आफू ‘भित्रै’ रहेको गुरुलाई ब्युँताउन सहयोग गरोस् । त्यसपछि एक यस्तो अवस्थाको सिर्जना हुने छ जब तिम्रा निम्ति दुःखसुखको हरेक परिस्थितिले ‘गुरु’ को काम गर्न थाल्ने छन् ।’

चोकीनिमाले मलाई आध्यात्मिक संसारमा ‘ब्रेक’ त दिनुभयो तर ‘च्यापेर’ राख्नु भएन । कुनै पनि सद्गुरुले आफ्नो शिष्यलाई च्यापेर राख्दैन । शिख धार्मिकस्थलहरूलाई ‘गुरुद्वारा’ भनिन्छ । बढा गहिरो अर्थ राख्दछ ‘गुरुद्वारा’ शब्दले । गुरु एउटा द्वार हो, ढोका हो । एक निश्चित समय आएपछि शिष्यले त्यो ढोकाबाट पनि अगाडि जानु पर्दछ । चोकीनिमाबाट सुरु भएको मेरो सानोतिनो आध्यात्मिक रहरका दौरानमा मलाई अन्य केही सद्गुरुहरूको सत्संग सौभाग्य प्राप्त भयो । गोयन्काजी र साईबाबालाई मैले भ्याएसम्म बुझ्ने प्रयत्न गरे । ओशोको त म एउटा प्रेमी नै हुँ । धेरै समय बितेको छैन जब मलाई आफ्नो मस्तिष्क र बुद्धिको क्षमतामा बढा अहंकार थियो, अझै पनि थोरबहु बाँकी छ क्यारे । एक दिन एउटा सामान्य लामाले गुम्बामा मलाई मुस्कुराउँदै कठोर आदेश दिए ‘आजदेखि भित्र आउँदा आफ्नो जुत्ता मात्र होइन बुद्धि पनि ढोकामा नै छाडेर आउनु होला । रित्तो भएर प्रवेश गर्नेको भाँडो मात्र भरिने सम्भावना हुन्छ । अहंकारले भरिएको भाँडोमा स्वयं शाक्यमुनि बुद्धले पनि केही थप्न सक्दैनन् ।’

यतिका वर्षमा, यति सब हुँदाहुँदै पनि, त्यतिका मौका पाउँदापाउँदै पनि म भने खासै रूपान्तरित हुन सकिनँ । ’cause मैले गुरुको शिक्ष्ााले हृदयले होइन मस्तिष्कले मात्र बुझेको रहेछु । मेरो हृदयमा र मेरो आचरणमा त्यो रत्तिभर प्रवेश गरेको रहेनछ । यो थाहा पाएपछि मेरो दुःख झनै बढेर गयो । मानिसले बाटै थाहा नपाउनु दुःखको कुरा हो तर बाटो थाहा पाएर पनि त्यसमा हिँड्न नसक्नाले अतृप्तताको झनै ठूला खाडल मनमा बनाउँदो रहेछ । तर सौभाग्यवश एकदिन राधेश्यामजीको सहयोगले मलाई १०० वषर्ीय महान् बौद्ध गुरु छयाट्टा रिम्पोचेको दुर्लभ दर्शन प्राप्त भयो । उहाँकै आशीर्वादले तीन वर्षअघि मैले आफ्नो मूल गुरु नामखा रिम्पोचे पाएँ । नामखा रिम्पोचेलाई देख्नेबित्तिकै मलाई महसुस भयो- अब भौतारिने दिन सकिए । शब्दमा बयान गर्न नसकिने एउटा अनुभूति पैदा भयो- अब मैले मेरो आध्यात्मिक खोज यी सद्गुरुका चरणमा विसर्जित गर्नु पर्दछ । नामखा रिम्पोचेले न मलाई कुनै उपदेश दिनुभयो नत केही सोध्नु भयो । उहाँको मौन उपस्थिति मात्रले मेरो मनका घाउहरूमा बिस्तारै मलम लगाएको शान्त अनुभूति हुन थाल्यो । उहाँको शान्त मुहारलाई हेर्दा ओशोका शब्दहरू सम्झिएँ ‘परम ज्ञान त निःशब्द छ । शब्दद्वारा त्यसलाई व्यक्त गर्नै सकिँदैन । तर चेतनाको जुन स्तरमा आज तिमीहरू उभिएका छौ त्यहाँसम्म पुग्न मैले बडा कष्टपूर्वक ओर्लिएर शब्दहरूको प्रयोग गर्नै पर्ने बाध्यता हुन्छ । होइन भने, अस्तित्वले आफ्ना गहनतम् रहस्यहरू ‘मौन’ द्वारा मात्र उद्घाटित गर्दछ । मौनबाहेक अस्तित्वका परम रहस्यहरूमा प्रवेश गर्ने अर्को कुनै द्वार नै छैन ।’

आज जब म ओशोका यी सुन्दर शब्दहरू उद्धृत गरिरहेको छु, मलाई राम्ररी थाहा छ म आफैंले, अहिलेसम्म यी शब्दहरूलाई ‘शाब्दिक’ रूपमा मात्र बुझेको छु । म आफैंले नबुझेको कुरा पाठकसँग बाँड्ने धृष्टता गर्दैछु । गुरुपूणिर्माका अवसरमा अलि ढिलै भए पनि संसारका सबै शिक्षक र सद्गुरुलाई सादर नमन गर्दै भन्न चाहन्छु- गुरु देवाय नमो नमः !

Advertisements

2 thoughts on “गुरु देवायः नमो नमः !

  1. I read this article in Kantipur on the same day it was published.
    I don’t know why has this touched my heart. It has made me feel a different aspect of living.
    I used to wonder why the great poet “Laxmi Prasad Devkota” said “Aakhir Sri Krishna Rahechha Eka” with his last breath, having been “nastik for lifetime”. Einstein said he would prefer not to be a scientist if he got another life. These are contradictions I couldn’t easily figure out.
    This particular article by “bijaya kumar” has exactly given me the answer.
    LIfe is not just physical its something religious or ADHYATMIK. ADHYATMA is a better science than physical science, I can realise now.

    Its a great article. Its the best i have ever read.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )