दृष्टिविहीनका आँखामा हिमाली सौन्दर्य

पदयात्राका सहभागी

यो फिचर नागरिक शनिबारको घुमफिरमा प्रकाशित भएको हो ।

नेपालको पदयात्रामाथि बनेको वृत्तचित्र हेरेपछि छ वर्षकै उमेरमा अस्ट्रेलियन नागरिक निकले एउटा सपना बुने – ठूलो भएपछि, ‘नेपालुका अनगिन्ती हिमश्रृंखला आफ्नै आँखाले हेर्छु ।’

 
एक वर्ष पनि भएको थिएन मनमा यो सपनाले घर बनाएको एउटा दुर्घटनामा उनले दुवै आँखाको ज्योति गुमाए । टिभीमा देखेका नेपाली हिमश्रृंखला र पदयात्रीले समाएको बाटो पछ्याउन नपाइने भो भन्ने भावनाले उनलाई भित्रभित्रै औडाहा हुन थाल्यो ।
जति हुर्कंदै गए मनको आघात उति गड्दै गयो ।

 
तिनै निकले पछि सामुदायिक शिक्षकको पेसा अंगाले । अरुलाई आशावादी हुन सिकाउनुपर्ने शिक्षक अब आफैं कसरी घोर निराशाको अन्धकारमा हराउनु ! दृष्टिविहीन भएर पनि सकारात्मक सोंच राख्नुपर्छ र मनको आँखाले संसार चियाउनुपर्छ भन्ने पाठ सिकाउन थाले । यही कुरा हृदयंगम गर्न उनी आफैंलाई भने निकै समय लाग्यो ।

विद्यार्थीसँग घुलमिल गर्दैजाँदा र दिनरात उही शिक्षा दोहोर् याउँदा उनले जीवनको कटु वास्तविकता स्वीकारे – अब मैले दृष्टिविहीन भएर पनि दृष्टि भएका मान्छेले भन्दा बढ्ता अपेक्षा राख्नुपर्छ । र त्यसलाई पछ्याउने क्रममा आफ्नो शारीरिक असक्तता सम्झेर हातगोडा कमाउनु हुन्न ।
यो निष्कर्षले उनको सपनामा प्वाँख पलायो ।

उनले आफ्नै सकि्रयतामा एउटा भ्रमण कार्यक्रम आयोजना गरे दक्षिण अपि्रुकाको ‘माउन्ट किलिमन्जरो’को फेदीसम्म पुग्नॆ । र यो यात्रालाई उनले नाम दिए ‘ब्लाइन्ड एम्बिसन-वान’ ।

आँखा देख्नेहरु पनि सप्पैले आँट्न नसकेको यो अभियानमा उनलाई एकजना अर्का दृष्टिविहीनले पनि साथ दिए । यी दुईबाहेक तीन दृष्टि भएकाहरु पनि सामेल हुन आइपुगे । कुल मिलाएर पाँचजनाको समूह बन्यो – निक ग्लिसन चार्ली म्याककोनल दृष्टिविहीन रोजानी गि्रन ब्राइन ओ डिया र भिना एकोमाजो ।

यीमध्ये भिनाबाहेक जम्मै अस्ट्रेलियन थिए । भिनाचाहिँ अमेरिकी महिला ।
सन् २००१ मा साहसीहरुको यो टोली किलिमन्जरोको पदयात्रामा निस्कियो । जुन सम्झनलायक भयो भन्छन् निक आफैं ।
सम्झनलायक यस अर्थमा उनीहरु सकशुल फर्के । 

****
किलिमन्जरो भ्रमणबाट फर्केपछि निकलाई यस्तो लाग्यो मानौं उनले चरासरी उडेर संसार चाहारे ।
केही दिन त यही धङधङीले उनलाई प्रेरित पनि गरिरह्यो ।
तर एकदिन उनलाई आफ्नो ज्यानभरि पलाएका सारा प्वाँख एकएक गर्दै झरेर बुच्चे भएजस्तो लाग्यो । आकासबाट सिधै भुइँमा पछारिए ।
भएछ के भने एक स्थानीय टेलिभिजन च्यानलमा उनले समाचार सुनेछन् – ‘अमेरिकी दृष्टिविहीन नागरिक इरिक विहेनमेयरले विश्वको सर्वोच्च शिखर सरमाथा चुचुरो टेके ।’
यो समाचारले निकलाई भित्रैसम्म पोल्यो – ‘कहाँ म जाबो किलिमन्जरो टेकेँ भनेर फुर्किएको छु यहाँ दृष्टिविहीनले सर्वोच्च शिखरलाई नै आफ्नो पैतालामुनि पारिसक्यो ।’
हतारहतार चार्लीलाई खबर सुनाए । उनी पनि खङरंग भए ।

 
टेलिफोनमा एकछिन त चार्लीको बकै फुटेन । बीस वर्षदेखिको दोस्ती हो यिनको । दुवैका आँखामात्र उस्तै होइन मन पनि उस्तै छ । 

 
चार्लीलाई पनि त्यही भयो जुन निकलाई भइरहेको थियो । चार्लीले पनि त्यही सोंचे जुन निकले सोंचिरहेका थिए ।

 
बुच्चे ज्यान लिएर भुइँमा पछारिएका दुई पंक्षीमा फेरि प्वाँख पलायो ।

 
पाँचजनाको उही टोलीले फेरि निष्कर्ष निकाल्यो -‘ब्लाइन्ड एम्बिसन-टु’ । र यसपटक सगरमाथा आधारशिविर ।

 
हवाइजहाजमा उडेर नेपाल नझर्दासम्म निक मनमनै गुनिरहेका थिए ‘सानैमा टिभीमा देखेका ती हिमाललाई अब मनले स्पस्र गर्नेछु ।’

 
टोली यही असोज २ गते काठमाडौं ओर्लियो ।
४३ वर्षअघि नेपालको हिमश्रृंखला हेर्ने सपना देखेका निक आफ्नो सपनाको दैलोमा आइपुगे ४९ वर्षको उमेरमा ।
नेपाल आउनेबित्तिकै पदयात्रीको समस्या बुझेर ‘एक्सप्लोर हिमालय’ले उनीहरुको धोको सहज बनाइदियो । दृष्टिविहीनको भिजन टुरलाई सघाउन पदयात्रा गराएर खारिएका अनुभवी पथप्रदर्शकहरु खटाएर ।

 
दृष्टिविहीन पदयात्रीको साहस देखेर उनीहरुको रहर पुरा गर्न यात्रा सहज बनाउन खोजेको एक्सप्लोर हिमालयका कार्यकारी निर्देशक नवीन त्रितालले बताए । ‘अरुलाई भन्दा दृष्टिविहीनलाई भ्रमणको आनन्द दिलाउनु हाम्रो लागि चुनौती थियो,’ उनले भने, ‘यसका लागि हामीले बाटोभरि दृश्य वर्णन गर्दै जाने अनुभवी पथप्रदर्शक खटायौं ।’ 

****

 
असोज २१ बिहीबार ।
ठमेलको मस्र्याङ्दी होटलमा निक निकै थकित देखिन्थे । हिउँको चिसो र ठिहिर् याउँदो स्याँठले खाएर अनुहारभरि कालो पोतो बसेको थियो । हात खुट्टाभरि छालाका पाप्रा उक्किएका थिए । गलेर होला अलिकति हिँडडुल गर्दा पनि हल्का खोच्याउँथे ।
११ दिनको सगरमाथा आधारशिविर यात्रापछि मंगलबार बेलुकीमात्र यिनी राजधानी फिरेका हुन् ।

 
यी दृष्टिविहीनले मनभरि लुकाएर ल्याएको सगरमाथाको तस्बिर हेर्न बिहीबार बिहानै मैले समय मागेकी थिएँ । होटल पुग्दा त उनीहरु लबीमा मैलाई कुरिरहेका रहेछन् । साथमा थिए- चार्ली रोजानी र ब्राइन ।

 
‘अनि कस्तो रह्यो त यात्रा ?’

 
हातमा टिपेको कफीको कप थपक्क टेबुलमा राखेर दुवै हात उचाल्दै निकले भने,’इट्स अ लाइफ टाइम एक्सपिरियन्स । मेरो त जिन्दगीको सबभन्दा ठूलो सपनै पुरा भयो ।’
उता चार्लीलाई त नेपाल झर्नुअघि नै लागिसकेको थियो रे ‘म नेपालका हिमालले भरिएका आकासमा पखेटा फिँजाएर उडिरहेको छु ।’ उनले मनमनै कल्पना पनि गरे ‘अब छिट्टै म हिमालकै अघिल्तिर उभिएर हिउँलाई मनको आँखाले हेरिरहेको हुनेछु ।’

 
डायरीमा उनीहरुको अनुभव नोट गर्दा म घरि निकको आवाज सुन्थेँ घरि चार्लीको । कसले कुन कुरा पहिला सुनाउने भनेर दुवैबीच हानाथापजस्तै ।
लुक्ला विमानस्थल पुग्नुअगावै विमान परिचारिकाले निक र चार्लीलाई आकासदेखि नै दृश्य वर्णन गर्न सुरु गरिसकेछन् । लुक्लाबाट सुरु ११ दिने पदयात्रामा पनि बाटोभरि पदप्रदर्शकका मुखबाट दृश्यको स्वाद कानले चाख्न पाइरह्यो । मन त्यसैत्यसै उद्धेलित हुन्थ्यो रे उनीहरुको ।
जतिजति उक्लिँदै जान्थे चिसो हिमाली हावाले मनसम्मै छुन आउँथ्यो । तर वर्षौंदेखिको अभिलाषा पुरा हुँदाखेरि चिसो स्याँठले पनि मनलाई न्यानो पो पार्दो रहेछ !

‘चिसोले कहिल्यै गाह्रो भएनु निकले भने ‘म सधैं उत्साहित भइरहन्थेँ । हरेकदिन बास बसेको ठाउँमा उठ्दा यस्तो लाग्थ्यो मेरो आज नयाँ जन्म भयो ।’
बाटोभरि चराचुरुंगीको चिरबिर र खोलाको सुस्केरा उनीहरुले जीवनमै पहिलोचोटि अनुभव गरे । बिहानैको चिसोमा हिमाली हावा लाग्दा सूर्यको न्यानो किरणको अनुभव शब्दमा व्यक्त गर्नै नसकिने बताउँछन् चार्ली । बिहान हिमालका कापबाट सूर्य उदाएको कुरा साथीहरुले भन्दा उनी त्यसको बडेमाको अर्धगोलो आकृति मनको क्यानभासमा उतार्थे रे ।

निक र चार्ली घरिघरि मनमा लागेका कुरा पदप्रदर्शक र आँखा देख्ने अरु सहयात्रीलाई सोधिहाल्थे । यसले पनि दृश्यको सजीव चित्र कोर्न उनीहरुलाई सजिलो हुन्थ्यो । ‘हामी त हेरेर आहा भन्नेमात्र हो । उनीहरु सम्भव भएसम्म हरेक चिज छामेरै महसुस गर्न खोज्थे’ रोजानीले आफ्नो यात्रा अनुभव व्यक्त गरिन् ‘तर हिमाल त छाम्न सकिने कुरा भएन । त्यही भएर उनीहरु कोट्टयाई-कोट्टयाई सोध्थे ।’

 
हिमालबाट मात्रै नेपाल चिनेका पर्यटकले हिमाली भेग पुगेपछि बल्ल थाहा पाए नेपाल संस्कृतिको धनी रहेछ । मानिसको रहनसहन र बसोबासलाई उनीहरु छामेर अनुभव गर्न चाहन्थे । पथप्रदर्शक भन्थे नाम्चेबाट उँभो लाग्ने भरियाहरु ५० किलोभन्दा बढी भारी बोक्छन् । त्यसलाई आफैं महसुस गर्न निक र चार्लीले भरियाको भारी बोके । तर कहाँ पाएर सक्नु ! भरियाले लाउने लुगा र गहना कस्तो हुँदो रहेछ भनेर छाम्दै त्यसको बनावट र रङको धमिलोधमिलो आकृति मनमा बसाए ।

थाकेर कालापत्थर पुगेको दिन थप स्मरणीय भयो । स्थानीयसँग रक्सीले मातेर कम्मर हल्लाउँदै नाचेको सम्झँदा यसबेला पनि निकको जिउ अलिअलि हल्लिन्छ । खुट्टा हल्का थर्किन्छ ।

सगरमाथा आधारशिविर यात्रामा यी दुईलाई सबभन्दा ठूलो चुनौती बन्यो ठुल्ठुला चट्टानबाट जोगिनु । त्यही भएर उनीहरु गाइडले भनेको बाटो नबिराई हिँड्थे । छैठौं दिन आधारशिविर पुग्दा निकका दुवै आँखाबाट बररर आसु झर् यो । ‘मैले त्यो क्षण इरिकलाई सम्झेँ इरिकले सगरमाथा चुचुरो कसरी चुमे होलान् !’ निकले ज्योति हराएका आँखा झिमझिम पार्दै भने ।

यतिबेला पनि उनका आँखामा भावुकता भरिएको म देख्दै थिएँ ।

‘इरिकजस्तै सगरमाथा चढ्न त सक्दिनँ होला तर सकेजति चुनौतीपूर्ण यात्रा गर्छु,’ उनले कफीको अन्तिम सुरुप लिँदै भने, ‘र, इरिकले जस्तै किताब लेख्छु – दृष्टिविहीनका आँखामा हिमाली सौन्दर्य ।’

इरिकले सन् २००१ मा सगरमाथा चुमेर फर्केपछि लेखेको, ‘टच दी टप अफ दी वल्र्ड’ भन्ने किताब खुबै चलेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )