विवाह मौसम र सपिङ्ग बानी

यो डायरी मैले एक हप्ता अघि लेखेको थिएँ कारणवश आज अपलोड गर्दै छु । हिजो विवाह मजैले मनाइयो ।


यो वर्षकै अन्तिम लगन आउँदो २४ गते भएकाले थुप्रैले त्यही दिन लगन छोपेर बिहे गर्दैछन् । आफ्नै सन्दर्भमा पनि एकजना आफन्त र अर्को एउटी मिल्ने साथी दुबैको एकैदिन विवाह परेको छ । एउटी सानैमा बेहुली बनि खेल्ने बेला देखिकी आफन्त साथी अनि अर्को चाहिँ काठमाडौँ विश्वविद्यालय पढेदेखि एउटै कक्षा एउटै बेन्च बसेर विवाहको निम्तो मैबाट बाँढ्न सुरु गरेकी साथी । दुबै संगको आत्मीयताले विवाहमा नजाने कुरै भएन । तर जान त जाने के लगाएर जाने सधैँ विवाह पार्टी भन्ने वित्तिकै किनमेलको चिन्ता हुन्छ । आफू संग जिन्स र बक्स पाईन्टको चाङ्ग बाहेक केही छैन ।

साथी शिखाले विवाहको कुरा उठ्दा भनेकी थिई हेर है बिनि मेरो विवाहमा त हिरोईन भएर आउनुपर्छ सँधै यो पाराले हुँदैन । उसको कुरा सुनेपछि मैले आफूले लगाएको पुरानो स्पोटस्र शु जुत्ता खुईलिएको कालो जिन्स भद्दा ज्याकेट अनि साईड ब्याग हेर्दै भनेको थिएँ अरे यार म त यसमै आउँछु । उसको सुझाब थियो बिहेको पार्टीमा आउँदा कमसेकम सारी नलगाए पनि राम्रो पार्टी वेयर कुर्ता लगाउनुपर्छ फर्मल देखिन्छ । सुझाव मेरै पक्षमा थियो । मनमनै सोचेँ हेरौँ के हुन्छ । घरमा आमा पनि सधैँ भन्नुहुन्थ्यो अब त यसो विवाहमा जाँदा कुर्ता पनि लगाउने गर्नुपर्छ ।

आफ्नै उमेर हाराहारीका साथीको विवाह हो । सारी त अरुले लगाएको देख्दै मलाई असजिलो हुन्छ । सोचेँ कुर्ता चाहिँ किन्नुपर्छ की क्या हो ? तर आफू मात्रै गए कस्तो खालको कुर्ता किन्ने छान्न र दाम गर्न जान्दिनँ । दिदीलाई साथी लिएर चाबहिल चोक तिर गएँ । पार्टी वेयर भन्ने बितिकै थरीथरी बुट्टेदार कुर्ता देखाए ब्यापारीहरुले । अहिलेको फेसन यो भन्दै निकालेका भिन्न भिन्न कुर्ता मात्रै चालिस जोर जति थिए । कुनै कुर्तामा बुट्टा धेरै भरेको कुनैमा भर्दै नभरेको कुनैको कपडा नराम्रो अनि कुनैको चाहिँ डिजाईन नै नराम्रो । दिनभरी बजार घुम्दा बल्ल एउटा कुर्ता ठिकै लाग्यो ।

चेन्जिङ्ग रुममा गएर लगाई हेरेको निकै राम्रो लाग्यो । दिदीलाई पनि मन पर्यो । हामीले मनपराएको मनोबिज्ञान ब्यापारीले कति चाँडै बुझे गाँठे । ती साहुनीले भनिन् यो अम्ब्रेला डिजाईन कहिलै फेसनबाट आउट डेट हुँदैन फेरी तपाईको जस्तो सानो उचाई भएकालाई यो कुर्ता र चुँडिदार सुरुवाल खुबै सुहाउँछ । उनले हामीलाई मख्ख बनाउन खोजे पनि आफैँलाई चित्त बुझेकाले किन्ने सोच भयो । भाउ कति हो त सोध्नैपर्यो । साहुनीले भनिन्, ‘खासै महङ्गो छैन चार हजार मात्रै हो यो पिसको ।’ ओहो उनलाई खासै महङ्गो भएन तर मैले मनमनै सोचेँ एउटा कुर्ता किन्न मैले चारवटा लेख छपाउन पर्दोरहेछ । सायद उनले मेरो अनुहार पढिन् र भनिन्, ‘भाउ त अलि अलि मिलाई हाल्छु नि ।’ तर भाउ सुनेपछि कुर्ता चित्त बुझेको भए पनि म संग त्यो दिनका लागि पुग्दो पैसा थिएन । साँझ पनि पर्नै आँटेकोले हामी केही नभनि बाहिर निस्कियौँ ।

के गर्नु मन त परेकै छ । तीन हजारसम्ममा पाए किन्नुपर्यो भनेर भोलिपल्ट गएको त साहुनीले हिजै मात्रै बोलेको कुरा फेरेर भनिन्, ‘मैले त हिजै चार हजार पाँच सय भनेको थिएँ मनपरेकै हो भने अन्तिममा चार हजार सम्ममा लैजानु ।’ अरु भन्दा पनि हिजोको आजै कुरा बदलेकोले मलाई रिस उठ्यो । सधैँको मेरो पाईन्ट नै जिन्दाबाद!!! यो पटक पनि त्यही लगाएर विवाहमा जान्छु भन्ने सोचेर म फर्किएँ ।

मैले किन्न खोजेको कुर्ता त घाँटीमा मात्रै भरेको ठिकै खालको थियो । त्यसकै पनि चारहजार भनेपछि पुरै भरेकाहरुको त दश हजार हाराहारीको हुँदोरहेछ । त्यो पनि कुनै ठूलो सपिङ्ग मल र बुटिक नजाँदा । मेरो दिमागले रफ्तारमा हिसाब गर्न थाल्यो । कुर्ता त्यसतो भएपछि त्यो अनुसारको कपाल रङ्गाएर सुहाउँदो कट दिनुपर्यो आँखीभुइँ मिलाएर थि्रयडिङ गर्नुपर्यो अनुहारमा फेसियल गर्नैपर्यो कानमा इयररिङ्ग लगाउनुपर्यो हातखुट्टामा नङ्ग पालिस र मेहन्दी लगाउनुपर्यो । त्यसबाहेक हाईहिल जुत्ता खोइ पार्टी वेयर ब्याग खोई सुनका गहना खोइ फेरी अहिले महङ्गी कहाँ छैन यी सबैको हिसाब गर्ने हो भने एकपटक विवाहमा जान झण्डै दश हजारको खर्च चाहिँदोरहेछ । अझै सारी नै सोचे त त्यसको दोब्बरले पनि पुग्दैन । त्यो पनि म जस्तो सामान्य कपडा पसल गएर हिसाब गर्दै खर्च गर्नेलाई । आफ्नै हिसाबले बेफिकि्र गर्नेलाई त कति हो कति । फेरी यस्ता सामान किने पछि एकदुई वर्षै पुगिहाल्छ भन्न पनि नमिल्ने ।

आफन्त त्यही साथी त्यही कति एकैजोर मात्रै लुगा लगाएर जाने भन्ने सोचाई छ हाम्रो । त्यसमाथि हामीलाई नचाहिँदो आँधी चाहिँ यी हिन्दी सिरियलले लगाई दिएका छन् । सिरियलकै भरमा पुरा टेलिभिजन चल्छन् भारतमा त्यसको प्रभाव हाम्रा शहरिया र केही गाउँका महिलालाई पनि मज्जैले परेको छ । त्यसैले त आजकाल कुर्ता सारी देखाउनुपरे ब्यापारी भन्छन् ,’यो इण्डियन सिरियल आईटम हो ।’

अब कुरा गरौँ यी सामान किन्न हामी नेपालीको औसत कमाई कति हो भन्नेमा । एउटा सरकारी अधिकृतको कमाई अहिले जम्मा पन्ध्र हजार हाराहारी छ । त्यसो भए यस्ता कपडामा पहुँच निकै थोरैको छ । विशेष भन्दा यस्ता कुरामा दिल खोलेर खर्च गर्न उच्चकोटीको जागिर हुनुपर्छ । वा कुनै भ्रष्टाचारीको श्रीमति र छोरी भए मात्रै हो ।

महिलाको दाँजोमा पुरुषका पनि त्यतिकै महङ्गा सामान होलान् । तर उनीहरुको सपिङ्ग मोह र महिलाको सपिङ्ग मोहमा आकाश जमिन फरक छ । फेरी हाम्रो समाजमा पुरुषको अनुपातमा महिलाहरु थोरै मात्रै रोजगार छन् । सम्भवत पुरुषको कमाईमा उनीहरुलाई निर्धक्क खर्च गर्न गाह्रो नभएको होला ।

थोरै उच्च बर्गका मानिसको सबल आर्थिक स्थितिको रवाफले पसलेहरु आफ्नो मनलाग्दो भाउ गर्न पाईरहेका छन् । त्यसको प्रत्यक्ष असर अन्य करोडौँ मध्यम र निम्न बर्गका मानिसलाई पर्छ । फेरी यो सामानको यति नै हो भन्ने सबै पसलमा समान दर हुँदैन । त्यसको लागि कुनै मापदण्ड पनि छ्रैन । त्यसैले बार्गेनिङ गर्न सक्ने नसक्नेमा पनि भरपर्छं । ग्राहक हेरेर भाउ गर्छन् ब्यापारी । यसले ग्राहकमा झन् अन्यौलता ल्याउँछ ।

अब फेरी आफ्नै कुरा गरौँ मैले किन्न नचाहे पनि बुवालाई चाहिँ त्यो कुर्ता किन्दिन मनलागेछ । अनि कुर्ताको कलर र डिजाइन बुझेर बुवा कुर्ता किन्न त्यही पसलमा जानुभयो । उहाँलाई पहिला चारहजारको भाउ गरेर अन्तिममा तीन हजार एकसयमा दिएछ । त्यति रुपैँयामा किन्न उहाँले पनि झण्डै आधा घण्टा बार्गेनिङ गर्नुपरेछ । महिलाको सामानमा महिलालाई र पुरुषलाई गर्ने भाउ पनि निकै फरक भएको पाएँ । किनकी महिलाहरु बार्गेनिङ गर्न भन्दा जति भन्यो त्यति नै दिन तयार हुन्छन् । यसले महङ्गि बढ्न सजिलो बनाएको छ । त म यतिका घटना पछि अब त्यही कुर्ता लगाएरै जाने भएँ साथीहरुको विवाहमा । अनि तपाईँले चाहिँ गर्नुभयो त अकासिँदो महङ्गीमा विवाहको सपिङ्ग ?

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )