जमेको जोडी

यो लेख आजको नागरिक जीवनशैलीमा प्रकाशित भएको हो ।

गाउँको मुखियाकी छोरी थिइन्, उनी । नरबहादुर धमाल भने गाउँ डुल्दै हिँड्ने गधापच्चीस ननाघेका अल्लारे । त्यो पारामा सजिलै मुखियाकी छोरीसँग विवाह गर्नु चानचुने कुरा थिएन । त्यसमाथि पनि भर्खर तेह्र टेकेकी केटी । उनीभन्दा दोब्बर उमेरको केटो । ‘अहिले भए बालविवाहको मुद्दा नै लाग्थ्यो,’ नरबहादुर हाँसे । मैले यसै मौकामा उनको उमेर’bout सोधेँ ।

‘होइन त्योचाहिँ नभनौं होला,’ प्रश्नमा उनले श्रीमतीसँग साउती गर्दै भने, ‘एक किसिमले भन्ने हो भने म सिनेमाका कलाकारको जस्तै उनको फ्यान थिएँ ।’ श्रीमानको दाहिनेसँग आफ्नो देब्रे घुँडा जोडर पलेटी मारेर बसेकी श्रीमती लजाइन् । हजुरबुवा हजुरआमाको कुरा सुनेर बसेकी आठवर्षे नातिनी खित्का छोडेर हाँसिन् । मुखिया घरानकी छोरी भए पनि ससुरा बितिसकेका थिए । सासुलाई जेनतेन रिझाएर भारततिर गइरहने आफ्नो रवाफ देखाएर विवाह गरिछाडे उनले ।

३२ सालमा यसरी विवाह गरेका दम्पतीमा अहिलेजस्तो प्रेम नै कहाँ हुन सक्यो र महोत्तरी जिल्लाको बर्दिवासका शिवमाया र नरबहादुरको जोडीले आफ्नो प्रेमकथा कहे । घरव्यवहार भन्यो श्रीमान सधैं धामीझाँक्री भन्दै कहाँ-कहाँ हिँडिरहने । विवाह गरेदेखि नै आर्थिक अभावले गाँजिरह्यो । त्यो बेला नरबहादुर धमलाको सुकुमवासी बसाइ इटहरीमा थियो । तर वर्षौंदेखि गर्दै आएको ऐलानी जग्गाले जेनतेन पेट पाल्न पुगेकै थियो ।

तेह्र वर्षको कलिलो शरीर माइतीमा पुल्पुलिएर हुर्केकी शिवमाया । ‘श्रीमानको घरमा के गर्ने भन्ने मेलोबाटो पाउनै गाह्रो भयो पहिला त पछि बिस्तारै आफ्नो घरजस्तो लाग्न थाल्यो,’ उनले भनिन्, ‘विवाह गरेर आएकी केटीलाई साँच्चै आफ्नो घर होजस्तो चाहिँ लालाबाला जन्मेपछि मात्रै लाग्दोरहेछ ।’

दिन बित्दै जाँदा लगातार चार सन्तान जन्मिए । तीन छोरा एक छोरी । त्यतिबेला व्यवहार समय विताउनकै लागि चलेजस्तो लाग्थ्यो । ‘अहिलेजस्तो मायाप्रेम भन्ने कुरा त गाउँघरमा सम्झँदा पनि लाज लाग्थ्यो,’ नरबहादुरले भने, ‘कतै जानुपरे पनि बीचमा ठूलो दुरी राखेर म अघिअघि उनी पछि-पछि हिँड्थ्यौं ।’

तर विवाह भएको चौध वर्षपछि एक्कासि यो परिवारमा ठूलो क्षति भयो । इटहरीको बुढीखोला गक्ष दोभानमा एक्कासि आएको पहिरोले परिवारको जेठो सन्तानको ज्यान लियो । ‘हाम्रो त जहाजै डुब्यो त्यो जेठो छोरो कुनै बहुमूल्य जहाजभन्दा कहाँ कम थियो र ?’ सन्तानवियोगमा डुबेकी शिवमायाले परेला भिजाउँदै भनिन् । एक्कासि आएको पहिरोले उनीहरुको जायजेथा धनसम्पत्ति पाखोबारी सबै बगायो । त्यो बेलाको पहिरोले उनीहरुको मात्र नभई गाउँकै ठूलो क्षति गरायो । पहिरोबाट जोगाउन श्रीमतीले सन्तानको उद्दार गरिन् तर श्रीमानलाई आफू जोगिनेबाहेक अरु हेक्का नै आएन । ‘मलाई त आफू कसरी बाँच्ने भन्ने मात्रै दिमागमा आयो श्रीमती छोराछोरीको वास्तै गरेनछु,’ नरबहादुरले भने ‘तर नारीजाति कति सहनशील हुन्छ त्यो बेला मैलेजस्तै उनले सोचेकी भए अरु तीन कलिला सन्तान त्यो पहिरोबाट जोगिने थिएनन् ।’ जेठोलाई चाहँदा-चाहँदै तैराउन सकिनन् । त्यो भयावय बाढीले उसको लाससम्म कहाँ लग्यो पत्तो भएन । सँगै बसेकी श्रीमतीको आँखा अझै ओभाएका छैनन् । त्यो पहिरोसँगै उनका खुसीका दिन पनि सकिए । हुर्किंदै गरेका तीन सन्तान बुढाबुढीसम्मको पाँचवटा ज्यानलाई न ओत लाग्ने घर थियो न खाने अन्न । कोही आफन्तको सहारा खोज्नुको विकल्प थिएन ।

त्यही क्रममा पाँचजनाको परिवार काठमाडौंमा बस्दै आएका माइतीको सहारा लिन पुगे । त्यति ठूलो परिवार अरुको घरमा सधैं रहिरहन पनि कहाँ सक्थ्यो र ! डल्लुको एउटा कोठा भाडामा लिएर बस्न थाले । माइलो छोरो १२ वर्ष पुग्दा अरु त भान्टाङभुन्टुङ नै थिए । काठमाडौंमा बाँच्नका लागि नरबहादुर ऊनको मेसिन चलाउने काम गर्न थाले । श्रीमती खोलाकिनारमा गिट्टी कुट्ने र माइलो छोरो कलिलो उमेरमै छिमेकीको डोको बोक्न थाल्यो ।

त्यसैबीच अर्को अप्रत्याशित आइलागेको घटनाले उनीहरुमा थप संकट ल्यायो । मातेको सुरमा ऊनको मेसिन चलाउँदा खुट्टा त्यहीँ परेर कुर्कुच्चा छुट्टियो । दुई वर्षसम्म माइती र आफ्नो कमाइमा उपचार गरेपछि उनको खुट्टा हेर्नलाई त ठिकै भयॊ तर राम्रोसँग चल्न सकेन । अहिले पनि खुट्टा खोच्याएरै हिँड्छन् उनी ।

यसरी पाँच वर्ष काठमाडौंको महँगीमा बस्दा उनीहरुको परिश्रम पेट भर्न र उपचार गराउन सीमित भयो । छोराछोरीलाई पढाउन सकेनन् । त्यहीँ बसेर त बाचुन्जेल दुईछाक टार्नुको मात्रै संघर्ष देखे । शिवमायाका जेठा भाइले महोत्तरीको आफ्नो जग्गामा परिवारसहित बसेर खेतीको रेखदेख गरिदिन अह्राए । त्यही आसमा काठमाडौंको बसाइ छाडेर उनीहरु २०५२ सालमा महोत्तरी बिजुलपुर डाँडाटोलमा बसाइ सरे ।

वर्षौंदेखि बाँझो रहेको खेतीमा कमाइ लगाउन निकै गाह्रो भयो । त्यसैबेला गाउँका मुखियाले उसको घरमा पूरै परिवार बसेर काम सबै गरिदिने आश्वासन देखाए । त्यहाँ काम गरेपछि खान र बस्ने समस्या हट्यो । बिस्तारै मेलापात र धामीझाँक्रीको काममा जाँदा अलिअलि आर्थिक जोहो हुँदै थियो । बिस्तारै माओवादीको उदय भएको थियो । मुखियाकोमा त्यसरी काम गरेर बस्ने अवस्था रहन सकेन । उनीहरुले विकल्पका रुपमा तिनै मुखियासँग ऋण गरेर ऐलानी जग्गा डेढ कट्ठा किने । २०५५ सालदेखि यसैगरी यो जग्गामा सानो छाप्रो बस्दै आइरहेका छन् । अहिले उनीहरु धमला दम्पतीसँग कुराकानी पनि यसैको छिडीमा हँुदैछ ।

विवाहपछिका वर्षमा उनीहरुको जीवन यहाँबाट त्यहाँ मात्रै भएन । ०४६ सालमा जेठो सन्तान बगाएपछि श्रीमान्ले त्यो घाउ निको बनाउन रक्सीको मद्दत लिए जसको पीडा शिवमायाले सौता भित्रेजस्तै भोग्नुपर् यो । उनको धामी पेसाले पनि रक्सीको टक बसाइदियो । दिनरात श्रीमानले दिने असह्य पीडा सहनुपर्ने । कहिले भुत्ल्याउने लात्तीले हान्ने खाना समयमा नपकाएको भन्दै गाउँमै तमासा गर्दै अश्लील शब्दले सराप्ने गर्न थाले श्रीमान । ‘जाँडरक्सी पिउने मान्छेलाई श्रीमती छोराछोरी सबै नै त्यही हुँदोरहेछु शिवमायाले भनेका कुरा सुनेपछि नरबहादुरले भने ‘अहिले सम्झँदा आफैलाई लाज लाग्छ देवीजस्ती मान्छेलाई पिट्न मेरा हात कसरी उचालिए होलान् ।’

पीडा पनि कम्ती दिए र उनले ! हातमा जे आउँछ त्यसैले हान्दा शिवमायाको कन्चट घाँटी र अनुहारमा थुप्रै टाँका लागेछ । रक्ताम्य आमा देखेर कतिपल्ट त छोराछोरी नै डराए । नरबहादुर भन्छन् ,’रक्सी त साँच्चैको शत्रु थियो कसैले केही भने पनि आफ्नै श्रीमतीमाथि शंका लाग्ने ।’ त्यही शंका गरेर पिट्ने भएर शिवमाया घरको चौघेराबाट बाहिर पनि निस्कन सक्दिनथिन् । ०५५ सालदेखिका नौ वर्षसम्म यसरी उनी कठोरतम तरिकाले घरभित्रै बसिन् । माहिलो छोरा हुर्किसकेकाले भारत गए । अर्काको देशमा केही गर्न नसकेपछि फर्केर आमाकै घरमा आए ।

छोराको विवाह भयो । खाने मुख बढे तर कमाउने मेलो बनेको थिएन । कान्छा छोराले भारतकै सहरको मन्दिरमा चौकीदारको काम गर्छन् । एक्ली छोरीलाई बसाइ सरेकै बेला विवाह गरिदिइन् । तर श्रीमानजस्तै ज्वाईं पनि एक नम्बरका पियक्कड परेछन् । छोरी त्यो केटासँग टिक्नै नसकेपछि अर्को केटासँग भारततर्फ गइन् । वर्षौं खबर नआएपछि गाउँले धेरैले उनलाई बम्बईको कोठीमा बेचिएको हल्ला ल्याए । त्यो अवस्थामा शिवमायालाई मानसिक पीडा भएको थियो । कोही मानसिक परामर्श दिने मानिस थिएनन् । उनी डराएजस्तो लगलग काम्ने एकोहोरो भएर मान्छे आएको हेक्का नराख्ने भइन् । त्यो देखेर पहिला त गाउँलेले शिवमाया बौलाहिछसमेत भने ।

आफ्नो पीडा आफैसँग थियो छोरीको त्यो खबर श्रीमानबाट पाउने दैनिक पीडा अनि छोराहरुको निराशा देखेर उनी आफैले लगाएको सारीको पासो लगाउन पनि नखोजेकी होइनन् । तर जब उनी अब मर्छु भनेर पासो लगाई आँखा चिम्म गर्दा कुनै एउटा अपरिचित स्वरले रोक्यो । स्वरले भन्यो,’तँ किन मर्छेस् तेरा त्यति निर्दोष सन्तान छन् । तँ पनि पासो लगाएर मरिस् भने भोलि ती सन्तानले तेरो स्वर्गको ढोका नै बन्द गरिदिनेछन् ।’ यो आवाज सुनेपछि उनी आफै चिमोटिएजस्तो भयो । ती छोराछोरीको यादले उनले मर्ने निराश विकल्प त्यागिन् र घाँटीमा लगाएको सारी कम्मरमा बेरेर घर फर्किन् । वर्षौंअघिको यो कुरा आज बल्ल श्रीमानले थाहा पाउँदैछन् । नरबहादुरले निकै चित्त दुखाएर भने, ‘कठै मैले मेरी यस्ती सहनशिला पत्नीमाथि कस्तो अन्याय गरेको रहेछु धिक्कार छ मलाई !’

यस्तै हुँदा उनले २०६४ सालमा गाउँमा बनेको नयाँ महिला समूहमा सहभागी भइन् । दैनिक उनले श्रीमानबाट पाउने यातना गाउँले महिलालाई थाहा थियो तर यो कुरा कसरी समाधान गर्ने उनलाई थाहा थिएन । पछि गाउँकै आमा समूहले जोडीलाई नै राखेर छलफल चलाउने योजना ल्यायो । जसमा गाउँका सबै महिला भेला भएर पारिवारिक समस्या भएका दम्पतीलाई सभामा भेला गराउने र ’emलाई आफूमा भएको समस्या र त्यसको समाधान के हुनसक्छ छलफल गराउने । यसैगरी शिवमाया र नरबहादुर पनि छलफलमा सहभागी भए ।

समूह मात्रैले त के हुन्थ्यो टाउकोमा केश फुल्दै गएर आफ्नो तागत कम हुन थालेपछि बुद्धि फिर्दोरहेछ । अहिले बल्ल आफूले श्रीमतीमाथि अन्याय गरेको कुरा महसुस हुन्छ । बिस्तारै-बिस्तारै अब त रक्सीको कुलत पनि छुट्यो । नरबहादुरले भने ुआइमाई भनेका पैतालाको धुलो हुन्जस्तो लाग्थ्यो ।’
अहिले उनी विगतप्रति पश्चाताप गर्छन् । घरको काममा श्रीमतीलाई भरपुर सघाउँछन् । दुई वर्षदेखि निरन्तर सहयोग र माया पाएकी शिवमायाले बल्ल संसार कति प्यारो हुँदोरहेछ थाहा पाइन् । हुन त समस्या अहिले पनि नभएको होइन । ऐलानी जग्गामा बस्दै आएका उनीहरुको ९० हजार रुपैयाँ ऋण छ । कुन दिन त्यो ऐलानी जग्गा छोड्नुपर्ने हो थाहा छैन ।

आजकाल नरबहादुर श्रीमतीलाई तँको सट्टा तिमी भन्छन् किनकि उनलाई लाग्छ, ‘हामी त साथी-साथी पो रहेछौं ।’ त्यसैले त शिवमाया अहिलेको आफ्नो दाम्पत्य सम्बन्ध’bout ढुक्क भएर भन्छिन्, ‘मेरो म उहाँको ।’

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )