हिमालसँग लुकामारी खेल्दै…

विनिता दाहाल

यसपटक म थुप्रै उथलपुथल छोडेर एक्लो अन्तरमनको यात्रामा निस्किएको छु जहाँ मैले दिनभर खुट्टासँगै मनको यात्रालाई एउटा गति दिएर सोच्न पाएको छु। विगत सम्झिएर असल र खराब छुट्ट्याउन पाउने यस्ता यात्रा मलाई विशेष लाग्छ।

त्यही यात्राको निचोड निकाल्न पुगेको छु म यस उचाइमा जहाँबाट विगतलाई समता भावले नियाल्न र निचोड निकाल्न सकियोस्। विनाधरातलीय उचाइले मानिसलाई भ्रममा हुर्काउँछ। तर, म उभिएको ठाउँ धरातलविहीन छ र?

एक्लो म…

ध्यान र तपस्याको त्यही समय कल्पना गर्दैछु। मन चंगा भएको छ। म निश्चल आकाश छुने उत्साहले उफ्रिएँ। अरबिनले मेरो तस्बिर उतारे। मलाई गहिरो स्वरले चिच्याउन मन लाग्यो। एक्लै चिच्याउनु मूर्खता होला भनेर मैले साथीहरूलाई उक्साएँ। उनीहरू ठूलो हाँसोसहित चिच्याए। मेरा आँखाबाट तरर्रर आँसु झर्‍यो। मैले चिच्चाइसँगै शरीरमा विकार बनेर रहेका प्रतिशोध द्वेष निस्किएको अनुभव गरेँ।

‘छिल्लिएका बाहुन कति बोल्न सक्छन्,’ छिरिङ ग्याल्चेनले भर्खरै आइपुगेका पाहुनाको अनुहार नहेरी भनिन्। पर्यटक लिएर होटल पुग्ने गाइडहरू उनलाई अनेकथरी भनेर जिस्काउँछन्। ग्राहकले अनावश्यक कुरा गरेको उनलाई मन पर्दैन।

हाम्रो आधा टोली भर्खरै उनको होटल आइपुगेको छ। हामीले उनको खुम्चिएको निधारमात्रै देखेका छौँ। उनको खरो मिजास बुझेर हाम्रा टोलीका बलबहादुरले भने, ‘तपार्इँ हाँसेको हेर्न पनि औँसीपुर्ने नै कुर्नुपर्छ कि? थाकेर आएका छौँ, लौन चिया खानुपर्‍यो।’

बल्ल उनले ओठ खुकुलो पारिन्। कति मीठो हाँसो। धुन्चेमुनिको ठूलो भार्खुबाट लगातार तीन दिन हिँडेपछि हामी क्याङिजन भ्याली आइपुगेका छौँ।

रसुवाको उत्तरपूर्वी कुनो। वरिपरि हिमाल। हिमाली फेदमा उपत्यका। यसैलाई भनिन्छ भगवान्ले लुकाएको ठाउँ। त्यही छिरिङको लज। आँखाभरि सेता हिमाल, निलो आकाश सजाएर थोरै थकानसहित आइपुगेको छ हाम्रो १९ जनाको टोली।

छिरींग ग्याल्चोनकी छोरी…

***
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले विश्व वातावरण दिवस पारेर आयोजना गरेको हिमाली क्षेत्रको सरसफाइका सहभागी हामी। पत्रकारको एकल प्रतिनिधित्व गर्दै छु म। सरसफाइका लागि टानले रसुवा चयन गरेको छ। त्यसमध्ये एउटा क्यान्जिन उपत्यका र अर्को गोसाईकुण्ड।

जनैपुर्ने मेलामा म दुई वर्षअघि नै गोसाईकुण्ड पुगेर नुहाइसकेँ। फेरि पुग्ने मन भए पनि यसपटक नदेखेको ठाउँ पुग्ने रहर। म हिमाललाई नजिकबाट हेर्न चाहन्छु। त्यसैले क्याङजिन समूहमा मिसिएँ।

***
हामीलाई पदयात्रा सुरु गर्न गाडीले मध्य दिउँसो धुन्चेमुनिको ठूलो भार्खुमा झारिदियो। सुरुमा सबैको जाँगर देखियो। सहयात्रीले सडक वरपरका प्लास्टिक कतै नछोडी टिप्न थाले। अहो! यस्तो पाराले लाङटाङ यात्रा सकेर हामी कहिले फर्किउँला काठमाडौँ! आउँदो साता परीक्षा छ। म त्यसलाई भन्दा घुमफिरलाई महत्व दिएर केही दिन मन बहलाउन निस्किएकी। मलाई उनीहरूको सक्रियताले मन पोल्न थाल्यो। तर, मेरो पिरलो त्यति दिगो भएन। सरसफाइ अभियान एउटा प्रतीक थियो। काठमाडौँमा बस्नेले हिमाली क्षेत्रको फोहोर बटुलेर के साध्य! त्यो देखेर पर्यटक र स्थानीयले चकलेट, चाउचाउ र अन्य प्लास्टिक सामान नफालून् भन्ने एउटा अभियान न हो! फर्कँदा हामीसँग तीन धोक्रा प्लास्टिक थिए।
साँच्चै प्रत्येक पदयात्री सचेत भएर चकलेट, चाउचाउका खोल जथाभावी नफालिदिए हामी हिँड्ने बाटो नै त सफा हुने हो!

***
ठूलो स्याफ्रुबाट पैरो, ब्याम्बु हुँदै एक दिनको हिँडाइमै पुगिन्छ घोडा तबेला। यहीँबाट लुकामारी खेल्न आइपुग्छन् हिमाल। एउटा डाँडाको टुप्पामा थोरै हिमाल झुल्किन्छ। त्यही हेर्दै बाटो छोट्यायो। अनि त्यो लुक्दै जान्छ। अर्कोपट्टि हिमाल आँखा सन्काउँदै आइपुग्छ। क्याङजिन भ्याली पुग्दासम्म लुकामारी खेल्दै आइपुग्छन् तिब्बती शृंखला, लाङटाङ शृंखला र गणेश हिमाल। स्याफ्रु हुँदै घोडा तबेला पुगदेखि क्याङजिन पुगेको दिनसम्म हामीसँग दर्जन हिमालले बाटोभरि लुकामारी खेले।
आकाश निख्खर निलो। आकाश त यस्तो हुनु जसलाई स्वर्गसँग दाँजिन्छ। हामीले यस्तै आकाशको फेदमा देख्यौँ दर्जन हिमाल- यालापिक, चेर्को रि, दोर्जे ल्हाक्पा, लाङटाङ लिरुङ, गन्जला, गाङक्षेम्बु, लाङसिसा-री, लामवाङ, नयाँ गंगा, मारीमेतो पिक, कामजुङ, गोर्कापुरी, बाङदाङ कार्पु, सिसापाङमा, युर्किमा, पाङग्री गोल्दुम्बा आदि।

***
हिँडिरहँदा फरक परिवेश बोकेका मानिस भेटिन्छन्। यात्राको रमाइलो पाटो त्यो पनि हो। लाङटाङ हिमाल हेर्न अघि बढेका हामी ठूलो स्याफ्रुबाट झरेदेखि नै लाङटाङ खोला कहिले दायाँ कहिले वायाँ पार्दै अघि बढ्छौँ। जति दिउँसो भयो खोलाको गर्जन त्यति बढ्छ। हिम पहिरो दिउँसोको घामले पग्लिएपछि खोलाको घनत्व बढ्नेरहेछ।
यात्रामा सुनिल र असनाको जोडी छ। चार वर्षदेखिको प्रेम जोडी। उनीहरूबारे पहिल्यै थाहा पाएकाले यस जोडीलाई ‘शिव-पार्वती’ नाम दियौँ। क्याङजिन पुगेकै दिन उनीहरूले त्यहाँको हेलिप्याडमा ढुंगाको प्रेम प्रतीक बनाए। ढुंगाले बनाएको मुटुबीच दुवै जनाको नाम। मैले प्रेम प्रतीक माथिपट्टि बसेर उनीहरूले आकाश हेरेको फोटो खिचेँ। उनीहरूको प्रेम दिगो रहोस्।

***
गाउँको सिरानमा छ, क्याङजिन गुम्बा र सँगै चिज फ्याक्ट्री। तीनदिने यात्रामा हामीले केही दुरीमा मात्रै देख्यौँ गाउँ। पातला बस्तीमा बुढाबुढी र होटल साहुनीमात्रै। धेरैजसो पुरुष गाइड, ट्रेकिङ पेसामै लागेका। छोराछोरी काठमाडौँका महँगा स्कुल पढ्छन्। पुर्ख्यौली पशुपालन पेसा बुढापाकाले गरेका छन्।

ओम माने पेमे होम्


***
सगरमाथा, अन्नपूर्णपछि पर्यटकको रोजाइमा रहेको लाङटाङ पदयात्रा सहज छ। आरामदायी हिँडाइमा धुन्चेबाट तीन दिनमै पुगिन्छ। क्याङजिन पुगेर पनि हिमाल नजिक हुन मनलागे थुप्रै विकल्प छन्- केन्जिङ रि, लाङसिसा वा गणेश हिमालनजिक जाने। जति लामो समय निकाल्न सक्यो उति हिमाल नजिक पुगिन्छ। हामीले चाँडै फर्कनुपर्ने भएर केन्जिङ रि रोज्यौँ।

सुनिल र असनाको जोडी, त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञान पढिरहेका अर्बिन राई, कृष्ण तिमिल्सिना र टानमा कार्यरत सोविता राईले योजना बनायौँ। ‘हामीसँग हिमाल चढ्ने जोश छ भने त्यो केन्जिङ रिको उचाइमा किन नपुग्ने,?’ मैले हौस्याएँ।
सहज हिँडाइले पनि थाकेका र हिमाल हेर्ने कम उत्साह हुनेहरू सपना देखिरहँदा मलाई सिरानको लाङटाङ हिमालले जर्‍याकजुरुक बनायो। त्यो हिमाल देखेर रातभर निदाउन सकिनँ। कहिले १२ बजे, कहिले २ गर्दै ४ बजे म पक्का उठेँ।

त्यति ठाडो उक्लनुपर्ने डाँडाको हिँडाइ सहज छैन। मैले समूहलाई उक्साउन झ्यालबाट हिमाल देखाएँ। अघिल्लो दिन नजाने मनस्थिति बनाएकी बनिताले पनि जाने हुटहुटी देखाइन्। हामी आठ जनाको समूह बिहान ४ बजेर २० मिनेटमा उकालो लाग्यौँ। जाँदा असनाले बनितालाई हिँड्न नसकेको भनेर जिस्काइन्। बनिता के कम -’तिम्राजस्ता शिवसँगै भए त हामी कैलाश चढिसक्थ्यौँ।’

सुनील र असनाको जोडी…..:)


विचरी असना लाजले भुतुक्कै भइन्। सुनिल हाँसीमात्रै रहे। साढे दुई घण्टा बिहानीको जाँगरिलो हिँडाइपछि हामी लगभग हिमालकै उचाइमा पुग्यौँ। अहो स्वर्गको एक टुक्रा!
वरिपरि हेर्दा ३ सय ६० डिग्रीमै हिमाल। कहिलेकाहीँ भुल्ने हराउने बानी सम्झनलायक हुन्छ। अहिले त्यही भयो। हामी १ घण्टामाथिको केन्जिङ रि निस्किएका। तर, त्यसलाई धेरै तल छाडेर पत्तै नपाई ४ हजार ७ सय मिटर उचाइको लाङसिसा पुगेछौँ जुन प्रकृतिको निकै नजिक छ। हामीले एउटा मीठो भूल गरेर लाङटाङको सुन्दरतासँग नजिकिन पायौँ।

***
आकाशको चन्द्रमालाई मैले रातिदेखि नै हेरेको। यहाँ आइपुग्दा अनुपम आनन्द महसुस गरेको छु। चन्द्रमा, आकाश र हिमालको अनुपम संगम जसले काठमाडौँको कोलाहल बिर्साउँछ। धत्तेरी काठमाडौँ कस्तो निस्सासिँदो भइसक्यो। त्यही खाल्डोमा प्रत्येक दिन जीवनलाई दौड बनाएर उज्ज्वल भविष्यको कल्पनामा पिल्सिएका छौँ, हामी। यसपटक म थुप्रै उथलपुथल छोडेर एक्लो अन्तरमनको यात्रामा निस्किएको छु जहाँ मैले दिनभर खुट्टासँगै मनको यात्रालाई एउटा गति दिएर सोच्न पाएको छु। विगत सम्झिएर असल र खराब छुट्ट्याउन पाउने यस्ता यात्रा मलाई विशेष लाग्छ।

हिमालको फोटो खिच्दै म


त्यही यात्राको निचोड निकाल्न पुगेको छु म यस उचाइमा जहाँबाट विगतलाई समता भावले नियाल्न र निचोड निकाल्न सकियोस्। विनाधरातलीय उचाइले मानिसलाई भ्रममा हुर्काउँछ। तर, म उभिएको ठाउँ धरातलविहीन छ र? यस ठाउँमा अचम्मको आध्यात्मिक चिन्तन पाएको छु। हिजो राति पनि गुम्बा नजिकै पुगेर आँखा चिम्म गर्दा उपत्यकामा अध्यात्मको एउटा ह्वीम भेटेँ!

***
आठौँ शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसम्भवले अनुयायीका लागि ध्यान र तपस्या गर्न हिमाल नजिकै सात ठाउँ तोकेका थिए रे। त्यहीमध्ये हो यो। म यहाँ त्यही समय कल्पना गर्दैछु। मन चंगा भएको छ। म निश्चल आकाश छुने उत्साहले उफ्रिएँ। अरबिनले मेरो तस्बिर उतारे। मलाई गहिरो स्वरले चिच्याउन मन लाग्यो। एक्लै चिच्याउनु मूर्खता होला भनेर मैले साथीहरूलाई उक्साएँ। उनीहरू चिच्याए। मेरा आँखाबाट तरर्रर आँसु झर्‍यो। मैले चिच्चाइसँगै शरीरमा विकार बनेर रहेका प्रतिशोध द्वेष निस्किएको अनुभव गरेँ।

कस्तो चिच्चाहट आँशु झर्ने……:)


***
सबैका तस्बिर खिचेँ। हिमाल, हिमपहिरो, निलो आकाश, पूर्वी आकाशको सूर्योदय, हरियो पाखा, चरिरहेका चौरी, नाँचिरहेका डाँफे। जता हेर्‍यो उतै आँखा अडिन्छन्।
आधा घण्टा लाङसिसामा आध्यात्मिक अनुभूतिपछि हामी ओर्लियौँ। उक्लँदा साँढे दुई घण्टा लागेको बाटो ४० मिनेटमै झर्‍यौँ।

***
थोरैमात्र पर्यटक क्याङजिनबाट ५१ सय मिटरको ग्यान्जला पास हुँदै हेलम्बु जान्छन्। लाङटाङ जाने अघिल्लो साँझ मैले गुगलमा हिमाल हेरेको थिएँ। लाङटाङबारे पढेको थिएँ।
पवित्र लाङटाङ मान्छेलाई देखाउन भगवान्ले एउटा गोरुलाई साथी पठाएको विश्वास गरिँदो रहेछ। गोरु लाङटाङको घाँसे मैदानमा आएर निदायो। गोठालाले देखे। गोरु अघाएको हुनाले त्यस ठाउँको नाम ‘लाङडाङ’ भनियो। भोट भाषामा लाङडाङ शब्दले गोरु अघाएको बुझाउँछ। त्यस ठाउँलाई जनबोलीमा लाङडाङ भन्न थालियो। पछि अपभ्रंस हुँदै लाङटाङ भनियो।

सुन्दर लाङटाङ…

***
हामी क्याङजिन पुगेको दिन केटाहरूले अनावश्यक जिस्काएको भन्दै छिरिङ झिँझिएकी थिइन्। फर्कँदा हामी ब्याम्बुमा बस्यौँ। यहाँ छिरिङ होइन, २५ वर्षीया डोल्मा लामा छिन्। उनी समानताको कुरामा चाख राख्दी रहिछन्। पाहुनासँग एकसरो औपचारिकतापछि उनले हाम्रो समूहका केही पुरुषको सातो लिइन्, ‘के हो तपाईँहरू त श्रीमतीलाई खुट्टा ढोगाउनुहुन्छ रे, खुट्टाको पानी खुवाउनुहुन्छ रे।’

हाम्रो टोली उनको वाकपटुता देखेर चकित भयो। बिहान निस्कँदा पनि उनले भनिन्, ‘तपार्इँहरूकहाँ त्यस्तै हुन्छ? हाम्रो त माया गर्ने बेला माया गर्छ, हेप्यो भने हामी पनि छाड्दैनौँ।’

binnidahal@gmail.com

About these ads

One thought on “हिमालसँग लुकामारी खेल्दै…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s