आँखाभरि पेरिस रोइरहेछ

यो सामग्री नागरिक सप्ताहन्तका सम्पादक सुदिप श्रेष्ठले लेखेका हुन्। सिधै हेर्न नागरिक ब्लगमा छ

कोही सुँक्क-सुँक्क रोएको आवाजले म ब्युँझन्छु।
युरोलाइन्सको डबलडेकर बस आफ्नै रफ्तारमा मलाई लन्डनबाट पेरिस लैजाँदैछ। सिसाबाट बाहिर हेर्छु, रात चकमन्न छ। मात्र तीन आवाज एकनासले कानमा ठोक्किइरहेछन्- हुइँकिँदो बसमा पेट्रोल डकारिरहेको इन्जिन, मेरो आफ्नै मुटुको ढुकढुकी, अनि उही सुँक्क-सुँक्क।
पल्लो लहरको सात नम्बर सिटमा बसेकी छन् उनी। आवाज पछ्याउँदै सिटहरूका कापबाट जासुसी गर्दा मेरो नजर परिहाल्यो। दुवै खुट्टा उचालेर हातले भर दिँदै घुँडाको बीचमा मुन्टो घुसारेकी। पूरै जीउ सिसातिर ढेपेकी। लामो खैरो अस्तव्यस्त कपाल यताउति फिँजारिएको। एकोहोरो सुँक्सुकाइले जीउमा घरिघरि कम्पन छुट्ने।
एक्ली युवती, निद्रा चोर्ने कुन सपना टुटेर हो मध्यरातमा छट्पटाइरहेकी छन्, तर अरू सबै निद्रामै …।
***

२००८ सेप्टेम्बर २०- मेरो ३१ औं जन्मदिन। यही दिन मैले काठमाडौं छाडेको थिएँ आँखाभरि युरोपको सपना लिएर।
तीन सय वर्षअघि केही धनाढ्य अंग्रेज युवा कला, संस्कृति र पश्चिमी सभ्यता खोज्दै फ्रान्स र इटालीको भ्रमणमा निस्केका थिए रे, कहीँ पढेको थिएँ। आफ्नो सम्भ्रान्तीय पहुँच, असीमित बजेट र घुम्नलाई छुट्टयाएको महिनौं (वा वर्षौं) समय थियो उनीहरूसँग। त्यो यात्रालाई ग्रायन्ड टुर नाम दिइएको छ।
म रोयटर्स (अन्तर्राष्ट्रिय समाचार संस्था) ले दिने पत्रकारिता तालिमको बहानामा युरोप छिरेको थिएँ। पाँचदिने तालिम सकेर आधुनिक युरोप हेर्ने र पुरानो सभ्यताका अवशेष खोज्ने योजना थियो, पूरा २५ दिनसम्म। ती अंग्रेज युवाहरूसँग पैसा र पहुँचको कमी थिएन। मसँग भने दिनको ५० पाउन्डभन्दा कम बजेट थियो। केही साथी, साथीका साथी र साथीका आफन्तहरूका इमेल र टेलिफोन नम्बर थिए। तैपनि यो यात्रा कुनै ग्रायन्ड टुरभन्दा कम थिएन।
संसारमा सबै पेरिसियनजस्तो किनमेल गर्न चाहन्छन्, रोमनसरी खान चाहन्छन् र बर्लिनियरजस्तो पार्टी गर्न चाहन्छन्। मैले यी कुनै शैली अपनाउन सकिन। हरेक चिजको भाउ सुनेपछि शुद्ध नेपाली शैलीमा मनमनै १ सय ३५ ले गुणा गरिन्थ्यो। योगफल दिमागमा आएपछि मनको चाहनामात्र के, पेटको भोक पनि त्यसै मर्थ्यो।
अंग्रेजीमा एउटा भनाइ छ, अ पेनी यु सेभ्ड, अ पेनी यु अर्न्ड। एक पेनी (त्यहाँको पैसा) बचाउनु एक पेनी कमाउनुजस्तै हो। पैसा बचाउन म प्रायः दिनभरि घुम्थेँ र रात्रिबस समातेर नयाँ गन्तव्यतिर बढ्थेँ। यसले होटलको खर्च बच्थ्यो।
ती धनाढ्य अंग्रेज युवाहरूलाई मेरो यो यात्रा कल्पनाजस्तो लाग्नसक्छ, जसरी मलाई उनीहरू’bout पढ्दा सपनाजस्तो लागेको थियो।
***

उनको सुँकसुँकले मेरो निद्रा बिथोलिसक्यो।
म चल्मलाउँछु, आफ्नै सिटमा। जुरुक्क उठेर उनको अस्तव्यस्त कपाल सुम्सुम्याउँदै उनलाई सपनाभित्र छिराइदिन मन लाग्छ। आफू पनि पेरिसको सपनामा छिर्न मन लाग्छ। तर उठ्ने साहस हुँदैन। न एकचित्त भएरै बस्नसक्छु।
आज १८ दिन भयो युरोप छिरेको। इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्स घुमिसकेँ। यात्रामा धेरै अनुहार भेटिए, धेरैसँग चिनापर्ची भए। तर रोइरहेकी युवती भेटेको थिइनँ।
फेरि सिटको कापबाट चियाउँछु। उनको बसाइ बदलिएको छ तर रुवाइ उस्तै छ। दुवै खुट्टा भुइँमा झारिसकिछन्। साठी डिग्रीको कोणमा ढल्किएर सिसामा लपक्क टाँसिएकी छन्। अस्तव्यस्त कपाल स्याहारिएको रहेछ। बसभित्रको मधुरो प्रकाशमा उनको धुमिल अनुहार देख्दैछु म। गलाको सिल्भर रङको मसिनो चेन घरिघरि हातले घुमाइरहेकी छन्। लौ, फेरि के भयो कुन्नि हत्तपत्त कालो सिसातिर मुन्टो बटारेर दुवै हातले अनुहार ढाक्दै रुन थाल्छिन्। ओहो, कस्तो दृश्य?
म झ्यालबाट बाहिर नियाल्छु। मल्याकमुलुक बत्तीको उज्यालो देखिन थालेको छ। अलि अगाडि केही गाडी लाम लागेका छन्। कुनै स्टेसन आइपुगेछ क्यारे?
‘हामी डोभर आइपुग्यौं। तपाईंहरू अध्यागमन जाँचका लागि बाहिर निस्कनुस्,’ बसभित्र अनाउन्समेन्ट हुन्छ।
म आफ्नो पासपोर्ट निकाल्छु। उनी पनि झोला खोतल्दैछिन्। म उनलाई पछ्याउन चाहन्छु। त्यसैले त्यत्तिकै अलमल गरिरहेको छु।
***

म लन्डन पुगेको दिन केही बैंकहरू टाट उल्टिएको घटना मुख्य समाचार बनेको थियो। बैंकहरूले धमाधम घरजग्गामा लगानी गरेका थिए। ऋण लिन चाहनेले ठेगाना देखाए पुग्थ्यो।
‘एउटा सीमा नाघेपछि बजारले धान्न सक्दैन। रियलस्टेट बिजनेस (घरजग्गा व्यवसाय) क्र्यास भएको छ,’ बिबिसीका वित्तीय विश्लेषक टेलिभिजनको प्रत्यक्ष प्रसारणमा भनिरहेका थिए, ‘बैंकसँग ऋण लिएकाहरूले किस्ता तिर्न छाडेका छन्। कति त घरै छाडेर भागिसके।’
आकाशमा हल्का कालो बादल मडारिन थाल्यो। पानी छिट्याउन सुरु भइसक्यो। एयरपोर्टबाट होटल आइपुग्दासम्म टन्टलापुर घाम लागिरहेको थियो। एकैछिनमा चिसो बढ्यो।
‘वेलकम टु लन्डन,’ स्कटल्यान्डको एभरडिन बस्ने साथी प्रजय शुक्लले टेलिफोनबाटै मेरो स्वागत गरे।
‘बाक्लो लुगा ल्याएको छस् हैन,’ उनी मेरो भ्रमणको तयारीतर्फ चासो देखाउँदै थिए, ‘यहाँको मौसम र केटीको कुनै भर हुँदैन।’
म ज्याकेटको फस्नर कस्दै मौसमको मज्जा लिन होटलको रुमबाट तल झरेँ। लन्डनको वित्तीय क्षेत्रलाई घेर्न थालेको संकटको खबरले रिसेप्सनलाई पनि छोडेको थिएन।
बाहिर पानीको छिटा थामिइसकेको थियो। केटी त थाहा छैन, मौसमचाहिँ हो रहेछ।
***

हामी अध्यागमन जाँचको लाममा छौं। म उनको ठ्याक्कै पछाडि छु। म बसैदेखि पछ्याइरहेको छु भन्ने उनलाई थाहा नहोला।
अग्ली रहिछे, झण्डै ५ फिट ९/१० इन्च। करिब-करिब मेरै हाइटको। सुलुत्त परेको लामो खुट्टामा ट्याप्पै टाँसिएको कालो जिन्स। ढाडको आधाआधीसम्म झरेको मग्मगाउँदो रेसमी कपाल। म उनको एकदमै नजिक छु। उनको बासनाले मलाई काउकुती लगाइरहेको छ। कुन पर्फ्युम होला कुन्नि?
‘एक्सक्युज मी सर … हेलो … एक्सक्युज मी।’
म झस्कन्छु। अध्यागमन कर्मचारी मेरो पासपोर्ट माग्दैछन्। कस्तो हुस्सु! हातमा बोकिरहेको पासपोर्ट थमाउँदै ढोकातिर हेर्छु। उनी आफ्नो रेसमी कपाल लहराउँदै बाहिर निस्किरहेकी छन्। पाइलाको चाल छिटो छ। आँसुको भेल फेरि फुट्नै आँट्यो कि।
‘बोन भोयज सर,’ अध्यागमन कर्मचारी पासपोर्ट फिर्ता गर्दै मलाई फ्रेन्च भाषामा शुभयात्रा भन्छन्।
‘थ्यांक यु,’ म ढोकातिर हुत्तिन्छु। मेरो पासपार्टमा फ्रेन्च अध्यागमनको ‘अराइभ्ड’ छाप लागिसक्यो।
उनी बसभित्र छिरिसकी होलिन्। म दायाँबायाँ नहेरी लम्किरहेको छु। बसमा छिर्नै आँट्दा एउटा छाया देखिएजस्तो हुन्छ। म अडिन्छु। अलिपर कुर्सीमा एक युवती चुरोट तानेर बसिरहेकी छे। उनै युवती। म एकछिन हेरिरहन्छु। उनी सास फेर्ने म्यादधरी नराखी फुइँफुइँ धुवाँ उडाइरहेकी छन्। बस गुडिहाल्ने हतारले पो हो कि?
‘हाई,’ परदेशमा एक अपरिचित युवतीको अगाडि गएर हात बढाउने साहस कसरी आयो आफैंलाई थाहा छैन। सास घाँटीसम्म अड्किएको छ।
‘हाई,’ उनी आफ्नो नरम हात मतिर बढाउँछिन्। मेरो सास खुल्छ।
‘क्यान यु सेयर अ सिगरेट विथ मी, आइ फर्गट टु क्यारी,’ म कुरा थाल्ने बहानामा उनीसँग चुरोट माग्छु।
‘स्योर।’
एउटै कुर्सीमा बसेर चुरोट पिउँदा मेरो कुइनोले छुस्सछुस्स उनको कुइनो छोइरहेको छ।
***

२६ सेप्टेम्बर, शुक्रबारको दिन लन्डनको तालिम सकियो। एउटा व्यवस्थित बसाइ र व्यवस्थित घुमाइ पनि सकियो। बेलुकीकै टिकट काटेको थिएँ एभरडिन जान, प्रजयकहाँ। आफ्नो झुम्लातुम्ला सप्पै बोकेर कहाँ सास्ती खाइरहनु। लन्डनको किङ्सबरीमा एकजना साथीका दाजु थिए। उनको टेलिफोन नम्बर काठमाडौंबाटै लिएर आएको थिएँ। केही चाहिने लुगाफाटोमात्र बोकेर बाँकी सामान उनैकहाँ छोड्ने विचार आयो।
त्यतिञ्जेल म लन्डनको अन्डरग्राउन्ड ट्रेन र ठाउँ-ठेगानसँग निकै अभ्यस्त भइसकेको थिएँ। हाम्रो ट्रेनिङ भइरहेको थियो केनरी वार्फमा। लन्डनको अफिसियल एरिया। बालुवाजस्तै फुस्कँदो समयलाई हत्केलामा छोप्न हतारिएका ‘एक्जिक्युटिभ’हरू बग्रेल्ती भेटिने ठाउँ।
बिहान केनरी वार्फमा अडिने ट्रेनबाट जो निस्कन्छन्, उनीहरूका काँधमा गह्रौं ल्यापटप ब्याग, काखीमुनि फाइनान्सियल टाइम्सको मुठो र अनुहारभरि व्यस्तताको रेखा भरिएको हुन्छ। कोही ट्रेनमा उभिई-उभिई दिउसो मिटिङको तयारी गरिरहेका हुन्छन्। कोही मोबाइलमा मिटिङको समय मिलाइरहेका। ब्ल्याकबेरी मोबाइलमा।
बेलुकी यहाँबाट छुट्ने ट्रेनमा जो छिर्छन्, उनीहरूका काँध र शिर थकानले यस्तरी लत्रिएको हुन्छ, मानौं दिउसोको कुनै मिटिङमा घाँटी बिर्सिएर आए। धेरै थकानले ट्रेनमै उँघिरहेका हुन्छन्। कसैलाई चाहिँ फर्कंदा पनि फुर्सत हुन्न। ब्ल्याकबेरीमा हराएको हरायै।
म ‘जुबली लाइन’ ट्रेन समातेर किङ्सबरी जाँदै थिएँ, सामान छोड्न। जमिनको सतहभन्दा चार तल्लामुनि झर्नुपर्छ यो ट्रेन चढ्न। पूर्वमा स्ट्याडफोर्ड र उत्तर-पश्चिममा स्ट्यानमोरसम्म तन्किएको छ जुबली लाइन। लन्डनका हेर्नलायक वा नहेरी नहुने सबैजसो ठाउँ यही बीचमा छन्। बहुचर्चित पुल हेर्ने भए लन्डनब्रिज झर्नुस्। संसद भवन र क्लक टावर जाने भए वेस्टमिन्स्टर। बकिंघम प्यालेस घुम्ने? ग्रिनपार्क झरेर एकछिन पैदल हिँड्नस्। र, संसारभरका सेलिब्रिटीहरूको मैन-मूर्ति हेर्न म्याडम टुसाडको संग्रहालय छिर्ने भए बेकर स्ट्रिट ओर्लनुस्। तपाई वेस्टमिन्स्टर झरेर थेम्स नदीको किनारैकिनार पैदल हिँड्न सक्नुहुन्छ। लन्डनब्रिज हुँदै केनरी वार्फसम्मै पुगिन्छ। जमिनभन्दा चार तल्लामुनि जुबली लाइन, माथिमाथि तपाईं।
म त्यही जुबली लाइनमा थिएँ। मेरो आधा ध्यान सामानमा थियो, आधा छेवै उभिएकी तरुनीमा, जो आइपडको टुसो कानमा ठुसेर एकोहोरो जीउ हल्लाइरहेकी थिई। जीउबाट पर्फ्युम र रक्सीको कक्टेल गन्ध आइरहेको थियो। मीठो हो कि नमीठो छुट्टयाउनै गाह्रो। कुनै पार्टीबाट फर्किएकी होली।
अंग्रेजहरू साताभरि कमाउँछन्, सप्ताहन्तमा उडाउँछन्।
***

‘तिमी रोइरहेकी थियौ?’
यो बोलचाल सुरु गर्ने सही प्रश्न होइन। तर के गर्नु, मुखबाट फुत्किहाल्यो।
उनी जवाफमा अर्को चुरोट सल्काउँछिन्। धन्न जुरुक्क उठेर गइनन्। कुइनो छुवाउने क्रम पनि रोकिनन्।
‘म फ्रान्स जान लागेको। लन्डनमा रोयटर्स ट्रेनिङमा आएको थिएँ।’
अघिल्लो गल्ती सच्याउँदै म आफ्नो परिचयबाट कुरा थाल्छु।
‘तिमी पत्रकार हौ?,’ उनको पहिलो वाक्य। स्वर सुनेरै म लठ्ठ परेँ।
‘हो नेपालदेखि आएको।’
‘नेपाल?’
‘सुनेकी छैनौ?’
‘गौतम बुद्ध …’ म हतारिएर आफ्नो देश चिनाउन खोज्छु।
उनी मलाई बीचैमा रोक्दै भन्छिन्, ‘यस् यस्, माओइस्ट रेभोलुसन।’
मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उनी अर्को प्रश्न सोध्छिन्, ‘अहिले कस्तो छ तिम्रो देशमा?’
‘मेरो देशलाई त ठिक छ, के तिमी ठिक छौ?’
‘मलाई के भएको छ र?’
‘अघि बसमा रोइरहेकी थियौ।’
‘होइन।’
उनी कुरा लुकाउँछिन्। भन्न जरुरी पनि छैन। एकछिन दुवै चुप।
‘कसरी थाहा पायौ?’
उनको यो प्रश्नले म छक्क पर्छु। मेरो चासोमाथि चासो दिन थालेकोमा खुसी लाग्छ।
‘तिम्रो सुँकसुँक सुनेर हेरेको थिएँ।’
‘किन हेरेको त?’
‘हो त नि है, यहाँ त कसैले कसैलाई हेर्दैनन्।’
‘हो।’
‘मलाई त्यस्तो मन पर्दैन।’
‘कस्तो?’
‘अरूलाई वास्ता नगर्ने।’
‘किन गर्नुपर्‍यो त?’
‘किन नगर्ने त?’
‘के मतलब?’
‘मान्छे हुँ, एकै ठाउँ जाँदैछौं, एउटै बसमा छौं, मतलब हुन्न?’
‘अरूलाई त भएन।’
‘म अरू होइन।’
‘को त?’
‘साथी भन्न सक्छौ।’
‘कत्ति कुरा जानेको। पत्रकार न पर्‍यौ।’
‘मेरो नाउँ पनि छ,’ म आफ्नो नाउँ बताउँछु। उनी गाह्रो मान्दै उच्चारण गर्छिन्।
‘अनि तिम्रो?’
‘बोनिता।’
***

जुबली लाइन टक्क अडियो। साउथर्क आइपुगेछ। ट्रेनको स्वचालित ढोका खुल्यो। ती तरुनी ह्यान्डब्याग स्याहार्दै निस्कन खोजी। ए, के गरेकी यिनले?
ढोकाछेउको सिटमा एकजना केटो ब्ल्याकबेरीमा इमेल हेरिरहेको थियो। उनले त्यही केटोको हातमा सानो चिट थमाइन्। अनि फुत्त निस्किहालिन्। केटोले दंग पर्दै चिट खोल्यो। फोन नम्बर थियो। तुरुन्त डायल गर्‍यो। ऊ एकदमै सानो स्वरमा बोल्दैथियो। त्यसमाथि ट्रेन गुड्न थालिहाल्यो। मैले सुन्नै सकिनँ। ऊ घरिघरि कपाल मुसार्दै थियो।
केटोको हाउभाउ पूरै अंग्रेज थियो। अनुहारको नापनक्सा भने एसियन। इन्डियन वा पाकिस्तानी हुनुपर्ला। लन्डन बहुसांस्कृतिक सहर हो, अमेरिकाको न्युयोर्कजस्तै। सडकमा अंग्रेजीभन्दा अरू के/के नबुझिने भाषा बढी सुनिन्छन्। त्यसमा पनि ६० वर्षअघि अंग्रेजबाट स्वतन्त्र भएको इन्डिया र पाकिस्तानका धेरै यहाँ आएर अंग्रेजै भइसके।
अर्को स्टेसनमा ट्रेन रोकियो। वाटरलु। त्यो केटो मख्ख पर्दै बाहिरियो।
हेर्दाहेर्दै कसैको डेटिङ फिक्स भयो। त्यही भएर अंग्रेजहरू अगाडि छन्। यिनको सप्ताहन्त त जम्ने भयो। आफ्नो भने रात्रिबसमा एक्लै। उफ!
त्यसैत्यसै औडाहा भएर आयो।
***

‘बोनिता … ब्युटिफुल, मेरो नामको अर्थ।’
अहिले हामी पाँचतारे सुविधा भएको क्रुजमा छौं। उनी आफ्नो नाउँको अर्थ खुलाउँदैछिन्।
अघि डोभरमा कुइनाले कुइना छुवाउँदै कुरा गर्दा मैले उनको नाउँसम्म थाहा पाएको थिएँ। चालकले बीचैमा हतार गर्न थालिहाल्यो। उनी सिटमा एक्ली थिइन्। म पनि एक्लै। तर सँगै बस्ने आँट आएन। उनले पनि डाकिनन्।
डोभरबाट एकछिन गुड्नेबित्तिकै हामी बससहित क्रुजमा छिर्‍यौं। सडकमार्ग भएर पेरिस जाँदा इङ्लिस च्यानल यसरी नै पार गर्नुपर्छ। युरो रेलमा गएको भए संसारको एकमात्र समुद्री सुरुङको अनुभव हुन्थ्यो। तर पैसा बढी लाग्ने रहेछ। मेरो बजेटले नभ्याउने। राम्रै भयो, यही बहानामा बोनिता मेरो साथ छिन्।
क्रुजको लबीमा एउटा कफी मेसिन देखिन्छ। उनी मेसिनको प्वालमा फटाफट सिक्का घुसार्छिन्। कागजको कपमा तातो क्यापेचिनो तरतर झर्न थाल्छ। उनी मतिर हेर्छिन्। मसँग युरो सिक्का छैन।
‘पाउन्ड पनि चल्छ,’ उनी भन्छिन्। म मुस्काउँदै कागजको कपमा बाक्लो क्यापेचिनो भर्न थाल्छु। हामी दुवै झ्यालछेउको टेबलमा जान्छौं। उनी कफीको कप टेबलमा राखेर झोला खोल्छिन्। बिस्कुट र केही चिप्स रहेछन्। उनी एक टुक्रा बिस्कुट चपाउँदै कफी सुरुप्प पार्छिन्। मलाई पनि खान अफर गर्छिन्।
‘ब्युटिफुल,’ म बिस्कुट उठाउँदै भन्छु।
‘हुँ,’ उनी पुलुक्क मतिर हेर्छिन्।
‘तिम्रो नाउँको अर्थ।’
‘हो।’
‘कुन भाषा हो यो?’
‘स्पेनिस।’
‘त्यसो भए तिमी फ्रेन्च होइनौ?’
‘म फ्रेन्चजस्ती देखिन्छु र?’
‘होइन त्यसै सोधेको।’
‘म स्पेनिस हुँ। फ्रेन्च केटीहरू त साह्रै घमण्डी हुन्छन्।’
‘तिमी छैनौ?’
‘भएको भए तिमीसँग कफी खाएर बसिरहेको हुन्थें?’
हा-हा-हा, उनी बेस्कन हाँस्छिन्। हाँस्दा दुवै गालामा खोबिल्टा पर्दारहेछन्। खुबै सुहाउने।
त्यहीबेला मैले लन्डनमा लिएको मोबाइलमा एसएमएस आउँछ। म छक्क पर्छु। सेवाप्रदायक कम्पनी टि-मोबाइलको सन्देश रहेछ- वेलकम टु फ्रान्स।
***

तालिमले खुबै थाकेको रहेछु, रातभर बसमा आँखै उघ्रेन। घरिघरि प्रजय फोन गर्थे। ऊचाहिँ मेरो प्रतीक्षामा निदाउन सकेको रहेनछ। सिद्धार्थ वनस्थलीमा कक्षा ६ पढ्दादेखिको दोस्ती हो हाम्रो।
अघि ट्रेनकी जस्तै सप्ताहन्त मनाउन आतुर तरुनी बसमा छेउछाउ भेटिएला भन्ने आशा थियो। तर सँगै पर्‍यो एकजना केटो। ऊ पनि एसियनजस्तै लाग्यो। चाइनिज, कोरियन, जापानी वा नेपाली नै। तर ऊ चुपचाप थियो।
नेपाली भइदिएको भए त, म मोबाइलमा बोलेको सुनेर गफ गर्न आउनुपर्ने।
***

‘म तिम्रो सिटमा आउँ, कि तिमी आउँछौ,’ क्रुजमा झण्डै एक घण्टा कफी थपीथपी गफ गरेपछि म खुलिसकेको छु।
‘त्यहाँभन्दा यहीँ सजिलो होला,’ म उनको इसारा बुझिहाल्छु।
हामी सँगै छौं। अब कुइनोमात्र होइन, मेरो देब्रे भाग पूरै उसको दाहिने भागसँग टाँस्सिएको छ।
***

घामले सिसा टल्केर आँखामै पर्‍यो। म ब्युँझिएँ। कति मीठो निद्रा लागेछ।
बसको ठूलो सिसाबाहिर आँखाले भ्याउञ्जेल कृषि फार्महरू देखिए। कहीँ आँखै खाने हरिया घाँस। कसरी यस्तरी चम्किएका होलान्? म स्कटल्यान्ड पुगिसकेछु। ऊ, त्यहाँ पर मैदानमा भेडाका बथान हेर त। म कसैलाई देखाउन चाहन्छु। तर कसलाई देखाउने? सँगैको केटोलाई मेरो उत्साहको परवाह छैन।
ए गाईको बथान! कति मोटा-मोटा गाई हुन्! यिनीहरू मासुकै लागि पालिएका होलान्। कति सफा आकाश! कति स्वच्छ वातावरण! कसैलाई सुनाउन नपाएपछि मैले डायरी झिकेर टिप्न थालेँ। बेलाबेला मन खाने दृश्य देखिँदा क्यामरा क्लिक गर्न पनि भ्याएँ।
‘म एभरडिन आइपुगेँ। बसपार्कमा छिटो लिन आइज त,’ म बसबाट सामान झिक्दै थिएँ। नेपाली भाषा सुनेर कान ठाडा भए। लौ, त्यही केटो पो रहेछ। त्यही अघि बसमा सँगै भएको। मलाई शंका त लागेको थियो। मोरो, नेपाली भएर पनि कसरी रातभरि मसँग नबोली बस्न सकेको होला?
‘होइन होला,’ प्रजयले मेरो कुरा पत्याएन। ‘म एभरडिन बस्ने सबै नेपालीलाई चिन्छु। त्यस्तो खाले मान्छे त कोही थाहा छैन …।’
एभरडिनमा झण्डै साढे दुई सय नेपाली छन्। अधिकांश एभरडिन विश्वविद्यालयका विद्यार्थी। केही तिनैका श्रीमान् वा श्रीमती। नेपालीहरूको राम्रो समुदाय बनेको छ त्यहाँ। त्यति व्यवस्थित होइन। तर व्यवस्थित गर्ने प्रयास हुँदैछ। हरेक साँझ कसै न कसैकहाँ डिनर जुराइन्छ। त्यस दिन प्रजयले सानो पार्टी दिएका थिए।
‘… सायद पहिलोचोटि आएको हो कि,’ प्रजय भन्दै थिए।
‘इलिगल होला। नभए परदेशमा एउटा नेपालीले अर्को नेपाली भेट्दा पनि कहाँ नबोली बस्नसक्छ,’ उनका रुम पार्टनर राजीवले भने।
‘हुनसक्छ,’ छिमेकी दिपेशले सही थापे।
‘के?’
‘इलिगली बस्नेलाई टेन्सन छ। कुरो फुत्किए सिधै डिपोर्ट। यस्तै हो सर, परदेशको जिन्दगी,’ उनी हँसमुख थिए। तर गम्भीर कुरा गर्थे।
***

‘को-को छन् घरमा?,’ म देश, पेशा र भ्रमणका कुरा भनिसिध्याएर उनको व्यक्तिगत कुरा खोतल्न थाल्छु।
‘कोही छैन।’
‘हँ?’
उनी फेरि चुप लाग्छिन्।
‘भन्न मन नलागे ठिक छ।’
‘होइन, तिमीलाई भन्छु, तिमी मलाई भलाद्मी लाग्यो।’
‘थ्यांक गड, तिमीले मेरो कदर त गर्‍यौ।’
उनी फेरि दुई गालामा खोबिल्टा पार्छिन्।
‘मेरो घर स्पेन हो …,’ उनी चोर औंलाको लामो नङले विस्तारै अगाडिको सिट कोतर्दै सुरु हुन्छिन्।
***

एडिनबर्ग- स्कटल्यान्डको राजधानी। बोलीचालीमा सबै ‘एडिनबरा’ भन्थे।
म प्रजयको घरलाई स्टेसन बनाएर स्कटल्यान्ड चहार्दै थिएँ। एडिनबरा पुराना दरबारहरूको निम्ति प्रख्यात छ। युरोपेली सभ्यता हेर्ने भए यहाँ आउनैपर्छ।
‘दरबार जाने बाटो कता होला?,’ बसबाट झर्नेबित्तिकै मैले त्यहाँ उभिरहेका एक प्रहरीलाई सोधेँ।
‘कमअन आई विल सो यु,’ ऊ मलाई बाटो देखाउँदै हिँड्न थाल्यो। उसको केही काम थिएन वा यहाँका मान्छेहरू यस्तै हुन्छन्?
उसले मलाई तीन/चार सय मिटर परको एउटा व्यस्त चोकमा पुर्‍यायो। सडकपारी पार्क थियो। पार्कपारी कञ्चन नदी। ऊ दाहिने हातको चोर औंलाले नदीपारी औंल्याउँदै थियो।
मेरा आँखा त्यहीँ टाँसिएझैं भए। दरबारमात्र होइन, नदीपारी पूरै सहरको ढाँचा भिन्नै थियो। उस्ताउस्तै रङ र शैलीका महलहरू। एकमाथि अर्को खप्टिएका। तासका पत्ता एकमाथि अर्को राखेर पूरा सहर बसाएजस्तो। काठमाडौंको कीर्तिपुर बसपार्कबाट माथि बजारतिर हेर्दा जस्तो देखिन्छ, त्यस्तै।
म ती प्रहरीलाई ‘धन्यवाद’ भन्दै अघि बढेँ। पुल तरेपछि प्राचीन दरबार क्षेत्र सुरु हुँदोरहेछ। त्यहाँका अधिकांश भागमा सवारी निषेध छ। पैदल हिँड्नुपर्ने। बाटोभरि ढुंगा छापिएको, हाम्रो हनुमानढोका दरबार क्षेत्रजस्तो। हरेक घर, हरेक चोक र हरेक मूर्तिलाई सतर्कतासाथ रेखदेख गरिएको। पाइलैपिच्छे राजा-महाराजाका मूर्तिहरू। धेरै त मैले चिन्दै चिनिनँ। एउटा मूर्तिका पात्र भने टाढैबाटे चिनेँ – अर्थशात्रका पिता एडम स्मिथ।
दरबारको अवस्थिति संसारभर उस्तै हुँदोरहेछ। अग्लो डाँडोको टुप्पोमा बनेको। चारैतिर किल्ला। एडिनबरा सहर टाढाटाढासम्म देखिने। अनि भर्खरै युद्ध छेडिएलाजस्तो गरी चारैतिर तोप तेर्स्याएर राखिएका।
पहिले तोप पड्कँदा यहाँ आगोका ज्वाला चम्कन्थे, अहिले पर्यटकका क्यामराका फ्ल्यास चम्कन्छन्।
***

उनी सम्झनाका एल्बम पल्टाउँदै जीवनका पुराना तस्बिरहरू मलाई देखाउँदैछिन्।
‘… १६ वर्षको उमेरसम्म हामी स्पेनमै बस्थ्यौं। म र मेरो फुच्चे भाइ। आमाबुबाको घरमा। सानो फार्महाउस थियो हाम्रो। त्यसको रेखदेख बुबा आफैं गर्नुहुन्थ्यो। खेतमै जीवन बितेकाले ज्यान कडा थियो, स्वभाव पनि। काम बिगार्दा नराम्ररी पिट्ने। आमालाई पनि धेरैचोटि पिटेको देखेकी छु। आमामा संयम थिएन। पिटाइको जवाफ पिटाइले नै दिनुहुन्थ्यो।
‘मलाई थाहा भएसम्म उहाँहरू एकअर्कालाई नाजायज सम्बन्धको आरोप लगाउँदै बाझ्नुहुन्थ्यो। त्यतिखेर दुवै हाम्रा आदर्श थिए। दुवैका आरोप पत्याउँथिनँ। अहिले बुझ्छु, दुवै सही थिए। बुबा एउटी वेश्यासँग सल्किनुभएको थियो। आमाको पनि कसैसँग चक्कर चलिरहेको थियो। हामी पढ्ने स्कुलकै शिक्षक हो जस्तो लाग्छ।
‘म १४ वर्षकी थिएँ, उहाँहरू छुट्टिँदा। भाइ सात वर्षको थियो। आमा त्यही शिक्षकसँग भाग्नुभो। बुबाले पनि ती वेश्यालाई घरमा ल्याउनुभो। घरमा मर्यादा र अनुशासनको तगारो भत्किसकेको थियो। बाटो देखाउनेले नै बाटो बिराए। सौतेनी आमा हामीलाई सधैं काममा जोताउन खोज्थिन्। पढ्ने समय पाइन्थेन। दिनहुँ केही न केही निहुँ झिकेर कुटिरहने। बुबा पनि उसकै कुरामा लाग्ने। एकदिन भाइ घर छोडेर भाग्यो। कहाँ गयो, थाहा छैन।
‘म पढाइ पूरा गर्न चाहन्थेँ। त्यसैले दुई वर्ष सबै सहेर बसेँ। अह्राएको गरिदिन्थेँ। गाली सहिदिन्थेँ। तर उनले हद नाघिन्। एकदिन बुबासँग भन्दै थिइन्, ‘घरमा पैसाको समस्या भयो, बोनितालाई नाइट क्लब पठाए हुन्न?’
‘म नाइट क्लब छिरेकी थिइन। तर त्यहाँ नाङ्गो नाच हुन्छ र जुन ग्राहकले मन पराउँछ उसैसँग सुत्नुपर्छ भन्ने थाहा थियो। बुबाले एउटा इमान देखाउनुभयो। उहाँले प्रस्ताव मान्नुभएन। तर, सधैंको कचकचबाट त्यो इमान कतिदिन टिक्नसक्छ?
‘म डराएँ। अनि, घरबाट भागेँ …।’
***

‘क्यामरा बन्द गर्नुस्, मोबाइल छ भने स्विच अफ,’ एडिनबरा संसद् भवनको भर्‍याङमा यस्तो सूचना टाँसिएको थियो।
मैले गलामा झुण्ड्याएको क्यामरा झिकेर ब्याकप्याकमा राखेँ। मोबाइल अफ गरेँ। प्रजयले फोन गर्छु भन्थ्यो। म कहाँ हराएँ भनेर केटो आत्तिने भयो।
यहाँ संसद् भवन पनि सर्वसाधारण र पर्यटकका लागि खुला छ। तल संसदीय छलफल चलिरहेको हुन्छ। माथि बसेर सबै हेर्न र सुन्न सकिन्छ। लोकतन्त्रको सही अभ्यास यही हो।
‘महोदय, रियलस्टेट क्र्यास भएपछि बैंकको लगानी डुबेको छ। एउटा बैंकको प्रभावले अर्कोलाई पनि समातेको छ,’ एक सांसद अहिलेको वित्तीय संकट’bout संसदको ध्यानाकर्षण गराउँदै थियो।
‘यसलाई रोकिएन भने पूरै अर्थतन्त्र कोल्याप्स हुन्छ।’
***

बोनिता निकै भावुक भइसकेकी छन्। म पनि। म उनको हत्केला बेस्करी अँठ्याउँछु।
‘… पेरिस आएँ। सानो बुटिकमा काम गर्न थालेँ। स्टोर-किपरको काम भनुँ न। पढ्ने लालसा मनमै थियो। तर, पेरिसको महँगो जीवनमा स्टोरकिपिङ गरेर खाने, बस्ने र पढ्ने खर्च निकाल्नु असम्भव थियो।
‘पढाइ र करिअर भन्दै लन्डन आएँ। सानो काउन्टी कलेजमा भर्ना भएँ। ड्रामा र अंग्रेजी साहित्यमा रुचि थियो। लन्डन, पेरिस भनेको धनको सागर हो, जहाँ पैसा नभएका मजस्ता सामान्य माछाले बाँच्न निकै संघर्ष गर्नुपर्छ। तिमीले पनि लन्डनमा देख्यौ होला, सबै कति रिसाएजस्ता देखिन्छन्। कसैको अनुहारमा हाँसो छैन। कसैलाई गाडी छुट्न लाग्याजस्तो हतार छ। कसैका अनुहार गाडी छुटिसकेजस्तो ओइलाएका छन् …।’
मैले हाँसेर सही थापेँ।
‘… तिमी नेपालीहरू हामी स्पेनिसजस्तै हुँदारहेछौ। हाँसिरहने। बोलिरहने। अर्काको कुरा सुन्ने। आफ्नो कुरा भन्ने। लन्डनमा तिमी कोही पाउँदैनौं आफ्नो कुरा भन्न। भन्न नपाएका अनगिन्ती कुराले विस्तारै थिच्दै ल्याएपछि कहाली लागेर आउँछ।’
उनी एकछिन चुप हुन्छिन्। ‘अनि लन्डनमा के गर्‍यौ त?’ म फेरि कोट्टयाउँछु।
‘मैले बियर बारमा काम पाएँ। नाइट क्लब होइन, शुद्ध बियर बार। म त्यहाँ मेसिनबाट बियर भर्ने काम गर्थें। निकै चलेको थियो। आम्दानी राम्रै भयो। यत्ति हो, ग्राहकसँग मुसुक्क हाँसेर मीठो कुरा गर्नुपर्ने। त्यही बियर बेचेर मैले ड्रामा र अंग्रेजी साहित्यमा डिप्लोमा सिध्याएँ।
‘मलाई पूरा १२ वर्ष लाग्यो लन्डनमा सेटल हुन। यसबीच धेरै बियर बार चहारेँ। पढाइ सकेपछि म राम्रो जागिर खान चाहन्थेँ सधैं नै। एउटा अन्तर्राष्ट्रिय प्रतिष्ठानमा काम पनि पाएँ (उनले संस्थाको नाउँ त भनेकी थिइन्, तर यहाँ उल्लेख नगरौं)। एक वर्षको करारमा। एउटा व्यवस्थित, सहज र आत्मसम्मानयुक्त जीवन सुरु भयो।’
‘अनि?’
‘कट्टी सार्क र ग्रिनविचको बीचमा एउटा सानो सिंगल बेडरुम अपार्टमेन्ट पनि लिएकी छु।’
‘ग्रिनविच?’ म उत्साहित हुन्छु, ‘हामी त्यहीँ त बसेको। आइएसबिएन होटलमा। कस्तो भेट नभएको।’
‘अहिले भयो त।’
‘त्यतिखेर भए लन्डन सँगै घुम्न हुन्थ्यो नि।’
‘अब पेरिस घुमौंला।’
***

‘बसको टिकट राम्ररी राखेको छस् हैन, बुकिङ नम्बर याद राख्नु,’ एक साताभन्दा बढीको स्कटल्यान्ड बसाइपछि बसपार्कमा छोड्न आएका प्रजय भारी मन लिएर मलाई बिदा गरिरहेका थिए।
उनले फेरि एक-एक गर्दै मलाई टिकटको बेहोरा सम्झाए। एउटा टिकट एभरडिनबाट लन्डन। अर्को लन्डन-वेल्स आतेजाते। तेस्रो, लन्डन-पेरिस आतेजाते। सब युरोलाइन्सको। प्रजयले यी टिकट अनलाइनमा अग्रिम बुकिङ गरिदिएका थिए। त्यसैले निकै सस्तो परेको थियो।
***

(मेरो हरेक गन्तव्य घुमिफिरी लन्डनको भिक्टोरिया कोच स्टेसनमा आएर टुंगिन्थ्यो। लन्डनलाई युरोपसँग जोड्ने युरोलाइन्सका सस्ता बसहरू यहीँबाट छुट्छन्। पेरिस यात्रा पनि यहीँबाट सुरु भयो। बसको टिकट हेर्ने लाममै मैले उनलाई पहिलोचोटि देखेको थिएँ। त्यो अपरिचित हेराइ र डोभरको कुर्सीमा भएको एउटा असान्दर्भिक भेट रोमान्स र प्रेमको प्रतीक पेरिससम्म आइपुग्दा निकै गाढा भइसकेको छ।)
***

म र बोनिता पेरिसको बस टर्मिनलमा छौं।
‘एस्प्रेसो (कफी) खाउँ है,’ उनी मेरो जवाफ नकुरी टर्मिनलको सानो क्याफेमा एस्प्रेसो अर्डर गर्छिन्। कागजको सानो कपमा गाढा कालो झोल तरतर झर्न थाल्छ। कपमा आधा पनि हुँदैन रहेछ। सुरुप्प पार्छु। मुख पूरै बिग्रिएर आउँछ।
‘मन परेन?’
‘तीतो।’
उनका गालामा फेरि खोबिल्टा पर्छन्।
यहाँ मेरो एकजना साथीको साथीले टर्मिनलबाट चार स्टेसन परेको नास्सियो भन्ने ठाउँमा भेट्छु भनेको छ, ११ बजे। नास्सियो लेखिएको अक्षर सर्सर्ती पढ्दा हामी ‘नेसन’ उच्चारण गर्छौं। पेरिसियनहरू यसैलाई नास्सियो भन्दारहेछन्।
साथीले दिएको समय आउन अझै दुई घण्टा बाँकी छ। हामी झोला भुइँमा बिसाएर क्याफेमै आरामसँग गफिइरहेका छौं।
‘अनि के भो?’
‘दुई महिनाअघि मेरो कन्ट्र्याक्ट सकियो। म बेरोजगार भएँ। आर्थिक मन्दीले गर्दा त्यो संस्थाले समय थप्न मानेन। आवश्यक परे फेरि डाक्छु भनेको छ। तर मन्दी झन्झन् चर्कंदै छ, मलाई विश्वास छैन।
‘बैंकलाई एपार्टमेन्टको ऋण पनि चुक्ता गर्न सकेकी छैन। दुई महिना भयो किस्ता नतिरेको। बैंकले चारचोटि चिठी पठाइसक्यो। एक महिनाको म्याद दिएको छ। नतिरे एपार्टमेन्ट हडप्छ।
‘ब्वाइफ्रेन्ड थियो। हामी चार वर्षदेखि सँगै बस्थ्यौं। ऊ कन्स्ट्रक्सनको काम गर्थ्यो। उसले पनि जागिर गुमायो। म लन्डन बस्न सक्दिनँ भनेर घर (पर्थ, स्कटल्यान्ड) फर्किसक्यो। मसँग एक बचन सल्लाह पनि गरेन। चटक्कै छोडेर गयो। पैसा नभए माया पनि हुन्न?’
म निरुत्तर छु।
‘अस्ति अचानक स्पेनबाट फोन आयो। बुबा बित्नुभएछ। उहाँलाई घाँटीको क्यान्सर भएको थियो। लास्ट स्टेजमा हुनुहुन्थ्यो। बूढा क्यान्सरले थलिएपछि त्यो (सौतेनी आमा) किन बस्थी? एक्लै मर्न छोडेर भागेर गई। फकिङ बिच।’
उनको आँखामा रिस छ। आँसु पनि चुहिरहेको छ। म सान्त्वना दिँदै उनको दाहिने हात अँठ्याउँछु। उनी देब्रे हातले आँसु पुस्छिन्।
‘अन्तिम समयमा बुबाले मलाई खुब सम्भि्कनुभएको थियो। हामी दिनहुँ फोनमा गफ गर्थ्यौं। घर छोडेर हिँडेदेखि उहाँसँग भेटेको थिइनँ। जसरी भए पनि भेट्छु भन्ने सोचेकी थिएँ। छुट्टी मिल्दै मिलेन। जागिर गुमेपछि पनि बैंकको किस्ता, नयाँ जागिरको खोजी – उठेर हिँड्नै पाइएन। ७३ वर्षको हुनुहुन्थ्यो। अन्तिम समयमा उहाँसँग कोही भएन। न श्रीमती, न छोरी, न छोरा। छोरा त कहाँ छ, अझै थाहा छैन। मर्‍यो कि जिउँदै छ कुन्नि।
उनी केहीबेर चुप लाग्छिन्।
‘अब के गर्छौ त?’ दिनको ५० पाउन्ड खर्च बोकेर हिँडेको म डुलुवासँग चाहेर पनि उनको दुःखमा साथ दिने हैसियत छैन।
‘थाहा छैन,’ उनका आँखा फेरि रसाएर आउँछन्।
***

(नास्सियोमा छुट्टिएपछि बोनितासँग मेरो भेट भएन। उनले पेरिस घुमौंला त त्यत्तिकै भनेकी थिइन् – आफू दुःखी भए पनि मलाई खुसी पार्न। म उनको बाध्यता बुझ्छु। उनी त्यहाँबाट सिधै स्पेन गइन्। मैले आफ्नो इमेल ठेगाना दिएको थिएँ। तर एउटै मेल आएको छैन। मेरो मेलको जवाफ पनि दिएकी छैन। बाचा त गरेकी थिइन्। जीवनको बिग्रँदो मौसममा आफैं भर खोज्दै हिँडेका व्यक्तिले मलाई सम्झेका होलान् भन्ने भर पनि छोडिसकेँ। उनी केही दिन स्पेन बसेर लन्डन फर्किहोलिन् वा उतै आफ्नो व्यवस्था गरिन् कि? वित्तीय संकट टार्न लन्डनका बैंकहरूका लागि आर्थिक प्याकेज आयो। त्यसले उनको एपार्टमेन्ट जोगियो कि? उनको कन्ट्रयाक्ट थपियो कि? वा …?)
***

म अझै पनि बोनिताले भनेको सम्भि्करहेछु, ‘युरोपमा एउटा वर्ग छ, जसलाई क्रेडिट कार्ड र डेबिट कार्डको अन्तर थाहा छैन। एप्पल आइपडको भाउ कण्ठ छ, दुध कति पर्छ हेक्का छैन। २० जनामा एकजना मोबाइलमै महिनाको सय पाउन्ड खर्चन्छन्। टपसप, प्राइमार्क वा टिकेम्याक्समा सपिङ गर्छन्। त्यस्तालाई आर्थिक मन्दीले छुँदैन। हामीजस्तै संघर्षरत वर्गलाई हो सबैतिरबाट सबैले च्याप्ने।’
बोनिताको दुःख पेरिसको आइफल टावरजत्तिकै ठिङ्ग चुलिएको छ। कसैको भरबिना नै।
बोनिता मेरी मोनालिसा हुन्। लुभ्र संग्रहालयमा सुरक्षित मोनालिसाको तस्बिरमा मैले उनकै आकृति देखेको थिएँ। उनी रोइरहेकी थिइन्। सुँक्सुँकाइरहेकी थिइन्।

shrestha.sudeep@gmail.com

“>

2 thoughts on “आँखाभरि पेरिस रोइरहेछ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )