निर्दोष बन्दी

चौध महिनापछि निर्दोस साबित भएर थुनाबाट निस्किएपछि अभिजित श्रीमति कबिता र दोरी दीक्षाको साथ

सम्पादनको लागि ‘नागरिक शनिवार’का सम्पादक सुदिप दाईलाई धेरै धेरै धन्यवाद

विनिता दाहाल,

चौध महिनाअघि आफ्ना श्रीमानलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश आएको दिन उनी अदालतबाट बेहोसीमै घर पुगिन्। सात महिनाकी गर्भवती उनलाई धेरै दिन आँखा तिरमिराएझैं भइरह्यो। सास त चलिरहेको छ, तर प्राण श्रीमानसँगै कारागार पुगिसक्यो! आफन्तले नै हो, उनका काँपेका हातगोडालाई भर दिएर बबरमहलको काठमाडौं जिल्ला अदालतबाट ट्याक्सीमा चोभारको घरसम्म पुर्‍याएको। घर पुग्दा ६ वर्षे छोरी दीक्षाले सोधिन्, ‘यति धेरै दिन बाबा किन घर नआउनुभा’को, अब कहिले आउनुहुन्छ?’छोरीको यो प्रश्नले त झन् उनले हिक्का थाम्नै सकिनन्। रुँदै ओछ्यानमा पछारिन्।
छोरी हेरेका हेर्‍यै भइन्। आफन्तले नै उनलाई सम्हाले।
त्यो बेलासम्म श्रीमान् प्रहरी हिरासतमा रहेकै २८ दिन भइसकेको थियो। जुन आफैंमा कानुनविपरीत हो। कानुनले कसैलाई पनि २५ दिनभन्दा बढ्ता प्रहरी हिरासतमा राख्न रोक लगाएको छ। तोकिएभन्दा बढ्ता हिरासतमा बिताइसकेका श्रीमान्लाई अब त झन् अदालतले नै पुपर्क्षका लागि भन्दै कारागार पठाइदिएपछि छोरीको प्रश्नको जवाफ दिन उनीसँग शब्दै भएन।
किनकि, पुर्पक्षका मुद्दा कति वर्षमा टुंगो लाग्ने हो, कोही सोंच्न पनि सक्दैनन्।
*******************************************************

कविता कार्की, २४।
झैझगडामा पुलिसले समातेपछि अपहरण मुद्दा लगाएर पुर्पक्षका लागि थुनामा परेका उनका श्रीमान् हुन्, अभिजित कार्की। र, सँगै थिए, उनका भाइ अच्युत।
टोलकै झगडामा सामेल भएको भन्दै प्रहरीले यी दाजुभाइलगायत दस जनालाई समातेको थियो। त्यसको भोलिपल्ट बाँकी आठ जनालाई छाडियो। ती दुईलाई भने अपरहण मुद्दा लगाएर थप प्रहरी हिरासतमा राखियो।
*******************************************************

असोज १३ गते, बुधबार।
काठमाडौं जिल्ला अदालतमा कार्की दाजुभाइको मुद्दाको पेसी थियो। कविता आफ्ना श्रीमान् र देवर निर्दोष साबित हुन्छन् कि अपराधी घोषित हुन्छन् भनेर सुन्न समयअगावै अदालत पुगिन्।
दिनभरि कुरिन्। पलपल उनको मुटुको ढुकढुकी तीव्र हुँदै गएको थियो। मन एकतमासको भएर होला, घरिघरि पसिनाले निथु्रक्क हुन्थिन्।
कार्यालय समय सकिनेबेलासम्म पालो नआउँदा त उनको हंसले ठाँवै छाडिसकेको थियो, आज पनि त्यत्तिकै फर्किनुपर्ने पो हो कि भनेर।
धन्न पालो आयो।
न्यायाधीश बालेन्द्र रुपाखेतीले फैसला सुनाए, ‘अपहरण हुनको निमित्त ल्याएको तथ्यले अपराधी भन्ने देखिएन, निज निर्दोष ठहरिन्छ।’
अपहरण मुद्दा लागेर चौध महिना बन्दी जीवन बिताएका अभिजित दाजुभाइ निर्दोष साबित भए।
*******************************************************
चौध महिनापछि बुधबार फेरि कविता बेहोसीमै घर पुगिन्।
यसबीच छोरी दिनहुँजसो सोधिरहन्थिन्, ‘बाबा कहिले आउनुहुन्छ?’ उनीसँग कुनै उत्तर हुन्थेन। उनी सधैं मुख लुकाउँथिन् वा अरू कुरा झिकेर टार्थिन्।
यसपालि उनीसँग छोरीको प्रश्नको जवाफ छ।
उनले भनिन्, ‘तिम्रो बाबा भोलि घर आउनुहुन्छ।’
चुलबुले छोरी दुई दुई बित्ता उफ्रिन्, ‘आहा भोलि बाबाकै थालमा भात खान्छु!’
उनले रमाउँदै भनिन्, ‘भोलि बाबालाई लिन म पनि जेल जान्छु है।’
कविताले टाउको हल्लाइन्।
दीक्षालाई थाहा भइसकेको थियो, उनका बा जेलमा छन्। ‘नराम्रो काम गर्ने मान्छे जेलमा बस्छन्, हाम्रो बाबा नराम्रो काम नगरे पनि जेल बस्नुभयो,’ बिहीबार मध्याह्न अभिजित जेलबाट छुट्नुअघि दीक्षाले भनेकी थिइन्, ‘म त बाबा छुट्ने भनेर स्कुलै नगई लिन आको।’
अभिजितको जीवनमा आइपरेको यो घटनाले छोरीको पढाइमा समेत नराम्रो असर पर्न थालिसकेको थियो। युकेजी पढ्ने दीक्षा पहिला सधैं कक्षामा प्रथम हुन्थिन्। यसपालि चौथो भइन्।
‘पढ्नै मनै गर्दिनँ,’ आमा कविताले भनिन्, ‘सधैं बाबा, बाबा भनिरहन्छे।’
अभिजित र अच्युत छुट्ने खुसीमा कविताका आमाछोरी, ससुरा, दुई भिनाजु र दुई दाइ खानै नखाई केन्द्रीय कारागार आइपुगेका थिए।
अच्युतले कारागारबाट बाहिरिनेबित्तिकै ढिलै भए पनि न्यायको सास फेरे।
*******************************************************
‘निर्दोष भएर पनि हामी त अन्यायमा पर्‍यौं, अरू कसैले बिनाकसुर यसरी सजाय भोग्नु नपरोस्,’ बिहीबार केन्द्रीय कारागारबाट बाहिरिँदै गर्दा अभिजितले भने, ‘तर भन्नुमात्रै हो, जेलमा आधाजति मान्छे त हामीजस्तै पुर्पक्षका लागि थुनामा परेका रहेछन्। उनीहरू निर्दोष पनि हुनसक्छन्। तर, उनीहरूमाथि अपराधीजस्तै व्यवहार भइरहेको छ।’
‘हामीलाई आज निर्दोष घोषित गरियो, तर चौध महिना हामीले अपराधीकै जिन्दगी बितायौं।’
चौध महिना कैदीजस्तै चिसो छिँडीमा बिताएर शारीरिक र मानसिक पीडा पाएबापत् उनीहरूले राज्यबाट केही पाउने छैनन्। पुर्पक्षका लागि थुनामा परेका मान्छे निर्दोष साबित भए क्षतिपूर्ति दिने व्यवस्था विकसित देशहरूमा छ। त्यहाँ व्यक्तिको आम्दानीअनुसार उनीहरूले राज्यबाट हर्जना पाउँछन्। तर, नेपालमा हर्जना त के कुरा, राज्यले औपचारिक माफीसमेत माग्दैन।
प्राकृतिक न्यायको सिद्धान्तले भन्छ, ‘एक हजार दोषी उम्किउन्, तर एकजना निर्दोष नपरून्।’ तर, केन्द्रीय कारागारमा रहेकामध्ये ४० प्रतिशत दोषी वा निर्दोष ठहरिन बाँकी छ। तिनले पनि दोषी ठहरिएका कैदीसरह बन्दी जीवन बिताइरहेका छन्।
‘केन्द्रीय कारागारमा रहेकामध्ये ४० प्रतिशत त मुद्दा टुंगो लाग्न बाँकी बन्दी छन्,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीले भने, ‘पुर्पक्षका लागि थुनामा परेका बन्दी ३ महिनादेखि ५/६ वर्षसम्म जेलमा रहन सक्छन्।’
विकसित देशमा पनि नेपालजस्तै अदालतबाट मुद्दा फैसला नभइसकेका अभियुक्तलाई न्यायिक हिरासतमा राखिन्छ। तर, ती देशमा न्यायिक हिरासतका लागि राखिने कारागार छुट्टै हुन्छ। सबै आफूजस्तै दोषी वा निर्दोष ठहर नभएका व्यक्तिमात्र हुने हुँदा सबैले आफूलाई समान ठान्छन्। उनीहरूलाई हेर्ने बाहिरी दृष्टिकोण पनि फरक हुन्छ।
नेपालमा भने सबैलाई एउटै कारागारमा राखिने हुँदा जो पनि अपराधी देखिन्छन्।
‘विकसित देशमा अदालतको आफ्नै न्यायिक हिरासत हुने भए पनि नेपालमा त्यस्तो व्यवस्था छैन,’ अभिवक्ता बाबुराम दाहालले भने, ‘न्यायिक हिरासतबाट निर्दोष साबित भए राज्यले क्षतिपूर्ति तिर्नुपर्छ। त्यही भएर विकसित मुलुकहरूमा मुद्दा छिटो किनारा लगाउन जोड दिइन्छ, ताकि लामो समयपछि निर्दोष साबित हुँदा राज्यलाई ठूलो आर्थिक भार नपरोस्।’
काठमाडौं जिल्ला अदालतको भदौ महिनाको तथ्यांक हेर्ने हो भने दर्ता भएका १ सय २७ सरकारवादी फौजदारी मुद्दामध्ये पुर्पक्षका लागि ३८ मुद्दा परेका थिए। त्यसमध्ये ५० जना पुर्पक्षका लागि थुनामा गए। एउटै मुद्दामा एक वा एकभन्दा बढी अभियुक्त हुनसक्छन्।
अदालती कारबाही हेर्दा ती मुद्दा टुंगो लाग्न कम्तिमा ३ महिनादेखि ३ वर्षसम्म लाग्ने बताउँछन्, अदालतका श्रेस्तेदार भरत लम्साल।
पछिल्लो समय लागूऔषध, अपहरण, मानव बेचबिखन, शरीर बन्धक लगायतमा मुद्दा दर्ता हुने संख्या बढेको छ। ‘प्रायःजसो सरकारवादी फौजदारी यस्ता मुद्दामा तीन वर्षभन्दा बढी सजाय माग गरिएको हुन्छ,’ लम्सालले भने, ‘यस्ता मुद्दामा मात्रै पुर्पक्षका लागि थुनामा पठाउने गरिन्छ।’
कैदी र बन्दीलाई एउटै व्यवहार गरेर सँगै राख्ने प्रावधान जायज नभएको बताउँछन्, लम्साल। ‘दोषी हुनुअघि नै दोषीको जस्तो व्यवहार हुनुलाई जायज मान्न सकिन्न,’ उनले भने, ‘यस विषयमा राज्यले गम्भीर भएर सोंच्नुपर्छ।’
*******************************************************
कानुन व्यवसायी प्रभातकुमार गुप्ताले २०६३ सालयता २५ महिना पुर्पक्षका लागि थुनामा र बाँकी ५ महिना कैदी जीवन बिताए।
आफू बन्दी र कैदी हुँदा कारागारमा गरिने व्यवहारमा उनले कुनै फरक पाएनन्।
कार्की दाजुभाइको पनि यही धारणा छ।
‘हाम्रो देशको कानुनै यस्तै रहेछ, पैसा भयो भने गल्ती गर्नेलाई पनि उन्मुक्ति दिन्छ, पैसा नहुनेलाई निर्दोष भए पनि न्याय दिन ढिलो गर्छ,’ अभिजितले न्याय प्रक्रियाप्रति तिक्तता पोखे, ‘हामी अन्यायमा परेर जेलमा पर्‍यौं, तर समाजले हामीलाई जेलमा परेका भनी दोषी देख्यो।’
जेलमा दोषी र निर्दोष सँगै बस्दा पनि बन्दीमा नकारात्मक सोंचाइ बढ्ने उनले बताए।
‘हामीलाई एकपटक समाजले दोषी देखिसक्यो, अब त्यो पींडा, जेलभित्र बस्दाको समयबापत् हामीले के पाउँछौं त?’ उनले भने।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )