एउटा नारी लडाईं, बेग्लै किसिमको

नारी दिवस विशेष

nirjala1
Pic by Michel Huneult

पुरुषसँगकै प्रतिस्पर्धामा रमाइरहने निर्जलालाई महिला दिवसको हेक्कै रहेन

बिनिता दाहाल,
काठमाडौं, फागुन २५

जाडो महिनाको कठ्याङ्ग्रिदो चिसो होस् वा गर्मीको चर्को घाम, बाह्रै महिना सखारै चोभारको त्यो फराकिलो बाटोमा प्राय सधैँ भेटिन्छिन् निर्जला ताम्राकार। साथमा हुन्छ दुई पाङ्ग्रे माउन्टेन बाईक। अघि पछि प्राय कोही साथी हुँदैनन् र भईहाले पनि पुरुष मात्रै। किनकी नेपाली माउन्टेन बाईक क्षेत्रमा उनी मात्रै स्थापित महिला नाम हो। खेलप्रतिको तीब्र चाहनाले उनी हरेक बिहानी अभ्यासका लागि पाटनको साँघुरो गल्ली छिचोल्दै चोभारको त्यो शान्त खुला बाटो सम्म साइकलको पाइडल घुमाउँदै पुग्छिन्। विगत आठ वर्ष देखि यसलाई निरन्तरता दिदैँ आएकी उनका महिला प्रतिस्पिर्धी नेपालमा छैनन्। बेलाबखत भइहाले भने पनि फाट्टफुट्ट देखापर्छन् र बिलाई हाल्छन्। कारण खेलाडीलाई पर्याप्त प्रोत्साहन नहुनु, खेल स्वयं अत्यन्तै कष्टकर र महङ्गो हुने बताउँछिन्, उनी।

सन् २००१, साइमन्स एक्सन एसियाले आयोजना गरेको हिमालयन माउन्टेन बाइक प्रतियोगितामा पहिलोपटक भाग लिएकी थिईन्। सोही तीन सिरिजको खेलमा नेपालका अन्य महिलासंगै विदेशी महिलालाई पनि उछिनेकी उनी, यहि सफलता पछि यो खेलमा हौसिईन्। पहिलोपटक विदेशी महिला प्रतिस्पर्धीको अगाडी उपाधि थाप्दाको अनुभव सुनाइन्,’केही होइनको ठाँउमा म पनि केही रहेछु भन्ने भयो।’ त्यसपछि उनले भाग लिएका निकै प्रतिस्पर्धामा सफलता, असफलता दुवै हात पर्दै गए। कतिले प्रोत्साहित गरे, कतिले हतोत्साही। तर, खेल प्रतिको मोह र दैनिकको अभ्यासले शारिरिक र मानसिक दुबै रुपमा यो खेल छोड्न नसक्ने बताउँछिन्। काम विशेषमा निरन्तरको अभ्यास छोड्न पर्दा बिरामी नै भएको अनुभव सुनाउँदै भन्छिन् ,’शारिरिक र मानसिक दुवै रुपमा यो खेल अब छोड्न सक्दिन।’ कहिलेकाहीँ खेल जीवनबाट बिरक्त लाग्दा उनी ध्यान गर्न रमाउँछिन्। बुढानिलकण्ठस्थित विपस्यना योग केन्द्रमा १२ दिने ध्यानमा बस्दा उनले आफ्नो जीवनलाई नजिकबाट नियालिन्। मानिसमा हुने लोभ, मोह, क्रोध नीरश हो जस्तो लाग्यो। बाहिरी संसारबाट पुरै बाह्र दिन सम्पर्कविहीन भएर बस्दा आफू आफ्नै मनको गहिराई सम्म पुगेको अनुभव उनले गरिन्। यहीँ आठ वर्षको अन्तरालमा दुईपटक ध्यानमा रमिन्। ध्यानमा बस्दा पनि खेलमा आफू पुरै भिजेको महसुस गरेकी उनले खेलका अप्ठ्यारालाई त्यहाँ पुग्दा पनि मनमस्तिष्कबाट हटाउन सकिनन्।
उनको विचारमा साइक्लिङ्ग नेपालीका लागि एकदमै महङ्गो खेल हो। एउटा राम्रो प्रतिस्पर्धामा भिड्न उपयोगी हुने साइकलको मुल्य करीब तीन लाख पर्छ। उसैमाथि त्यही अनुसारका साइकलका पाटपुर्जा फेरिरहनुपर्ने। अत्यन्तै कष्टकर ब्यायाम र दिनहुँको अभ्यास चाहिने यो खेलमा उस्तै प्रकारको पौष्टिक आहार चाहिन्छ। खेलका लागि चाहिने ड्रेस पनि उस्तै महङ्गो हुने। तर, यति महङ्गो खेलको लागि सबै खर्च आफैँ धान्नुपर्ने बाध्यताले, यो क्षेत्रमा अरु महिला आउन नसक्नु उनलाई स्वभाविक लाग्छ। त्यसो त उनी आफैँलाई पनि यो खेलमा निरन्तरता दिन त्यति सजिलो कहाँ थियो र? कहिले सेल्स अफिसर भएर काम गरिन् त कहिले मेडिकल ट्रान्सक्रिप्सनिष्ट भएर, कहिले योग गुरु अनि कहिले बीमा कम्पनीमा सहयोगी कर्मचारीको रुपमा। यी सबै गरेर पनि परिवारको आर्थिक सहयोग र नैतिक समर्थन नभएको भए उनलाई यही क्षेत्रमा लागिरहन सम्भव थिएन।
खेलका लागि कोही प्रशिक्षक नहुदाँ गुरु र चेला आफैँ बन्नुपर्ने तितो बाध्यता छ। उनी आफैँले पनि आफैँ सिक्ने प्रयासमा खेलका थुप्रै तरिकाहरु सिकेकी हुन्। एक मात्रै महिला हुदाँ पुरुषहरु संग प्रतिस्पर्धा गर्न कतिको गाह्रो होला त? अनुहारमा छरपष्टैको उत्साह ल्याउँदै आफ्नो अनुभव सुनाईन् ,’म शारिरिक रुपमा उनीहरु जति बलियो नभए पनि मानसिक रुपमा उनीहरुको प्रतिस्पर्धी हुँ भन्ने कुरामा आफूलाई तयार राख्छु। प्रत्येक प्रतियोगिता मेरो लागि सिक्ने अबसर हुनेगर्छ।’
उनी जीवनमा सफलता मात्रै होइन पाएका असफलतालाई पनि उत्तिकै गर्वका साथ स्मरण गर्छिन्। सन् २००६ मा भएको अन्नपूर्ण सर्किटको यात्रा साइकलबाटै पुरा गर्ने उनी अहिलेसम्मकै एकमात्र नेपाली महिला हुन्। त्यो प्रतियोगितामा सबैभन्दा पछि परेकी उनले निकै ठुलो चुनौति सामना गर्नुपरेको थियो। पैदल यात्रा वा साइकल यात्रा दुवै तोकिएको सर्किटमा यसै पनि साइकल कति बाटोमा गुड्ने ठाउँ नहुदाँ पुरै भारी बोक्ने चुनौति थियो भने अर्को तिर कहिल्यै हिँउ नदेखेको मान्छेले हिँउ परेर चिप्लिँदै त्यो सरकिट पूरा गर्नु थियो। त्यो बेला आफ्नै समकक्षी पैदल यात्रीले उनको अन्तिम स्थानलाई होच्याउँदै ‘सक्दैन त्यसले साइकलबाट पुरै सर्किट सिध्याउन, रुदैँ कसैलाई भारी बोकाएर आउँदै होला’ भनेका थिए। प्रतिउत्तरमा त्यहीँ भाग लिने अग्रज नेपाली साइक्लिष्ट सोनाम गुरुङ्गले ‘रुँदैन त्यो केटी, अन्तिम भए पनि आफैँ साइकलमा रेस पूरा गर्ने दरो आँट छ।’ भनेको सुन्दा उनका आँखा रसाएका थिए। यो वाक्य उनका निम्ति जीत हार दुबैमा ठुलो प्रेरणा बन्ने गरेको छ अहिले पनि। आठ वर्षको खेल अनुभवमा यस्ता थुप्रै अनुभव बोकेकी उनी यही खेलमा जमिसकेकी छिन्।
साइकल दौडमा अहिलेसम्म थुप्रै सम्मान पाएकी र धेरै प्रतिस्पर्धामा नेपालको एक्लो र प्रथम महिला प्रतियोगी भएकी उनी यो खेलमा मात्रै पोख्त छैनन्। थुप्रै सुन्दरी प्रतियोगितामा मिस ट्यालेन्ट, मिस परसन्यालिटि र मिस क्याटवाक्को ताज पहिरिसकेकी छिन्। त्यस्तै, चित्रकला क्षेत्रमा पनि उत्तिकै रुचि भएकी उनले थुप्रै पुरस्कार जितेकी छिन्। सन् २००३ र २००४ मा भएको मण्डला आर्ट कम्पिटिसनमा दुवै वर्ष लगातार पहिलो स्थान ओगट्ने उनी पहिलो महिला थिइन्। बेलाबखत बनाएका चित्रकला बटुली आफ्नो अबकाश प्राप्त जीबनमा एकल चित्रकला प्रदर्शनी गर्ने ठुलो इच्छा छ ।
पहिला नेपालमै साइक्लिङ्ग गर्ने साजन राजबंशि र सुरेशकुमार दुलाल, जसले अमेरिका र लण्डन गएर उही खेललाई निरन्तरता दिइ नेपाली खेलाडीलाई बेलाबखत आई आफ्ना अनुभव र आर्थिक सहयोग गरेको कुराले निर्जलालाई पनि ठूलो प्रेरणा मिलेको छ। पछिल्लोपटक नेपालमै आयोजना भएको चौधौँ एशियन माउन्टेन बाईक च्याम्पियनसिपमा उनीहरु आएर खेलाडीलाई गरेको प्रोत्साहन र उनी आफैँलाई पनि २६ हजार बराबरको साइकलका पाटपुर्जाको सहयोगले निकै हौसला मिलेको छ। यो देख्दा उनलाई पनि विदेश गएर आफ्नो खेल प्रतिको प्रतिबद्धतालाई पूरा गरी यही पेसालाई ब्यवसायिक बनाउने उद्देश्य रहेको छ।
उनको बुझाईमा विदेश जानु आफ्नो खेल जीबनको पहिचान गुमाउनु होइन। त्यसैकारण, उनी विदेश गएर यही खेलमा आफ्नो दक्षता अभिबृद्धि गरी पछिका पीढिलाई आफैँ प्रशिक्षक भई सहयोग गर्ने उनको धोको छ।
यो खेलमा आउन चाहने महिला प्रतिस्पर्धीलाई उनको सुझाव कस्तो छ त? ´यो खेललाई पहिला आफैँ मन पराएर आउनुपर्छ। यसको चुनौतिको राम्रै हेक्का राख्नुपर्छ। साथै यो खेलमा आउँदा म मात्रै एकजना प्रतिस्पर्धी नहेरी विदेशी खेलाडीको क्षमतालाई हेरेर, उनीहरु सँग प्रतिस्पर्धा गर्ने दह्रो सोच र आँट लिएर आउनुपर्छ।´
आज नारी दिवस, निर्जलालाई भने यो दिनको पत्तो सम्म छैन। होस् पनि कसरी? मार्च २१ देखि सिक्किममा हुनलागेको ´कञ्चनजङ्गा माउन्टेनबाईक च्याम्पियनसीप २००९´ को तयारीमा जो जुटेकी छिन्। अभ्यासका क्रममा सधैँ पुरुष मित्र मात्रै हुने कारणले पनि उनलाई महिला विषयक कार्यक्रमहरुको हेक्का रहदैँन।

Advertisements

One thought on “एउटा नारी लडाईं, बेग्लै किसिमको

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )