कुकुर र कलाकी पारखी

तपाईं कस्तो कुकुर घरमा पाल्न चाहनुहुन्छ ?
पकुल्ला गाला भएको मोटोघाटो हेर्दै रहर लाग्दो काखमा लिउँलिउँजस्तो झ्याप्प रौं भएको सुकिलो – अधिकांशको चाहना यस्तै हुन्छ । अझ जानकारले त कुकुरको नश्लसमेत तोक्लान् ।
जान साल्टर भने अपवादमा पर्छिन् ।
सडक गल्लीमा बेवारिसे छाडिएका रोगले रौं खुइलिएका र प्रचलित भाषामा ‘भुस्याहा’ कुकुर हुन् उनको माया, ममता र संरक्षण पाउने । उनी ती कुकुरलाई आफ्नै सन्तानजस्तो काखमा हुर्काउँछिन् । बन्ध्याकरण गरिदिन्छिन् र सत्कारको फरक संस्कार सिकाउँछिन् ।
साल्टर ७३ भुस्याहा कुकुरको रेखदेखमा ६ वर्षदेखि समर्पित बेलायती नागरिक हुन् । काठमाडौंका गल्लीमा भेटिने भुस्याहा कुकुरप्रति उनको लगाव देख्नहरु उनलाई ‘लेडी डग’ का नामले चिन्छन् । पशु संरक्षणमा विशेष योगदान पुर् याएबापत् हालै उनी एक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइन् । अमेरिकी ह्युमन सोसाइटी इन्टरनेसनलले उनलाई यो सम्मान दिएको हो ।
साल्टरका बुवा उनलाई हेयर ड्रेसर बनाउन चाहन्थे । चित्रकारितालाई पेसा बनाउन नसकिने उनको तर्क थियो । बुवाको चाहना उनले लत्याउन सकिनन् । हेयर ड्रेसर भएर थुप्रै देशका पाँचतारे होटलमा काम गरिन् । यही सिलसिलामा पहिलोपटक नेपाल आएकी थिइन् उनी ।
यो १९६८ तिरको कुरा ।
त्यतिखेर नेपाली महिला सारी-ब्लाउजमात्र लगाएर हिँड्थे – पहिलोपल्ट नेपाल आउँदा उनले संगालेको अनुभव यही हो । ‘तिमी केटा हो’ स्कर्ट र जिन्स लगाउने उनलाई काठमाडौंका गल्लीमा यस्तै प्रश्न सोधेर हैरान पारिन्थ्यो ।
‘होइन’ उनको जवाफ सुनेपछि स्थानीय खित्तित्त मुख छोपेर हाँस्थे ।
‘नेपालीको अनुहारमा बेग्लै भाव थियो’ ४२ वर्षअघिको काठमाडौंलाई अहिलेको काठमाडौंसँग तुलना गर्दै उनी भन्छिन् ‘नेपालीमा धेरै परिवर्तन आएको छ ।’
इन्डोनेसियाका कलाकारबाट प्रभावित साल्टर त्यसपछि १९७५ मा आफ्नो जन्मथलो छाडेर कला विस्तार गर्न नेपालको पूर्वी पहाड आइपुगिन् । यहाँका हिमाल, पहाड र तराई सबै क्षेत्र घुमेर फरक संस्कृति बोकेका मानिसलाई रेखामा उतार्न उनलाई मज्जा लाग्छ । उनका चित्र नेपाल र विदेशका धेरै प्रतिष्ठित ठाउँमा प्रदर्शन भइसकेका छन् ।
नेपालीको निर्दोष, निश्चल मुस्कान र अनुहारको रौनकले सधैं चित्र कोर्न लोभ्याएको उनको अनुभव छ । नेपालमा कोरेका केही चित्र त उनले कहिल्यै नबेच्ने प्रण गरेकी छन् । बगैंचा गोडमेल गरिरहेकी एक वृद्ध महिलाको तस्बिरले आफूलाई सबभन्दा बढी प्रभाव पारेको उनी बताउँछिन् ।
‘तस्बिर बनाएको केही दिनमै उनको ती वृद्ध महिला निधन भयो,’ उनी भन्छिन् ‘पछि भेट्ने मौकाधरी पाइनँ । यसले मलाई दुःखी तुल्यायो ।’
कला रोज्न पश्चिममा भन्दा पूर्वमा धेरै विषय छ भन्ने उनलाई लाग्छ । त्यही भएर पश्चिमा देशका सुखसुविधा त्यागेर उनी नेपाललाई नै आफ्नो थातथलो बनाइरहेकी छन् ।
र कर्मथलो पनि ।
नेपाल बसाइका क्रममा १९७५ देखि उनले यहीँका युवक प्रेमलाललाई अभिभावकत्व दिँदै आएकी छन् । यसले उनलाई नेपाल ‘घरजस्तै’ लाग्न थालेको छ । अर्को पनि कारण छ जसले उनलाई नेपाल छाड्न पटक्कै मन लाग्दैन – तिनै भुस्याहा कुकुर जसका लागि उनी एकमात्र सहारा बन्दै आएकी छन् ।
गैरीधाराको घरमा उनलाई भेट्न जानेहरुलाई ताज्जुब लाग्नसक्छ यी वृद्ध महिला सडकबाट उद्धार गरिएका चार भुस्याहा कुकुर र दुई बिराला च्यापेर बसिरहेकी हुन्छिन् । उनको घर छिर्नेबित्तिकै ती कुकुर पुच्छर हल्लाउँदै ढोकैसम्म स्वागत गर्न आइपुग्छन् । बेलाबेला भुकेर तपाईंको सातो लेला । पुच्छर हल्लिएको देखेर दंग पर्ने कि भुकेको देखेर आत्तिने भनेर दोधारमा पर्नुहोला । तर नआत्तिनुस् । साल्टरले यस्तरी प्रशिक्षण दिएकी छन् मान्छे राम्ररी नखुट्याई दाँत गाडिहाल्ने बानी छैन ।
असल पाहुना हुन् जस्तो लागे तुरुन्तै झ्याम्मिन आइहाल्छन् । तपाईंको छातीसम्म पुग्नेगरी बुरुकबुरुक उप्रुन्छन् । तपाईंलाई चित्रैचित्र भरिएको बैठक कोठाको बाटो देखाइदिन्छन् ।
घरमा सबभन्दा प्यारो छ ‘टेरा’ । ऊ नेपालीभन्दा अंग्रेजी भाषा बढी बुझ्छ । ‘टेरा आइजो’ भनेर बोलाए उसको रौं पनि हल्लिँदैन । तर ‘कम टेरा कम’ भन्यो भने पुच्छर हल्लाउँदै दुई बित्ता उप्रुेर नजिक आइपुग्छ । अनि खुट्टा पसारेर बस्छ ।
काठमाडौंमा बस्दादेखि नै साल्टरलाई गल्लीमा जताततै देखिने भुस्याहा कुकुरको दयनीय स्थितिले पिरोल्थ्यो । वर्षेनी ती कुकुरको संख्या बढेको देख्दा उनको मनमा छटपटी हुन्थ्यो । नगरपालिकाका कर्मचारीले सडकका कुकुरलाई मासुमा विष मिसाएर मारेको सुन्दा उनका आँखा रसाउँथे । तीन दसक बित्दा पनि भुस्याहा कुकुरको हविगत उस्तै देखेपछि उनले अठोट गरिन्- म यही क्षेत्रमा काम गर्छु ।
उनले ‘हेल्प इन सफरिङ’ नामक भारतीय संस्थाबाट सडकमा छाडिएका पशुको संरक्षण गर्ने गतिलो उपाय भेटिन् । त्यहाँबाट फर्केर सन् २००४ मा काठमाडौं टि्रटमेन्ट सेन्टर क्याट स्थापना गरिन् । यहाँ १५ कामदारको सहयोगमा वर्षेनी चक्रपथभित्रका एक हजार पाँच सय भुस्याहा कुकुरको उद्धार र बन्ध्याकरण गरिन्छ ।
थुप्रै सहरबासीले क्याटबाटै उद्धार भएका भुस्याहा कुकुरलाई घरको संरक्षक बनाउन थालेका छन् । यो परिवर्तन देखेर उनलाई लाग्छ – मानिसले नबुझेर मात्रै गल्लीका कुकुरलाई हेला गरेका रहेछन् । ‘संस्कार पाएपछि सडकका कुकुरले पनि सभ्यता पाउँछन्’ उनी भन्छिन् ‘पहिला मानिसले यसरी बुझ्लान्जस्तो लागेको थिएन । आजकाल भुस्याहा कुकुरलाई घरमा पाल्न लालायित छन् ।’
६ वर्षयता साल्टरले काठमाडौंका गल्लीमा भुस्याहा कुकुर निकै कम देख्न थालेकी छन् । नजिकैका रेस्टुरेन्टहरुले बाँकी बचेका खानेकुरा क्याटमा तिनै कुकुरको खाजाका लागि पठाउने गर्छन् ।
सडकका बेवारिसे कुकुरले साल्टरको मनभित्र त ठाउँ पाए तर चित्रमा स्थान बनाउने अवसर भने ७ वर्षे जेस्सीलाई मात्र जुर् यो ।
जेस्सीलाई उनले सडकबाटै उठाएर घर ल्याएकी थिइन् । तर केही वर्षमै त्यो मर् यो । ‘संसारको सबभन्दा पि्रय वस्तु गुमेको चोट पर् यो मलाई,’ उनी भन्छिन्,’ त्यही कुकुरमाथि आफ्नो सबै माया पोखेर चित्रमा उतारेकी छु । अरु कुकुरको चित्र बनाएकी छैन ।’ जेस्सीसँग बिताएका क्षण सुनाउन आग्रह गर्दा उनी मलिन अनुहार लाएर निकै बेर टोलाइन् । जवाफ केही आएन ।
पछिल्लो समय विशुद्ध चित्रकारबाट उनी ‘एक्टिभिस्ट’ बनेकी छन् । उनका रेखाचित्र र आकृति चित्रमा विकासविद् हर्क गुरुङको शब्द कोरिएको संगालो ‘फेसेस अफ नेपाल’ भन्ने छुट्टै पुस्तक निस्केको छ । साल्टरले पछिल्लो समय भारतीय वेश्यालयबाट उद्धार गरिएका र एचआइभी भएका नेपाली चेलीको भावना आफ्नो चित्रमा उतारेकी छन् । ‘डन्ट टर्न योर ब्याक अन अल आवर डर्टस्ः किप द प्रमिस’ शीर्षकको चित्र हालसालै काठमाडौंमा प्रदर्शन गरिएको थियो ।
१० वर्षदेखि माइती नेपालसँग आबद्ध रहेर काम गरिरहेकी उनले सुरुमा युवतीहरुसँग काम गर्दा निकै गाह्रो हुने सोचेकी थिइन् । तर तिनलाई चित्रमा उतार्दै जाँदा उनी ती युवतीसँग झ्याम्मिँदै गइन् । ’em पनि उनीसँग नजिकिँदै गए ।
नेपाली चेलीको अनुहारमा झल्किने मानवता माया-ममता र सहिष्णुतालाई सजीव रुपमा चित्रमा उतारेकी साल्टर ती चेली’bout भन्छिन् ‘कुनै सानो संयोगले हामी त्यहाँ पुगेनौं उनीहरु पुगे । हामीले भन्दा बढी जीवन उनीहरुले भोगेका छन् ।’
सडकका कुकुरको संरक्षण र सामाजिक काममा व्यस्त रहनुपरेकाले चित्रकारिता पछि पर्दै गएको उनको अनुभव छ । ‘अब म आफ्नो चित्रकारितामा बढी व्यस्त हुन्छु,’ उनी अठोट गर्छिन् ‘म कला र कुकुर दुवैको पारखी हुँ ।’

P.S. यो ‘स्टोरी’ नागरिकको ‘जीवनशैली’ पृष्ठमा प्रकाशित भएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )