विजयकुमार पान्डे
अग्रज पत्रकार विजयकुमार पान्डेले लिएका हृदयदेखिका अन्र्तवार्ता हेर्ने ब्यग्र प्रतिक्षामा…… तर उनको हृदयदेखिका यस्त लेख अब मिस गर्नुपर्ने हो ? अघिललो साता कान्तिपुर दैनिकमा स्वरसम्राट नारायण गोपालबारे विजयकुमारले लेखेको यो लेख
म नारायण गोपाललाई ‘नारान दाइ’ भनेर बोलाउँथे । व्याकरणको दृष्टिकोणबाट सायद त्यो उच्चारण सही होइन । भाषाले व्याकरणलाई पछ्याउनु पर्छ कि व्याकरणले भाषालाई भन्ने तर्कजालमा म आज फस्न चाहन्न । मेरो मन र जिब्रोलाई नारान भन्न सहज लाग्यो त्यही गरे । नारायण गोपालका परम मित्र गीतकार नगेन्द्र थापाजी पनि उहाँलाई ‘नारान’ भनेर बोलाउँथे । बाँचेका भए नारान दाई भर्खरै ७३ नाघेका हुन्थे । नारान दाई बितेको केही वर्षभित्रै पेमला भाउजू पनि रहनुभएन । उहाँहरुले महाराजगन्ज चोकबाट ५ मिनेट हिँडेर पुगिने ठाउँमा घर बनाउनु भएको थियो । आजभोलि मानिसहरु त्यो चोकलाई नारायण गोपाल चोक भनेर बोलाउँछन् । त्यहाँ नारान दाइको प्रतिमा स्थापित छ । सालिक निर्माण भएको एक वर्षपछिको कुरा हो पेमला भाउजूलाई सोधे ‘तपाईँ अफिस जाने बेलामा वा किनमेल गर्न आउँदा दाईको सालिक छेउबाटै हिँड्नु पर्छ । कस्तो लाग्छ त्यसबेला ?’ सुनेर पेमला भाउजू एकछिन सुनसान भइन् । सुनसान नहोऊन् पनि कसरी पेमला पहिला नारान दाईकी फ्यान थिइन् पछि पत्रमित्र हुँदै प्रेमिका भइन् र कालान्तरमा यो जोडीको विवाह भयो । प्रश्न सुनेर सुनसान भएकी पेमला भाउजूले त्यस दिन एक लामो मौनतापछि एक फिक्का मुस्कानका साथ उत्तर दिइन् ‘विजय भाई मलाई थाहा छ यो ढुंगाले बनेको एक सालिक मात्र हो ‘उहाँ’ होइन तर पनि पुस माघको जाडोमा जब म कामबाट फर्कन्छु उसको सालिक अगाडी टक्क रोकिन्छु र मनमनै सोच्छु- कति जाडो भइरहेको होला विचरालाई ! उसलाई एउटा ओभरकोट लगाइदिन पाए हुन्थ्यो जस्तो लाग्छ । मलाई थाहा छ त्यो ढुंगाको एक निर्जिव सालिक मात्र हो ‘उहाँ’ होइन तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु उसलाई गएर छाता ओडाइदिन मन लाग्छ ।’
कान्तिपुर रेडियोका निम्ति धेरै वर्षअघि लिएको अन्तर्वार्तामा पेमला भाउजूले दिएको यो उत्तरको सम्झनाले आज पनि भावुक बनाउँछ । एक पत्रकारको नाताले मैले जीवनमा असंख्य मानिसलाई अनगिन्ती प्रश्न सोधे । र त्यत्तिकै उत्तरहरु पनि पाए । मानिसहरु सोध्छन् ‘विजयजी, तपाईले टेलिभिजनमा त्यतिका धेरै अन्तर्वार्ता गर्नुभयो ती मध्ये कस-कसले दिएको जवाफ सम्झनु हुन्छ ?’ इमान्दारीपूर्वक भन्नुपर्दा म तीमध्ये विरलै उत्तर मात्र सम्झन्छु । किनभने अधिकांश उत्तरहरुको तत्कालिक महत्व मात्र थियो । केही विरलै भने सर्वकालिक महत्वका भावनामा निथ्रुक्कै भिजेका उत्तर थिए । पेमला भाउजूको जवाफ तीमध्ये एक हो । मैले टेलिभिजनमा सोधेका धेरै जस्ता प्रश्न र तिनका उत्तर पानी फोकाझै नजाने कुन बेला उदाए अनि कुन बेला पो अस्ताए मैले त चालै पाइनँ । सायद मेरा अधिकांश प्रश्नहरु सतही र क्षणिक महत्वका थिए होलान् त्यसैले तिनले हल्काफुल्का उत्तरहरु मात्र निम्ताए । हुन त हामी पत्रकारहरुले आफ्ना निम्ति होइन दर्शक श्रोता वा पाठकका निम्ति प्रश्न सोध्नुपर्ने मोटामोटी नियम रहेको हुन्छ । सायद दर्शकहरु पनि सतही कुरामा बढी रमाउने हुनाले त्यस्तै खाले प्रश्नहरु अलि बढी सोधियो कि ?
गत साता कमरेड प्रचण्डले त्रिभुवन विश्वविद्यालयको प्रांगणमा आयोजित एक सभामा नेताहरुको व्यापक आलोचना भएपछि एक कटु सत्य बोल्नुभयो- ‘नेतालाई गाली गरेर मात्र केही हुँदैन । नेताले जनता बनाउने होइन जनताले नेता बनाउने हो ।’ प्रचण्डजीको त्यो कथन सुनेर मेरो मनमा अद्भुत सन्तोषको अनुभुति भयो । प्रचण्डजी बिस्तारै भ्रमहरुबाट मुक्त हुनुहुँदैछ र समाजलार्य पनि सतही कुराबाट गहिराईतर्फ लान यस्ता अभिव्यक्तिले सहयोग गर्ने छन् । नेपालमा नेता आकाशबाट झर्ने होइन ।
हामी जस्ता छौं मोटामोटी रुपले हाम्रा नेताहरु पनि त्यस्तै छन् । विख्यात भारतीय पत्रकार कुलदीप नैयरले दसकौं अघि लेखेका थिए- ‘हरेक समाजले आफ्नो वातावरण र योग्यता अनुसारको नेता प्राप्त गर्दछ ।’ यो विषयमा प्रदीप गिरीसँग एक दिन तपोवनमा मेरो गहन संवाद भएको थियो जसमा प्रदिपजी नैयरका भनाइसँग सहमत हुनुभएन । उहाँले भन्नुभयो-’जनताको कमजोरीले गर्दा हामीले योग्य हामीले योग्य नेता पाएनौं भन्ने भनाईसँग म सहमत हुन सक्दिनँ । विचरा गरिब नेपाली ‘दखी नेपाली जनताले मौका पाएका बेला हमेसा सही र संयमित जनादेश दिएका छन् । सत्य के हो भने जनादेशको मर्मप्रति नेताहरु संवेदनशीन नभइदिएकाले जटिलताहरु थपिएका हुन् । हो हाम्रो राजनीतिक नेतृत्व उत्पादन हुने प्रणाली दोषयुक्त छ त्यसमा बहस गरौं । नेपालमा नेता बन्ने बनाउने प्रकि्रयामाथि गहन संवाद र सुधारको दरकार छ । जनता ठीक नभएकाले बेठीक नेता निस्के भन्ने वडा सतही भनाई हो । सुन्दा पढ्दा सनसनीखेज त लाग्छ तर सतही हो ।’ प्रदीपजीले यति भनिसकेपछि मैले हल्का प्रतिवाद गर्दै सोधेँ- ‘के एक अनुपयुक्त शासकीय निर्वाचन प्रणाली भएको देशमा उपयुक्त नेताको उत्पादन हुन सम्भव छ के मैले एक सतही भाव लिएर सोधेको प्रश्नले गहन उत्तर प्राप्त गर्न सक्छ’ मेरो यो जिज्ञासाले भने प्रदिपजीलाई गम्भीर मुद्रामा ल्यायो । एक छिन सोचेर जवाफ दिनु भयो ‘शासकीय स्वरुप र निर्वाचन प्रणालीसँग जोडिएको यो सर्वाधिक महत्वको यक्ष प्रश्न हो । यस विषयमा म तपाईसँग कुनै अर्को दिन छलफल गरौंला । जहाँसम्म सतही भावले सोधिने प्रश्नले पाउने उत्तरको सन्दर्भ छ, मलाईभन्दा तपाईँलाई त्यसको बढी अनुभव छ । जिब्रोले कुनै काम गर्नु र मनले त्यही काम गर्नुबीच फरक त होला नि ।’ यति भनेर प्रदिपजी त्यस दिन बाटो लागे । म सोच्न थालेँ सायद मैले कतिपय अवसरहरुमा हृदयले होइन जिब्रोले प्रश्न सोधेकोले अधिकांश जवाफ दिनेले पनि मनको गहिराईबाट नदिएर जिब्रोको टुप्पोबाट बोल्ने औपचारिकता निर्वाह गरिदिए । अथवा कहिलेकाहीं मैले हृदयबाट सोधे पनि उत्तर दिने मानिसले जिब्रोभन्दा तल ओर्लन नचाहेको पनि हुनसक्छ । ऊ मसित जिब्रोभन्दा तल हृदयको तहमा ओर्लनै पर्छ भन्ने कुनै जवर्जस्ती पनि त छैन नि । हृदयको हृदयसँग संवाद गर्न कम्तीमा दुईजना चाहिन्छ होइन भने ‘वन साइडेड लभ’ भरेर वर्वाद हुन्छ । नारान दाई भन्नुहुन्थ्यो ‘के तिमीलाई थाहा छ संसारका सबैभन्दा उत्कृष्ट अन्तर्वाताहरु पढ्न हेर्न र सुन्नका निम्ति मात्र हुँदैनन् । उत्कृष्ट अन्तर्वार्ताहरु त मानिसले ‘महसुसु गर्न सक्नुपर्छ । उत्कृष्ट अन्तर्वार्ता हृदयको हृदयसँग संवाद हो ।’ नारान दाइले निर्धारण गरेको मापदण्डअनुसार मैले बिरलै मात्र टेलिभिजनको पर्दामा ‘अन्तर्वार्ता’ देखाउन सकेँ होला । ‘वार्ताहरु धेरै गरेँ ‘अन्तरमनको वार्ता’ धेरै गर्न सकिनँ । कसैसँग वार्ता गर्नु र ‘अन्तरमनको वार्ता’ गर्नुबीच धेरै फरक छ । मेरो अनुभवमा गैरराजनीतिक क्षेत्रका मानिसहरुसित जति सहजै अन्तरंग अन्तर्वार्ता गर्न सकिन्छ राजनीतिक प्राणीहरुसँग सकिन्नँ । नेपालमा मात्र होइन यो कुरा सर्वव्यापी छ । हुन त विश्व पत्रकारिताको इतिहासमा ओरियाना फलासी जस्ता केही नामहरु पनि छन् जसले विश्व राजनेताहरुसँग गरेका अन्तर्वार्तामा आधारित ‘इन्टरभ्यु विथ हिस्ट्री’ पढ्नु भयो भने कुनै जीवन्त सेनेमा हेरेको अनुभव गर्न सकिन्छ । लेखनी यति जीवन्त छ कि अन्तर्वार्ता पढेको होइन हेरेको अनुभव गर्न सकिन्छ । एक इटालियन मित्र भन्थिन्- ‘विजय हामी ओरियानालाई पढेर मात्र जति धेरै दृश्य देख्न सक्छौं सायद कतिपय टेलिभिजन वार्ता हेरेर पनि त्यस्तो विहङम दृश्य देख्न सक्दैनौं । ‘एक सफ्ट आवर कनवरसेसनका’ दौरानमा डा.उपेन्द्र महतो भन्नुहुन्थ्यो- ‘विजयजी तपाईँले मुखले बोल्नुभयो भने मेरो कानले सुन्छ तर हृदयले बोल्नुभयो भने मेरो मनले सुन्छ ।’ सुनेर म अवाक् भएँ । धेरैलाई थाहा छैन डा. महतोमाथि लक्ष्मी माताको जति कृपा छ त्यसको दाँजोमा सरस्वती अनुकम्पाको पनि कुनै कमी छैन । डा.साबको त्यो उत्तरबाट पत्रकारिताको विद्यार्थीले धेरै कुरा सिक्न सक्दछ । धेरैले ठान्दछन् कि गीता श्रीकृष्णको उपदेशको गाथा हो । तर सत्य त्यति मात्र होइन । गीताको निर्माणमा अर्जुनका प्रश्नहरुको पनि बराबरको योगदान छ । एक कमजोर प्रश्नले बलियो उत्तर बिरलै निम्ताउँछ । अर्जुनको ठाउँमा अरु कोही उभिएको भए सम्भवत गीताको रचना नै हुने थिएन । श्रीकृष्णा अगाडी नहकुल सहदेव भीम वा स्वयं युधिष्ठिरले समेत अर्जुनले झैं ‘मलाई भीष्म द्रोणचार्य शैल्य अस्वस्थामा जस्ता अनेकौं महायोद्धा भएको सेनालाई बध गर्नुपर्दा परम दुख हुनेछ । कसरी यिनीहरुलाई मारुँ’ भन्ने आशयको प्रश्न गर्ने आँट नै गर्ने थिएनन् । अर्जुनले त्यो प्रश्न गरे किनभने उनी ती सबै महारथीको बध गर्ने क्षमता राख्दथे । अर्जुनबाहेक अरुका मुखबाट गीताको प्रथम अध्यायमा उल्लेखित त्यो प्रश्न ‘छोटा मुख बडी बातु हुन्थ्यो र सम्भवत श्रीकृष्णले त्यसको उत्तर पनि दिनुहुन्नथ्यो होला र गीता आफ्नो प्रथम अध्यायमा नै तिरोहित हुन पुग्दथ्यो ।
केही मानिसहरु मलाई भन्छन् ‘पन्ध्र दिनमा एक पटक गन्थन लेखेर के समय बिताउनु हुन्छ नेताहरुलाई टेलिभिजनमा ल्याएर मारसँग छ्यास्नुस् न । मारसँग छ्यासे पो हेर्न मजा आउँछ ।’ हो देश र समाजको आवश्यकतालाई ध्यानमा राख्दै गरिने आक्रामक ब्रान्डको टेलिभिजन पत्रकारिताको इतिहास सुरुवात गर्ने सक्दो प्रयास गरेँ । फर्केर हेर्दा महसुस हुन्छ म टेलिभिजनमा त्यति आक्रामक कहिले थिइनँ जति ठानिए । सत्य के हो भने- पाचायतको सुनसान सन्नाटामा नेपाल टेलिभिजनमा देखिने मेरो कार्यक्रममा यदाकदा आउने सानो विरोधको आवाज पनि निकै ठूलो सुनिएको मात्र हो । आजभोलि समाजमा गणतन्त्रको यत्रो कोलाहल छ कि घाँटी फुकाएर कराउनेहरुको आवाज पनि खासै सुनिदैँन । पाचायती शासकहरु कानमा स्पिकर लगाएर बस्थे कतै विरोधको सानो खित्रिक्क आवाज आए कि सतर्क हुन्थे । अहिले शासकहरु कानमा ‘एयर प्लग’को बुजो लगाउर बस्छन् । आफ्नो परिवार र मन परेका कार्यकर्ताको बाहेक अरु कसैको आवाज नछिर्ने एयर प्लग ।
यस्तो पृष्ठभुमिमा म एक नयाँ टेलिभिजन कार्यक्रमबारे सोच्दै छु जहाँ कहिलेकाहीँ भए पनि नारान दाईले भनेझैं हृदयको हृदयसँग संवाद गर्न सकियोस् । हुन त मलाई थाहा छ टेलिभिजनमा कुनै नयाँ अभिनेत्री वा अभिनेतालाई लुगा फुकालेर आफ्नो शरिर देखाउन जति अप्ठ्यारो हुन्छ त्यसको तुलनामा मन खोलेर देखाउन धेरै गुणा बढी असहज हुन्छ । यो नियम अभिनेता अभिनेत्रीमा मात्र होइन नेता नेत्री वा हामी प्राय सबैमा त्यतिकै लागू हुन्छ । तर हाम्रा नेताहरुले जिब्रोबाट मात्र होइन अलिकति हृदयबाट बोले जनताले पनि कानले होइन मनले सुन्ने थिए । तब न मजा ।
vijayko@gmail.com








Recent Comments